माधव पोखरेल गोज्याङ्ग्रेसुनको मान्छे सुन्मान्छे
ए सुन्मान्छे हो दोषी खुसीमा दौडिरहेको छ, निर्दोषी दोषमा परेर होस गुमाउने अवस्थामा छ । घुनले सुन खाएको छ कमिलालाई दोष थोपरेर कानुनको धज्जी किन उडाउँछौँ ?

माधव पोखरेल गोज्याङ्ग्रे :
सुनको भरिया बनेको छ तर उसले लसुनको गहना लाउन पाउँदैन । भनेको बेलामा पानीमा नून हालेर दालको रूपमा भातसँग मुछेर खान पाउँदैन तर ऊ सुनको कारोवार गर्ने देशको मालिक भएको छ । भनौँ त्यो मान्छे सरकारका लागि सुनकै भएको छ । ब्रह्माजीले उसको आमाको गर्भमा उसलाई सुनबाट निर्माण गरे तरपछि माटोमा पदार्पण गर्दा सुन कस्ले लग्यो र ऊ हाडछाला र मासुको मिश्रणबाट मान्छे भयो । तर सरकारले उसलाई शरीरभरी सुनैसुन लेपिएको देख्छ । त्यसैले उसलाई कार्वाहीको भागिदार बनाउँछ सरकार । लसुनलाई पहेलो तरल पदार्थले बाहिरबाट लेप गर्दा पनि सुन बनाउन सकिन्छ । सुन जतिकै टलिकने पहेलो केमिकल बजारमा पाइन्छ त्यही ल्याएर लसुनमा दलेर कानमा, नाकमा, घाटीमा , हातका औलामा, नाडीमा लगाउँदा हुन्छ । अझ हिजो आज त आँखी भौँ, नाइटो, गाला,कञ्चटमा पनि लाउन थालेका छन् । हामीले नदेख्ने नहेर्ने ठाउँतिर पनि सुनको गहना लाएर प्रदर्शन गर्न थालेका छन् ।
सुनको मान्छे अर्थात् सुन्मान्छे । वा कुरा सुनन मान्छे सुन्मान्छे । सुनकै कुरा सुन मान्छे । सुनको मान्छे कस्तो होला र त्यसलाई सुन्मान्छे भन्नु । भन्दाखेरी फलाम तामा पित्तल मान्छे भनिदैन, सुन्मान्छे नै भनिन्छ । मान्छेलाई कुरासुन मान्छे भन्दा सुन्मान्छे भनिन्छ । तर फलाम तामा पित्तललाई कुरा सुन फलाम तामा पित्तल भनिदैन । त्यसैले सुन्मान्छे भन्ने बित्तिकै हामी सुनकै मान्छे होकी भन्ने लख काट्छौ । तर लख काट्नेले जे जे लख काटेपनि आखिरी सुन्मान्छेकै कुरा हो । सुनमा घुन लागेझैँ त्यो सुन्मान्छेको शरीरमा पनि घुन लाग्छ कुनै दिन भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।
लसुनलाई मात्रै किन नूनलाई नै केमिकलले पहेलो बनाएर तरकारी दालमा अचारमा हालेर खाँदा हामी कसैलाई केही भन्दैनौँ । किनभने कसले के खान्छ र के खान मन लागेको छ भन्ने कुरा हाम्रो चासोको विषय होइन । हाम्रो चासोको विषय भनेको बाहिर पहेलो देखिने धातुको हो । यहाँ पित्तललाई सुन बनाउने छन् । सुनलाई पितल, तामा फलामलाई सुन बनाउने छन । सुनलाई तामा पित्तल बनाउने विज्ञहरू छन् । यस्तो विज्ञहरू भएको देशमा तीन करोड नेपालीलै भविष्यमा सुनै सुनले लेपिन पाउने छन् । झन सरकार, सरकारका निकायहरू र विचरा तरकारी खान नपुग्ने सरकारी कर्मचारीहरू त भित्र बाहिर सबैतिर सुनले लेपिएर, सुनको सुटबुटमा सजिएर जिरो नम्बरको किरोको हिरो भएर हाम्रा अगाडि देखा पर्नेछन् ।
सुन बहुगुणको धातु भएकोले पनि तस्करको लस्करसँग सुँढ पसारेर बस्छ । राजनीतिसँग लहसिन्छ, प्रशासनसँग टाँसिन्छ, भन्सारेसँग गाँसिन्छ । प्रहरीसँग जिस्किन्छ । खाँटी तस्करसँग भासिन्छ । हरेक खालका सुन प्रयोगकर्ता भएकोले नुन र लसुन नखाए पनि घुनको रूपमा सुनभित्र पसेर सुनको गुँदी खाएर सिंह भएर बाहिर देखा पर्छन । सुन देखेपछि ब्रह्मा विष्णु महेश्वरको पनि तीन नेत्र बल्छ रे । त्यस्तै गरी लसुनको गहना लाउन नपाउने र नुन पानी खान नपाउनले सुन देखेपछि नेत्र बल्नु स्वभाविकै हो । तर एउटा कुरा के भने कोही कोही पहेलो देख्दा तर्सने अवस्थामा पुगेका छन् । देख्नु त परै जाओस् सुन शब्द सुन्ने बित्तिकै कोही तर्सन्छन र तीन कोष टाढा भाग्छन् । तर कोही भने जीवनभरी त्यही सुनमा टाँसिदा पनि अघाउँदैनन् ।
केही मान्छेलाई सुनले सुकिलो बनाएको छ भने केहीलाई मैलो बनाएको छ । तर सुकिला भन्दा मैला मान्छेहरू सुन चिन्न खप्पिस हुन्छन् । आवरणमा मैला देखिए पनि भित्री रूपमा सुनैसुन हुन्छ । सुनखानीमा काम गर्ने मान्छे धुलो मैलोले जेलिएको हुन्छ रे । शरीरमा त सुनको कणहरूले भरिएर पहेलै हुन्छ तर ऊ त्यो सुनको कणले दीर्घ रोगी भएर बाँच्न विवश हुन्छ । सुनको भारी बाक्ने भरियाको अवस्थाको कुरा गर्ने हो भने लसुन नपाउने भनसुनबाट टाढा हुने परिस्थितिबाट गुज्रिरहेको हुन्छ । तर पनि ऊ सुन शब्द सुन्ने बित्तिकै कान ठाडो पारेर सुन्छ । सुनेर नै सुनका बारेमा चित्त बुझाउनु पर्ने भरियाहरूले सुन देख्न नपाउँदै सुन काण्डमा मुछिनु पर्ने समय आएको छ । तर सरकारका दृष्टिमा भरिया सरिया मालिक सबै नै सुनका मान्छे हुन । अर्थात् ऊ सुनमान्छे हो ।
कतिपयले सुनको विस्कुट चियासँग चोपेर पनि खाए । सायद एकै पटकमा अघाएकोले होला पुनः खाएको देखिएको छैन । बजारमा पाइने पहेलो विस्कुट र ब्रेक शुमा लुकाएर ल्याएको विस्कुटको तुलना गर्ने हो भने बजारको विस्कुट निकै पौष्टिक तत्वले भरिएको हुन्छ । ब्रेक शुमा लुकाएको सुन्कुटले विस्कुटको काम गर्दैन । त्यो त सुन्कुट हो त्यसैले कुटिएर मानव शरीरमा झुण्डिन्छ । सुनकै कुट जस्तो बनाएर राख्ने र पछि कुटेर गहना बनाउने भएकोले त्यसलाई सुनकुट भनिएको हो । जे होस् त्यो नकुटी नगाली गहना लगाउन लायक हुँदैन । यस्तो नालायक सुनकापछि लागेर केही मान्छे घुन बनेका छन् । घुनले भित्रको पोटिलो फल मासु खाएर वा स्वादिलो कुरा खाएर अन्नलाई खोस्टो, भुस बनाए झैँ गरी सुनलाई पनि चुसुनमा लगेर ढुसुन बनाएर छाडेका छन् । त्यसपछि त्यो चिनिया कथाका पात्र लुसुन भएर समाजमा फैलन्छ । हेर्नुस् त सुनको कत्रो तागत र शक्ति रहेछ अन्त्यमा गएर कथामा परिणत हुनु भनेको चानचुने कुरा होइन नि ! एउटा कुरा चाहिँ के हो भने सुनले कुटिएर सुन्कुट हुँदै लुसुन हुनलाई कम सास्ती भोगेको छैन । सास्ती भोगे अनुसार जीवनको उत्तरार्धमा पाउनु पर्ने सम्मान चाहिँ कुटिएर होस् वा मान्छेको शरीरमा झुण्डिएर पाएकै हो भन्न मन लागेको छ । सुनले भाग्यमा लिएरै आएको रहेछ तब त मरेर पनि मान्छेको शरीरमा झुण्डिएर नाम राख्न सफल भएको छ । त्यसैले सुनको जयहोस् भयहोस् नभए नहोस् । तर सुनले पिटिएर मान्छेका शरीरमा झुण्डिनै पर्छ भन्ने मलाई लागेको छ । यति नगरेसम्म सुनले हामीलाई गुन पनि लाउँदैन । सुनले हामीलाई गुन लाएन भने सुन भएको कुनै अर्थ हुँदैन । तर के गर्नु सुनले नुन र लसुन खान नपाउनेलाई पिरेको छ । तस्करकिो गलबन्दी भिरेको छ । गहना भिर्न पाएको भए त राम्रै हुन्थ्यो ।
सुन यस्तो चिज भएको छ कसैको घरमा धेर भएको छ, कसैलाई सुन लाउने रहरले गाँजेको छ । कोही सुन नपाएर आत्महत्या गर्छन । कोही भने ससुरालीले दाइजोमा सुन नदिएको निहुँमा श्रीमतीकै हत्या गर्छन र अनेक प्रकारका हिंसामा उत्रन्छन् । सुन वास्तवमा स्वच्छताको गहना होइन रहेछ भन्ने कुरा पुष्टि भएको छ । यसको व्यापार गर्नेले पनि दुनियाँ भरिको सास्ती पाएको छ । लाउन र देख्न नपाउने समेत सुनकाण्डबाट प्रताडित भएका छन् । भनौँ सुनको सुनौलो रूपले सबैलाई सताएको छ, मताएको छ, भगाएको छ । सुन छुन नपाउनेलाई भरिया बनाउँदा पाता कसेर लडाइएको छ । जसले नुन र लसुन माग्दा पनि पाउँदैन । जे होस् भरिया पनि एक पटककालागि सरकारी कागजमा सुनको मालिक त भयो नि । उसको मालिक बन्ने धोको सरकारले पुरा गरिदियो । भनौँ एउटा गरिबलाई सरकारले धनी बनाउने जुन समृद्धिको सपना देखाउको थियो त्यो सुनकै माध्यमबाट पुरा गरिदिएको छ । यस कुरामा सरकारको प्रयासलाई धन्यवाद दिनै पर्दछ ।
सुन सुन सुन कति सुन्नु सुनका बारेमा कहिले क्विन्टल, कहिले ३३ किलो, कहिले ८० किलो कहिले कति कहिले कति कति ? जति भए पनि यो सुन घुनले खाएर हैरान पारेको छ । यत्रो सुन पचाउन सक्ने घुनको आकार प्रकार स्वरूप कस्तो होला ? मलाई के लाग्छ भने यो सुन खाने घुनले सरकार भित्रै पसेर कतै सरकारको आन्द्राभुँडी मासु हड्डी सबै खान बेर लाउँदैन । यदि घुनले सरकारको शरीरभित्र पसेर गुदीकुरा खायो भने सरकार त अस्थिपञ्जर जस्तो बन्छ । अनि अस्थिपञ्जर सरकारबाट हामीले के आशा गर्नु त ? सरकार सुन तस्करी भगाएर नुन र लसुन खान नपाउनेलाई पक्राउ गरेर बहादुरी देखाउँदै महाभियानमा लागेको छ । ठूलामाछा सुनको दरबारमा साना माछा प्रहरीको खोरमा यही नै हो सुनले देखाएको आफ्नो रौनकता । अझ अर्को रौनकता त के हो भने सरकार घुनले खाएको खोक्रो सुन समातेर नाटक देखाउँदै छ । घुनले खाएको सुनभित्र हिरा अवश्य राखिएको हुँदैन । बाहिर पहेलो देखिन्छ केमिकलमा डुवाएर । तर त्यो फलाम हो वा तामा पित्तल केहो ? खुट्याउन बाँकी हुँदै सुन सुन सुन भनेर कराउने र हल्ला गर्ने भनौँ सुनौलो सल्लाह नगरी हल्ला गर्ने प्रवृतिले सुन जोगाउन, लुकाउने संस्कृतिमा विकृति थपिएको छ ।
कुनै पनि प्रकारको गुन लाउन नहुने सुन मान्छेलाई पखालेर धोएर वा नुहाइदिएर फलाम बनाउन सकिने भए सरकारले पहिलै नै बनाइसक्थ्यो होला । त्यो प्रविधिको विकास पनि विश्वमा नभए जस्तो लाग्यो । यदि यो प्रविधिको विकास भएको भए नेपालमा त्रित्रिसक्थ्यो होला । लाचारी छाँयामा सुनोलो माया लाउन सिपालु घुनकिराहरूले सुन त खाए खाए अब देशखान खोजिरहेकाछन् । देशलाई मेस बनाएर शेष बनाउने कार्यक्रमहरू धमाधम आउन थालेका छन् । हुन् त यो विकास निकासको संक्रमणकाल भएकोले त्यसैको प्रभावले होला धमाधम निकासका कामले प्रगति गरिरहेको पाइन्छ । ठूलो स्वरको दवदवा बढिरहेको छ । जो चोर उसैको ठूलो स्वर भन्ने बूढापाकाले चलाएको उखान चरितार्थ हुने तरखरमा लागेको आभास भैरहेको छ ।
अन्त्यमा बढी कुरा के गर्नु । घटी कुरा गर्दा पनि थोरै हुन्छ । सुन मान्छे सुन्मान्छे र सुन्भान्से दुबै एकैथरिको हुँदा भुँइमान्छेहरू लसुन र नुन खानबाट बञ्चित भैरहेको अवस्था छ । धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझैँ भएको छ । ए सुन्मान्छे हो दोषी खुसीमा दौडिरहेको छ, निर्दोषी दोषमा परेर होस गुमाउने अवस्थामा छ । घुनले सुन खाएको छ कमिलालाई दोष थोपरेर कानुनको धज्जी किन उडाउँछौँ ? पानीलाई रक्सी भनेर पानी रक्सी हुँदैन । निगारलाई मही भनेर निगार मही हुँदैन । गधालाई गाई बनाउँछु भन्दा गधा गाई बन्दैन भन्ने हेक्का छ भने हेक्का अनुसारको काम गरेर देखाऊ न ? जय नून सुन र लसुन । सुन्मान्छे कान खोलेर बस भोलि झोली भिरेर हिड्नु नपरोस् ।
०००
गाईघाट, उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































