नगिता लेप्चा राईफाउ
फाउको योजना गजब छ । यसैकारण, फाउलाई तपाईंहरूले हेला र घृणा नगर्नुहोला । बरू चान्स पायो भने नेता महोदयले झैं तपाईंले पनि फाउ लिनुहोला घाउ भए देखै जाला । म पनि त्यै चान्समै छु ।

नगिता लेप्चा राई :
चिजबिज, सर-सामान किनपछि सित्तैमा मागेर लिइने थप वस्तुलाई ‘फाउ’ भनिन्छ । ‘फाउ’-को अर्को नाम ‘फोसा’ वा ‘तासा’ पनि हो । ‘फाउ’ वस्तुमाथि हामी सबैको धेर थोर लोभ हुन्छ । ‘फाउ’ खाए वा ‘फाउ’ मागे ‘घाउ’ हुन्छ पनि भनिन्छ । तर कसले टेर्ने ? ‘फाउ’ पाउने लोभले घरकै नजिकको पसल छोड़ी तीन माइल टाढ़ा पसल धाउऩेहरू पनि मैले देख्या छु । कुनै वस्तुसित ‘फाउ’ रुपमा अर्को वस्तु सित्थैमा पाउने पसल खोज्नेहरूको सङ्ख्या पनि कम्ति छैन । होटल रेष्टुरेण्टमा फाउ नपाए पनि भातसित झोल, दाल, सब्जी ‘फाउ थपिन्छ, त्यसलाई ‘फाउ’कै रुपमा लिँदा हुन्छ । यसैले ता खानासित दिएको प्याज, कागती, हरियो खोर्सानीमा खोर्सानी कमैले मागे पनि प्याज र कागती थपी थपी खानेहरू पनि देख्या छु । होटलमा खासै रुपमा ‘फाउ’ नदिनाले हाम्रो गाउँका राइँला दाजुले होटलबाट खाएर बील तिरिसकेर एक मुठी टुथ पिक टिपेर ल्याएका छन् ।
रेल यात्रामा ‘फाउ’ बढ़ी प्रचलित देखिन्छ । रेलको डब्बाभित्र किसिम कुरा बेच्न हकरहरू आउँछन् । चना, चटपटी बेच्नेले पहिला यात्रुलाई ‘चाखी हेर्नोस् न’ भन्दा चाख्ने थोरै हुँदैनन् । यस्तै धेरै यात्रुहरू पनि छन् जसले सेम्पल खाएरै पान, खैनी, गुटखा सिग्रेटको तलतल मेटाउँछन् । ‘फाउ’ खाएरै सारा जीवन कटनी गर्नेहरूको सङ्ख्या कम्ति छैन । एकजनाले एउटा रेष्टुरेण्टमा चारवटा पुरी माग्छन् । पुरीसित सब्जी पनि आएको देखेर उनले पुरी र सब्जीको कति (?) भनी सोध्दा वेटरले ‘चारवटा पुरीको बीस रुपियाँ अनि सब्जी फ्री’ भन्यो । ती ग्राहकले यसो भनेछन्, ‘ए…त्यसो भए सब्जी मात्रै देऊ’ ।
हिजोआज लोकल च्यानेल. टिभीतिर माझ माझमा विज्ञापन दिने गर्दछ । प्रत्येक विज्ञापनमा वस्तुसित केही न केही रुपमा फाउ दिने कुरा सुनाइन्छ । अचेल फाउको रुप बदलिएर ‘टु इन वान’ भनिन थालिएको छ । दुइवटा चिज किन्दा एउटा फाउ । यसरी नै एउटा डिटरजेण्ट पाउँदा किन्दा एउटा गतिलो प्लाष्टिकको बाल्टी फाउ दिने कुरा सुनेपछि भोलिपल्टै मेरो छिमेकी खकुरेल मामाले एकै दिनमा ६/६ वटा प्लाष्टिकको बाल्टी ओसारेर रेकर्डै कायम गरेका छन् । फेरि पनि फाउ बाल्टी ल्याउने दाउमा ती खकुरेल मामा कति चोटि शपिङ सेण्टरमा धाए । तर तिनलाई सेक्युरिटी गार्डले भित्र पस्नै नदिएको कुरा गाउँभरि हल्ला छ ।
कुरामा कुरा चियामा चिउरा भनेजस्तो कुरा निस्किहाल्यो । गैरी गाउँको चतुरमान काका पूजा अफरमा जुत्ता दोकानमा गई दुइ जोड़ी जुत्ता किनेपछि दोकानेली ‘मैले दुइ दुइ जोड़ी जुत्ता किनेँ मेरो नातिको निम्ति एउटा जुत्ता फाउ दिनुहुन्न ?’ भनी सोध्दा रसिक दोकानेले भनेछन् ‘नातीले फाउ जुत्ता लाउनुहुन्न खुट्टामा घाउ हुन्छ’ भी चतुरमान काकालाई दोकानबाट फर्काएको घटनाको कुरा चतुरमान काकालाई कुरा गर्दा काका घमण्डसाथ भन्छन् ‘धत… मलाई त्यस्तो फाउ लिनु मनपर्दैन ।’ यी चतुरमान काका गाउँमा फाउ काका नाउँले प्रचलित छन् ।
यो त भयो किनबेच बारेमा फाउको कुरा । जीवनको प्रत्येक क्षेत्रमै फाउको बोलाबाला छ । बिहे गरेपछि श्रीमतीसित उनको कर्कश स्वर फाउ रुपमा पाइन्छ । एकमात्र श्रीमतीले मात्र बुझाउन सक्छिन् लोग्ने मानिस कतिसम्म अकर्मण्य र लाष्ट खतम हुनुहुन्छ ।
रगतको खोलो बगाई गर्नुसम्म आऩ्दोलन गरेर हामीले स्वतन्त्रता पायौं । स्वतन्त्रता सँगसँगै देश विभाजन पायौं । तर भोटाधिकार सँगसँगै फाउ वापत् पायौं रिगिङ, बुथ क्यापचरिङ, छाप्पा भोट । बिजुली सँगसँगै फाउ रुपमा पाएका छौं लोडसेडिङ । युवाहरूको विपल्वी चेतनासँगै फाउ रुपमा पिस्तोल, बम, बन्दुक पाएका छौं । स्कूलतिर निःशुल्क शिक्षा सँगसँगै स्कूल डोनेशन, डेभलोपमेण्ट फि तिर्नलाई फाउ पाएका छौं । सर- गुरुमाको कठोर रुपमा शिक्षादानका साथै फाउ रुपमा पाएका छौं क्लासमा गुरुमाको स्वेटर बुनाइ एकातिर भने अर्कोतिर सरको मोबाइल खेलाइ । नैताहरू सँगसँगै फाउ रुपमा पाएका छौं चम्चाहरूको दल, जुलूस, नारा, हड़ताल अनि जाम ।
एउटा रोचक घटना याद आयो । मतिगढ़ा हाटमा गाई किनेपछि क्रेता व्यक्तिले गाई सँगसँगै फाउ रुपमा गाईको बाछो मागे ।
गाई विक्रेता बोले- एउटा गाई किन्छौ.. अब तिमीलाई बाछो पनि फाउ चाहियो । कसरी हुन्छ यो हावाको कुरा ?
-होइन अचेल त जे कुरा पनि फाउ पाइन्छ भनेर फाउ मागेको ।
गाई विक्रेताको ठाड़ै जवाब- तिमीले बिहे गर्दा तिम्रो स्वास्नीसित एउटा नानी पनि फाउको रुपमा पाएको थियौ ?
गाई विक्रेताको कुराले गाई क्रेतालाई के असर पर्यो कुनि, सोझै ससुराकहाँ गएर गुनासो पोख्यो- बाबा, मैले तपाईको छोरीलाई बिहे गरेँ । तपाईहरूले बड़ा इज्जतको साथ तपाईकी छोरी मलाई दिनुभयो । फाउ रुपमा एउटा सन्तान त मैले पाउनुपर्ने हो । त्यो तपाईंहरूले दिनुभएन त ।
नेताहरू उदार हुन्छन् । कसैको पनि काम गरिदिन्छन् । नोकरी दिलाइदिन्छन् । बारको लाइसेन्स परमिट आदि आदि सबैको व्यवस्था गरिदिन्छन् । यसको निम्ति नेता महोदयलाई गतिलै फूल-अछेता चढ़ाउनुपर्छ । तर सावधान ! यो घूस होइन…यो त काम गरिदिए वापत नेताको परिश्रमको फाउ हो फाउ ।
फाउको योजना गजब छ । यसैकारण, फाउलाई तपाईंहरूले हेला र घृणा नगर्नुहोला । बरू चान्स पायो भने नेता महोदयले झैं तपाईंले पनि फाउ लिनुहोला घाउ भए देखै जाला । म पनि त्यै चान्समै छु । तर विशेष युवावर्गलाई के अनुरोध गर्छु भने, घरमा दुलही ल्याउनुहोस्… त्यो तपाईंको अधिकार हो तर दुलहीसित फाउ नासो लिएर चाहिँ कृपया नआउऩुहोला । नत्र जीवनभरि त्यो नासो फाउले घाउ पार्छ । त्यो घाउ अत्यन्तै गाड़े हुन्छ । जिन्दगीभरि गाड़े घाउले तपाईंलाई बिथोलिरहन्छ ।
०००
खोलाचन्द फाप्री, सिलगड़ी भारत








































धेरै राम्रो लाग्यो । नयाँ शब्द सिक्न पाइयो ।