सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जात्रै जात्राको संस्कृति

हाडी घोप्टो पारेर जात्रा देखाउनेहरूको जमातले सगरमाथाको चुचुरो छोएको छ । जात्राकारहरूको हुललाई मुलबाटो बाट नै केचनाकवल पुर्‍याएर श्राद्ध सक्नु पर्छ । कि योभन्दा अरु कुनै उपाय खोज्नु पर्छ ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

आउनुस् प्रभु आउनुस् यदि तपाईंले जात्रा देख्नु भएको छैन भने नेपालमा दिनहुँ हुने जात्रा हेर्न सबैलाई चुल्हे निम्तो छ । अगेनामा निम्तो दिऊँ भने अधकिल्चो हुन्छ त्यसैले चुल्हे निम्तो दिएको हुँ । स्थानीय सरकारदेखि संघीय सरकारसम्मको बाटोमा सधैँ जात्रै जात्राले हामी मनोरञ्जन पाइरहेका छौँ । साँझ बिहान खान नपाउने, राती राम्रोसँग सुत्न नपाउने भनौँ वा आकाशको छानो मुनि निन्द्रा पुर्‍याउने सम्पन्नताका परिचायकहरूलाई दिनहुँ भैरहने जात्राको मनोरञ्जनले अघाउजी बनाएकै छन् । यस्तो राम्रो र मिठो संस्कृतिको जगेर्ना गरिरहेको अवस्थामा अल्मल्याउने काम गर्‍यो भन्नुहोला । तपाईँहरू मलाई जेसुकै भन्नुस तर म यो जात्रै जात्राको देशको नागरिकको हैसियतले जात्राको मात्रालाई बढोत्तरी गरेर हामी जस्ता इमान जमानका भोटे र म जस्तो गोज्याङ्ग्रेले पनि मनोरञ्जन दिलाउन सक्नुलाई सरकारको र माननीयहरूको महान कार्य हो भन्नु पर्दछ ।

हामी पहिले पहिले वर्षमा एकदिन जात्राका रूपमा गाईजात्रा, घोडेजात्रा, विस्केटजात्रा, कात्तिके कुकुर जात्रासमेतका जात्राहरू हेर्न बानी नपरे पनि सुन्न चाहिँ बानी परेका छौँ । तर अहिले पुरानो कुरा विर्सन थालेका छौँ र दिनहुँको नयाँ जात्रा सुनेर, देखेर, भोगेर सबै खाले जात्रा पचाउन सक्ने नेपाली नागरिकमा दरिएका छौँ । नेपाली जस्तो भाग्यमानी अरु देशका जनता छन् जस्तो लाग्दैन मलाई । संसदको नेतृत्व गरेर कुकुर जात्रामा रमाउने अपमाननीयज्यू जस्ता होनहार र इमानी नेता पाएकै कारण हामीले जात्रामाथिको जात्रा हेर्न, देख्न, सुन्न र भोग्न पाएका छौँ । यस्तो रमाइलो जात्रा हेर्न, देख्न, भोग्न र सुन्न पाउने भाग्यमानी हामी बाहेक अरु को होला र !

देशको सम्पति श्रोत साधनको जात्रा हेर्ने हो भने आँखाबाट आँसु झार्दै खुसी हुन्छौँ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका पालिकाका प्रमुखदेखि सदस्यसम्म जात्राका पात्र भएपछि अरु के चाहियो र ! प्रशासनतिर मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्मकाले जात्रा देखाउन भ्याएका छन् । यात्रामा उस्तै जात्रा छ, भेटघाटमा उस्तै छ, कार्यालयमा अर्कै जात्रा छ । हामी जता फर्केर हेरे पनि जात्रैजात्रा मात्र देख्छौँ, भोग्छौ, सुन्छौँ । जात्राको कुरा सुन्दा सुन्दा हाम्रो कान नै जात्रा शब्द प्रहारका कारण अरु कुरा सुन्न नसक्ने भएको छ । संसदीय जात्राको कुरा अर्कै छ । अर्कोतिर फेरि यो तीज आउन लागेको बेलामा महिलाहरूले लाउने सुनका बारेमा फरक जात्रा भैरहेको छ । महिलाले लाउने सुन तस्करले दुरुपयोग गर्नु भनेको गहनाको बेइज्जत गर्नु हो । गहना जस्तो महत्वपूर्ण कुराको बेइज्जत गर्ने जो कोहीलाई पनि हिजैदेखि हुकुमी बनाउने काम राज्यका केही अंगबाट भएको हो ।

अर्कोतिर फेरि शरणार्थीको जात्रा अलग्गै छ । यो जात्रा देखेर शरणार्थी भएर बस्न बाध्य भएकाहरूको अनुहार रातो पिरो भएको छ । हुँदै नभएका शरणार्थी बनाएर करोडौँ कुम्ल्याउनेको जात्रा फेरि फरक खाले छ । शरणार्थीका नाममा जात्रा देखाउनेहरूको जात्रा अहिले हामी देखिरहेका छौँ ।

अर्कोतिर फेरि ललिता निवासको जात्राले झण्डै पूर्व प्रधानमन्त्रीहरूको जात्रा गाईजात्राकै समयमा गर्ने तयारी थियो तर ठूला माछा भएकोले हातमा पर्दा पनि मुठ्ठीमा कस्न नसक्दा चिप्लिएर उम्किन सफल भए । अर्को गिरी बन्धु टी स्टेटको जात्रा वर्षौदेखि चलिरहेको छ । भनौँ ढेवाका लागि हरेक प्रकारका नवीनतम जात्राहरू मात्राभन्दा बढी नै भैरहेको छ । अब यो जात्राको कुरा नेपालकालागि स्थापित संस्कृति हो भनेर प्रमाणित भएको छ भन्दा कुनै फरक पर्दैन । संस्कृतिमा पनि हामी नेपालीले नबुझेको र नदेखेको नवीनतम संस्कृतिका बारेमा अब विश्वका सबै देशमा प्रशिक्षण दिएर जनताबाट तिरस्कृत हुने सुवर्ण अवसरका साथै झिटीगुन्टा कसेर मावलको यात्रालाई जात्राले ठूलो सहयोग गर्ने छ भन्ने आशा राख्न सकिन्छ ।

अत्यन्तै रोमान्टिक हुने जात्रा हेर्न चुल्हे निम्तो दिनुको कारण सबैले बुझिसक्नु भएको छ । यस्तो नौलो मनोरञ्जनपूर्ण जात्रा अन्य देशमा हुँदैन र पाइँदैन । नेपालमा मात्र हुने गरेको यस्तो जात्रा अन्य देशमा नेपालको सिको गर्छु भन्दा पनि गर्न पाउँदैनन र कानूनले नै बर्जित गरेको हुन्छ । अब आफैँ बुझ्नुस् कि नेपालको जात्रै जात्राको संस्कार संस्कृतिले विश्वमा ठाउँ पाउने कि नपाउने । विश्वका राजनीतिज्ञहरू जो आफ्नो राजनीतिक जीवनमा कहिल्यै हाँसेनन् तर नेपालको जात्रा संस्कृति देखेर अट्टहासपूणर् रूपले खित्का छाडी छाडी हाँस्न बाध्य भएका छन । हाँस्ने इच्छा नहुँदा नहुँदै पनि विदेशी र स्वदेशी सबै रुन्चे हाँसो हाँस्न बाध्य भएका छन् ।

वर्षमा एकदिन देखाउनु पर्ने जात्राको मात्रा बढि भएपछि सबैलाई जात्राको मात लाग्नु स्वभाविकै हो । तर दिनहुँ जसो नयाँ नौला खाले जात्राको स्वरूप फेरिएर आउने भएकोले जात्राको आयोजकलाई भन्दा हेर्नेलाई र देख्नेलाई बढी लाज हुने परम्परा पुरानै हो । जात्रा को आयोजना गर्नेको न इज्जत हुन्छ न उसलाई कसैको डर हुन्छ । नियम कानून एकातिर कुम्लो बोकी संसद र मन्त्रालयतिर भन्ने उखान हिजो आज निकै चर्चामा आएको छ । आफ्नो चरित्रलाई आफैँ नाङ्गो पारेर जात्रा देखाउने चलनले सामाजिक संजालमा समेत निकै उच्च स्तरको ठाउँ पाएको छ ।

हामीले हेर्दै देख्दै सुन्दै र भोग्दै आएको जात्राभन्दा भिन्न खाले यो जात्राले हामीलाई वर्षदिनमा हुने वा मनाइने जात्राको सम्झना हराएको छ । गाईजात्राको रौनकलाई हेक्का नहुने गरी फिक्का बनाएको छ । यो जात्राले के बुझाउँछ भने अब नेपालमा परम्परागत रूपमा मनाइने सामाजिक जात्राभन्दा व्यक्तिवादी जात्राले बढी स्थान पाएको छ । अरुभन्दा पनि संसदमा देखिने, मन्त्रालय विभाग योजना आयोजनामा देखिने विकास निर्माणको जात्राको प्रत्येक नेपालीको घरघरमा चर्चा हुने गरेको छ । आकाशको विशाल छानो मुनि र कल्पनाको महलमा बिराजमान हुनेहरूले समेत हाम्रो भाग खोसेर जात्रा देखाउन थाले भनिरहेको अवस्था छ ।

राजनीतिक क्षेत्रबाट होस् वा प्रशासनिक क्षेत्रबाट होस् थरिथरीका जात्राहरू देखाइन्छ । हामीलाई जात्रा हेर्ने इच्छा नहुँदा पनि हेर्न देख्न बाध्य हुनु परेको छ । कहिले भदौरे साँढेको जात्रा त कहिले कातिके कुकुरको जात्रा, कहिले चैते बाँदरको जात्रा त कहिले के कहिले केको जात्रा । साँच्चै भन्ने हो भने हामी यही जात्रा हेर्नकै लागि जन्मिएका हौ जस्तो भएको छ । किसानले बाली सुँगा, बाँदर, साँढे लगायतका पंक्षी तथा जनावरले खान नपाओस् भनेर खेतको बिचमा बुख्याँचा राखेर तर्साउने मेलो गरे झैँ गर्नु पर्छ । अब हामी गैर किसानले पनि जात्रा देखाउनेलाई तर्साउन कुख्याँचा, गुख्याँचा, जुख्याँचा, फुख्याँचा, लुख्याँचा, सुख्याँचा वा अन्य यस्तै खाले ख्याँचा बनाएर सहर बजारका चोक चौराहमा, गाउँ घरका दोबाटोमा ख्याँचा बनाएर राख्नु पर्छ । यति गरेपछि हामीलाई जात्रा देखाउनेकै जात्रा हुन्छ जस्तो लाग्छ ।

हामीलाई जात्रा देखाउनेलाई हामीले पनि जात्रा देखाउन हुन्छ नि ! अधिकार र कानून सबैका लागि बराबर भएकोले ठूला मान्छे भएँ भन्दैमा सानालाई ऐन लाउने अनि ठूलाहरू चैनमा बसेर जात्रा देखाउने चलनको देशबाट अन्त्य हुनु पर्दछ भन्ने कुरामा यो गोज्याङ्ग्रे जोडदार सल्लाह विनाको हल्ला गर्दछ ।

जात्राका बारेमा धेरै कुरा के लेखौँ नेपालमा जात्राकै जात्रा हुने गरेको तीतो सत्य कही बतैबाट लुक्न सकेको छैन । हाडी घोप्टो पारेर जात्रा देखाउनेहरूको जमातले सगरमाथाको चुचुरो छोएको छ । जात्राकारहरूको हुललाई मुलबाटो बाट नै केचनाकवल पुर्‍याएर श्राद्ध सक्नु पर्छ । कि योभन्दा अरु कुनै उपाय खोज्नु पर्छ । यो उपायका खोज्नका लागि म सबैलाई चुल्हे निम्तो दिन चाहन्छु । जात्रा हेर्न बानी परेका हाम्रा आँखाले र जात्राको अर्थ बुझ्ने मनले केही समय भए पनि आराम पाउने थ्यो होला । जय साहित्य जय व्यङ्ग्य ।

०००
गाईघाट, उदयपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लबटे चिउरा

लबटे चिउरा

माधव पोखरेल गोज्याङ्ग्रे
मिलनसार उपहार

मिलनसार उपहार

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
सापटी श्रीमती

सापटी श्रीमती

सञ्जय साह मित्र
परिवर्तन

परिवर्तन

रामकृष्ण ढकाल
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
नेतृवन्दन

नेतृवन्दन

रमेश समर्थन
टोयलेट मोड- ४

टोयलेट मोड- ४

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x