हरिशंकर परसाईंपशुपतिनाथका लागि अफिम
यस्ता अराष्ट्रिय तत्त्वलाई साँपलाई झैं को पालिरहोस् ! अहिले त राजनीतिवालाहरू के हिसाब गर्दै होलान् भने यस क्षेत्रमा फलानो पार्टीका भोटरहरू सकिए नि ! ठिकै भयो, अझै धेरै मरेको भए अझ राम्रो हुने थियो ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
राष्ट्रिय विपत्तिका बेलामा प्रक्रिया त अवश्य पुरा गर्नुपर्दछ, जस्तो विवाहमा सात फन्को लाउनु अनिवार्य हुन्छ । खडेरीका, बाढीका र भूकम्पका प्रक्रियााहरू निश्चित छन् । पहिलो प्रक्रिया हो दृश्वावलोकन ! प्रधानमन्त्री, मन्त्री र नेताहरू विमानबाट बाढीको मनमोहक दृश्यावलोकन गर्दछन् । ‘वाह ! एक शताब्दीमा यस्तो सुन्दर दृश्य त कसैले देखेका थिएनन् । हाम्रा त आँखा नै धन्य भए ।’ यस पटक पनि राष्ट्रपति, प्रधानमन्त्री, नेताहरूले संसारकै सुन्दर यस हिन्दुस्तानको गुँडका बुलबुलहरूलाई डुब्दै, उत्रिँदै गरेको र रूख तथा छानामा झुन्डिएर ‘गुहार ! गुहार !’ गरिरहेको देखे ।
अतिरिक्त प्रधानमन्त्री इन्दिरा गान्धीले भाडाको विमानबाट बाढीको सौन्दर्यावलोकन गरिन् – इन्डियाको अवस्था पनि मुद्दाहरूले घेरिएकी इन्दिराको जस्तै छ । प्रधानमन्त्री जो भए पनि इन्दिरा गान्धी सधैं अतिरिक्त प्रधानमन्त्री रहिरहने छिन् । जस्तो अमेरिकाको राष्ट्रपति जो भए पनि रिचर्ड निकसन सधैं अतिरिक्त प्रधानमन्त्री रहने छन् ।
मैले भाडामा विमान लिन सकिनँ । मेरो प्रदेशका मुख्यमन्त्री त हालसालै एकाएक सरकारी विमानबाट नेपालमा भगवान पशुपतिनाथको दर्शन गर्न जानुभएको थियो । पशुपतिनाथले बोलाए होलान् । अब केही मानिसहरूले के हल्ला चलाइदिए भने भगवान पशुपतिनाथले अफिम मगाएका रहेछन् र उहाँ त्यही लिएर जानुभएको थियो । तर यो झुट्टा हो । नेपालमा अफिम बाबाको कमी छैन । केही अन्यको भनाइ फेरि के छ भने उहाँ राजा महेन्द्रसित आर. एस. एस.का निम्ति पैसा लिन जानुभएको थियो । हिन्दू राष्ट्रको स्थापना हुँदै छ र सम्राट्का रूपमा राजा महेन्द्रको राजतिलक हुनेछ । त्यसैले अश्वमेध यज्ञका निम्ति खर्च लिन गएका हुन् सखलेचा । तर यो पनि झुट्टा हो ।
जुन आर. एस. एस. का तीन तीनजना त मुख्यमन्त्री मात्र छन् उसलाई बाहिरबाट पैसा ल्याउनुपर्ने आवश्यकता नै छैन । तर महेन्द्रको राजतिलकका विषयमा भने केही विवाद होला । बम्बईको एउटा प्रसिद्ध साप्ताहिक पत्रिका जुन उडन्ते पत्रकारिता र सुविधाको इमानका निम्ति पनि चिनिन्छ, त्यसका ‘उखानवीर’ सम्पादक आर्य मिहिर रजाशाह पहलवीको दावी ठोक्ने छन् । त्यसो त अचेल आर्य मिहिरको दुर्गति मात्र भइरहेको छ । जे होस्, समयले देखाउला ।
कुरा राष्ट्रिय विपत्तिका प्रक्रियाहरूको हुँदै थियो । बाढी आएपछि त्यसका कारणहरू बताउने प्रक्रिया पुरा गरिन्छ । हाम्रो देशमा सबैभन्दा तीव्र वैज्ञानिक मस्तिष्क त राजनारायणको छ । उनी हनुमान चालिसाबाट अपरेसन गर्न सक्छन् ।
राजनारायणको भनाइमा त कुनै पापले गर्दा नै दिल्लीमा यस्तो बाढी आएको हो । पहिले इन्दिरा गान्धीका कारणले विपत्तिहरू आउँथे तर यस पटक मोरारजीको पापले गर्दा बाढी आएको हो । उनको पाप के हो भने उनले हनुमानका अवतार राजनारायणलाई मन्त्रिमण्डलबाट निकालिदिए । यस्ता पापले गर्दा पहिले पनि विपत्तिहरू आइसकेका छन् । अकबरको समयमा कसैले काशीमा हनुमानको मूर्तिलाई खण्डित गर्यो अनि त काशीमा हनुमानका रातमुखे बाँदरसेनाले कटक गरिदिएका थिए । तर ती वानरसेनाले पापी अकबरको दरबारमा किन आक्रमण गरेनन् भन्ने कुरो भने बुझिएन ।
कारण बताउने प्रक्रिया पुरा गर्न अगाडि आउँछन् प्रविधिशाह र विशेषज्ञहरू । हाम्रो आधा जीवन नोकरशाहीले सखाप पारेको छ अनि आधा प्रविधिशाहले । यी प्रविधिशाह र विशेषज्ञका अनुसार बङ्गालको खाडीमा वायुमा जुन ‘डिप्रेसन’ आएको थियो त्यो त ठुलो थियो नि हजुर ! त्यो राजस्थान पुग्यो अनि घुमेर उत्तरपश्चिमतिर आएको हो ।
‘बुझ्यौ त ?’ ‘बुझ्यौं हजुर, हामी मन्दबुद्धि हौं ।’ ‘ठिक छ, उसो भए बाढीको कारण मनसुनको ‘मिसबिहेवियर’ अर्थात् दुव्र्यवहार हो भन्ने त बुझ्न सक्छौ नि ?’ अर्थात् यस देशमा त मनसुनको पनि चालचलन बिग्रेछ ! कतै सुरेशकुमार-सुषमाको असर त होइन ? एम. ओ. मथाई मरेछन् कि कसो ? बाँचेका भए त मनसुनको चालचलनमाथि पनि केही लेख्नुपर्ने हो नि !
यसपछि आउँछ नोकरशाह सचिव, उपसचिव । ऊ झट्ट फाइल झिक्छ र हेर्छ । ‘अहिलेसम्म बाढी नियन्त्रणका लागि चार सय करोड राखिएको थियो अब त्यसलाई बढाएर सात सय करोड गरिदिन्छौं ।’ ऊ रेडियोबाट रूखमा झुन्डिएका, छानामा अड्केका र डुबिरहेका मानिसहरूसम्म यस्तो समाचार सम्प्रेषित गर्दछ – ए मनुवा हो ! निश्चिन्त होओ । मरिन्छ भनेर नडराओ ।
बाढी नियन्त्रणका निम्ति सात सय करोड गरिएको छ रे ! यस्तो निर्भयतादान देखेर मलाई केही सम्झना भइरहेछ । एउटा स्टेसनमा कुनै यात्री ओर्लिनासाथ एउटा होटेलको एजेन्टले उसलाई समाएर कोठा पक्का गरेछ । त्यसपछि एजेन्ट यसो यताउता के भएको थियो त्यसै बेला अर्को होटेलको एजेन्टले त्यस यात्रीलाई समाएछ । यस होटेलको भाडा केही सस्तो भएकाले यात्री उसैसित गएछ ।
यात्री यो दोस्रो होटेलको आफ्नो कोठाअगाडिको कौसीमा उभिएको थियो । त्यसै बेला पहिलो होटेलको एजेन्ट आएर कराउन थालेछ, ‘ए ! बेइमान ! फटाहा ! मलाई धोका दिइस् ? म तँलाई मारिदिन्छु ।
यात्रीलाई डराएको देखेर ऊ बसेको होटेलको एजेन्टले भनेछ, ‘ए, नडराऊ । यदि यसले तिमीलाई मारेछ भने म उसका चार जना ग्राहकलाई मारिदिनेछु ।’
यसपछि आउँछ आरोपप्रत्यारोपको प्रक्रियाको पालो । इन्दिरा कांग्रेस र कम्युनिस्ट पार्टीले आरोप लगाए, ‘दिल्ली प्रशासनले सबै राहतको काम आर. एस. एस.लाई सुम्पेको छ । यसरी राहतवितरणमै पक्षपात भइरहेको छ । यस्तो त हुनु नै थियो किनभने उनीहरूकै राज चलेको छ ।’
म त के भन्छु भने यदि बाढीको शुभागमनको आशा पहिले नै हुँदो हो त रोटी बेर्नका निम्ति गेरु रङ्गको कागज पहिले नै तयार पारिन्थे, तिनमा बालासाहब देवरसको चित्र हुन्थ्यो र दीपकको चिह्न हुन्थ्यो । चरणसिंहले आफ्नो चिह्न कहिले फिर्ता लिने हुन् कुन्नि ! रोटी पनि यस्तो कागजमा बेरेर मात्र बाढीपीडितलाई दिइन्थ्यो ।
राजनीतिको हो, जाबो मानवतावाद होइन । जहाँसम्म पक्षपातको प्रश्न छ त केदारनाथ लोहनीले त्यस्तो टोलका बाढीपीडितलाई रोटी किन दिउन् त जहाँबाट जनसंघलाई थोरै भोट परेको थियो ! यस्ता अराष्ट्रिय तत्त्वलाई साँपलाई झैं को पालिरहोस् ! कम्युनिस्ट पार्टीले पनि के बुझ्नुपर्छ भने साहनीले ती मजदुरलाई रोटी किन दिनुपर्यो जसले दत्तोपन्त ढेंगडीको भारतीय मजदुर संघलाई लोप्पा खुवाएर रातो झन्डा लिएर निस्किन्छन् ! अहिले त राजनीतिवालाहरू के हिसाब गर्दै होलान् भने यस क्षेत्रमा फलानो पार्टीका भोटरहरू सकिए नि ! ठिकै भयो, अझै धेरै मरेको भए अझ राम्रो हुने थियो ।
व्यापारी पनि आफ्नो प्रक्रिया दक्षतापूर्वक पुरा गर्दै होला – माल लुकायो होला, मूल्य बढायो होला र कुहेको अन्न बेच्न थाल्यो होला । उसको आफ्नै नैतिकता छ । ऊ पानीमा उत्रिरहेका लास जम्मा गरेर भन्नेछ – यो खानुस् हजुर ! अत्यन्त स्वादिष्ट । चिसो पानीमा तारेको मान्छे हो । पुरीजस्तै भुकुस्स फुलेको छ ।
बाढीका सबै परम्परागत प्रक्रियाहरू पनि सम्पन्न हुँदै छन् ।
०००
‘परसाईं ग्रन्थावली- ४’ को ‘पशुपतिनाथ के लिए अफीम’ बाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest






































