साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोसिला बिर्खे बाबा

कहाँ कुन ठाँउमा नयाँ सङ्घ संस्था खोलिँदैछ, कहाँ गएर म अनि मेरा भुस्तिघ्रे साथीहरू चेप्टिएर भए पनि फोटो खिँचेर फेस बुकमा अपलोड गरौँ भन्ने दाउमा हिँडिरहेका हुन्छन् ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

गाउँ-घरमा मान्छेहरू थरिथरीका हुन्छन् । कोही घर साँढे वन बिराला चालका हुन्छन् । कोही आबा न चाबाका । कोही आफूलाई गाउँकै राजा हुँ भन्छ । तर हाम्रो गाउँका बिर्खे भन्ने अर्कै किसिमका छन् । बिर्खे आफूले आफूलाई गाउँ घरमा पनि सबैको प्यारो भएर बस्न खोज्छन् । यता पनि ठिक, उता पनि ठिक । गाउँका युवक युवतीहरूले उनलाई दही चिउरे नाम राखिदिएका छन् । साँचो कुरा भन्नु नै हो भने तर गाउँ घरका मान्छेले उन नामै सुन्न चाहँदैनन् ।

उनलाई राम्री थाहा छ, मलाई कसैले मन पराउँदैननन् भनेर तरै पनि ती दुई चार जना आफू जस्तै भुस्तिग्रेहरूलाई लिएर हिँड्छ । घरि कता घरि कता गएर फोटो खिँचेर पहिला नै फेस्बुकमा अपलोड गर्न उनले बिर्सिनुमात्रै होइन आफूसित मिल्नेहरूलाई लाइक कमेण्टस् गर्न विन्ति बिसाउँछन् ।

हिजै मात्र भेटेको थिएँ उनलाई । नमस्कार दिदी भनेँ, मैले पनि भाग्यमानी हुनू अनि अनि बिर्खे भाइ यसरी लखर लखर डुलेर बस्नु भन्दा त एउटा राम्री केटी हेरेर विवाह गरेर घरजाम गर्नू नि हौ । उमेर पनि ढल्किसक्यो, अब बूढो पनि भइसक्यौ भनेँ । ती मान्छे हाँस्दै ए हुन्छ नि दिदी । समय आउँछ नि । भर्खर त तीस वर्ष पुगेँ । बच्चै छु । मैले पनि मनमनै हाँस्दै भनेँ, हो हो खूबै बच्चा रहेछस् नाथु । अनुहार हेर्दा राम्रै अप्ठ्यारोमा फलेको फर्सी जस्तै छस् । उनको कुरा सही थापे जस्तो गरी हाँस्दै घर पसेँ ।

हन यो बिर्खेले पनि गर्नु गर्छन् हौ । आजकल त फेरि कविता, गजल पनि लेख्न थालेछन् । उनले काम चैँ सबै गर्छन् । सब चिजमा हात हालेकै हुन्छन् । हिजो कुनि कुन चैँ पत्रिकामा उनको आर्टिकल देखेँ । छक्कै परेँ म त । हन यिनले के गर्नु आँटेछन् हौ । अब भने चुपो लागेँ भनेर भनी सक्नु छैन ।

अहिले उनलाई सम्झाउन थाल्यो भने उनले चिनेका होस या नचिनेका सबै ठूला बडाहरूलाई लिएर आउँछन् अनि गाउँ घरकाहरूलाई सम्झाउन थाल्छन् । किनभने, उनको नजरमा गाउँ घरकाहरू सबै पाँडे हुन् । उनी मात्रै बुद्धिमानी ठान्छन् आफूले आफैँलाई ।

आफ्नो गोजीको चार आना खर्च नगरी आफूले मेहनत नै नगरी अर्काले स्याहार सुस्याहार गरेर फलाएको मिठो फल खान खुब मज्जा आउँछ उनलाई । हिजो अस्ति हामी सबै गाँउलेहरू मिलेर एउटा समाज खोल्ने निणर्य लियौं । त्यहाँ उनली बोलाउँदै नबोलाई टुप्लुक्कै आइपुगेछन् । गाउँलेहरू सबै मिली सल्लाह गरिरहेका बेला प्याच्च बोल्दै के भन्छन् भने, अब बूडापाकाले समाज चलाएर हुँदैन । अब हामी नयाँ जेनेरेसनलाई चलाउन दिनुपर्छ । अचम्म, बोलाउँदै नबोलाएको समाजमा जबरजस्ती घुस्रिनु मात्र होइन आफ्नै ग्याङका युवाहरू नै पो लिएर आएछन् । हाम्रै दउँलबाट समाजको सभापति, सचिव अनि कोषाध्यक्ष राखिनुपर्छ पो भन्छन् ।

यी दहीचिउरेलाई त के साह्रो लोभ हौ पदको, छक्क पर्नु । गाउँमा जुनै पनि सङ्घ संस्था खोलिन्छ, बिर्खे कुनै न कुनै पदमा बसेकै हुन्छन् । कारण के हो कसैलाई थाहा छैन । आफूले जति कसैले जान्दैनन् भनी सोच्छन् बिर्खेले । गाउँ घरका सबैलाई थाहा छ. यिनको स्वभाव । कसैले मन पनि पराउँदैनन् । तर उनको मुख अगाडि सबैले जिब्रो चबाएर बोल्छन् । बिर्खेको अगाडि कोही बोल्दैनन् । हुन पनि बोली सक्नु छैन अनि । तिनले पुलिस, उकिल, मिडिया अनि सहरका कतिपय गजधम्बे नेताहरू सबै गोजीमै बोकेर हिँड्छन् । गोजीमै बोकेर हिँड्छन् भन्नु अलिक नमिल्ला, उनीहरूको चम्चागिरी गरेरै सबैको प्रिय भइसकेका छन् ।

हेर्दा सोझा सरल देखिने बिर्खे निकै जोसिला छन् । उनले त नहालेको कुनै काम छैन । उनी पदमा नभएको कुनै संस्था नै छैन । धन्न अरुको गाउँ घरमा गएर यो पद म सम्हाल्छु चैँ भनेका अहिलेसम्म सुनिएको छैन । कुन दिन त्यो पनि बेर लाँउदैन भन्ने मेरो सिक्स सेन्सले भनिरहन्छ बारम्बार । सायद संस्थाहरूको पद भार सम्हाल्दा सम्हाल्दै समय नपाएर होला बिर्खे आजसम्म पनि पोल्टीको कन्य कुखुरा नै छन् । बिहे गर्न सकेकै छैनन् । बिर्खेले बिहे नगरिञ्जेल त्यो संस्था सम्हाल्ने मौका अन्य युवाहरूले पाउने आशा नगरे पनि भयो ।

डी एल (दलाल) हरू कहाँ कुन जमिन कस्को खाली छ र पार्टी लगाएर एडभान्सड झार्न लगाएर यो महिनाको खर्च निकालौँ भन्ने खोज्दै हिँड्छन् हाम्रो जोसिला बिर्खे । कहाँ कुन ठाँउमा नयाँ सङ्घ संस्था खोलिँदैछ, कहाँ गएर म अनि मेरा भुस्तिघ्रे साथीहरू चेप्टिएर भए पनि फोटो खिँचेर फेस बुकमा अपलोड गरौँ भन्ने दाउमा हिँडिरहेका हुन्छन् ।

तपाईंहरूका गाउँ घरमा पनि बिर्खे जस्ता जोसिला मान्छे छन् कि छैनन् ? छैनन् भने झट्टै खबर गर्नुहोला । म बिर्खेलाई भन्दिउँला । ती जोसिला दहीचिउरे हस्याङ फस्याङ गर्दै आइपुग्छन् । उनलाई जसरी हुन्छ संस्था, समाज वा सङ्घको पद चाहिन्छ । उनले जस्तै पद भार पनि सम्हाल्छन् । चाहे त्यो बन्द भएको संस्था होस् या बुडापाकाले चलाउन नसकेका संस्था होस । ती मान्छे आफ्नो टिमसँगै आइपुग्छन् । त्यसको साटोमा तिनलाई तपाईहरुका गाउँ घरका ठूलाबडासँग फोटो चै खिच्नु दिनुपर्छ ता कि उनले त्यो फोटो फेसबुकमा अपडेट गरेर सबैलाई देखाउन चै सकोस् । त्यति भए अरु केही चाहिँन बिर्खेलाई ।

फोटोप्रेमी पदलोभी जोसिला बिर्खे बाबालाई गुडलक ।

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x