नगिता लेप्चा राईजोसिला बिर्खे बाबा
कहाँ कुन ठाँउमा नयाँ सङ्घ संस्था खोलिँदैछ, कहाँ गएर म अनि मेरा भुस्तिघ्रे साथीहरू चेप्टिएर भए पनि फोटो खिँचेर फेस बुकमा अपलोड गरौँ भन्ने दाउमा हिँडिरहेका हुन्छन् ।

नगिता लेप्चा राई :
गाउँ-घरमा मान्छेहरू थरिथरीका हुन्छन् । कोही घर साँढे वन बिराला चालका हुन्छन् । कोही आबा न चाबाका । कोही आफूलाई गाउँकै राजा हुँ भन्छ । तर हाम्रो गाउँका बिर्खे भन्ने अर्कै किसिमका छन् । बिर्खे आफूले आफूलाई गाउँ घरमा पनि सबैको प्यारो भएर बस्न खोज्छन् । यता पनि ठिक, उता पनि ठिक । गाउँका युवक युवतीहरूले उनलाई दही चिउरे नाम राखिदिएका छन् । साँचो कुरा भन्नु नै हो भने तर गाउँ घरका मान्छेले उन नामै सुन्न चाहँदैनन् ।
उनलाई राम्री थाहा छ, मलाई कसैले मन पराउँदैननन् भनेर तरै पनि ती दुई चार जना आफू जस्तै भुस्तिग्रेहरूलाई लिएर हिँड्छ । घरि कता घरि कता गएर फोटो खिँचेर पहिला नै फेस्बुकमा अपलोड गर्न उनले बिर्सिनुमात्रै होइन आफूसित मिल्नेहरूलाई लाइक कमेण्टस् गर्न विन्ति बिसाउँछन् ।
हिजै मात्र भेटेको थिएँ उनलाई । नमस्कार दिदी भनेँ, मैले पनि भाग्यमानी हुनू अनि अनि बिर्खे भाइ यसरी लखर लखर डुलेर बस्नु भन्दा त एउटा राम्री केटी हेरेर विवाह गरेर घरजाम गर्नू नि हौ । उमेर पनि ढल्किसक्यो, अब बूढो पनि भइसक्यौ भनेँ । ती मान्छे हाँस्दै ए हुन्छ नि दिदी । समय आउँछ नि । भर्खर त तीस वर्ष पुगेँ । बच्चै छु । मैले पनि मनमनै हाँस्दै भनेँ, हो हो खूबै बच्चा रहेछस् नाथु । अनुहार हेर्दा राम्रै अप्ठ्यारोमा फलेको फर्सी जस्तै छस् । उनको कुरा सही थापे जस्तो गरी हाँस्दै घर पसेँ ।
हन यो बिर्खेले पनि गर्नु गर्छन् हौ । आजकल त फेरि कविता, गजल पनि लेख्न थालेछन् । उनले काम चैँ सबै गर्छन् । सब चिजमा हात हालेकै हुन्छन् । हिजो कुनि कुन चैँ पत्रिकामा उनको आर्टिकल देखेँ । छक्कै परेँ म त । हन यिनले के गर्नु आँटेछन् हौ । अब भने चुपो लागेँ भनेर भनी सक्नु छैन ।
अहिले उनलाई सम्झाउन थाल्यो भने उनले चिनेका होस या नचिनेका सबै ठूला बडाहरूलाई लिएर आउँछन् अनि गाउँ घरकाहरूलाई सम्झाउन थाल्छन् । किनभने, उनको नजरमा गाउँ घरकाहरू सबै पाँडे हुन् । उनी मात्रै बुद्धिमानी ठान्छन् आफूले आफैँलाई ।
आफ्नो गोजीको चार आना खर्च नगरी आफूले मेहनत नै नगरी अर्काले स्याहार सुस्याहार गरेर फलाएको मिठो फल खान खुब मज्जा आउँछ उनलाई । हिजो अस्ति हामी सबै गाँउलेहरू मिलेर एउटा समाज खोल्ने निणर्य लियौं । त्यहाँ उनली बोलाउँदै नबोलाई टुप्लुक्कै आइपुगेछन् । गाउँलेहरू सबै मिली सल्लाह गरिरहेका बेला प्याच्च बोल्दै के भन्छन् भने, अब बूडापाकाले समाज चलाएर हुँदैन । अब हामी नयाँ जेनेरेसनलाई चलाउन दिनुपर्छ । अचम्म, बोलाउँदै नबोलाएको समाजमा जबरजस्ती घुस्रिनु मात्र होइन आफ्नै ग्याङका युवाहरू नै पो लिएर आएछन् । हाम्रै दउँलबाट समाजको सभापति, सचिव अनि कोषाध्यक्ष राखिनुपर्छ पो भन्छन् ।
यी दहीचिउरेलाई त के साह्रो लोभ हौ पदको, छक्क पर्नु । गाउँमा जुनै पनि सङ्घ संस्था खोलिन्छ, बिर्खे कुनै न कुनै पदमा बसेकै हुन्छन् । कारण के हो कसैलाई थाहा छैन । आफूले जति कसैले जान्दैनन् भनी सोच्छन् बिर्खेले । गाउँ घरका सबैलाई थाहा छ. यिनको स्वभाव । कसैले मन पनि पराउँदैनन् । तर उनको मुख अगाडि सबैले जिब्रो चबाएर बोल्छन् । बिर्खेको अगाडि कोही बोल्दैनन् । हुन पनि बोली सक्नु छैन अनि । तिनले पुलिस, उकिल, मिडिया अनि सहरका कतिपय गजधम्बे नेताहरू सबै गोजीमै बोकेर हिँड्छन् । गोजीमै बोकेर हिँड्छन् भन्नु अलिक नमिल्ला, उनीहरूको चम्चागिरी गरेरै सबैको प्रिय भइसकेका छन् ।
हेर्दा सोझा सरल देखिने बिर्खे निकै जोसिला छन् । उनले त नहालेको कुनै काम छैन । उनी पदमा नभएको कुनै संस्था नै छैन । धन्न अरुको गाउँ घरमा गएर यो पद म सम्हाल्छु चैँ भनेका अहिलेसम्म सुनिएको छैन । कुन दिन त्यो पनि बेर लाँउदैन भन्ने मेरो सिक्स सेन्सले भनिरहन्छ बारम्बार । सायद संस्थाहरूको पद भार सम्हाल्दा सम्हाल्दै समय नपाएर होला बिर्खे आजसम्म पनि पोल्टीको कन्य कुखुरा नै छन् । बिहे गर्न सकेकै छैनन् । बिर्खेले बिहे नगरिञ्जेल त्यो संस्था सम्हाल्ने मौका अन्य युवाहरूले पाउने आशा नगरे पनि भयो ।
डी एल (दलाल) हरू कहाँ कुन जमिन कस्को खाली छ र पार्टी लगाएर एडभान्सड झार्न लगाएर यो महिनाको खर्च निकालौँ भन्ने खोज्दै हिँड्छन् हाम्रो जोसिला बिर्खे । कहाँ कुन ठाँउमा नयाँ सङ्घ संस्था खोलिँदैछ, कहाँ गएर म अनि मेरा भुस्तिघ्रे साथीहरू चेप्टिएर भए पनि फोटो खिँचेर फेस बुकमा अपलोड गरौँ भन्ने दाउमा हिँडिरहेका हुन्छन् ।
तपाईंहरूका गाउँ घरमा पनि बिर्खे जस्ता जोसिला मान्छे छन् कि छैनन् ? छैनन् भने झट्टै खबर गर्नुहोला । म बिर्खेलाई भन्दिउँला । ती जोसिला दहीचिउरे हस्याङ फस्याङ गर्दै आइपुग्छन् । उनलाई जसरी हुन्छ संस्था, समाज वा सङ्घको पद चाहिन्छ । उनले जस्तै पद भार पनि सम्हाल्छन् । चाहे त्यो बन्द भएको संस्था होस् या बुडापाकाले चलाउन नसकेका संस्था होस । ती मान्छे आफ्नो टिमसँगै आइपुग्छन् । त्यसको साटोमा तिनलाई तपाईहरुका गाउँ घरका ठूलाबडासँग फोटो चै खिच्नु दिनुपर्छ ता कि उनले त्यो फोटो फेसबुकमा अपडेट गरेर सबैलाई देखाउन चै सकोस् । त्यति भए अरु केही चाहिँन बिर्खेलाई ।
फोटोप्रेमी पदलोभी जोसिला बिर्खे बाबालाई गुडलक ।
०००
सिलिगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest







































