माधव पोखरेल गोज्याङ्ग्रेआउनुस् अरिङ्गाल बनौँ
अब अरिङ्गाल भएर सबैको मथिङ्गल हल्लिने गरी काम गर्नुपर्छ अनि विकास, सुशासन, परिवर्तन, समृद्धिको ढोका खुल्छ र हामी ढोकाभित्र सुटुक्क पस्नुपर्छ र फोर अरिङ्गालको गोलो भएर चिल्नु पर्छ ।

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :
आउनुस् सबै आउनुस् सबैको भलो हुने काममा हातेमालो गरौँ, अरिङ्गाल बनेर सबैले सबैलाई चिलौँ र आफै ध्वस्त बनौँ । हामीले हामीलाई नै मिलेर चिल्नु पर्छ अनि हाम्रो चेतना आउँछ । हामी अचेतलाई चेतनामा ल्याउने माध्यम नै अरिङ्गालको चिलाई हो । हामीलाई हामीले नै चारैतिरबाट आक्रमण गरिरहेका छन्, त्यो आक्रमणका विरुद्ध हामी निरीह बनेर बसेका छौँ त्यसैले हामी अरिङ्गालबाट चिलिएका छौँ ।
अब हामी पनि हामीलाई नै अरिङ्गाल भएर चिल्नु पर्छ र अनि गोलो भएर मिल्नु पर्छ । अरिङ्गालले चिलेको घाउमा अरिङ्गालले नै फेरि चिल्यो भने निको हुन्छ त्यसैले हामी सबै अरिङ्गालको गोलो भएर खोलोझैँ बग्नु पर्दछ सलललल… ।
हामीले हिजोका दिनहरूमा उडुस, उपियाँ र मच्छर भएर आक्रमण गर्यौँ । तर आज हामी नै अरिङ्गालको चिलाईबाट बिलाई भएका छौँ, हामी माथिको यो घोर अन्याय कसरी सहने हामीले ? हिजो बाघ भालु सिंह बनेर अरुलाई तर्साएकै थियौँ, धम्क्याएकै थियौँ तर आज हामी उपर बारुलाले चिलेको भा त केही थिएन तर अरिङ्गालले नै चिलेको छ. यो पीडा हामी सहन सक्दैनौँ । त्यसैले हामी पनि अरिङ्गाल नै भएर चिल्नु पर्छ । हामी सिंहलाई बिरालो बनाउनेहरूलाई चिल्नु पर्छ, चिल्नु पर्छ, चिल्नु पर्छ । अरु किरा फट्याङ्ग्रा बनेर चिलेर हुँदैन अरिङ्गाल नै बनेर चिल्नुपर्छ । अनि तीन तिहाइको दुहाई देख्छन् र भोग्छन् । हामीले देखाउनु छ भोगाउनु छ त्यसैले अरिङ्गाल बनेर चिलाउनु छ ।
मेचीदेखि कालीसम्म र हिमालदेखि तराइसम्म सबैले अरिङ्गालको गोलो बनेर कोकोहोलो मचाउन सक्दैनौँ भने हामी बिरालोमा दरिन्छौँ । आज महाकालीको अरिङ्गालको गोलोले देशलाई नै तहस नहस पारेको छ । हामी पनि हाम्रा विरुद्ध उत्रनेहरू उपर त्यस्तै बनौँ । सबैलाई चिलौँ र क्षतिपूर्तिको व्यवस्था गरौँ । कसैलाई जिउँदै शहीद घोषणा गरौँ, कसैलाई घाइते शहीद घोषणा, गरौँ कसैलाई बाल शहीद त कसैलाई बालिका शहीद घोषणा गरौँ ।
साथीहरू हो गरौँ आनन्दले मन लाग्दी गरौँ, कोही चिल बनेर गरौँ, कोही बारुला बनेर गरौँ, कोही बाघ, भालु, सिंह बनेर गरौँ । मौका यही हो, मौका आउँछ पर्खिदैन बगेको खोला फर्किदैन भन्ने अवसरवादी उखान त सबैले सुन्नु भएकै होला । यो उखानलाई बखानमा परिणत गरेर भए पनि चिल्नु पर्छ हामी अरिङ्गालको गोलोझैँ एक भएर ।
हामी दुई तीन चार भएकोले हामी माथि अन्यायपूर्ण तवरले आक्रमण भइरहेको छ, यो कुरा हामी तीन तिहाईको दुहाई दिन सक्ने क्षमता भएकाहरूलाई कदापि पाच्य हुँदैन । तसर्थ कठेउरी, बारुलो, कमिला, रोगटे, भुसुना, डाँठ मच्छरको जस्तो गरी एक्ला एक्लै भएर होइन गोलबद्ध भएर चिल्नुस् । भिडभाडमा चिल्नुस, ठेलठालमा चिल्नुस् । आन्दोलनमा, जुलुसमा, आमरण अनसनमा, भोकहड्तालमा चिल्नुस् । खोलामा होस् वा पोखरीमा वा तालमा, तलाउमा डुबेर होस् जहाँसुकै भए पनि अरिङ्गाल झैँ भएर चिल्नुस् । चाहे त्यो जहाँसुकै होस् आसनमा होस् वा भाषणमा, शासनमा होस् वा कुशासनमा घुशासनमा वा राशनमा मिलेरै भए पनि चिली आउनुस् ।
हामीले जे जसो गरी चिले पनि हुन्छ र मिल्छ पनि । निर्मलालाई चिलेकै हो, अझैँ निर्मला जस्ता कमला अवलाहरू कति चिलिन्छन् पत्तो छैन । अत्तो थापेर चिलिनबाट अब कोही जोगिन सक्दैन यो देशमा । हामी कमिला, भुसुना, मच्छा बारुला नै भएर बस्ने सधैँ ? हामी कदापि त्यस्तो भएर बस्न सक्दैनौँ । त्यसैले अब अरिङ्गाल भएर सबैको मथिङ्गल हल्लिने गरी काम गर्नुपर्छ अनि विकास, सुशासन, परिवर्तन, समृद्धिको ढोका खुल्छ र हामी ढोकाभित्र सुटुक्क पस्नुपर्छ र फोर अरिङ्गालको गोलो भएर चिल्नु पर्छ यो देशलाई तीन तिहाईको दुहाइमा दुहुनुपर्छ चिलेरै भए पनि ।
०००
उदयपुर
‘भ्रष्टपाल’ (२०७९)
Subscribe
Login
0 Comments
Oldest







































