होम सुवेदीमास्साहबको रमाइलो
"हाम्रो प्रेसमा अक्षरको पनि कमी छ । फेरि तपाईंको यो भाषामा अलिक बढीनै गु चाहिन्छ गु नै गु । हाम्रोमा गु कम छ । फेरि प्रूफ हेर्ने पनि कोही छैन ।"

हाेम सुवेदी :
जगदम्बा प्रेसमा नित्य आउनेमध्ये मदनमोहन मिश्र पनि हुनुहुन्थ्यो । उहाँ नेपाल वा नेवारी भाषा बोल्ने वक्तासँग सोही भाषामा कुराकानी गर्ने ।
एक दिन उहाँले नेपाल भाषामा लेखिएको एक किताब छाप्नका लागि प्रेसमा लिएर आउनुभयो । अब यस भाषाको प्रूफ हेर्नु मेरो वशको कुरा थिएन । न म भाषा बोल्दथेँ न शुद्धाशुद्धिको त्यस भाषाको ज्ञान थियो । मनमोहनज्यूलाई लिएर मास्साहबका सामु गएँ र भनेँ “खै यो ता मेरो वशको कुरा भएन मास्साहब ।”
प्रेसमा पञ्चपाला वा केसमा अक्षरहरु रहेका हुन्थे । कम्पोजिटरले आफ्ना चारैतिरका साना सयौँ खोपिल्टामा राखिएका सिसाका उल्टा अक्षरहरु टिपेर बिस्तारै कम्पोज गर्दथे । अलग अलग अक्षरहरुलाई मिलाएर राख्नु नै कम्पोजिटरको काम हुन्थ्यो । त्यसैको मसी लगाएर कागतमा प्रिन्ट निकालेर प्रूफ हेरिन्थ्यो । यस्तो गर्दा अक्षरको कमी हुन सक्थ्यो । कुनै अक्षर सकिएर कामै रोकिन सक्थ्यो । यही अप्ठेरो अनुभव गरेर उहाँले मनमोहनज्यूतिर हेरेर भन्नुभो “हाम्रो प्रेसमा अक्षरको पनि कमी छ । फेरि तपाईंको यो भाषामा अलिक बढीनै गु चाहिन्छ गु नै गु । हाम्रोमा गु कम छ । फेरि प्रूफ हेर्ने पनि कोही छैन ।”
‘भाषामा गु ??’ मलाई भित्रभित्रै हाँस उठ्यो ।
म निकै छक्क परेँ यो भाषामा कसरी गु बढी चाहिन्छ हँ । मेरो मथिङ्गल अलिक चक्करायो । तर मनमोहनजीले बुझ्नु भएछ पहिले केही नबोले केही पछि यति भन्नु भो- “हो हुन ता यहाँ अलिक बढी नै गु चाहिन्छ ।”
“किन यसमा गु चाहिन्छ ? के हो गु चाहिन्छ भनेको ?” मैले सोधेँ हाँसोलाई कसै गरी थामेर ।
अनि पो उहाँले व्याख्या गर्नु भो “कतै छङ्गु , कतै झिगु, कतै गुँला, कतै छङ्गुला, कतै गुँलागा कति धेरै गु चाहिन्छ चाहिन्छ नि !”
अनि पो मैले अक्षरको केसमा ‘गु’ वा ग वर्णको र त्यसमा जोडिने उकार को कमी हुने रहेछ भन्ने बुझेँ अनि मरी मरी हाँसे । किताब फिर्ता गरिदिएँ मदन मोहनज्यूलाई ।
सायद आजसम्म मदनमोहनजी हुनुहुन्छ हुनुहुन्न कुन्नि अहिले केही थाहा छैन । सायद पाँडे पुराणका रामकुमारजीलाई उहाँबारे थाहा होला कि।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































