साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोवी खोलो गन्ध : बुख्याँचा छन्द

सिमेण्ट, रड, अलकत्र, चिलगाडी र मान्छेलाई अमान्छे बनाइ बेच्ने बुख्याँचा रुपी बँदेल जस्ता ब्वासेँ चरित्र बोकेका महाशयहरूको प्रतिनिधित्व गर्छ यो धोवी खोलाले ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

नेपाल देशको राजधानी काठमाण्डौको मुटु भन्दा अलिक तल नाइटाको आसपास एउटा कालो पानी बग्ने खोलो छ । कालो पनि ध्वाँसे कालो । आँखा चिम्ले पनि, कान थुने पनि थाहा लाग्छ तर नाक चैँ थुन्नु भएन । नाक त त्यस्तो चिज हो जस्ले घ्राण पनि दिन्छ, प्राण शक्ति पनि फोक्सोसम्म पुर्‍याउँछ । नपत्याए हजारौँ सिल्ली बोकेको डिल्ली बजारबाट नयाँ थानेश्वरहरूले सिटी बजाउने पुरानो बानेश्वरको बाटो हानिनु होस् त । बीचैमा नाकका प्वाल भरिने गरी तपाईंको फोक्सोले एक अजिव खाले गन्ध तान्छ । ठोस तरल चपाउने मुख पनि वाक् वाक् गर्न पुलकित हुन्छ । हो त्यही हो धोवी खोलो ।

यस्तो किसिमको गन्धसँग मेरो चाहिँ पुरानो नाता गाँसिएको पनि छ । एउटा स्कूलमा चक डष्टर चलाउने अधिकार पत्र बोकेर एउटा स्कूलमा गएँ । बिहान बेलुका ज्यान तेस्र्याउने र उदर पूजा गर्ने डेराको आँगनको डिलै मुनी सुँगुरको बटालियन बस्ने खोर थियो । आँगन नै मुनि चैँ किन ? भन्ने कौतुहल होला । बिहान बिहानको पेट खलाँस गर्न त्यही आँगनको डिलमा टुक्रुक्क बसेर अँ……अँ….. गरेर कन्दा एकै पटक दुइटा काम हुने रै छ । आफ्नो पेट खलाँस र सँगुरको भोजन । सुँगुर भन्ने जिवातले नखाने के होला ? त्यस्ता जन्तुको मलले कुन खालको गन्ध छोड्छ ? सजिलै अनुमान लाउन सकिन्छ । यो खाले अनुभव गर्न पाउनु पनि भाग्यमै लिएर आउनु पर्ने रहेछ । राति सुकला गर्ने पालीमा ह्वास्स ह्वास्स गन्ध आउने ।

एक महिना जति त न त भोक न त तिर्खा जस्तै भो । बिस्तारै त्यो गन्ध वास्नामा परिणत हुँदो रहेछ । अब त वास्ना नआई खाना नै अरुची हुने जस्तो भयो । अनि त अन्त कतै जानु पर्‍यो भने सुँगुरको बास हेर्ने अनि मात्र बास बस्ने । लामो समयसम्मको निकटताले त प्रेम पो बस्दो रहेछ, त्यस्तै प्रेम बस्यो मेरो सुँगुरको वास्नासँग पनि । शिकार चैँ नखाने तर वास्ना बेगर नहुने । हो, त्यही प्रेमिल भाव बोेकेको वास्ना लिने धोवी खोला भन्दा अर्को ठाउँ कहाँ होला र ?

सेतो, रातो, कालो, पँहेलो सबै रङ्गको पुल बोकेको धोबी खोलाको सेता पुलको वारिपारी शिव, गणेश, राम, कृष्ण, हनुमानका बच्चा रुप जस्ता मुर्ति पनि छन् । शायद उनीहरूलाई पनि यस्तो वास्ना बिना सन्तुलित भोजन नपुग्दो हो वा पञ्चेन्द्रिय सक्रिय छैनन् । जे भए पनि तीनैको शरणमा गएर जाडोमा ढाड सेक्ने अनि वास्ना पनि लिने मनशाय बोकेर दिनको तीन घण्टा बिताउने निधो अनुसार दैनिक चलाउन थालेँ । यसो गर्दा जिउले तातो पाउने र नाक फोक्सोले रोजेको खुराक पाउने । ख्याल आनन्द हुन्न ।

आसपासका स्कूलमा पढ्ने विद्यार्थीलाई पानीको रङ्ग कस्तो हुन्छ भनेर सोध्यो भने सजिलै उत्तर मिल्छ कालो भन्ने । चार भञ्ज्याङ्ग बाहिर पाइला नटेकेको मान्छेलाई पानीको रङ्ग सोध्यो भने थाहा भै हाल्छ नि । किताबमा लेखेको कुरा होइन आँखाले देखेको कुरा सत्य हुन्छ भन्ने कुरा त बराजु कै पालादेखि चलेकै छ नि । यो खाल्डोमा बसेर पानी रङ्ग विहीन तरल पदार्थ हो भन्यो भने एक्लो बृहष्पती झुटा भै हालिन्छ ।

खान्की पनि अजीवको छ धोवीखोलाको । धोवीले धाेएको धरो धारण गरेर धरोधर्मको भाकल फलाकेर धर्म कमाउने धर्के चन्दनधारीदेखि लिएर बाम्फोकले बजाएको बफे डिनर बाजी मार्नेहरूले चपाएको बङ्गुर, बफ, बँदेल, बाख्रा, बोका, बट्टाई जस्ता बबुराहरूको भुँडीदेखि भुत्लासम्म । चोरी चम्काइ गरेर चित्त शान्त पार्ने चञ्चले र चनमतीहरूले धारण गरेर विसर्जन गर्ने चञ्चलेका खोलदेखि चनमतीको च्यापमा च्यापेको चिप्लो सुप्लोसम्म, काठमाडाैंको काप कापमा कुइँ कुइँ कराउने कुकुरका लाशदेखि लिएर मटानमा म्याउँ म्याउँ गर्ने मरेका बिरालाका ङ्याउरासम्म, पितृ लोकमा पसारिएका पितृलाई चढाएको पक्वान्न पिण्डसम्म सबै धोवी खोलाको खान्की भएपछि यी सबैको कक्टेल गन्ध कत्तिको कसिएर छिर्छ ? नाकको प्वालमा अटेस मटेस हुँदै ।

मानौँ, धोवी खोलो धन कमाउने ध्याउन्नमा सिंह दरबार धाउने धोवी मार्का धन्वन्तरीहरूको प्रतीक हो । सिमेण्ट, रड, अलकत्र, चिलगाडी र मान्छेलाई अमान्छे बनाइ बेच्ने बुख्याँचा रुपी बँदेल जस्ता ब्वासेँ चरित्र बोकेका महाशयहरूको प्रतिनिधित्व गर्छ यो धोवी खोलाले ।

फरक यतिमात्र छ । धोवी खोलो हिँउद वर्षा आफ्नाे गतिमति छोड्दैन तर ती महाशयहरू छेपारो जस्तै रंग विरंग मौसम अनुसार रंग बदली रहन्छन् । फरक के छ भने ती महाशयहरू धोवीखोला किनारमा चारचक्केमा हुँइकिँदा नाकमा ठेडी कोचेर हिँड्छन् । यता जनता जनार्दन भने धोवी खोलाकै पुलमुनि बास बसेर ती महाशयहरू आउँदा नाक, कान, आँखा सबै बन्द गरेर ध्यान मग्न हुन्छन् । बस् अब केही बोलेँ भने ध्यान भङ्ग होला भन्ने डरले मेरो फतर यहीँ बिसाएँ ।

०००
धोबीखोलाकै छेउकिनार, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x