साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसालाई वेद पढाउने धूनमा

वास्तवमा मानिस असल जीव होइन रहेछ अथवा ऊ अझ असल बनिसकेको छैन । भलादमीपन, असल र ठूलो काम, विद्वता, सभ्यता इत्यादिको निहुँमा ऊ आफ्नो स्वार्थ सिद्ध गरिरहन्छ । हरेक वृत्तिमा पनि ऊ आफ्नो कुप्रवृत्ति लुकाइरहन्छ ।

Nepal Telecom ad

हृदयचन्द्रसिंह प्रधान :

म हिजो बेलुकी भात खाएर सुतेको त सुत्दासुत्दै पुरोहित बाजे बन्न पुगिरहेको । याँ …निदारभरी तिलक र मुठ्ठे जुँगा भएर सुँगुर जस्तो पो मोटाइरहेको थिएँ । ‘त त न न’ भए पनि सिलोक त कण्ठै थियो, तर लामो भएकोले अर्थको सधैँ धोखै दिन्थ्यो । एकै निदमा पुरोहित बनी म गरुङ-पुराणको साङ्ग्य दिनमा पुगिरहेको । म भारी खुशी भइरहको थिएँ, किनभने यसपालिको गरुड पुराणको अर्थमा “कोट एउटा पनि गरुड-पुराण भन्ने बाहुनलाई दान गर्नुपर्छ” भन्ने कुरा जोडिदिएको थिएँ । जजमान पनि असलै थियो । अविश्वास र तर्क त कहिल्यै पनि नगर्ने । किन, कसरी कारण भन्ने त उसको मुखमा कहिल्यै छैन । म मनैमन दङ्ग पनि भइरहको अङ्ग्रेजी नपढाएको पनि सबै परेछ ! अझ मैले त हिन्दी पनि पढ्न खराब भनिदिएको थिएँ, त्यसैले यसको नेपालीमात्र पढेको थियो । मेरो असल जजमान देखेर एउटा पुरोहितले जजमानी किन्छु भनी १२०० रुपियाँ दिएका थिए- म के लाटो मानिस हुँ र त्यसमा पनि ५/५ भाइ भएको घर, अर्को कुरा फेरि एकै चुटकीमा ५ भाइ ५ घर भएर फुट्ने आफूलाई निश्चय भएको । मुख चेप्र्‍याएर उनलाई जवाफ दिइपठाएँ : १२०० त एकाध वर्षमा तिनै घरबाट त्यसै उठिहाल्छ ।

नत्र गरुड पुराणको अर्थमा पुराण भन्ने बाहुनलाई ‘कोट दान गर्नुपर्छ’ भन्ने अर्थ नजोड्ने थिएँ । कोट एउटा लाउन सारै रहर भएर पनि भनिदिएको थिएँ । पाजी लडाइँले गर्दा छुनै नसक्ने भएर कपडा महँगो भो । कोट लाउन नपाएको वर्ष दिन नाघिंसक्यो । रहर पनि कसरी नहोला ? त्यसैले मेरो पालो लौ जा त भनेर अर्थ लाइदिएको । नभन्दै मेरो भलादमी र भक्त जजमानले एउटा ‘फस्ट किलास’ को असल केटा दान गरिहाल्यो । त्यहाँदेखि लाएर हर्षले टुप्पिएर, हात्ती नाक, डल्की चाल गर्दै घर फर्के । रात झमक्क परिहाल्यो । दिनभरीको थकाइले निद पनि खूब आयो ।

थकाइको तोडले निदले त झमक्क पारेको थियो । तर कोट लाउने उत्सुकता भने निदभित्र पनि जागिरहेको थियो । त्यसैले आधा रातदेखि बिउँझेर कोट लाउन उकुस-मुकुस औताइरहको थिएँ । बल्ल-बल्ल बिहान भो । काम न काजै सही, मलाई त उठ्नासाथ हत्तरपत्त कोट लाएर एकचोटि बाहिर जान रहर लाग्यो । दिसै नगरीकन बाहिर जान सुर गरें । कोट लाउँछु त बाहुनी बज्यै ‘आमै…..!’ चिच्याएकी । ‘के रहेछ हँ’ भनेर यस्सो कोटतिर हेरेको त ७ ठाउँमा प्वाल । हरे मूसा पाजी देखेर रीस उठेको आँखैले केही देखेन । वर्ष दिनपछि बल्ल एउटा कोटको सौभाग्य पाएको च्व-च्व चित्त फाटेर आएको केही गरेर पनि धैर्य गर्न सकिनँ । आधा घण्टासम्म त मूसालाई यस्तै गाली गरिहेँ- “सत्यनाश होस् तेरो ! छेरौटीले मरोस् तँ ! तेरो वंश नाश होस् ! तेरो घर आगो लागोस् ! रुघा लागोस्, खोकी आओस्, ज्वर आओस्, टी.बी होस्, टाइफर होस्, शूल होस्, पिनाश होस्, दाँत दुखोस्, आँखा दुखोस्, कान दुखोस्, लङ्गडो होस्, खुँडो होस्, बहिरो होस्, लाटो होस्, कानो होस् भएभरका रोग होस्, तँलाई ।”

यस्तै म मुसोलाई गाली गर्दै थिएँ । पल्ला छेउमा उभिएर बाहुनी त मुख छोपीकन खित्का छोड्दै हाँसिरहेकी अनि त रननन रीस उठेर आयो, उनका दुवै गालालाई ढोलक गरिदिएँ । कस्ती मूर्ख !- कस्ती गधी ? मेरो यस्तो अवस्थामा उसलाई हाँसो । रिसाउँदा-रिसाउँदा थकित भएँ । एक मनमा विचार पनि फुरेर आयो, रिसाएर पनि गर्ने के ? खाने खाइहाल्यो, हुने भइहाल्यो आइन्दालाई पो ठीक गर्न पर्‍यो । अर्को मनले विचार्‍यो- होइन, अब मूसालाई वेद पढाउन पर्‍यो, अनि मात्तै हाम्रो भलो होला । नत्र एक त त्यसै मूसा मूर्खराम अर्को कपडाको महँगी, कसरी हाम्रो असल होला । अज्ञान भएपछि के लाग्छ, वेद- पढाएपछि त मूसाहरू जरुर ज्ञानी होलान् । मूसालाई ज्ञानी नगराउनु त हाम्रो मूर्खता पनि हो, किनभने मूसा अरु प्राणी जस्तो होइन, उसित हाम्रो ज्यादै घनिष्ट सम्बन्ध छ । त्यसैले उसलाई वेद पढाउनु हाम्रो ज्यादै बुद्धिमानी काम हो । वेद अरु सबै विद्याभन्दा ज्ञानको भण्डार पनि छ । अर्को कुरा मुसालाई अरु विद्या पढाएर सफल पनि हुन सकिन्न किनभने उसले धारण गर्न सक्तैन । वेदचाहिँ धारण गर्न सके-सकोस्, नसके नसकोस्, उसको ध्वनि त सुनिहाल्छ । उसको ध्वनिमात्र नै मन्त्र हो, असर गरिहाल्छ बस मुसा सोझै ज्ञानी भइहाल्छ । अनि लुगा-सुगा काट्ने-खाने क्षुद्र काम किन गरिरहला ?

फेरि विचार फुरेर आयो, स्त्री र शूद्रलाई त वेद पढाउन हुन्न भन्ने म आफैँ विरोधी छु झन् मुसा जस्तो छुद्रलाई कसरी वेद पढाउने ? फेरि अर्को मनले विचार गर्‍यो, क्षुदै्र भएर त मुसालाई वेद पढाएर ज्ञानी गराउन आवश्यक भएको । स्त्री र शूद्रलाई त ज्ञानी बन्नाको जरुरत पनि छैन, उनको काम त हो खालि सेवा गरिरहनु, सेवा गरिहनलाई ज्ञान दिन चाहिएको छ ? परम्परा भए पुग्छ, त्यसैले वेदको खाँचो उनीहरूलाई किन ? उनीहरू ज्ञानी बने त सब सुख चूलो जान्छन् ।

आखिरमा अन्तिम विचारअनुसार मूसालाई वेद मन्त्र सुनाएर ज्ञानी गराउने काममा पे्ररित भएँ । त्यसैले धमाधम मैले मूसाहरू समात्ने प्रयत्न गर्न थालेँ । एउटा त याँ ..घ्वाँके मुसा नै बल्झाएँ । मैल विचारेँ मेरो कोट खाने यही मूसा चण्डाल होला । किनभने जुँगा पनि लामा-लामा छन् बस, वेद सबभन्दा यसैलाई पढाउनुपर्छ भनी दुवै हाँतमा फलाम जस्तो सारो छालाका पञ्जालाई बेस्करी दुवै हातले अँठ्याएर कानतिर मुख लगेर वेदका ऋचाहरू भट्याउन थालेँ । कस्तो हरामजादा मूसो भने कसरी कसरी ओठै टोकिदियो । ‘ऐइया’ भनेर एकचोटि बुर्लुक्क उफ्रेका त पक्राइको जोड फितलेर मुसामहाराज त कुलेलम । तर पछाडि फर्की-फर्कीकन भागेको थियो । “देखाजाएगा, लाउलास् कोट तैँले” भनेको हो कि भन्ने मलाई डर भयो ।

फेरि मैले विचारेँ- होइन पक्का पनि यसलाई वेद मन्त्रले नै असर गरेको हो । फर्की-फर्कीकन हेरेको कारण अरू केही पनि होइन । अब एकचोटि फेरि पढाउन पाएँ भने त जरुर-जरुर ज्ञानी भइहाल्छ । यो ढब्बू नाइके मुसा ज्ञानी भइहाल्छ । बस यही विचारलाई सही ठानी त्यसलाई खोज्न कमर कसेँ । मूसाको दुलो खोज्दैखोज्दै जेठी स्वास्नीको कोठामा पुगको त श्रीमतीजी त म्यानबाट तरबार झिकेर जगल्टा फिजाउँदै लाल-लाल नेत्र गरी, दाह्रा किटी-किटीकन साक्षात्की क्षत्राणी बनेर उभिरहेकी । म छक्क परेँ, साथै एकचोटि तर्सें पनि । मैले सोधेँ -“यो कुन लीला हो ?” डटेर उसले भनी- “म क्षत्राणी हुँ, मेरो आज्ञा र सिद्धान्त नमान्ने सारालाई म काट्छु, उनीहरूको सर्वस्व लुट्छु । यस्तै गरी-गरीकन म भूमि बढाउँछु, मानिसलाई काबूमा लिन्छु र रानी बन्छु । म क्षत्राणी हुँ ।- म क्षत्राणी हुँ ! मेरो धर्म यही हो !”

उसको यति कुरा सुनी केही पनि जवाफ नदिइकन म सरासर जेठो छोरोको कोठाभित्र पसेँ, उनै मूसा महाराजको दुलो खोज्दै जेठाजीको कोठा त भटमासले खचाखच भरेको । एक छेउमा बसेर आफू बसी पल्टिइरहेको । मैले सोधें- “यो क्या हो जेठा ?” उसले जवाफ दियो- “भटमास खरिन लागेको बा । नेपालमा भएभरको भटमास किन्ने मेरो सुर छ, अनि भटमासको भाउ हाम्रो दाउमा हुन्छ । रुपियाँ माना, २ रुपियाँ माना, जतिसुकै भाउमा पनि कन्ट्रोल हाम्रो हातमा हुनेछ ।”

मूसाको दुलोको धुनमा म थिएँ । त्यहाँबाट सरासर कान्छा छोराको कोठामा पसेँ भएभरका भरिया बटुलेर ऊ त आफू नाइके बनिरहेको । भरियाको खोजमा आइरहका मानिसहरू मोल नमिलेर ओहरा-दोहरा गरिरहेका । भरियाहरूसित कान्छा छोरा कुरा गरिरहेको- २५ रुपियाँ नपाईकन हामीले पाइलो पनि सार्ने कुरा नगर्ने चामल महँगो, कपडा महँगो, इत्यादि कुराको निहुँ थापेर गला रेट्ने हाम्रो अहिले मौका छ, हामीले आफ्नो मतो बाँधेपछि नाकाचालले हामीले भने जति तिर्नैपर्छ ।”

उहाँबाट पनि मूसाको दुलो नखोजीकनै फर्कें । त्यहाँबाट फर्केर म सरासर आफ्नै कोठाभित्र पसेँ । कोठाको दैलो मात्तै के नाघेँ झल्याँस बिउँझेछु- स्वप्न-संसारबाट । सपनाका कुरा सम्झीकन म अचम्म भइरहेँ । स्वप्न सिद्धान्त बुझ्न मलाई सारै रहर लाग्यो । तर मलाई विश्वास पनि भयो- सपना जागृतिको जीउँदो चित्रण, प्रतिबिम्व वा प्रतिध्वनि पनि हो । वास्तवमा मानिस असल जीव होइन रहेछ अथवा ऊ अझ असल बनिसकेको छैन । भलादमीपन, असल र ठूलो काम, विद्वता, सभ्यता इत्यादिको निहुँमा ऊ आफ्नो स्वार्थ सिद्ध गरिरहन्छ । हरेक वृत्तिमा पनि ऊ आफ्नो कुप्रवृत्ति लुकाइरहन्छ । मानिस बुद्धिमान् भए पनि उसले असल बनिने साधन उपलब्ध गर्न सकेको छैन । बुद्धिद्वारा उसले अहिलेसम्म आफ्नो स्वार्थमात्र सिद्ध गर्न खोजिरहेको छ । सुखलाई समेट्नु र लुकाउनु यही उसको नराम्रो बानी छ र मानिसमा दुःखको हाहाकार बढिरहेको कारण एकमात्र यही हो । आज सपनामा पनि मैले मासिनको यही प्रवृत्तिको छाया दर्शन पाएँ ।

०००
‘जुँगा’ निबन्धसङ्ग्रह (चौ.सं. २०४१) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिरालो

बिरालो

हृदयचन्द्रसिंह प्रधान
जुँगा

जुँगा

हृदयचन्द्रसिंह प्रधान
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x