साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलपतिको नियुक्ति गर्दै उल्लू

“यो त अमानवीय काम हो । राष्ट्रघाती काम हो ।” मेरो चित्त बुझेन । “हो हो हो ।” दाह्रीमा लागेको पानको पीक पुस्दै उसले भन्यो- “यस्तै कामबाट त लक्ष्मी तुरन्त फुरन्त आउँछिन् । बेबकूफ कहिँका ।”

Nepal Telecom ad

योगीश कृष्ण :

उघिल्लो पटकभन्दा यस पटक उल्लूको चालढाल फरक थियो । गालामा मिलाएर काटिएको दाह्री । घाँटीमा सिल्कको गमछा । हातमा महङ्गो खालको चुरोट र मुखमा पान ।

मैले उसलाई पहिले झैँ भक्तिपूर्वक नमस्कार गरेँ । पानको पीक मुखबाट नझरोस् भनेर उसले टाउको आकासतिर उठायो । उल्लूका लागि यो कठिन कर्म थियो । आँखा टेढो पार्दै उसले मलाई तुच्छतापूर्वक हेर्‍यो । मैले उसलाई तीस वर्ष पुरानो सम्पर्क स्मरण गराएपछि केही पयिरचयभाव प्रदर्शन गर्‍यो “अरे भाइ, तिमी पो रहेछौ । अहिले पनि जस्ताको त्यस्तै रहेछौ ।”

उल्लूमा आएको परिवर्तनप्रति चमत्कृत हुँदै मेले कर जोडेँ- “हजुर । यत्रो वर्षदेखि विन्ति गर्दै आएको छु । लक्ष्मीको आर्शीवाद मलाई प्राप्त भए कृतज्ञ हुने थिएँ ।” मैले तीस वर्षअघि फकाउनका लागि भनेको कुरा पुन दोहर्याएँ- “मेरो दिन फिर्‍यो भने हजुरको मूर्ति सबै शैक्षिक संस्थानमा स्थापित गर्न लगाउँछु ।”

उल्लूमा पहिले झैँ नम्रता थिएन- “अरे यार, तिमी के फालतु कुरा गर्दै छौँ । अब म ऊ जमानाको उल्लू थोडै छु । म कुलपति उपकुलपतिको नियुक्त गर्ने हैसियत राख्दछु ।”

सञ्चारमाध्यममा भएका टिका टिप्पणी एवम् कार्यशैली सम्झँदा उल्लूको भनाइ सत्य लाग्यो । यस्ता नियुक्तिका सूत्रधार ऊबाहेक अरु कोही हुनै सक्दैनन् । उल्लूको सफलता र परिवर्तनप्रति आश्चर्यचकित हुँदै म हात जोडेर उभिरहेँ ।

उल्लू मुस्कुरायो- “जुन दिन मलाई मानिसले सिर्फ उल्लू ठान्थे । मेरो कुनै हैसियत छैन । त्यसबेला पनि तिमीले मलाई सम्मान गरेका थियौ । म चाहन्छु कि तुम्हारा कुछ हो जाए ।”

उसको आत्मविश्वास देखेर बल्ल सास आयो- “यस पटक भने केही होला जस्तो छ ।”
“तो फिर, बताओ ।”

मैले बिन्ति बिसाएँ- “हजुर, एक पटक लक्ष्मीको कृपा भए हुन्थ्यो ।”

उल्लू हाँस्यो- “धुत । उल्लू कहिँका । लक्ष्मीजी यस्ता सानातिना काममा थोडै न इन्भल्भ हुनुहुन्छ । म आफै गर्छु । जमाना कहाँ से कहाँ चला गया । तुम वही हो ढाक के तीन पात । एउटा काम गर । कुनै प्रदेश स्रदेशको माग राखेर आन्दोलन चर्काऊ । नेपाली लक्ष्मीको त के कुरा, यसमा युरोपियन युनियनदेखि भारतसम्मको लक्ष्मीको कृपा भइहाल्छ ।”

मैले उसको कुरा बुझिनँ । उसले समझायो- “हेर, यही काम गरेर मानिस कहाँबाट कहाँ पुगिसके । कुनै ज्ञान सीप नभएका र कुनै काम गर्न नसक्ने मानिस अरबौँका मालिक छन् । उता सान र मानको कुरा छाडिदेऊ । देश विदेश जताततै जयजयकार ।”

मेरो अन्यमनस्कता देखेर उसले समझायो- “तिम्रो जातका केही मानिसलाई जम्मा गर । नयाँ राज्य चाहियो भनेर नारा जुलुस लगाऊ । तोडफोड गर । सके दुई चार जनाको ज्यान लिऊ ।”

उसको कुरा सुनेर मेरो सातो गयो- “हजुर । यस्तो ज्यान मार्ने काम त अपराधीको पो हो त ।”

ऊ हाँस्यो- “अरे यार । अपराध सपराध केही हुन्न । गुर्दामा कुबत छ भने जति ज्यान मारे पनि केही हुन्न । पावर भएपछि सात खून माफ हुन्छ यार । कस्ता कस्ता अपराधी सत्तामा छन् । तिमी के चिन्ता गर्छौ ? ठिक छ, सय पचास जनालाई घाइते पार्न वा नाकाबन्दी त गर्न सक्छौ नि ?”

“यो त अमानवीय काम हो । राष्ट्रघाती काम हो ।” मेरो चित्त बुझेन ।

“हो हो हो ।” दाह्रीमा लागेको पानको पीक पुस्दै उसले भन्यो- “यस्तै कामबाट त लक्ष्मी तुरन्त फुरन्त आउँछिन् । बेबकूफ कहिँका ।”

कस्तो दिन आएछ । उल्लूले पनि मलाई बेबकूफ भन्ने । अघिल्लो दुई पटक त लक्ष्मीको कृपा नभए पनि दर्शन त पाइएको थियो । यस पटक त त्यो पनि जुरेन । उल्लूले सहानुभूति देखाउँदै भन्यो- “विचार गर । कुनै दिन फुर्सदमा भेट होला । नयाँ विश्वविद्यालयको कुलपति नियुक्तिको काममा जानु छ ।”

कोट सम्याउँदै उल्लू उड्यो ।

०००
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x