सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अवेर भयो !

श्रीमानजिउलाई यो समस्यावाट फुर्सद दिएँ अबलाई अरू कुरा सोच्न छाड्नोस्, छोरीको विहेबारे सोच्नोस् ।’ वास ! गफडीका गालामा यो भयो अर्को चड्याम । गफडीले पहिले देख्यो- बाबुको विहे ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

गुनिउँ र उनिउँ
गफडी सुल्फा तानेर मख्ख परेको गँजेडीझैँ वा बोतलको चटकमा लट्पटिएको बोतलिस्टझैँ यसो एकाध खुला गफ गर्न पाउँदा मस्त थियो । लेखकलाई लेख लेख्न पाउँदा र सो छपाउन पाउँदा पुत्रोत्पत्तिलाई जित्ने हर्ष हुन्छ, त्यसमा झन् गफडीले गफ छपाएर सुनाउन पाउँदा त कस्तो हुँदो हो ! त, मस्त गफडीका कानमा गफडिनीका मुखारविन्दवाट प्रस्फुटित शब्द परे ‘गफाडीजिउ, मलाई चाहियो गुनियूँ ।’ गफडीले रिस भनेको मेची खोलामा बगाइदिएको छ । खालि प्रश्न मात्र गर्‍यो- ‘के यत्रो दिन श्रीमतीजिउ, तपाईंले खानुभएन घिउ लाउनुभएन गुनियूँ र म भएँ उनियूँ ?’ यस सरस प्रश्नको बज्रकठोर प्रहार भयो- ‘गफ जस्तो होइन श्रीमानजिउ, परिवार पालन गर्ने काम ।’ घरका व्यक्तिगत फलाका ज्यादा नसुनाऊँ । आफूलाई वसन्त ठान्ने उठन्त भएर उनिउँ भइसकेछ गफडी, बस ।

के चालले कमाऊँ धन ?
गफडी एकसुरे छ-जे, सुरमा लाग्यो भने लाग्यो-लाग्यो, त्यसै सुरमा । श्रीमतीजिउलाई गुनिउँ दिन सकेको छैन भने धन छैन मसँग, धन के गरेर कमाऊ भन्ने प्रश्न उठ्यो । (प्रश्न ठुलो हो भनेर धाक लाउँदैन गफडी । उसको जिउचाहिँ ओछ्यानमा सुत्यो । गफडीले मनले चाहिँ सोच्यो, हेर्‍यो, बुझ्यो । जग्गाविकासकर लगाऊँ भने व्यक्तिलाई यो लगाउने अधिकार छैन । ढाट थापूँ भने गफडी पञ्चायत होइन । फोरेन गुड्सका माल पारि तारुँ भने गफडी चुप्पी मार्न सक्तैन । पीतपत्रकारिता गरूँ भने गफडीका दृष्टिमा पत्र सेतो मात्र छ, पीत छैन । गफडीको ध्यानमा भङ्ग गर्न एउटा पुरानो सिलोक हेक्का आयो, जागिर छैन, धनी म छैन घरको हो, गफडीको जागिर हो गफ । गफडीको धन हो गफ । यो गफ डलर त परै जाओस्, नेरुभारु पनि होइन अनि कसरी आउँछ गुनिउँ ? ठिक गफडी भएछ उनिउँ ।

बाउको विहे कि छोरीको विहे ?
श्रीमतीजिउका अगाडि नारीवर्षपछिका लगत्तैका एक दुई वर्षपछाडि गफडीले घुँडा टेकेर के विन्ती बिसायो भने- ‘मसँग गफ छन्, तिनै गफहरू लगेर सारी किन्नुहोस् श्रीमतीजिउ ।’ श्रीमतीजिउबाट यस विषयमा वक्तव्य भयो, ‘श्रीमानजिउ, म नारी है म सारीविना सरी । जीवित रहन सक्तिनँ । यो समस्याको समाधान यसपालिलाई मैले माइतबाट गरेँ । श्रीमानजिउलाई यो समस्यावाट फुर्सद दिएँ अबलाई अरू कुरा सोच्न छाड्नोस्, छोरीको विहेबारे सोच्नोस् ।’
वास ! गफडीका गालामा यो भयो अर्को चड्याम । गफडीले पहिले देख्यो- बाबुको विहे । अनि सोच्न थाल्यो – छोरीको विहे !

एकपटक त सोच्यो- अदालती बिहे गरिदिने । अर्कोपटक सोच्दा उसले पायो- गफडीले गर्ने हो र विहे । वरले पो गर्ने हो । वर खोज्न गोदरेज, सोफा, सुटवर गफडीले घडी, चेस्मा, दराज, खाट र भोज । गफडीले एकपटक गफ गर्ने विद्या । त सोच्यो – हरे । किन लिए नि गफ गर्ने विद्या !

गफडीका फेरि कन्सिरी ताते- हे समाज ! बढी खर्च किन गर्छस् ? किन खर्च गरेर बर्बाद हुन्छस् ? गफडीका गफ कसले सुन्ने ?

धन ! धन ! धन !
केही दिनपछि श्रीमतीजिउबाट भनाइ भयो- ‘एउटा घर बनाउनोस्, श्रीमानजिउ ।’

गफडीका दिमागमा अर्को बज्र प्रहार भयो । गफडीले रुने के विचार गरेको थियो, उसले अर्को कुरा फुरी भन्यो- ‘हेर्नोस् श्रीमतीजिउ, अर्काका घरमा महिनावारी तिरेर मुफतमा बस्नु जस्तो मजा केही छैन । घर भएपछि वार चाहियो, पानी चाहियो, हगनगौडी चाहियो । चाहियो मात्र हुन्छ ।’ अनि श्रीमतीबाट भनाइ भयो- ‘लेखकजिउ, यो गफ विद्याले तपाईंहरू के गर्नुहुन्छ बताउनोस्’ बस, गफडीले भाषण सुरु गर्‍यो- ‘यो देशले अघि बढ्नु छ । यो राष्ट्रले समृद्ध हुनु छ । नेपाली जाति सुसंस्कृत हुनु छ । हाम्रो देशका नरनारी जागृत हुनु छ ।

बीच भाषणमा श्रीमतीजिउबाट भनाइ भयो- ‘यस्तै भन्नेले देश बेच्छन्, धन चाहिया’ छ श्रीमान् धन । सबलाई । दूतावासमा गएर भाषण गर्नुहोस् पाइन्छ धन ।’ गफडीलाई बज्र पर्‍यो- कस्तो धन माटामा जन्मेका हामीलाई कस्तो धन चाहिन्छ ? हाम्रो समृद्धि नै धन होइन र ? हाम्रो एकता नै धन होइन र ? हाम्रो भाषा साहित्यको उन्नति नै धन होइन र ? हाम्रो स्वाभिमान नै धन होइन र ? गफडी भुइँतिर हेर्छ- सुन्ने कोही थिएन ।

पातमा पात ! बातमा बात !
आज गफडी एक्लो छ । गफडीको साथी मात्र गफ छ । पातमा पात हुँदा बातमा बात भएझैँ गफडी भन्छ, आज देशबारे सोच्नेको साथी म मात्र छ । गफडी यो श्रीमान् होइन । गफडी एकदेशीय तत्व हो, जो स्वयम् गफडी भन्ने यो मान्छे पनि होइन । आज देशका नारीले सारी भनेर हुरुक्क हुने बेला होइन । राम्रो खाऊँ र राम्रो लाऊँ भनी भुतुक्क हुनुभन्दा देशप्रतिको भक्तिमा भुतुक्क भए देश कस्तो हुन्थ्यो । आज धनतिर मनभन्दा देशका उद्योगतिर मन भए कस्तो हुन्थ्यो । गफडी विचार गर्छ- हाम्रा राडीका ठाउँमा सोफा आए । खाडीका ठाउँमा टेरलिन । यी जो आए, यी हाम्रा लागि बर्बादी हुन् । विहेमा तडकभडक यी बर्बादी हुन् । गफडी घुमीफिरी रुम्जैटार ! स्वास्नीलाई सारी दिन नसक्ने भए पनि देशोन्नतिका निम्ति इमान्दारीको अपिल गर्दछ । हामीलाई अरु कुराले गर्दा हाम्रो उन्नतिमा अवेर भइसक्यो । हाम्रो देशमा वसन्त ल्याउन हामीले खाँडी लाएर उठन्त हुनुपर्छ । गफडीको अपिल यस्तै छ । जय नेपाल । आजलाई यत्ति नै ! आगे फेरि ।

०००
गफडीका गफ (२०६३)
युगज्ञान वर्ष १०, अङ्क २९ (२०३५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी