मूल्य
“पहिले मानिस मात्नेगरी पढ्थे र सुरक्षा साथ किताब दराजमा राख्थे । अहिले मात्नेगरी खान्छन् र रक्सी सुरक्षा साथ सिसाको दराजमा देखिनेगरि राख्छन्” भन्दै रक्सी हाँस्यो ।
श्रीप्रसाद पोखरेल :
“तिमी कत्ति भाग्यमानी ।” भुइँमा फालिएको पुस्तकले भन्यो ।
“किन आरिस गर्छौ ? पालोको पैँचो त हो नि” रक्सीले भन्यो ।
किताबले मानिसलाई विवेकी बनाउँछ तर रक्सीले विवेकहीन । किताबले सचेत, रक्सीले अचेत, किताबले मार्गदर्शन गर्छ, रक्सीले दिग्भ्रमित, तर पनि मानिस पुस्तक पढ्न भन्दा रक्सी खान चाह राख्छ । त्यति मात्र कहाँ हो र ! किताब फुटपाथबाट आधा मूल्यमा बिक्री हुनथाल्यो तर रक्सी सिसाले सजाएको दराजबाट इज्जत साथ विक्री हुन्छ ।
“मानिसलाई यत्रो गुन लगाएको छु तर मलाई भुइँमा फ्याकेर तिमीलाई सिसाको दराजमा सजाएर राख्छ मान्छे” किताबले आरिसे भावमा दराजतर्फ हेर्दै भन्यो ।
“पहिले मानिस मात्नेगरी पढ्थे र सुरक्षा साथ किताब दराजमा राख्थे । अहिले मात्नेगरी खान्छन् र रक्सी सुरक्षा साथ सिसाको दराजमा देखिनेगरि राख्छन्” भन्दै रक्सी हाँस्यो ।
“अझ भनौँ पहिले किताबको चाह थियो चोरी हुन्थ्यो तर अहिले बरू रक्सी चोरी हुन्छ किताब हुदैन ।”
किताबलाई चित्त बुझेन । उसले फेरी भन्यो- “विद्वान पनि मूर्ख पनि तिमीलाई नै मन पराउँछन् त । किन ?”
रक्सीले भन्यो- “किनकी तिमी सस्तो छौ ।”
०००
इटहरी, सुनसरी