साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यतै आइजा छोरा अमेरिका नबस्

यहाँ काम पनि गर्नुपर्दैन, मान सम्मान यतै छ । मन्त्रीमात्र हुनु बस्, त्यसपछि त के चाहियो र ? गाडी घोडा, आसेपासे, चाकडी चाप्लुसी गर्ने कार्यकर्ता अघिपछि, सुरक्षा घेरा सबै बन्दोबस्त हुन्छ । आफ्नो घर भाडामा लगाएर मन्त्री क्वार्टरमा बस्न पाइन्छ ।

Nepal Telecom ad

पदम भण्डारी :

छोरा ! अब नेपाल फर्कि । यतै आइजा छोरा, अमेरिका नबस । कति काम काम काम मात्रै भन्छस् ? यतै आइजा । यता त्यहाँजस्तो काम गर्नु पर्दैन । चा-चा-च गरेपछि तक्मामात्र हैन मन्त्री पद नै पाइन्छ । तैँले के मा विद्यावारिधी (पिएचडी) गरिस् मतलव हुँदैन यहाँ । तेरो विद्यावारिधि छ, बस् त्यति भए पुग्यो । विद्यावारिधि भएपछि त्यो भन्दा ठूलो विद्वान कोही हुँदैन यहाँ । सबैले ‘उहाँ क्षमतावान्, विषयविज्ञ हुनुहुन्छ, यसलाई स्वभाविक रुपमा लिनुपर्छ’ भनेर तेरै गुणगान गाउँछन्, तेरै समर्थन गर्छन् । तेरो हेल्थ सिष्टममा विद्यावारिधी भएर के भो त ? तँ कानुन मन्त्री वा भौतिक योजना तथा शहरी विकास मन्त्रीका लागि पनि क्षमतावान र विषयविज्ञ नै कहलिन्छस् । ‘पढेर मात्रै कोहि विद्वा हुँदैन मेरो छोराले परेर जानेको छ नि त्यसैले जुन मन्त्रालय दिए पनि राम्रो चलाउँछ’ मैले पनि भन्छु ।

छोरा ! बरू अर्को विषयमा यहीँ आएर विद्यावारिधि गर- ‘चा-चा-च’ विषयमा । त्यो विषयको विद्यावारिधि अमेरिकामा गर्न पाइन्न क्यारे । मिल्छ र त्यहाँ ? मिल्छ भने त्यो कोर्ष त्यतैबाट गरेर आइस् भने त वेष्टै हुन्थ्यो । त्यो -‘चा-चा-च’ के डिग्री हो भन्लास् फेरि ? यो विद्यावारिधि डिग्री भनेको चाकडी-चाप्लुसी-चम्चागिरी गर्ने डिग्री हो । मसँग न चा-चा-चको डिग्री न अर्को कुनै विद्यावारिधि डिग्री छ, त्यसैले म यहाँ कसैबाट नदेखिने र नसुनिने व्यक्ति हुँ । तर खट्नु चाहिँ पर्छ है । कसलाई चा-चा-च गर्नुपर्ने हो, त्यो ठाउँमा बिहानैदेखि धाउनुपर्छ, बिहानै घर जाने, घण्टौँ समय बिताउने, हजुर-हजुर गर्ने, नजरमा देखा परिरहने, दिनमा दुई-चार पटक नमस्कार गरिरहने, खामबन्दी दर्शन गर्ने, बेकारका कोसेली लैजाने, काम विहीन पछ्याउने, बेकारका सूचना दिने, नचाहिँदो कुरा सुनाएर दुश्मनी पैदा गर्ने, गलत कामलाई पनि पटक-पटक सहि हो भन्दै ढाडस दिई चा-चा-च गरि नजिक हुन खोज्ने बानी चाहिँ बसाल्नुपर्छ । कुनै एउटा विषयमा विद्यावारिधि छ र चा-चा-च गर्ने खुबी पनि छ भने मन्त्री पद ग्यारेन्टी छ । तैँले चाहेकै मन्त्रालय पाउँछस् ।

तँलाई लागिरहेको होला के कुरा गर्छन् मेरा बा ले भनेर । साँच्चै भनेको हो । यहाँ विकास अध्ययनमा विद्यावारिधि गरेकाले, गुगल हेरेर लैङ्गिक मूलप्रवाहीकरण, सामाजिक समावेशीकरण, जलवायु अनुकुलित कृषि, प्राकृतिक स्रोत प्रशासन, प्रकोप जोखिम न्यूनीकरण र भूकम्प पछिको पुनर्निर्माणसम्बन्धी केही प्रकाशनहरू गरेकाले परराष्ट्र मन्त्रालय रोज्न पाउँछ । युवाहरू म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना बढिरहेका बेला म्यानपावर कम्पनी, एजुकेसन कन्सल्टेन्सी र रेमिट्यान्स कम्पनीका सञ्चालकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोज्न पाउँछ । एजुकेसन कन्सल्टेन्सी कम्पनीका सञ्चालकले शिक्षा मन्त्रालय रोज्न पाउँछ । ठेकेदारले शहरी विकास मन्त्रालयको जिम्मा पाउँछ । पूर्व प्रहरी प्रमुखले कानुन मन्त्रालय रोज्न पाउँछ । टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने मान्छे, जसको राहदानी र नागरिकताको विवादमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेछ उहि नै गृहमन्त्री बन्छ । रोजेको मन्त्रालय पाइएन भने के भो त सपथ ग्रहण समारोहमा उपस्थित नभए भैहाल्यो नी केही फरक पर्दैन । घुर्की लगायो भनेर डराउँछन् र तैँले भनेकै मन्त्रालय दिन्छन् ।

एउटा दल खोल्यो, अरु दलहरूलाई नानाथरी गाली गर्‍यो, चुनावमा उठ्यो, जनताले जिताई हाल्छन् । अलिकति दुई-चार सीट बढी ल्यायो भने त उप-प्रधानमन्त्री नै पड्काउन पाइन्छ । यहाँ दलै पिच्छेका उपप्रधानमन्त्री छन् अहिले । प्रधानमन्त्रीले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ९९.२७ प्रतिशत मतदान गरेका छन् । प्रतिपक्षमा बसेर लोभको भाँडो पापको भाँडो भरिन्न । केहि ल्याप्प लुप्प गर्न पाइन्छ कि भनेर विश्वासको मत दिने राजनीतिक दल र तिनका नेताहरू छन् ।

यहाँ काला कोट धारी र सेता कोटधारीहरूसँग नि डराउनु पर्दैन । इट्टा भट्टामा जिउँदै मान्छे पोल्ने नेताको पक्षमा वकालत गर्ने न्यायाधीश दुनियाँलाई नैतिकता सिकाउँछ । प्रकृतिले नावालिग भन्दैन, कानुनका किताबमा बीस वर्षमुनिको नावालिग हुन्छ भन्ने लेखिएको छ भनेर निर्दोष मान्छे जेल पर्छन् । तर तँ मन्त्री भइस् भने त छोरा कसैको ज्यान लिए पनि केहि हुन्न । काला कोटधारी माफियाहरू त थिए थिए, अब सेता कोटधारी माफियाहरूले पनि मन्त्रालयको चाबी बोकेका छन् ।

२०७७ देखि हत्या अभियोगमा फरार रहेका व्यक्ति २०७९ को निर्वाचनमा एउटा दलको टिकट लिएर संघीय निर्वाचनमा विजयी बन्छ । गृहमन्त्रीको निर्देशनपछि पनि फरार सांसद पक्राउ पर्न सक्दैन । सत्तरी करोड खाएकै हो अर्ब खाइदिन्छु, व्यक्तिको खाएको हो र ? राज्यको जति पनि खान मिल्छ भन्नेले चुनाव जित्छ ।

भ्रष्टाचारी पुलिस, पत्रकार, उद्योगपति, व्यापारी, डाक्टर, वकिल मन्त्री भएका छन् अब त कसैको पनि सम्पति छानबिन गर्न पर्दैन । छानबिन भइहाले पनि तिनीहरूले व्यवसायबाट कमाएको देखिन्छ । साँढेको पछि दगुर्ने स्याल झैँ कार्यकर्ताहरूले गोरु ब्याएर बिगौती खाएका छन् । एकजना प्रधानमन्त्री हुँदा एक लाखको खाट किन्यो भनेर दन्तबजान गर्ने साइबर स्यालहरू अर्को प्रधानमन्त्री हुँदा करोडौंको फर्निचर किन्दा चुँसम्म गर्दैनन् ।

त्यहाँ काम गरेर किन बस्छस् छोरा यतै आइजा । यहाँ काम पनि गर्नुपर्दैन, मान सम्मान यतै छ । मन्त्रीमात्र हुनु बस्, त्यसपछि त के चाहियो र ? गाडी घोडा, आसेपासे, चाकडी चाप्लुसी गर्ने कार्यकर्ता अघिपछि, सुरक्षा घेरा सबै बन्दोबस्त हुन्छ । आफ्नो घर भाडामा लगाएर मन्त्री क्वार्टरमा बस्न पाइन्छ ।

लोकतन्त्र भनेको यस्तै को दिन रछ रिस गरेर के गर्नु । बरू त्यसको भरपुर उपयोग गर्नुपर्छ, यतै आइजा छोरा अमेरिका नबस् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x