पदम भण्डारीयतै आइजा छोरा अमेरिका नबस्
यहाँ काम पनि गर्नुपर्दैन, मान सम्मान यतै छ । मन्त्रीमात्र हुनु बस्, त्यसपछि त के चाहियो र ? गाडी घोडा, आसेपासे, चाकडी चाप्लुसी गर्ने कार्यकर्ता अघिपछि, सुरक्षा घेरा सबै बन्दोबस्त हुन्छ । आफ्नो घर भाडामा लगाएर मन्त्री क्वार्टरमा बस्न पाइन्छ ।

पदम भण्डारी :
छोरा ! अब नेपाल फर्कि । यतै आइजा छोरा, अमेरिका नबस । कति काम काम काम मात्रै भन्छस् ? यतै आइजा । यता त्यहाँजस्तो काम गर्नु पर्दैन । चा-चा-च गरेपछि तक्मामात्र हैन मन्त्री पद नै पाइन्छ । तैँले के मा विद्यावारिधी (पिएचडी) गरिस् मतलव हुँदैन यहाँ । तेरो विद्यावारिधि छ, बस् त्यति भए पुग्यो । विद्यावारिधि भएपछि त्यो भन्दा ठूलो विद्वान कोही हुँदैन यहाँ । सबैले ‘उहाँ क्षमतावान्, विषयविज्ञ हुनुहुन्छ, यसलाई स्वभाविक रुपमा लिनुपर्छ’ भनेर तेरै गुणगान गाउँछन्, तेरै समर्थन गर्छन् । तेरो हेल्थ सिष्टममा विद्यावारिधी भएर के भो त ? तँ कानुन मन्त्री वा भौतिक योजना तथा शहरी विकास मन्त्रीका लागि पनि क्षमतावान र विषयविज्ञ नै कहलिन्छस् । ‘पढेर मात्रै कोहि विद्वा हुँदैन मेरो छोराले परेर जानेको छ नि त्यसैले जुन मन्त्रालय दिए पनि राम्रो चलाउँछ’ मैले पनि भन्छु ।
छोरा ! बरू अर्को विषयमा यहीँ आएर विद्यावारिधि गर- ‘चा-चा-च’ विषयमा । त्यो विषयको विद्यावारिधि अमेरिकामा गर्न पाइन्न क्यारे । मिल्छ र त्यहाँ ? मिल्छ भने त्यो कोर्ष त्यतैबाट गरेर आइस् भने त वेष्टै हुन्थ्यो । त्यो -‘चा-चा-च’ के डिग्री हो भन्लास् फेरि ? यो विद्यावारिधि डिग्री भनेको चाकडी-चाप्लुसी-चम्चागिरी गर्ने डिग्री हो । मसँग न चा-चा-चको डिग्री न अर्को कुनै विद्यावारिधि डिग्री छ, त्यसैले म यहाँ कसैबाट नदेखिने र नसुनिने व्यक्ति हुँ । तर खट्नु चाहिँ पर्छ है । कसलाई चा-चा-च गर्नुपर्ने हो, त्यो ठाउँमा बिहानैदेखि धाउनुपर्छ, बिहानै घर जाने, घण्टौँ समय बिताउने, हजुर-हजुर गर्ने, नजरमा देखा परिरहने, दिनमा दुई-चार पटक नमस्कार गरिरहने, खामबन्दी दर्शन गर्ने, बेकारका कोसेली लैजाने, काम विहीन पछ्याउने, बेकारका सूचना दिने, नचाहिँदो कुरा सुनाएर दुश्मनी पैदा गर्ने, गलत कामलाई पनि पटक-पटक सहि हो भन्दै ढाडस दिई चा-चा-च गरि नजिक हुन खोज्ने बानी चाहिँ बसाल्नुपर्छ । कुनै एउटा विषयमा विद्यावारिधि छ र चा-चा-च गर्ने खुबी पनि छ भने मन्त्री पद ग्यारेन्टी छ । तैँले चाहेकै मन्त्रालय पाउँछस् ।
तँलाई लागिरहेको होला के कुरा गर्छन् मेरा बा ले भनेर । साँच्चै भनेको हो । यहाँ विकास अध्ययनमा विद्यावारिधि गरेकाले, गुगल हेरेर लैङ्गिक मूलप्रवाहीकरण, सामाजिक समावेशीकरण, जलवायु अनुकुलित कृषि, प्राकृतिक स्रोत प्रशासन, प्रकोप जोखिम न्यूनीकरण र भूकम्प पछिको पुनर्निर्माणसम्बन्धी केही प्रकाशनहरू गरेकाले परराष्ट्र मन्त्रालय रोज्न पाउँछ । युवाहरू म्यानपावरबाट ठगिएर विदेशमा बिचल्लीमा पर्ने घटना बढिरहेका बेला म्यानपावर कम्पनी, एजुकेसन कन्सल्टेन्सी र रेमिट्यान्स कम्पनीका सञ्चालकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोज्न पाउँछ । एजुकेसन कन्सल्टेन्सी कम्पनीका सञ्चालकले शिक्षा मन्त्रालय रोज्न पाउँछ । ठेकेदारले शहरी विकास मन्त्रालयको जिम्मा पाउँछ । पूर्व प्रहरी प्रमुखले कानुन मन्त्रालय रोज्न पाउँछ । टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने मान्छे, जसको राहदानी र नागरिकताको विवादमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेछ उहि नै गृहमन्त्री बन्छ । रोजेको मन्त्रालय पाइएन भने के भो त सपथ ग्रहण समारोहमा उपस्थित नभए भैहाल्यो नी केही फरक पर्दैन । घुर्की लगायो भनेर डराउँछन् र तैँले भनेकै मन्त्रालय दिन्छन् ।
एउटा दल खोल्यो, अरु दलहरूलाई नानाथरी गाली गर्यो, चुनावमा उठ्यो, जनताले जिताई हाल्छन् । अलिकति दुई-चार सीट बढी ल्यायो भने त उप-प्रधानमन्त्री नै पड्काउन पाइन्छ । यहाँ दलै पिच्छेका उपप्रधानमन्त्री छन् अहिले । प्रधानमन्त्रीले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ९९.२७ प्रतिशत मतदान गरेका छन् । प्रतिपक्षमा बसेर लोभको भाँडो पापको भाँडो भरिन्न । केहि ल्याप्प लुप्प गर्न पाइन्छ कि भनेर विश्वासको मत दिने राजनीतिक दल र तिनका नेताहरू छन् ।
यहाँ काला कोट धारी र सेता कोटधारीहरूसँग नि डराउनु पर्दैन । इट्टा भट्टामा जिउँदै मान्छे पोल्ने नेताको पक्षमा वकालत गर्ने न्यायाधीश दुनियाँलाई नैतिकता सिकाउँछ । प्रकृतिले नावालिग भन्दैन, कानुनका किताबमा बीस वर्षमुनिको नावालिग हुन्छ भन्ने लेखिएको छ भनेर निर्दोष मान्छे जेल पर्छन् । तर तँ मन्त्री भइस् भने त छोरा कसैको ज्यान लिए पनि केहि हुन्न । काला कोटधारी माफियाहरू त थिए थिए, अब सेता कोटधारी माफियाहरूले पनि मन्त्रालयको चाबी बोकेका छन् ।
२०७७ देखि हत्या अभियोगमा फरार रहेका व्यक्ति २०७९ को निर्वाचनमा एउटा दलको टिकट लिएर संघीय निर्वाचनमा विजयी बन्छ । गृहमन्त्रीको निर्देशनपछि पनि फरार सांसद पक्राउ पर्न सक्दैन । सत्तरी करोड खाएकै हो अर्ब खाइदिन्छु, व्यक्तिको खाएको हो र ? राज्यको जति पनि खान मिल्छ भन्नेले चुनाव जित्छ ।
भ्रष्टाचारी पुलिस, पत्रकार, उद्योगपति, व्यापारी, डाक्टर, वकिल मन्त्री भएका छन् अब त कसैको पनि सम्पति छानबिन गर्न पर्दैन । छानबिन भइहाले पनि तिनीहरूले व्यवसायबाट कमाएको देखिन्छ । साँढेको पछि दगुर्ने स्याल झैँ कार्यकर्ताहरूले गोरु ब्याएर बिगौती खाएका छन् । एकजना प्रधानमन्त्री हुँदा एक लाखको खाट किन्यो भनेर दन्तबजान गर्ने साइबर स्यालहरू अर्को प्रधानमन्त्री हुँदा करोडौंको फर्निचर किन्दा चुँसम्म गर्दैनन् ।
त्यहाँ काम गरेर किन बस्छस् छोरा यतै आइजा । यहाँ काम पनि गर्नुपर्दैन, मान सम्मान यतै छ । मन्त्रीमात्र हुनु बस्, त्यसपछि त के चाहियो र ? गाडी घोडा, आसेपासे, चाकडी चाप्लुसी गर्ने कार्यकर्ता अघिपछि, सुरक्षा घेरा सबै बन्दोबस्त हुन्छ । आफ्नो घर भाडामा लगाएर मन्त्री क्वार्टरमा बस्न पाइन्छ ।
लोकतन्त्र भनेको यस्तै को दिन रछ रिस गरेर के गर्नु । बरू त्यसको भरपुर उपयोग गर्नुपर्छ, यतै आइजा छोरा अमेरिका नबस् ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































