साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवीप्रसाद चापागाईंको व्यङ्ग्यकारिता

उनिउँ उम्रिए र ढुङ्गो टुसाएपछि मात्र हाँस्ने नेपालीलाई हसाउने कम्मर कसेकाहरूलाई हसाउन सफल भएकाले यिनीहरूलाई उत्तम दर्जा दिने मन छ मलाई । बुर्कुसी, उपरखुट्टी, कुम्भकर्णकाे डायरी र बड्कौँलाको राज्यमा कोही नपात्तियून्, कोही नआत्तियून र कोही पनि विकृतितर्फ न बतासियुन् भन्ने शुभकामना छ ।

Nepal Telecom ad

त्रिलोचन आचार्य :

यतिबेला मेरो अगाडि श्री देवीप्रसाद चापागाईंका चार वटा कृति रहेका छन् । म साहित्यिक कृति अध्ययन गर्न रुचाउने व्यक्ति हुँ । तथापि यी कृतिहरू अद्योपान्त शिर पुछार दौडिने कार्य मलाई ठूलै उकालो चढ्नुजस्तो भइरहेको छ । लेखकका कृतिहरू कडा प्रसव वेदनाबाट जन्मिएका हुनाले यिनलाई उहाँका चार भाइ उत्तराधिकारी छोराहरू मान्दैछु । यिनलाई चानचुने तापले पगाल्न सकिने होला भन्ने मलाई लाग्दैन । यी चार भाइ हँसाउने र हँसाउदा हँसाउँदै व्यङ्गका प्रहारले रुवाउने प्रकृतिका छन् । किन भने व्यङ्ग्य कस्दै हसाउँदा चोरको खुट्टा तान्ने बेलामा गहिरो चोट तान्नेलाई परेको कारण उसले रूनु पनि पर्छ । त्यसैले रुनुपर्ने चोट कमसेकम आफूलाई नपरोस् भन्दै यी पुस्तकहरू पढ्ने हिम्मत बढाउँछु । यी मध्ये अभिलेख प्रकाशनबाट २०६६ सालमा जन्मिएको जेठो, सुरभि प्रकाशनबाट २०७५ सालमा जन्मिएको माइलो सन्तान रहेछ भने पार्वती चापागाईले साइलो र कान्छोलाई २०७८ सालमा जुम्ल्याहा सन्तानका रुपमा जन्म दिनुभएको रहेछ । यी चार भाइको नाम बुर्कुसी, उपरखुट्टी, कुम्भकणर्को डायरी र बड्कौँला रहने गरी न्वारान गरेको देखिएको छ ।

सर्वप्रथमतः मान्छेलाई रुवाउनुभन्दा हँसाउनु बढी कठिन हुन्छ । समय हाँस्छ, प्रकृति हाँस्छ, धर्ती आकाश हाँस्छन्, मेघवाला हाँस्छन् तर मान्छे कहाँ हाँस्छ र हाँस्दैन । किनभने अरूसँग भन्दा फरक मान्छेसँग लोभी चित्त छ । त्यही लोभको कारण मान्छे चिन्ता गर्छ, चिन्तन गर्छ, चाकडी गर्छ, चाप्लुसी गर्छ । लोभको घैँटो भरिएन भनेर निरन्तर रुन सक्छ । त्यसैले मान्छेलाई चाँडै रूवाउन सकिन्छ । तर मरिगए हसाँउन सकिँदैन । त्यसैले मलाई लाग्छ, किन उहाँले यो जोखिमपूर्ण कार्य गर्ने अठोट गर्नु भयो । यो विषयले मलाई चिमोटिरहेको छ । हाँस्नु, रूनु जीवनका प्राकृतिक ध्रुव तत्य तथ्य हुन् । सुन्दर संसारका अनुपम श्रृङ्गार हुन् । शिष्ट पाकशालाका मिष्ट परिकार हुन् । यहाँ रुने रुवाउने भन्दा पनि हाँस्ने हसाउँने होडबाजीमा छन् चार भाइ । यिनीहरूलाई थाहा छ कहाँनेर काउकुती लगायो भने हाँसो फुत्किन्छ ।

मान्छेको चित्त चुडाउन, भावना गुडाउन र मन उडाउन व्यङ्गकारले पहिलो वाण अक्षरका गोलीहरूले दिमागमा ठोक्नुपर्छ । त्यसपछि कथामा व्यथा थपी कतै उचाल्नुपर्छ, कतै पछार्नुपर्छ, कतै लतार्नुपर्छ र कतै बटार्नुपर्छ । कवि एवं हास्यव्यङ्ग लेखक चापागाईं हास्य निबन्ध लेखनमा सिद्धहस्त रहेको कुरा चार चार वटा कृति यहि क्षेत्रका दिन सक्नुबाट जगजाहेर भएकै छ । लेखक हुन एक दुई वटा कृतिबाट अड्को फड्को तेलको धूप गरिरहेकाहरूको रिसको पारा १०५ डिग्री गराउने गरी यति धेरै कृति दिएर चापागाइँले ठूलो फड्को मार्नुभएको छ भन्न मन लागेको छ । अन्याय, अत्याचार, विकृति, विसङ्गति, चाकडी, चाप्लुसीले चार भञ्ज्याङ्ग भरिएको यो समयमा गाली गर्न धेरै भद्रो हेर्नै पर्दैन । तर अप्रत्यक्ष रुपमा मन्द गाली गर्दै, मिठासको छन्द मिलाउनु कम्ती असजिलो छैन । गाली गरेका रिसाइहाल्ने हुनाले गाली गर्ने दिन गाइजात्राको दिन हो भन्ने गरिन्छ । तर घुमाइ घुमाइ घुस्सा दिन यसरी पनि सकिने रहेछ । त्यसैले कसले गाइँगुइँ के भन्छ कसो गर्छ रिसाउँछ झगडा गर्छ भन्ने डरले नकामी चापागाईंले जन्माएका चार सन्तान अब यो देश, समाज र पाठकका भएका छन् । चापागाईंलाई यिनले सुती सुती खाने गरी पाल्छन्, पाल्नुपर्छ ।

मलाई यी चार भाइसँग बसेर अलि अलि गन्थन मन्थन गर्ने मौका छ । मौकामा परेको चौका औकात नपुगेर हिस्स पर्दै फास्सफुस्स पार्नु पनि त भएन । जेठो बुर्कुसीसँग कुरा गर्दै हिँड्दै गुह्य अन्तर्वार्ता लिन खोजेको उसका कुराको भेउ पाउनु त कहाँ हो कहाँ छेउटुप्पो सम्म पनि नपाउँदै सन्त्रासको लेउमा चिप्लनु पर्ने भयो । बुर्कुसी नाउँले मात्र होइन कामले पनि निकै दौडिन सक्ने हुनाले बलियो र दशै दिशा बत्तिनसक्ने खालको रहेछ । बुर्कुर्सीले बेथितितिर उकासिएको समाजलाई तह लगाउन हँसाइ हँसाइ पच्चीस झटारो बजाउँछ । बुर्कुर्सीले कतै अत्तो थापिएको, कतै लात हानिएको, कतै चियो चर्चो गरेको, कतै नकचरो बनेको देख्छ । बुर्कुसी भन्छ धेरै अवसरहरू लुट्नका लागि छुट्न हुँदैन बरू टुट्न सकिन्छ । यत्र तत्र सर्वत्र जुध्न सकिन्छ तर बिरालो भिजे जसरी रूझ्न सकिँदैन । यो बुर्कुसी धेरै कमाउन, शहरमा ठूलो घर बनाउन, प्राडो पजेरोमा फन्फनी घुम्न, जता पनि कुदेको छ । साना विद्यार्थी बाबु नानीहरू चिट चोर्न बुर्कुसी मारेको, वयस्क युवा युवतीहरू कमाउने, धमाउने र रमाउने भन्दै विदेशतिर बुर्कुसी मारेको, किसान दाजुभाइहरू खेतीपाती छोडेर जग्गा जमिन बेच्दै शहरमा उड्ने घर बनाउँन बुर्कुसी मारेको, पेशाकर्मीहरू समाजमा बढी धाक धम्की लगाउन राजनीतितिर बुर्कुसी मारेको हो भन्ने व्यहोरा यो जेठोले बकेको छ । यो समाजमा प्रतिष्ठित हुन छोप्न जान्नुपर्ने, घोच्न जान्नुपर्ने, पोख्न जान्नुपर्ने, जोख्न जान्नुपर्ने, कागजमा पुल बनाउन जान्नुपर्ने, जाडोमा झुल बिकाउन जान्नुपर्ने हुन्छ । साथै नक्कलीको जगेर्ना गर्नुपर्ने, भ्रष्टाचार कमिसन र अव्यवस्थामा चर्नु पर्ने अनि कसरी सोझा सिधा इमान्दारले उन्नति गर्न सक्छन् । बुर्कुसीले अहम् प्रश्न उठाइदिएको छ ।

यति मात्र होइन अत्तो थाप्ने विषय पनि वर्तमानको मौलिक पहिचान हो । आफूलाई काइदाको फाइदा आए सम्मति अन्यथा ताई र तुईको विषयमा हलो अड्काई गोरु कुट्दै असहमति । अत्तो थाप्न न दसी प्रमाण चाहिन्छ न छड्के किनारा सदर । आफू बलियो भए पीटपाट मिसमास गर्‍यो दुब्लो भए हार गुहार गर्‍यो एकान्तमा गयो कान भर्‍यो । हुने काम नहुने गरायो नहुने काम हुने गरायो । असाध्यै कति शक्तिशाली छ अत्तो । अत्तो थाप्नेहरूले अर्को बद्ख्याई भनेको एकैछिन भनी कुराउने हो । रात रहे ऐँजेरू पलाउँछ । एकैछिनमा आकाशको पाताल हुने र पातालको आकाश पुग्न सक्दछ । दुई शब्द भन्दै घण्टौँ हजारौँ शब्दमा भाषण दिनेहरूको बाहुल्यता रहेको यो समाजमा एकैछिन भनी घण्टौँ कुराउनुमा के आपत्ति रह्यो र । समाजमा जसरी पायो त्यसरी कानून मिचेर, पैदो घिचेर सम्पत्ति कमाउँदै रमाउँनेलाई यिनले र्‍याइँर्‍याइँ घुमाएका छन् । कसले कसरी बढी कमाएको छ त्यस बारेमा व्याख्यान प्रतियोगिता नै गराएका छन् ।

यहाँ कमाउनेले आफैँ बक्ने गजबको तरिका निकालिएको छ । दृश्यमा भलादमी सज्जन बन्नु अदृश्यमा रातारात चोरी चकारी गर्दै मन्दिर फोर्ने सम्मका कला जान्नु, दृश्यमा राष्ट्रवादी रहनु अनि अदृश्यमा विदेशीको इसारामा बहनु, धनी हुन सुबाटो मात्र होइन कुबाटो हिँड्नु । नेपालमा यस्ता कुरामा सर्वसम्मतिको ताली बज्दछ भन्ने कुरा जगजाहेर छ । बेसरमहरूले उन्नति प्रगतिमा हानेका लातको त केही हिसाब नै छैन । कसैलाई सही ठाउँमा ल्याउन लात मार्नुपर्छ । कसैलाई कारवाहीका लागि लात मार्नुपर्छ । सर्वसाधारणलाई रगतको लात मारेर सत्ता प्राप्त गर्ने कुजातहरू प्रख्यात भएको हेर्न टाढा जानु पर्दैन । टट्टुहरूको छट्टु पारा विछट्ट मौलाएको छ । यही विषयमा घोत्ल्याइँ पनि कम्ती घरिघरी अगाडि आउने गरेको छ । अरुको प्रगतिको ईर्ष्यामा घोत्लनेहरूले कति धोक्रो कमाइ धमाई गरे होलान् भन्ने प्रश्न टड्कारो टप्किएको छ । दृश्यमा सम्झौता गरी व्यवहारमा त्यो सम्झौता पालना नगरी लोप्पा खुवाउनेहरू पौराणिक कालदेखि वर्तमानसम्म यत्र तत्र सर्वत्र चम्किएका छन् । अकर्मले पौरखी बन्नुपर्ने, बाँच्नकै लागि एउटा कर्म धर्ममा सर्म नमानी लाग्नुपर्ने, अलि अलि खुट्टा नटेकी जुरुक्कै उठ्नुपर्ने बाध्यता माथि व्यङ्ग कस्न समर्थवान् छ बुर्कुसी ।

अलिकति कुराकानी माइलो पुत्र उपरखुट्टीसँग गरेका कहानी सुन्न यो परानी पनि उत्सुक छ । उपरखुट्टी लगाएर बस्ने बानी परेकाको फुर्तिफार्ति हेर्न योग्य रहेको छ । यस्ता बानी परेकाहरू जताततै देखिएका छन् । उपरखुट्टीले थर्काई र्‍याखर्‍याख्ती पारेका विषय खित्का, फेसबुक पेज, कस्तो फसाद, लुतो, उपचार, अन्तर्वार्ता, बोली, है त, ताली, संशोधन, पत्राचार, हास्यव्यङ्ग गोष्ठी, समय, खाँचो पलेँटी, के जाती, पहिचान नामका थप सत्र झटारा हानिएका छन् । यसमा पनि देशमा भएका विकृति विसङ्गति हटाउन प्रयास नगर्ने तर साधन श्रोतमाथि हाली मुहाली गर्ने, आफ्नै छोरा छोरी नाती नातिनी, नाता कुटुम्भ पोस्न पल्काहरूलाई हेरी हेरी खित्का छोडिएको छ । फेसबुक पेजमा हुने बकसफुसे च्याट वार्ता, आफ्नो आफ्नो डम्फु बजाउँदै मनको फुर्को बाट्न नसकेर निस्किएको लुत्रो सम्हाल्न खोज्नेलाई परेको फसाद, मानिसहरूमा परेका लत कुलतहरूबाट क्षत विक्षत पारेको कारण लुतो जस्तै कन्याएर पानी खन्याएर नटुङ्गिएको विषय, मान्छेलाई आनी बानीले बनेका अनेकन रोगीहरूको उपचारमा पाएको असफलताका विषयहरू डाक्टरसँग पाठकको वार्ताको लठारो ठड्याएको छ ।

देशमा अनेकन स्वघोषित जान्ने सुन्ने गुन्ने बुन्नेहरूका अन्तर्वार्ताले कुनै लछारपाटो नलगाएको, मान्छेहरूका बीचमा हुने संवादमा प्रयोग हुने बोलीको नालिबेली लगाउँदै यसले पारिवारिक अवस्थालाई दुरावस्था बनाएको, बर्गेल्ती गल्ती गरी अब गर्दिन है त भन्नेहरूको बदनाम मात्र नगरी तथानाम् गरिएको, ठाउँ कुठाउँ कनिका बुकाउँ गर्दै जाली पाराले ताली बजाउने, निर्मित नियम कानुन नियमावलीलाई निर्दयतापूर्वक संशोधनको नक्कलझक्कल, गोष्ठीमा पनि व्यङ्ग्य गर्नुपर्ने, कानुन नबनाउँदै संशोधन गर्न थाल्नुपर्ने, जस्तै मै हुँ भन्नेलाई पनि समयले थला पारिदिएको, विकृतिमा नफस्ने नागरिकको खाँचो, ठाउँ कुठाउँ पलेटी कस्नेको सदुपयोगको नभएको दुखेसो जस्ता विषयमा उपरखुट्टीले मस्त व्यङ्ग्य कस्दै हसाउने ढङ्ग पुर्‍याएको देखेको छु ।

चानचुने कुरा नगर्ने कुम्भकर्ण उनको साइलो डायरीमा लुकेर बस्दै गाली गर्न ढुकेकोमा उक्त कर्म गर्न कतै चुकेको छैन । यिनले समाजका हरेक विषयलाई फन्का मारी मारी लौरो चलाएका छन् । नेताहरूले गोजी गोजीमा चलाउने र गोजीवालाको लगानीको धर्म निर्वाह गर्ने धर्म पत्रिका, देखी जानी सकेको कुरा पनि थाहा नपाउने अत्तो न पत्तो हो । देशको जिम्मा लिनेहरूको उँधो मतिलाई अत्तो न पत्तोमा व्यङ्ग्य गरिएको छ । जान्ने सुन्ने हुँ भन्नेहरूले पनि केही गर्न नसकेको अवस्थामा केही नजान्ने भोला राम हुनु नै उचित । राम्रा मान्छेहरू पनि पदमा पुगे पछि भ्रष्ट मति भई हाल्ने, बलिया बाङ्गाले चन्दा लिएर धनी बन्ने, सत्तामा पुग्नेले कमिसन पचाउने, गरिब निमुखाले जानकारी पाएर पनि केही गर्न नसक्ने अवस्थामा अत्तो न पत्तो बन्नुनै उत्तम उपाय हुनेछ ।

आफ्नो डायरी लेख्दै कुम्भकर्ण युग युगका कुरा छुकछुक गर्दै उठाउँछ, समालोचना लेखनमा आएको विकृतिलाई समालोचना कि आलु चनामा, कसका वंशमा को छन् उनीहरूको चरित्रबाट रेखाचित्र कोरिएको छ । भाषा साहित्यको प्रयोगमा चिन्हको प्रयोगले नयाँ अर्थको ओथारो बसेकोदेखि जुरूक्क आफ्ना अठोटलाई शीघ्र कार्यान्वयन गर्न चेतना भर्ने शुभस्य शीघ्रम्, जुन कारणले भुँडी रित्तो हुनु पर्‍यो त्यो कारणको निवारण गर्न सक्रिय बन्न इमानदार नबनेको देखि यो युगको अति उपयोगी शब्द नमस्कारको सुसंस्कार गरिएको छ । देखावटी र नाटकीय व्यवहार यही हरितन्नम् नमस्कारदेखि सुरू हुन्छ । ठूलालाई हात जोडेर नमस्कार गर्ने फाइदा दिन नसक्नेलाई हेपेर नमस्ते भन्ने आदि द्वैध चरित्र दर्शाइएको छ ।

यहाँकै अर्थात् तपाई‌ंहरूकै पक्षमा यो निबन्ध हो । कली युगमा विकृति र विसङ्गतिले चरम सीमा पार गर्ने भनाइ नै सही हुँदै गएको कारण नमुना बनाएको पाइन्छ । चरित्रको भ्रष्टिकरण र सत्य नजिक मानिएका प्राकृतिक कुराहरू उपहासको पात्र बनी नक्कली र नग्न कुराहरू पालना गरेकोमा बड्कौलाले ठटाइएको छ । मान्छेमा हुने डर छातीले पचाउनुपर्ने, असन्तोषरूपी गोलीले छातीमा हाने पछि हत्या हिंसा चोरी चकारी सुरु गरेको छ । यसको सुधारमा रित्तो हात रहेसम्म हाम्रो हातमा रिक्तता कायम रहने छ भनी साइलो कुम्भकणर्को डायरीको जिकिर छ ।

चापागाईंको कान्छो सन्तति बड्कौँलाको व्यथा बबाल छ । यहाँ बड्कौँलाका बयालिस वटा डल्ला व्यङ्ग्यमा अग्लिएका छन् । नेपालको उल्टीपाल्टी, सुनिस् त केटा, पुच्छर न सुच्छर, मन्त्राणी उवाच, जताततै मुला, कलियुगे पुसतक, मेरी ठुली भाउजु, साँडे नबनाऊ, रामराज्य, चुनाव महिमा, मास्टरको व्यथा, हनुमान् को अन्तरिम शासन, सलाम, अचम्म, म एउटा च्यान्टे घोडा लगायत व्यङ्गको लठारोमा बयालिस बड्कौँला बत्तिएका छन् । अरु भाइले व्याख्यानमा बल गरे पनि यसले लय लतारेको छ । बड्कौँलाले लिपेको लय भाव यस्तो छः
तन्त्र फेरियो मन्त्र फेरिएन, मन्त्र फेरियो संयन्त्र फेरिएन
नेता फेरियो प्रवृत्ति फेरिएन, चुला फेरियो मुला फेरिएन
भुँडी आयो तर विवेक आएन, मुख आयो तर सुख आएन
घुस बढ्यो तर त्याग आएन, आक्रोश आयो तर सोच आएन ।
(अचम्म)
अरु भन्दा यो कान्छो प्यारमा पुल्पुलिएको छ, लयमा झिल्मिलिएको छ, भावमा निखारिएको छ, व्यङ्ग्यमा तिखारिएको छ र सोझो होइन बटारिएको छ ।

अन्त्यमा, गाइँगुइँ सुनेका, बुझेका जानेका चिनेका, बाठाहरूले उछिनेका, लाटाहरूले नसुनेका गन्थन मन्थन, उखान तुक्का, पञ्जा छक्का, पोच्चा पच्चा सबै कुरा यी चार भाइले जानेका छन् । झटारोले हानेपछि, अंकुशेले तानेपछि, कराइमा तेल उमारी झानेपछि, अक्षरहरूमा व्यङ्ग्य कसी बखानेपछि र हास्यको डोरीले लतारेपछि निरङ्कुशता घट्छ, आशावादिता उकालो चढ्छ, विश्वासको खेती बढ्छ भन्ने चारै भाइलाई जानकारी छ । उनिउँ उम्रिए र ढुङ्गो टुसाएपछि मात्र हाँस्ने नेपालीलाई हसाउने कम्मर कसेकाहरूलाई हसाउन सफल भएकाले यिनीहरूलाई उत्तम दर्जा दिने मन छ मलाई । बुर्कुसी, उपरखुट्टी, कुम्भकर्णकाे डायरी र बड्कौँलाको राज्यमा कोही नपात्तियून्, कोही नआत्तियून् र कोही पनि विकृतितर्फ न बतासियून् भन्ने शुभकामना छ । व्यङ्ग्यकार सन्तानका बालाई बल र बुद्धिको बधाई छ । व्यङ्ग्यका सहमतिमा यसरी गुन्गुनाउन मन लाग्यो –
बुर्कुसी दौडियोस् कुद्धै उपर्खुट्टी उठी कुदोस्
कुम्भकर्ण उठोस् निद्रा तोडेर होसमा बढोस्
बड्कौँला सुखका दाना बन्दै गरोस् हराभरा
जाली झेलीहरूबाट मुक्त होऊन् बसुन्धरा ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हे खोला तँ बगाइदे !

हे खोला तँ बगाइदे...

त्रिलाेचन आचार्य
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x