गाेपेन्द्रप्रसाद रिजालवास्तु बिग्रिएको गाउँ (२)
मनमा नानाभाँतीका योजना बनायो बस्यो । उनको रात नै हाइ काड्दैमा बित्थ्यो । एउटालाई तनको दुःख, अर्कोलाई मनको दुःख । एउटालाई आजको चिन्ता, अर्कोलाई भोलीको झोली भर्ने चिन्ता ।

गोपेन्द्रप्रसाद रिजाल :
जुरेको कमेरो ल्याएर दशैँमा घर सिँगारेर पनि मन भने मकै भुट्ने हाँडीको पिँध भन्दा कालो छ सेता घरेहरूको मन । काली खोलाको हाडे ओखर फुटाएर दिउँला निकालेर खान सजिलो होला त्यो भन्दा धेरै कठिन काम हो उनीहरूबाट दयाको पोको फुक्न । फुकी हाले पनि हकुवा धानको कनिका जस्तो न भात न न खोले न माड । अँ कनिकाको कुरा उठी गयो अलिकति धानको कुरा पनि गरौँँ न । बेँसीमा हिउँदे वर्षे गरी दुइ बाली फल्ने खेत । बेँसी पनि निकै तल बोरामात्र बोकेर जाँदा पनि डेढ घण्टाको ओरालो । साउने धानको अँधिया बस्न झर्थे फेटावाल कालो मनका घर मूली । गाउँमा उनी झरेको देखे पछि स्वस्ती गर्नेको लाम लाग्थ्यो । उनी आँखा अदेख भए पछि कोही कोही कुरा काट्थे । “हरियो बाँसमा कसेर यै बाटो लान नसकेको अपराधी” भन्दै । वास्तु नमिले पछि के गर्नु र जति सराप्यो उति आशिष लाग्ने । शेर्माली दाइको बेफा भन्दा मोटाउँदै जान्थे उनीहरू भने । भुँडी नै दमाहा जत्रो । गजोले ड्याङ्ग ड्याङ्ग ठोक्नु हो भने वारी पारी सबै थर्किन्थ्यो होला ।
कुरो धानको हुँदै थियो । अधियाँ त भन्थे तर त्यही धान फलाउने मान्छेले अधियाँको अधियाँ पहिले नै लगि सकेको हुन्थ्यो खेती उकास्न । दुई भात सेता घरेको भागमा एक भाग कमाउनेको भागमा । साउने धानको पोगटा त्यति हुन्न नै । चेलीबेटीलाई भूमे पाथी पनि मङ्सिरे धानको मात्र भाग लाउनु पर्ने चलन छ । अधियाँ बाँड्न पनि एक जना कारबारी नै हुन्थ्यो । सेता घरे त शितलमा पनि कस्तो गर्मी छ हौ भन्दै बस्ने मात्र हुन् ।
धान ओसार्नु त पर्छ नैै । साउने धान चिसो नै हुन्छ अर्थात निकै गर्हाैँ हुन्छ । जसतसले एक मुरीको धोक्रो थाप्लामा हाल्ने हिम्मत नै गर्दैन । वास्तु नमिलेको गाउँमा एक दुई जना वलिष्ठ भाग्यमानी पनि थिए । त्यो बल उनीहरूलाई आमाको लाम्टो चुसेर आएको होइन न त भालेको सुप खाएर नै । महाकविलाई कविता फुरे जस्तो उनीहरूको जिउमा बल फुरेको हो । बिहान भुकभुके उज्यालो नहुँदै तीस पाथी जाने जुटको बोराको धोक्रो र बलियो बरियो भएको नाम्लो काँधमा हालेर झर्थे बेँसी । पैताला बाक्ला भएर जुत्ताकै काम गर्थ्याे । पानीले पखालेका काँडा उम्रिए जस्ता ढुङ्गाले उनीहरूको पैतालालाई कुनै असर गर्दैनथ्यो ।
पाँसुलाको मासु क्रिकेटको गोल जस्तै दह्रा । ढाडमा कोर्राले हाने पनि डाम नबस्ने । ताजी तुर्की घोडा नै हो उनीहरूको ज्यान भनेको । टाउकामा तेर्सो कुलो जस्तो परेको । त्यो भागमा कपाल नभएर परैबाट टल्किन्थ्यो ऐना जस्तो । टोपीको घेरो हुन्थ्यो तर माथि कपडा बेगरको दर्जीले सिँउदा नै बुद्धि पुर्याएर कल चलाए जस्तो । नाम्लाको डामले होला शायद । बिहानको खाना बाटोमै हुन्थ्यो उनको । साउने धानका चामलको गिलो गिलो भात र लोकल टमाटरको राँगे खुर्सानी सराबर भएको अचार । मुरीको धोक्रो त उनको लागि केही होइन । यदि जिमखानाबाट वेट लिफ्टरको प्रतियोगिता हुनु हो भने उनी नै अब्बल दर्जाको खेलाडीमा दरिन्थे होला । रातो माटो उकालो बाटो त्यो पनि साउने झरीले चिप्लो । खुट्टा उभो लान खोज्दा उधो बल गर्ने । तर जहाँ इच्छा त्यहाँ उपाय, जहाँ समस्या त्यहाँ समाधान भने जस्तो खुट्टाका औँला दोबारेर हिलोमा गाडे पछि सक्थे अगाडी बढ्न । मानौँ उनी भारी बोकेर चिप्लो बाटोमा उकालो चढ्न पारङ्गत योद्धा हुन् । हिमाल चढ्नेका मार्ग निर्देशक भए जस्तै उनी पहाड उक्लिनेका पथ प्रदर्शक हुन् ।
साँझको झ्याउँकिरी कराउँदा नकराउँदै उनी सेता घरेको सिकुवामा धानको धोक्रो पछार्थे र खुइँय गर्दै टोपीको घेराले पसिना पुछ्थे । मायाले दिएको चौलानी मार्का मोही एकै सासमा घुड्क्याउँथे र मुरीको पाथी ज्याला पोको पारेर आफ्नै महलतिर लाग्थे । घरमा उनकी जहानका आँखा उनी आउने बाटोतिरै हुन्थ्यो । उनको दिनभरिको पसिना मकै भुट्ने हाँडीमा भुट्यो । ओख्लीमा कुट्यो । पकायो, लालचनमा माड झिकेर हाल्यो नुन खुर्सानी छर्कियो सुखको मानो खायो मस्त निदायो । यो उनको दैनिकी नै हो । उनको वर्तमान, उनको भविष्य नै दिनको एक पाथी धान हो ।
उता सेता घरे बा भने रातभरि तमसुक छुट्यायो । बेग्ला बेग्लै गाउँको बेग्ला बेग्लै पोको पार्यो । मनमा नानाभाँतीका योजना बनायो बस्यो । उनको रात नै हाइ काड्दैमा बित्थ्यो । एउटालाई तनको दुःख, अर्कोलाई मनको दुःख । एउटालाई आजको चिन्ता, अर्कोलाई भोलीको झोली भर्ने चिन्ता ।
लोकतन्त्र आयो । के फेरियो ? के हेरियो ? तर सेता घरेको फेटाका धेरै सौता भए । टाटी घरेको मुरीको पाथी फेरिएन । जेठा बालाई देखायो । भन्छन्, गाउँको वास्तु मिलेकै छैन । लौ न अब त मिलाउँ वास्तु ।
जदौ !
क्रमश…..
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































