साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनप्रतिनिधि

झिङ्गालाई डिङ्गा खान मन लाग्दैमा भैँसी भिरबाट पल्टिँदैन । हामीले दुई चार पैसा जोड्यौँ त जोड्यौँ । पेशा गरेपछि धन सम्पत्ती नजोडेर के जोड्ने ? अबकाे राजनीतिमा जनप्रतिनिधि भनेकै धनप्रतिनिधि हाे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

सामान्यतः राजनीतिक दल र समाजलाई अगुवाइ गर्ने व्यक्तिलाई नेता भनिन्छ । नेतालाई विभिन्न अन्य उपनामले पनि पुकारिन्छ । जस्तै राजनेता, जननेता, जनप्रतिनिधि आदि । राष्ट्रियस्तरको राजनीतिक व्यक्तित्वलाई राजनेता भनिन्छ । जनताका हकहितका लागि लड्ने व्यक्ति जननेता हो । जनताको हक, हित र अधिकारको सुरक्षाका लागि जनताले छानेका नेता जनप्रतिनिधि हुन् । यी सब पुराना र थोत्रा भइसके ।

मानिस परिवर्तनशील प्राणी हो । ऊ हरपल परिवर्तनको दिशामा दौडिरहेको छ । पाषणयुगको मानिसले आफूमा परिवर्तन ल्यायो । अहिले ग्रह र उपग्रह चाहरिरहेछ । मानिसले ज्ञानमा, विज्ञानमा र मनोविज्ञानमा परिवर्तन ल्याइरहेको छ । यस्तो परिवर्तनले समाज र संसारलाई परिवर्तन गराइरहेछ । जसको प्रभाव भेषभुषा, भाषा, संस्कृति र संस्कारहरूमा पनि भइरहेको छ । परिवर्तनको दायरा र क्षेत्र फराकिलो बन्दै गइरहेको छ ।

अब सिधै विषयवस्तुमा प्रवेश गरौँ । हिजो संसारमा स-साना राजा रजौटाहरू थिए । शासकहरूले शासन गर्दथे । आज पनि यो उपक्रम जारी नै छ । हामीले शासकहरूलाई शासनको अभिभारा सुम्पिएका छौँ । उनीहरूले शासन गरिरहेछन् । समयक्रमसँगै शासन व्यवस्थामा परिवर्तन भइरहेका छन् । नेपालको शासन प्रणालीलाई अध्ययन गर्दा, पढ्दा, बुझ्दा र भोग्दा हामी पनि भुक्तभोगी नै छौँ । हिजो ज्यानको प्रवाह नगरी समाजसेवामा समर्पित भएका तमाम अनुहारहरू हामीले देख्यौँ । समाजसेवा गर्दा सर्वश्व गुमाएको पनि देख्यौँ । आज अपवादमा त्यस्तो अवस्था होला ।

कुनै समय थियोे; राजनीतिलाई राजा नीति मानिन्थ्यो । राजनीतिमा सेवा भाव थियो । समर्पण, त्याग र बलिदानी थियो । आज राजनीतिले पेशा या व्यवसायको रूप ग्रहण गरेको छ । विभिन्न पेशा व्यवसायमध्ये उच्चस्तरको पेशा राजनीति भएको छ । अन्य क्षेत्रमा असफलहरू आज राजनीतिमा सफल भएका छन् । त्यसैले त लागियो राजनीतिमा ।

अभिनय गर्नेलाई अभिनेता भनिन्छ । राजनीति गर्नेलाई नेता । आफू त राजनीति गर्ने मान्छे । नेता परियो । यसैलाई पेशा बनाइएको छ । दल नामको सटर खोलेर फाइदा पनि लिइएको छ । समाजमा छुट्टै विरासत कायम गरिएको छ ।

हिजो अरुको निगाहमा बाँच्नु पर्थ्यो । खाली खुट्टा कति हिँडियो । वनका काँडा कति भाँचियो । खान नपाएर कैयौँपटक उपवास बसियो । घामपानी, हावाहुरी र धुलोमैलोसँग मितेरी लगाइयो । जड्यौरीले ज्यान ढाकियो । खुला आकाशमा कति रात काटियो यसको कुनै हिसाब छैन ।

राजनीतिले मेरो जीवनशैलीमा परिवर्तन ल्यायो । धरतीबाट आसमानमा पुर्‍यायो । मैले ढाँट्न जानेको छैन । जे बोल्छु सत्य बोल्छु । मेरो बुझाइमा जोगी बन्न कसैले राजनीति गर्दैन । मैले पनि गरेको छैन । हिजो चप्पल पड्काउदै हिँड्ने मेरो जीउ ज्यान आज सुट टाइमा सजिएको छ । खुट्टामा फोरा उठाउँदै हिँड्नु पर्थ्यो । आज एसीयुक्त चिल्लागाडीमा सयर गरिएको छ । राज्यकोषबाट हेलिकप्टर र विमानमा सवार भइएको छ । दुईचारवटा महलमा टहल गरिएको छ । दुईचार पुस्तालाई पुग्ने गरी बैंक ब्यालेन्स गर्नु कुनै ठूलो कुरा भएन ।

अर्काको डाह रिस गरेर हुँदैन बाबै । राजनीतिमा आउनु पर्छ । ऐरो नहाली पैह्रो झर्दैन । गाईलाई दाना नहाली बाल्टीमा दूध कहाँ खस्छ र ? लगानी गर्न जान्नु पर्छ । बिना लगानी हाम्रो पेशा कहाँ फस्टाएको हो त ? कार्यकर्ता पाल्नै पर्‍यो । चुनावमा दक्षिणा फाल्नै पर्‍यो । कुरा काट्नेका मुख टाल्नै पर्‍यो । कम्ती सकस छ ? लगानी गरेपछि प्रतिफल त चाहियो नि ! नेताले राजनीतिलाई व्यापार बनाए भन्ने स्याल हुइँय्या पनि सुनिन्छ । हामीलाई के पर्वाह ? काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । नटोक्ने कुकुर भुक्दै गर्छ । उसकै थुतुनो सुक्दै गर्छ ।

जनप्रतिनिधिले सेवा सुविधा लिए रे ? लिन्छन् त सुविधा । सुविधा लिन के को द्विविधा ? बेलामा मेसो नमिलाए कहिले मिलाउने ? हाम्रो पनि त परिवार छ । खाने थुतुना छन् । घुम्ने फिर्ने रहर लाग्छ । हामी धनप्रतिनिधि रे ? धनप्रतिनिधि नै सही कसैले किन टाउको दुखाउनु पर्‍यो ?

हामीप्रति अविश्वास गरेर हुन्छ भन्या ? विकासको मूल पनि त फुटाएका छौँ नि ? वर्षामा विकासको बाढी ल्याउँदा थामी नसक्नु छ त । देश रित्याएरै भए पनि युवा विदेश पठाएकै छौँ । गाउँमा मलामी पनि भएनन् भनेर भो त ? उता रोजगारी दिलाएकै छौँ । यता जनता भोकले सताइँदा चाउचाउ बाँडिएकै छ । भूकम्पले सताउला भनेर भूकम्प प्रतिरोधी त्रिपालका महलमा राखिएकै छ ।

रातदिन जनताको सेवामा लाग्दा हामीले के नै खाएका छौँ ? भोकै मर्न सकिएन । परान धान्नै पर्‍यो । जुस खान हुँदैन त्यसैले घुस खाएका छौँ । लसुनले पटक्कै नसहने हुँदा सुन खाएका छौँ । सादा पानीले सहँदैन । गोरसले सहेको भए किन सोमरस खानुपर्थ्यो ? उद्योगधन्दा कारखाना बेचेर कहाँ खायौं हामीले ? नचाहिने हल्ला गर्न सुहाउँछ ?

हाम्रो नागरिकता, पासपोर्टमाथि ओैँला ठड्याउनेलाई यति पनि थाहा छैन ? महान् मान्छेहरू कुनै निश्चित भूगोलमा सीमित हुँदैनन् । अन्तर्राष्ट्रिय हैसियत राख्दछन् । झिङ्गालाई डिङ्गा खान मन लाग्दैमा भैँसी भिरबाट पल्टिँदैन । हामीले दुई चार पैसा जोड्यौँ त जोड्यौँ । पेशा गरेपछि धन सम्पत्ती नजोडेर के जोड्ने ? हाम्रो व्यथा स्वदेशमा निको हुने भए रूघा लाग्दा किन विदेश जानुपर्थ्यो ?

अघि नै बताइसकेँ त । राजनीति हाम्रो पेशा हो । कुरा काट्नेले अलिकति बुझेर काटिदिए पनि चित्त बुझ्थ्यो । तर केही छैन । बोल्नेको मुखमा बुजाे कसरी लगाउने ? हामीलाई राम्रैसँग थाहा छ । ठोकेरै भन्छु- हामी धनप्रतिनिधि नै हो । कसले के नाप्न सक्छ ? विरोध गर्नेलाई तह लगाउने कडी हामीसँगै छ । कसैले चुबुरचुबुर नगरे हुन्छ । अबकाे राजनीतिमा जनप्रतिनिधि भनेकै धनप्रतिनिधि हाे । याे यथार्थ नबुझ्ने स्वाँठलाई त एकदुई बिटा क्याँटले नै किनिन्छ ।  कि कसाे ?

०००
रेसुङ्गा नगरपालिका २, छापटोला गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x