रामप्रसाद पन्थीमिसन चौरासी
के का मिसन चौरासी ? कसका लागि ? हामी भोका नाङ्गालाई कसले हेर्यो ? गाउँ रित्तियो । देश सिद्धियो । लुटेराहरू मोटाउने लोकतन्त्र किन चाहियो ? पुराना जोगी भोगियो । नयाँ भनाउँदा अघोरीबाट पनि अघाइयो ।

रामप्रसाद पन्थी :
देश सङ्घीय गणतान्त्रिक युगमा प्रवेश गरिसक्यो । संविधानले धर्मनिरपेक्ष भनिसक्यो । यस्तो परिवेशमा पनि पञ्चाङ्ग निर्णायक समितिले ज्योतिष शास्त्रको वकालत गर्नु नै मेरो आपत्तिको विषय हो ।
पहिलो कुरा पञ्च जोडिएको पञ्चाङ्ग प्रतिगामी तत्व हो । यसमा कुनै शङ्का छैन । आफू त परियो तथ्य र तथ्याङ्कमा आधारित मान्छे । मिथ्याङ्कका पछाडि लाग्ने कुरा भएन । त्यसैले अनावश्यक शङ्काले लङ्का जलाएर डङ्का पिट्ने सवालै रहेन ।
आजकल नाङ्ले पसलदेखि सुपर मार्केटहरूमा ज्योतिषहरूको कुनै कमी छैन । आली आलीमा बस्ने, पाली पालीमा कम्मर कस्ने, सडक पेटीमा गजधुम्म बस्ने बाबा र माताहरू छ्याप्छ्याप्ती देख्न सकिन्छ । गेरू वस्त्र लाएर चिना पल्टाउने, हस्त रेखामा मस्तराम बन्ने, अनुहार हेरेर त्रिकाल दर्शाउने नाङ्ले ज्योतिषको योगदानलाई अवमूल्यन गर्न सकिँदैन । यिनले पनि अर्थतन्त्रमा टेवा पु-याएका छन् । कर सङ्कलन गरेर पारिवारिक बजेट चलाएका छन् ।
कुनै एक दिन पिण्ड खाने बेला भएका पिण्डेश्वर बाजेको कुण्डली खुद्रे ज्योतिष महासङ्घका अध्यक्षले फेला पारेछन् । कुण्डली हेर्दा खुद्रे ज्योतिष जिल खादै भनेछन् “छ पटक प्रधानमन्त्री बन्ने योग छ ।” खुसीले पिण्डेश्वर बाजेले ज्योतिषलाई मोटो रकम दिएछन् । यता ज्योतिष मोटो दक्षिणाले पुनः जिल परेछन् । उता पिण्डेश्वर बाजे खुसियालीमा टिल परेछन् । हुँदाहुँदै यो खबरले सनसनी पैदा गराएछ । विजातीय दलमा मात्रै हैन सजातीय खलमा समेत खलबल गराएछ । कसैको खुसीले त कसैको चोटले निद्रा हराएछ ।
जसले जे सुकै भनोस् हामी भाग्यवादी हौँ । हाम्रो निधारमा भावीले भाग्य लेखिदिएको छ । कसैका भाग्यमा श्री लेखिदिनाले अमिर बनेका होलान् । कसैका भाग्यमा किचिरी पिचिरी लेखिदिनाले लकिरको फकिर बनेका होलान् ।
सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान गर्ने होड चलेझैँ हामीकहाँ कति पटक प्रधानमन्त्री ? भन्ने होड छ । अरूलाई छिर्के हानी लडाउने र ओैला ठडाउने प्रतियोगिताले उच्च सफलता हासिल गरेको छ । यति मजाको जाल र झेलको राजनीतिक खेल अरु देशमा भएको भए टिकट काटेर हेर्नुपर्थ्यो । हामी भाग्यमानी छौँ र त सित्तैमा हेर्न पाएका छौँ । यी त भए राजनीतिका कुरा । राजनीतिमा चासो नभएकाले किन लुतो कनाइरहनु र ? गाँठी कुरा छ मिसन चौरासीको !
मैले माथि नै बताइसकेँ । कि बिर्सिनु भयो भुतुक्कै ? दस गाउँले सुन्ने गरी कानमै भनिदिन्छु सुटुक्कै । सुपर मार्केटिङ ज्योतिष महासङ्घले चौरासीलाई मिसन चौरासीको घोषणा गरिसकेछ । गाउँ घरका चिया पसलदेखि सहरका कफी सपमा यसकै चर्चा हुने गरेको छ । कपाल फुलेका युवादेखि ( ६० कटेकालाई युवा भनिएको सन्दर्भमा) बङ्गरा झरेका बा’सम्मले चौतारामा बसेर मिसन चौरासीको गफ लडाउन थालिसकेका छन् । सबैका मुखमा मिसन चौरासी झुन्डिएको देख्छु । आफूले भने केही भेउ पाउन सकेको होइन । मिसन चौरासी खाने कुरा हो कि घस्ने ?
चार बीसे चारलाई चौरासी भनेको थाहा थियो । असी र चार भएपछि चौरासी गर्ने चलन छ ठाउँ ठाउँमा । यति कुरा मलाई पनि थाहा भएको विषय हो । आफूलाई थाहा नभएको विषय जानकारहरूबाट जान्नु पर्छ भन्ने लाग्यो । कमेरेपानीका कान्छा पण्डित जानेबुझेकै मान्छे मानिन्छन् । चिना हेर्ने र पुरेत्याइँको काममा उनलाई भेट्ने को होला र ? तसर्थ कमेरेपानीका कान्छा पण्डितलाई भेट्न गएँ । पण्डितले सोधे कति कामले आइस् ? चिना हेर्नू पर्यो कि जजमानी गर्नुपर्यो ?”
कान्छा पण्डितलाई सोझै कुरा राखेँ “मिसन चौरासी के होला बा ?”
कान्छा पण्डितले प्रतिक्रिया जनाइहाले “भनेपछि तलाई पनि मिसन चौरासीले छोयो ? हेर जेठा ! चौरासी पूजा हजार चन्द्र दर्शन गरेपछि गर्न पाइन्छ । मिसन चौरासी विशेष खालको चौरासी हो । यस्तो चौरासी दुर्लभ हुन्छ । आउने चौरासी साल मिसन चौरासीका लागि उत्तम छ । गाउँभरका मान्छे भेला पारेर चौरासी गरिदिने विचारमा छु । पूजा सामग्री र दक्षिणा भेटीको जोहो गरेस् ।”
कान्छा पण्डितले पण्डित्याइँ दिइहाले । निरूपाय म मन्टो हल्लाउँदै त्यहाँबाट हिँड्न बाध्य भएँ ।
राति मनमा धेरै कुरा खेले । दिमागले चतुरे मामालाई देख्यो । बिहान जुरुक्क उठेर सुरूक्क चौरासीका चतुरे मामालाई भेट्न गएँ । चतुरे मामा पालीमा बसेर आलीतिर आँखा लगाएका रहेछन् । मलाई देखेर मामाले भने- “भाञ्जले बाटो बिराएछन् कि कसो ?” मैले उत्तर दिएँ “नबिराइकन सरासर आएको छु मामा ।” सञ्चो विसञ्चोको भलाकुसारी सकिएपछि चतुरे मामालाई सोधेँ, “मिसन चौरासी भनेको के हो मामा ? निकै हल्ला सुन्छु त ?”
चतुरे मामाले निधारमा गाँठो पार्दै भने, “हाम्रो यो ठाउँलाई चौरासी भन्छन् भन्ने कुरा भाञ्जलाई भन्नै परेन । चौरासीको चामलको भात भाञ्जले खाएकै छौ । नखाएको भए खाइहालिन्छ । यो मिसन चौरासी मैले नै चलाएको अभियान हो । मैले यो चौरासीको चामललाई ब्रान्ड बनाएर बजारीकरण गर्ने मिसन बनाएको छु । भाञ्जले पनि शेयर लगानी गर्नु पर्छ ।”
चतुरे मामाको धेरै कुरा बुझिएन । तर चौरासीको चामलको भात बजाउने मेरो मिसन भने पूरा भयो ।
यसै भएन उसै भएन मिसन चौरासीको कुरा नबुझी भएन भनेर निरन्तर कुराको चुरो खोज्न लागिरहेँ । एकदिन बाटोमै पुरानो दलका पुराना नेता दलबहादुर गजधुम्मेलाई भेटेँ । उनी व्यस्त जस्तै देखिन्थे । तैपनि रोकेरै सोधेँ “नेताजी निकै व्यस्त देखिनुहुन्छ नि ?”
“व्यस्तै छु भन्नू पर्यो । मिसन चौरासीमा लाग्या छौँ । अलिक दौडधुप चलेको छ ।”
नेताले मिसन चौरासी भन्दा मलाई पनि दही चिउरा खाए झैँ भयो । मैले जिज्ञासा राख्नै परेन । उनले थप्दै गए- “तिमीहरू पनि लाग्नु पर्छ । हामी जेल नेल खाएका नेतालाई साइड लगाउने रे ! हिजका ठेट्नाहरूले । राणा फाल्यौं । राजा फाल्यौँ । यिनले हाम्लाई फाल्ने कुरा पो गर्छन् गाँठे । हाम्रो हातमा पनि दही जमेको छैन । चौरासीको चुनावमा यिनलाई ठेगाना लगाइदिनु पर्छ ।”
एक सासमै यति सुनाएर दलबहादुर गजधुम्मे आफ्नो बाटो लागिहाले । अलिक पर चौतारोमा दुईचार जना गाउँलेहरू कचहरी बसेको देखियो । चिनेजानेका अनुहार देखिएकाले उतैतिर तेर्सिएँ । त्यहाँ पनि मिसन चौरासीकै कुरा चलेको रहेछ । थचक्क बसेको खुइते साइलो मचक्क मच्किदै बम्किन थाल्यो – “के का मिसन चौरासी ? कसका लागि ? हामी भोका नाङ्गालाई कसले हेर्यो ? गाउँ रित्तियो । देश सिद्धियो । लुटेराहरू मोटाउने लोकतन्त्र किन चाहियो ? पुराना जोगी भोगियो । नयाँ भनाउँदा अघोरीबाट पनि अघाइयो । मिसन चौरासी नै चलाउने हो भने यी सबैलाई कालो मोसो लगाएर चार भञ्ज्याङ् कटाउनु पर्छ । कसो साथीहरू ?”
खुइते साइलाको भनाइमा समर्थन जनाउदै सबैले एकै स्वरमा भने- “हो हो त्यसै गर्नु पर्छ ।”
मेरा दिमागले अझै पनि ठम्याउन सकेको छैन । कान्छा पण्डित, चतुरे मामा, दलबहादुर गजधुम्मे र खुइते साइलामध्ये कुनचाहिँ मिसन चौरासीझको पछि लाग्ने होला ?
०००
रेसुङ्गा २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































