साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी लुखुरी

जब मैले स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेँ, लुखुरी साहै दङ्ग परिन् । मन्दिर गइन्, भाकलको लड्डु चढाइन् र मलाई लड्डु खवाउँदै बिस्तारै भनिन् “मैले पनि पढ्न पाए हुन्थ्यो” म दङ्ग परेँ ।

Nepal Telecom ad

मुन पौडेल :

तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन् कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कलकुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुट्ठी कि ? कराईजस्ती काली छिन् कि हिउँजस्ती गोरी ? चार हात कि छिन् कि एक बित्ता कि ? भकुण्डी छिन् कि ख्याउटी ? चेप्टी छिन् कि लाम्ची ? सुन्तली छिन् कि टर्री ? कस्ती छिन् तपाईंकी प्राण पियारी अर्थात् श्रीमती ? मेरी त लुखुरी छन् ।

काठमान्डूमा स्नातकको अन्तिम परीक्षाको तयारी गरिरहेको थिएँ, अचानक पहाडबाट बुबा सिकिस्त बिरामीको खबर आएर कुदाकुद गर्दै गाउँ पुगेको त बूढा त टाठा, धाईधुई गरेर गाई पो दुहिरहेका । काठमान्डूमा एक्लै बस्दा बिग्रिन्छ रे भनेर केटीसेटी ठीकठाक पारेर बिहे गर्न पो बोलाएका रहेछन् । केटाकेटीमै बूढाले आफ्नो एउटा साथीलाई उनको छोरीलाई बुहारी बनाएर ल्याउने वचन दिएका रहेछन् मलाई च्याप्प पारेर इज्जतसिज्जतको कुरा गरेर स्वास्नी भिडाइदिहाले । मलाई केटीसेटी पनि देखाएनन । बिहे गरेको भोलिपल्टै पठाई बिग्रेला रे भनेर । दुलही अगाडि लगाई मलाई काठमान्डू धपाई पनि दिए । मलाई बूढाले सोच्ने, केही भन्ने कुनै मौका दिएनन् । म लुरुलुरु गुन्टा र दुलही अगाडि लगाउँदै काठमान्डू आइपुगेँ ।

काठमान्डू आएपछि पो मैले विचार गरेर श्रीमतीलाई हेरेँ । बूढाले त मलाई खुत्रुक्कै पारेका रहेछन् । मेरी श्रीमती त फिस्टी चरीजस्ती पो रहिछन्, फु गर्दा ढल्लिनजस्ती । म आफू पाँच फिट दस इन्च अग्लो मान्छेकी दुलही साडेचार फिटकी । कम्मर त जम्मा जम्मी एक मुट्ठीको । मसँग हिँड्दा केटाकेटी हिँडेकोजस्तो । परेन फसाद ! बूढाले घाँडो भिराइदिहाले । अब के गर्नु । बाउको विरुद्ध जाने न संस्कार नै थियो न आँट । सुनमा सुगन्ध भनेकोजस्तो मेरी लुखुरीको अर्कै महान् विशेषता थियो, निस्पट्ट, निरक्षर। म बहुलाउन मात्र सकिनँ ।

नयाँ बिहे गरेको, साथीभाइहरूले खान बोलाउन थाले । धेरैलाई टारेँ तर एउटा भोजमा नगई भएन । लुखुरीलाई पनि लिएर गएँ । मनमनै डर लागिरहेको थियो, के चर्तिकला देखाउने हो यसले आज भनेर । काठमान्डूको भोजभत्तेर कहिले देखेको भए पो । त्यसैले एउटा साथीकी दुलहीलाई जिम्मा लगाइदिएँ र ढुक्कको सास लिए। सब खाइरहेका थिए, उनी पनि हातमा प्लेट लिएर खाइरहेकी थिइन्, जसोतसो गरेर । अचानक हलको पल्लो कुनाबाट उनी “हजुर हजुर” भनेर चिच्याउन थालिन् । सबैको ध्यान उनीतिरै आकृष्ट भयो । मेरो मुटुचाहिँ अब के उपद्रो गर्न थालिन् यिनले भनेर जोडजोडले धड्किन थाल्यो ।

मैले के भो भनेर उनीतिर हेरें, हेर्नैपर्‍यो । उनको हातमा थियो न्यापकिन । त्यहीँ न्यापकिन बेस्सन हल्लाएर उनी सोधिरहेकी थिइन् “हजुर ! यो के गर्ने ? यो पनि खाने हो ?” उनको कुरा सुनेर सारा गलल्ल हाँसे, मलाई चाहिँ कता लुक्न जाऊँजस्तो भयो । पछि घरमा आएर सम्झाएँ, वाह्वा रुन थालिन् ।

मेरी लुखुरी मैयाँले अरू क्यै नजाने पनि पकाउन, ख्वाउन र घरधन्धा गर्न भने मज्जाले जानेकी थिइन् । त्यसैले होला, मेरो जीउ भने लाग्न थाल्यो । त्यो सम्म त ठिकै थियो तर बेलाबखत विचित्र-विचित्रको उपद्रोले भने मलाई लाजमर्दो पार्न चाहिँ छोड्दिनथिन् ।

अब एक दिनको कुरा सुन्नुस् । एक दिन लुखुरी मैयाँलाई पनि काठमान्डू घुमाइदिनुपर्‍यो भनेर घुमाउन हिँडेँ । मोटरले किच्ला भनेर समातीसमाती घुमाएँ । पछि भोक लाग्यो होला बिचरीलाई भनेर एउटा राम्रै रेस्टुरेन्टमा लगेँ । नाना भाँतिका खानेकुराहरू पिजा, बर्गर भएको ठाउँमा के खान्छेऊ भनेर सोधेको त समोसा जिल्फी पो भनिछन् । त्यतिबेला जिल्फी के पाउनु, समोसै ल्याऊ भनेर अर्डर गरेँ । समोसा आयो, म काँटा चम्चाको सहयोगले खान थालेँ । उनले पनि मैलेजस्तै गरेर समोसालाई चम्चाले काटेर खान खोजेकी, समोसा त बुद्रुक्क उफ्रेर अगाडिको टेबुलमा बसेको भलाद्मीको नाकैमा लाग्यो । बिचरो भलाद्मी यो के अचम्म भयो भनेर जिल्लिँदै थियो, मेरै लुखुरी दगुर्दै गएर टेबुलमाथि झरेको समोसा टिपेर आफ्नो टेबुलमा फर्किन्, केही नभएकोजस्तो गरेर । उता भलाद्मी रिसले जुरुक्क उठिसकेको थियो । म हत्त न पत्त उसको टेबुलनेर गएर क्षमायाचना गर्दै थामथाम थुमथुम पारेर आफ्नो टेबुलमा फर्के र लुखुरीलाई घिसार्दै लिएर हिँडेँ । डेरामा फर्केपछि लुखुरी एक माना च्युरा र नुन खुर्सानी लिएर रुदै खान थालिन् । मैले त एउटा समोसा खान भ्याएको थिएँ, उनी त भोकै थिइन् ।

लुखुरीको चर्तिकला कति बयान गरूँ । एक पटक एउटी दिदी पर्नेले बुहारीलाई लिएर आइज कि आइज भनेर साह्रै कराउनु भो जति टारे पनि टार्न सकिनँ । “आज दिदीकहाँ जानुपर्छ, कोरीबाटी लुगा फेरेर बस्नु” भनेर अराएर हिँडे । पछि जाने बेलामा डेरामा आउँछु त लुखुरी त राम्रैसँग सिङ्गारपटार पारेर पो बसेकी रहिछन् । ठ्याम्मै मधेशतिर लोग्नेमान्छे आइमाई बनेर नाच्ने नटुवाजस्ती । मुख सेताम्मै, कमेरो दलेकोजस्तो । गालामा के दलेको हो, राताम्मै । ओठभरि त लिपिस्टिक लाएको हो कि के हो, जताततै पोतरेकोजस्तो । कपालमा हालेको तेल कन्चटमा चुहिरहेको थियो । त्यसमाथि बनारसी साडी । लुखुरी त सिङ्गारपटार गरेकी बाँदर्नीजस्ती देखिरहेकी थिई । त्यसमाथि मोटो न मोटो कोस तानेर लाएको गाजलले त झन् बौसीजस्तै लागिरहेकी थिई मेरी लुखुरी । म त तिनको रूप देखेर न हाँस्नै सकें न रुनै । उल्टो बरू आफ्नो कान समातेँ र तिनको आधुनिक भयङ्कर मेकअप पखाल्न लगाएर घरमै थच्चिएँ, दिदीकहाँ गइनँ ।

अब मेरी लखुरीको पहिलो तीजको कथा सुन्नुस् । तीजको दिन निराहार पानीसमेत नखाएर वर्त बस्थिन् । ए बाबा, एक मुट्ठीको ज्यान छ, जल विनियोजन होला, पानी चाहिँ खाऊ भन्दा मरे मानिनन् । दिउँसो पशुपति लग्दे भनेर जिद्दी गरिन्, लग्दिनै पर्‍यो । एक्लै आउ भनूँ हराउलिन् भन्ने पीर । पशुपतिमा उनी पङ्क्तिमा लागिन् आफू के गर्नु । आइमाइको नाच हेर्न थालेँ । कति हेर्नु नाच । पाँच घण्टा कुर्नुपर्‍यो । लाइनमै ढलिन् कि भन्ने पीर उतिकै । बल्ल तल्ल असिनपसिन हुँदै आइपुगिन्, थकित मुद्रामा । म नाच हेरिरहेको थिएँ, उनलाई पुगियो । उनी पनि नाच्न थालिन् । जे होस् लुखुरी नाच्न चाहिँ गजब नाच्दी रहिछन् । जीउमा तागत छैन, अब ढल्लिन् तब ढल्लिन् जस्ती भइसकिन् न नाच्न छाड्छन्, न घर हिँड्छिन् । आजित भएर जर्बजस्ती समातेर नाचबाट निकालेँ र एउटा ट्याक्सीमा चढाएँ । ट्याक्सीमा चढाएँ पनि, लुखुरी त लत्र्याकलुत्रुक परेर बेहोसै पो भइन । मारेन । त्यहाँबाट डेरा जानुसाटो अस्पताल पुर्‍याएँ, रातभरि त पानी चढाएपछि बल्ल तङ्ग्रिन र बिहान डेरा पुगेँ ।

जब मैले स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेँ, लुखुरी साहै दङ्ग परिन् । मन्दिर गइन्, भाकलको लड्डु चढाइन् र मलाई लड्डु खवाउँदै बिस्तारै भनिन् “मैले पनि पढ्न पाए हुन्थ्यो” म दङ्ग परेँ ।

आज मेरी लुखुरी मेरो साम्राज्यकी एकाधिकार माल्किन, दुई छोराछोरीको सजग अभिभावक एउटा बुटिक चलाउँछिन् र मलाई आफ्नो इशारामा नचाउँछिन् र म सगर्व उनकै वरिपरि नाच्छु रमाउँछु ।

०००
‘भुसुक्कै’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x