राजवपुरस्कारको धारा
बरू बोल्दै नबोल्नु, बोलेपछि यस्तो नगर्नु भन्ने धेरैले पनि साहाजीको पुरस्कारको आश गरेका छन् । हैन भने केही थिएन, पुरस्कार स्थापना हुन नपाउदै, पाउन पराई मन्त्री र आफन्त ससुरा, पाजुकाँ’ धाउनेहरू उपद्रो नभइदिएका भए साहाजी हराउने थिएनन् कि ?

राजव :
सुन्नेलाई र हेर्नेलाई त मजा पुरस्कार पाएर चपाएको भन्दा नपाउनेले पाएर चाटेकोमा हुन्छ । पाउनेलाई त के थियो चपाउनु थियो, चपायो । डकार्यो । उड्यो । सिद्धियो । तर नपाउनेले पायो भने लियो, चाट्यो, चाटिरह्यो । यस कारणले होला चाटिरहनेलाई पुरस्कार दिने विचलन बढेको । अन्यथा पाउनेले नपाएर नपाउनेले पाउनुमा चाकरीइतर अर्को कुन कुरा हुन सक्ला ?
जे भए पनि पाउनुपर्नेलाई दिनुमा पुरस्कारको न कुनै उनासी मजा हुन्छ, न असी महत्त्व । नपाउनुपर्नेले पाउनु वा यसकै बाङ्गो अर्थमा नपाउनुपर्नेलाई दिनु प्रदत्त र प्राप्त पुरस्कारको एकासी महत्त्व, बयासी गौरव र चौरासी स्वार्थ झल्काउनु हो । विविध अर्थपूर्ण पुरस्कारको एकासी महत्त्व, वयासी अर्थ र चौरासी स्वार्थ खुल्न नसक्ने व्यक्तिलाई पुरस्कार दिनु दिलाउनु प्रचलित पुरस्कारको लक्ष्य पनि होइन । त्यस कारण पुरस्कार त्यस्तालाई दिनु जसलाई दिएर दिनू भन्नेको चाकरी बिना व्यय पुगोस् । त्यस्तालाई किन दिनु जसलाई दिएर न चाकरी आउने हो, न पुग्ने हो । बरु पात्र कुपात्रै भए पनि दिएपछि कतैबाट आफ्नो पनि केही हुने होस् । नत्र पुरस्कार जस्तो द्वैत लाभको कुरो जो पायो उसैलाई उचित भए पनि किन दिनु ? म त भन्छु- नदिन् । दिनै परे त्यस्तैलाई दिनु जसलाई पाठकले नजाने पनि शासकले मानेको होस् । अतः उक्त पुरस्कारको निर्णय गर्दा प्रकट हुने व्यक्ति शासकको गुह्य दृष्टिमा विपक्षी नहोस् । त्यस्तो व्यक्तिमा यसको पूर्ण चेतना होस् ।
त्यसैले पुरस्कारको चाकरी धारा पाँच दफा दशको साझा अनुच्छेदमा भनिएको छ- पुरस्कारको सिफारिश गर्ने व्यक्ति गोल होस् अङ्गार होस् जो फुके बल्ने, छोडे निभ्ने होस् । अर्थात् आपनो हात-मुखको होस् । भनेको माप्नोस् । सकभर सानो होस् । होश बेहोशको होस् । तर इसारा जानोस् । आदि पारङ्गत, इत्यादि विशारद होस् । सोही अनुच्छेदको विच्छेद हरफमा स्पष्ट किटान गरिएको छ त्यस्तो सिफारिश गर्ने व्यक्ति महत्त्वपूर्ण सरकारी पदमा काम गरिसकेको होस् र पुनर्वहालीको आकाङ्क्षाले चाकरीको चिप्लो दौड जारी राखिरहेको होस् । किनभने त्यस्ताले नै सोध्छन्- “हजुर दिनु कल्लाई पर्ने हो सिफारिश गर्न त राखियो ?”
यस अवस्थामा मै भए पनि भन्थेँ- “कन्हैयाजी यस पालि मैनाकुमारीलाई दिनू । किनभने अचेल मैनाकुमारीसँग मेरो जथाभावी चलिरहेछ । चल्न दिनोस्, बाधक नबनोस् । त्यस कारण कन्हैयाजी नोट गर्नोस्- मैनाकुमारी ।” अझ यसभन्दा पनि अन्त अर्को केही चलाउनुपर्ने योजना छ भने भन्थेँ- “फलाना मन्त्रीको नातिलाई दिनोस् ।” किनभने अबको पटक त म कतै न कतै पदासीन हुनैपर्छ । यो मध्यप्राप्तिको मौका यै हो । त्यत्ति गर्दैमा बाधा टर्छ । केही झर्छ । आफ्नो काम बन्छ । तर मन्त्रीको कोही नपरेको र यस पटक उसले ध्यान पनि नदिने भए भन्थेँ- कन्यैयाजी सचिवज्यूको भाइ हुनुहुन्छ उहाँ, भूलले पनि उहाँ बाहेक अरुको नाम नआओस् । नोट गर्नोस्… गर्नुभो ? हँ… । किनभने मेरो सालाको विदेश जाने चान्स पर्ने नपर्ने सचिवज्यूकै औँलाको खेल हो ।’
त्यस्तै कतैबाट आफ्नो बिगार हुने रहेछ भने भन्थे, ‘कन्हैयाजी त्यसलाई दिनुपर्छ, दिनुस् ।’ तर अगाडि पछाडि ठूलाठालुको कोही छैन र सबै आफ्नै घर- भित्रका छन् भने भन्थेँ- ‘कन्हैयाजी यसपालि मेरी छोरी बाहेक अरुको लागि टाउको दुखाउनु पर्दैन ।’ होइन भने के छ र ? भन्थेँ- ‘के कुरा गर्नुहुन्छ कन्हैयाजी मैले भनुपर्ने भए तपाईंलाई किन राख्नु ? मै घोषणा गरिदिहाल्थेँ नि । हेर्नोस्न, योग्य को छ, कसको राम्रो छ ?’
तर चलन चल्तीका खुद्रे पुरस्कारले पछिल्लो स्वतन्त्रताभन्दा माथिल्ला परतन्त्रमा नै निर्भर हुने चलन चलाएका छन् । चलाउन् । नचलाए पुरस्कार पनि त चल्दैन । पुरस्कार नचले थन्किएको लहरी मार्का दशऔँले दश-पाङ्ग्रेहरू कसरी चलुन् ? त्यस्ता लहरी नचले ढुङ्गा, माटो, जस्ता वालुवा कसरी ओसार्ने ? त्यसमाथि पुरस्कारले व्यवहार चल्छ भने के आपत्ति ? आपत्ति खाने त साहित्य न हो जसलाई पखालाको औषधि नून-चिनी-पानीमा निर्भर हुनु परिरहेछ । निर्भर नभएर पनि के गर्ने खानुपर्छ त्यस्तो जसले वर्षाैँ सञ्चित पानी समेत निथारेर लैजान्छ । आउने बेलामा पुरस्कारका रूपमा आउँछ, जाने बेलामा त्यस्तो वेगमा जान्छ जसको प्रकोप थाम्न जीवनजल वा अन्य मलजलको सेवन गर्नुपर्छ । सेवन नगरेर पनि के गर्नु ? पुरस्कारको रूप बेरूप भएर आफ्नो कुरूप हुन थालेपछि मलजल वा जल नभए पनि मल भए पनि खानै पर्छ ।
हुन त पुरस्कारको वैधानिक उद्देश्य पवित्र-सवित्र हुन्छ जसमा भनिएको हुन्छ- ‘यो पुरस्कार जुन मेरा हजुरबा र हजुरआमाको नाममा शोभित, त्यस्तालाई दिने जसले लेखेको कृति उच्च कोटिको मानिएको होस् वा जसले साहित्यको कुशल-मङ्गल गरेको होस् ।’ तर दिँदा पाउने व्यक्ति शक्तिशाली सोर्सको कोस पूरा गरी एउटा भावलहरी समेत प्रकाशित गरिटोपलेको कुनै ठूलै जागिरे वा त्यस्तै गिरे-गिरेको हुन्छ जसलाई पुरस्कार हस्तान्तरण गर्ने व्यक्ति पनि सरकारी वाहनमा गिरेकै हुन्छ ।
त्यस कारण गिरेकोले गिरेकोलाई गिरेकोद्वारा दिइने वस्तुको अस्तु चालु पुरस्कार हो । अतः यस घिनालु सन्दर्भमा कत्ति अ-चालु पुरस्कार पनि अहिले चालु भएका छन् । चालु नभएका चालु हुनेछन् । र, सम्बन्धित सब आलुहरूले जरा हाल्नेछन् जसका लागि जानु कतै पर्दैन । यहाँ बसेर गिरेकोमा गिर्ने पुरस्कार गर्ने पुग्छ । प्रशस्त पुरस्कार गिरेको र गिर्नेले टिपेको देखिन्छ ।
त्यसो त सब पुरस्कार गिरेका छैनन् । केही उठेका पनि छन् । उठेका पुरस्कारहरूमध्ये केही चार हजारबाट एक लाखसम्म उठेका छन् । केही एक हजारबाट बीस हजारसम्म उठेका छन् । यसरी गिर्ने उठ्ने धेरै छन् । केही थोरैबाट धेरैमा उठेका छन् । केही धेरैबाट अझ धेरैमा उठेका छन् । केही पचास हजारबाट डेढ लाखसम्म उठेका छन् । केही एक हजारबाट पन्ध्र सयसम्म उठेका छन् । तर यी जत्तिबाट जत्तिमा उठे पनि धेरैका पाउमा गिरेका छन् र यिनको लागि गिर्ने धेरै कटु महानहरू पनि भेटिन्छन् जो अध्यक्षकाँ, मन्त्रीकाँ’ उपाध्यक्षकाँ, कुलपतिकाँ र यस्तै धेरै काँ-काँ धाउँदै गाउँदै पुरस्कार भेट्टाउने गर्दछन् ।
कोही आफू बसेको कुर्सीबाट धम्काएर पाउने पनि गर्दछन् । कोही आपनो मामाको पहुँच पुर्याएर पाउने गर्दछन् । कोही वडा पदासीनको नातोको टाटो देखाएर पाउने गर्दछन् । त्यस कारण उठेका पुरस्कारहरूको गिरेको त्यस्तो रूप धेरै छन् । यी पुरस्कारहरू रकममा उठेका हैकममा बसेका पुरस्कारहरू हुन् । यी – कसैको हजुर-बाउको नाममा प्रकट भएका छन् जसअनुसार यी पुरस्कारको नाम पनि थरीथरीका छन् । कुनै मायादेवी पुरस्कार छन्, कुनै जगन्नाथ पुरस्कार छन्, कुनै हर्कनाथ पुरस्कार छन्, कुनै फलानाप्रसाद एण्ड फलानादेवी जस्ता जोडीसूचक पुरस्कारहरू पनि छन् ।
यी पुरस्कारहरूको टिपन वा जन्मकुण्डली हेर्दा यी सब आफ्ना पुत्रले, भाइले, दाइले, नातिले र आदिले आदिको निम्ति इत्यादिलाई दिन खोलिएको पुरस्कार भन्ने बुझिन्छ । यसअन्तर्गत पिता मरे पुत्रले, पुत्र मरे पिताले, पिता-पुत्र दुवै मरे माताले माता समेत मरे अरु नाताले मृत नातिहरूसमेतको नाममा पुरस्कार स्थापना गर्ने छन् । यस्ता मृत व्यक्तिसूचक पुरस्कार बाहेक केही महान् जिउँदा पुरस्कार पनि छन् जसलाई ती महान् आफै स्थापना र घोषणा गर्छन् ।
र, खल्तीभरि नोटहरू भएका बेलामा स्वयंबाट केही वर्षपूर्व घोषित व्यक्तिलाई त्यस सालको पुरस्कार केही वर्षपछि वितरण गर्छन् । नभए पेन्डिङ राख्छन् । त्यस कारण यस्ता पुरस्कारलाई पेन्डिङ पुरस्कार भन्ने चलन छ । यस्ता पेन्डिङ पुरस्कार प्राप्त गर्नेले पनि रकम बक्यौता भएकोमा अनुहार मस्यौरा बनाउनु पर्दैन । स्याउ बनाइरहे पुग्छ । किनभने तिनको प्रचार पेन्डिङ हुन पाउँदैन । फलानाले महान् पेन्डिड पुरस्कार पाउनुभयो भन्ने अखबारी र घरबारी हल्ला चलि नै रहन्छ । त्यसउसले रकम पेन्डिङ भएर के भयो र ? चाहिने प्रचार पेन्डिङ हुने होइन । बरू त्यस्ताले गर्नुपर्ने मदिरा भतेर पेन्डिङ राख्नु हुन्न ।
भन्न बाँकी नभएको र गिरेको, उठेको पेन्डिङ हुने गरेको तथा सथा अन्य पुरस्कार बाहेक उडन्ते पुरस्कार पनि छन् जसलाई अँठ्याउने आश धेरैमा हुन्छ तर पाउने कोही हुँदैन । धाउने र कुर्ने धेरै हुन्छन् तर भ्याउने कोही हुँदैन । किनभने यस्ता पुरस्कारहरू दिन्छु भनेर जन्मेर हुर्किसक्छ तर स्मरणशक्तिमा आवश्यक नैतिक भिटामिनहरूको अति कमीले गर्दा यस्ता पुरस्कारहरू तिनको दिमागभित्रै सखाप हुन्छन् । तर दिमागी शक्तिवानहरू तिनलाई उच्च लालचले सम्झिरहन बाध्य हुन्छन् । मरेर नजन्मिने र जन्मिएर मर्ने यस्ता पुरस्कारहरूको घोषणा हुने कारण यस्ता छन् :
‘हलो साहाजी भोट बटुल्ने मौका यै हो । मान्ने भए हजुरबाको नाममा एउटा पुरस्कारको घोषणा गर्नुस् ।’
‘गुड आइडिया’ साहाजीले भन्नुभयो र अखबारमा हजुरबा हेमन्तनाथको नाममा अर्को पुरातनको नूतन पुरस्कार स्थापना भएको समाचार पनि छापियो । चुनाव पनि सकियो । साहाजी हार्नुभयो तर चुनावको बखत तयार पारिएको पुरस्कार पाउने सम्भाव्य मित्र-नामावलीका सवको आश ढुकढुकीमै जीवित छ । तर साहाजी कसैलाई पुरस्कृत गर्नुहुन्न ।
मित्रहरू सब रिसको रास बोकेर बसेका हुन्छन् । तर ‘गुड आइडिया’ भने साहाजी पुरस्कारसँगै ‘गुड आइडिया’ले अचेल कहाँ हुनुहुन्छ । उहाँ सुक्दै हुनुहुन्छ । तर लुक्दै गरे पनि यस्तो नगरेर जहाँ जेजस्तो अवस्था र उन्नतिमा भए पनि पुरस्कारको आपनो पूर्वघोषणा उहाँले साकार पार्नु पर्थ्यो । यसरी निराकारमा छाडिराख्नु हुँदैनथ्यो ।
‘बरू दश हजार दिन्छु भन्नुभएकोमा, अवस्था हेरेर एक हजार मात्र दिने गरेर भए पनि पुरस्कारको शुरूवात त उहाँले नगरी नहुने थियो ।’ पुरस्कारको आश आफूले नगरेको तर भाइलाई दिलाउने जोशमा रहेका एक सम्पादक भन्छन् । अर्का अध्यात्मवादी साहित्यकार पनि भन्छन्- ‘हैन आफ्नो मृत हजुरबाको आत्मासँग खेलेर उहाँलाई के फाइदा ?’
तर मरेको हजुरबा र नभएको आत्मासँग खेलेर पो दुःख भयो । हैन भने केही थिएन । जे थियो भनाइमा थियो । गराइमा थिएन । सबै आफन्त थिए । पराई कोही पनि थिएन । लिस्ट तयार नै थियो । पुरस्कार दिदै गए हुन्थ्यो । सजिलो थियो । ‘तर यस्तो असजिलोमा पारेर उहाँ किन हराउनुभयो बुझ्नै सकिएन,’ सम्भाव्य नामावलीका एक सम्भाव्य भन्छन् । र, भीडभित्रै कतै साहजी देखिन्छन् कि भनेर लालची नेत्र फट्टयाउँछन् ।
बरू बोल्दै नबोल्नु, बोलेपछि यस्तो नगर्नु भन्ने धेरैले पनि साहाजीको पुरस्कारको आश गरेका छन् । हैन भने केही थिएन, पुरस्कार स्थापना हुन नपाउदै, पाउन पराई मन्त्री र आफन्त ससुरा, पाजुकाँ’ धाउनेहरू उपद्रो नभइदिएका भए साहाजी हराउने थिएनन् कि ? तर के गर्ने ?
सब साहाजीको प्रतीक्षामा आफ्नू सोर्स अँठ्याएर बसेका छन् । साहाजी भने यहाँ वहाँ कहाँ गएको हो कसैलाई थाहा छैन । तैपनि ती सोर्सहरू साहाजी खोजिरहेछन्- ‘ख्वै तपाईंलाई पुरस्कार दिलाउँ भनेको कविजी, साहाजी नै भेटिनुहुन्न ।
त्यसैले यी कविजी साहाजी खोज्ने दौडाहामा लाग्नुभएको छ तर सास फुल्ने र आश गल्ने स्थितिमा पुगिसक्नुभो, साहाजी कतै खडा देखिनुहुन्न । न पुरस्कार खडा गर्न नै खडा हुनुभो । वेपत्ता हुनु नै पर्थ्याे किनभने साहाजीको घोषणा पत्ता हुने खालको थिएन, वेपत्ता उडन्ते थियो । उड्यो फ्लाइङससर जस्तो भएर । यस्तो पुरस्कार पाउने त कोही भएन तर पाउने पुरस्कार पाउनुपर्नेले पाएको पनि देखिएन । देखिएकाले पाएको भने यस्तो देखियो जस्तो पुरस्कार पाएपछि देखिन हुँदैनथ्यो ।
०००
‘आधुनिक नेपाली हास्यव्यङ्ग्य’ (२०६०)
Subscribe
Login
0 Comments
Oldest









































