राजवप्रतिभाको यमराज मार्सलको
तर उहाँ मात्र हैन अचेल राजनीतिक टुटिल्का लिएर हिँड्ने नेताहरू प्रशस्त देखिँदैछन् । ती सबलाइ साेध्नाेस् "यस्ताे टुटिल्काे कसरी पर्यो ?" ती तुरून्त "फलानो मार्सलले गर्दा" भनिहाल्छन् ।

राजव :
सेनामा एउटा हुन्छ फिल्डमार्सल । त्यस्तै मार्सल सदनमा पनि हुन्छ । त्यस मार्सललाई फ फिल्ड मार्सल भनेझै सदन मार्सल भने हुन्छ ।
सदन-मार्सल सदनभित्र मात्र गमन गर्छ। जुन बेला जुन सांसदले आफ्ना मर्यादा र सदनक मर्यादा उल्लङ्घन गर्छन् त्यस बेला यी मार्सल आफ्ना मार्सलको पौरख प्रदर्शन गर्न थाल्छन। किनभने त्यस्ता सांसदलाई ती सदनबाट गलहत्याउने गर्छन् ।
सदनको कुनाकाप्चातिर ठडिने त्यस्ता मार्सललाई नेपाली भाषाले आदरपूर्वक भन्छ- मर्यादापालक तर चालू विद्वान्हरूका अनुसार नेपाली भाषाभन्दा अङ्ग्रेजी भाषा गह्राैँ हुने हुँदा मर्यादापालकभन्दा मार्सलको ‘वेट’ बढी हुन्छ। त्यसकारण नेपाली समाचार माध्यमहरू पनि घरमा जाँगर नहुने तर सदनमा बाँदर हुने मर्यादा-भञ्जकलाई त्यसरी तह लगाउनेलाई मार्सल नै उल्लेख गर्छन्।
तर मार्सल सदनमा मात्र हैन, सदनबाहिर पनि हुन्छन् । किनभने यो बबुरो पनि त्यस्ता मार्सलहरूबाट गलहत्याइएको छ। तपाईं पनि गलहत्याइनु भएको होला। जीवन जगत्को प्रत्येक क्षेत्रमा त्यस्ता अनेक मार्सल हुन्छन्, जो त्यहाँ हुने योग्य, विज्ञ मानिस फाल्ने, हुत्याउने गर्छन् । त्यस्ता मार्सलहरू राजनीतिमा साहित्यमा, जागिरमा, कलामा, सिनेमामा, व्यापारमा, उद्योगमा आदि अनेक, धन फाड़वा हुने र नाम हुने क्षेत्रमा छ्यापछ्याप्ती छन् । र ती आ-आफ्ना क्षेत्रका आफूभन्दा योग्य र प्रतिभायुक्त प्रभुत्वलाई ट्याप्प टिप्दै फाल्ने गर्छन् । प्रजातन्त्र आउनु पूर्व पनि यस्ताको काम त्यस्तै थियो। अहिले पनि तिनको काम त्यही छ । झन् प्रजातन्त्रले त्यस्ता मार्सलहरूको उल्टै हातखुट्टा दहो पारिदिएको छ। त्यसकारण तिनलाई देख्नेबित्तिकै दुला पस्ने दुले प्रतिभाहरू आजकल धेरै देखिन थालेका छन् ।
साहित्यमा हुने मार्सलहरू साहित्यको सदनबाट प्रतिभाहरू फाल्ने र भजनका नायक तथा चम्चा-विनायकहरूलाई भित्र्याउने गर्छन् । ती प्रतिभा-बदर र क्षुद्रताकदर गर्छन् । त्यस्तै मार्सल जागिरको क्षेत्रमा पनि हुन्छन् । तिनले अन्य इमान्दार र प्रतिद्वन्द्वी कर्मचारीहरूलाई सरूवाको रूपमा खोसुवाको रूपमा, डिमोसनको रूपमा दुःख दिइरहेका हुन्छन् । त्यस्तै खेलको क्षेत्रमा पनि त्यस्ता मार्सलहरू पक्का खेलाडी आउट गर्छन् र नकआउट हुने भित्र्याउँछन् । वास्तवमा फिल्मको क्षेत्र होस् वा नाटकको वा अन्य क्षेत्रको होस त्यस्ता मार्सलहरूको काम प्रतिभाहरूको ‘आउट’ गर्नु हो।
राजनीतिमा त त्यस्ता मार्सलहरू अझ धेरै छन् । तीबाट कार्यकर्ताहरू मात्र हैन नेताहरू पनि आउट भैइरहेका छन् । वास्तवमा सात साले नेता हुन् वा पन्ध्र साले नेता हुन् वा छत्तीस साले नेता हुन् ती सब हन्तकाले मार्सलहरूबाट आउट हुँदैछन् । अझ केही पार्टीमा त चैते, कात्तिके, आदि अनेक भित्रिएको तथ्य, पीडित नेताहरू जनतासमक्ष अद्यापि वकिरहेका छन् । अनि जनता पनि मात्र सुन्छन् र दुखित हुन्छन्, र चुप लाग्छन् । किनभने ती पनि मार्सल देखी तर्सन्छन् ।
राजनीतिमा मार्सल पीडित बूढा, युवा, नयाँ-पुराना नेता तथा कार्यकर्ता छन् । त्यस्ता मार्सल-पीडित या कार्यकर्ता राजनीतिबाटै बैराग्गिन थालेका छन् । त्यसकारण ती सव देवघाटमा जम्मा हुने भन्ने खतरा बढ्दै छ। यसैले इमान्दारीपूर्ण र नीतिपूर्ण नेपाली राजनीतिले पनि तीसँगैको सन्यासवास ग्रहण गर्न बेर छैन । यसैले बुझ्नुस्-त्यस्ता मार्सलहरू कति हर्स-पावरका मार्सलहरूले गर्दा अहिले कतिले आफैले जन्माएको हुर्काएको पार्टीभित्र आफ्नो अस्तित्व खाेज्दै छन। त्यस्तै अस्तित्व खोज्न तल्लीन एक पुरानो पार्टीका संस्थापक नेतासँग सोध्छु : आजकल पार्टी कार्यालयमा हजुरको उपस्थिति बिलकुल देखिन्न नि…. ?”
के गर्ने आफू पार्टीको मार्सल परिन, सिपाही परेँ….. मार्सलको अगाडि सिपाहीलाई कसले टेराेस् …? यो जवाफमा इङ्गित भएको मार्सल त उहाँले नै कुनै समय बनाएको कार्यकर्ता पो रहेछ ।
त्यसकारण मैले सोध्न खोजें: “हैन त्यो त…”
हाे, भएर के गर्ने ? अहिले त्यो नै हाइकमान्डको टुप्पीमा झुण्डिएको छ र त्यहीँबाट हामीतिर गुलेली हिर्काउँछ ….। त्यसैले रहेछ उहाँको निधारमा राजनीतिक टुटिल्काहरू परेका ।
अहिले उहाँसँग म अरू बढी वार्ता गर्न लागिन । किनभने उहाँ यतिमै द्रवित भइसक्नु भएको छ र उहाँको नेत्र अश्रुधारको लागि तयार देखिंदैछ। त्यसकारण उहाँको नेत्रको यो स्थिति बुझेर आगे उहाँसँगको वार्तामा लागिन ।
तर उहाँ मात्र हैन अचेल राजनीतिक टुटिल्का लिएर हिँड्ने नेताहरू प्रशस्त देखिँदैछन् । ती सबलाइ साेध्नाेस् “यस्ताे टुटिल्काे कसरी पर्यो ?” ती तुरून्त “फलानो मार्सलले गर्दा” भनिहाल्छन् । यसरी मार्सलको पीडा आजकल सर्वत्र व्याप्त छ । यसको सविस्तार व्याख्याको कागजमा सम्भव छैन।
त्यसैले निचोडमा भनिहालौँ- आजकाल यस्तै मार्सल राजनीति गर्छन् । सरकार डोऱ्याउँछन् । सङ्गीत रन्काउँछन् । साहित्य बिगार्छन् । खेल कुदाउँछन्, फिल्म निर्देशन गर्छन्। भ्रष्टाचार बढाउँछन् । अत्याचार भित्र्याउँछन् । नाटक गर्छन्। अखवार चलाउँछन्। घरबार बिगार्छन् । तरवार देखाउँछन् । र सब सज्जन तर्साएर एकलौटी मोज गर्छन् । त्यसकारण सदनको मार्सलभन्दा बढी यस्तै मार्सल मर्यादित र पूजित छन् र मोजले राज गरिरहेछन् ।
०००
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest









































