द्वैध चरित्र र वैधता
कुटनीति र राजनीति लगायत व्यवहारिक जीवनमा सकारात्मक द्वैधताको महत्वपूर्ण मूल्य, मान्यता हुन्छन् । समग्रमा यो नकार, दुर्गुण, आत्माभिमानको अभिव्यक्ति हो, भन्नेनै लाग्छ । प्रायः सामान्य र मध्यम मान्छेको नैसर्गिक गुण, विशेषतानै हो, द्वैध चरित्र ।
कुमार खड्का :
‘मान्छेमा द्वैध चरित्र अवसरवादी हाउ जस्तै
स्वयं चित्त शुद्ध मान्ने मनगढन्ते राहु जस्तै
चरित्रको कुप्रवृत्ति जीवन जिउने आधार मात्र
मानसिक रोगनै हो यो, विच्छित्तिको घाउ जस्तै ।’
हरेक कुराको दुइवटा पारस्परिक र विपरीत ध्रुव हुन्छन् । यिनै बीचको आपसी द्वन्द्वबाट गति, गतिबाट विकास र निकास हुन्छ भन्ने कुरा प्रगतिवादी र विकासवादी सिद्धान्तले भन्छ । मान्छे सबैभन्दा विकसित, सामाजिक बौद्धिक प्राणी हो । सकारात्मक र नकारात्मक चेतको द्वन्द्व सँगसँगै विचारमा उतिकै विविधता र चरित्रमा द्वैधता भएको देखिन्छ । जति बौद्धिकता, उसमै धेरै धूर्त हुन्छ । जति धेरै धूर्त उतिनै बढी अमूर्त र द्वैधता हुन्छ । सँगसँगै मनोगत तर्कवाद र अवसरवाद समेत उसैमा हाबी भएको पाइन्छ ।
धार्मिक तथा ऐतिहासिक कालदेखिनै देवादिदेव लगायत महामानव भन्नेहरूले निश्चित कार्य प्रयोजनमा द्वैध चरित्रको प्रयोग तथा उपयोग गरेको पाइन्छ । सत्य युगमा मन्दराचल पर्वत मन्थन र तत् पश्चात् प्राप्त अमृतको घडा स्याहार्ने र बाँड्ने भागदौडमा भगवान विष्णुको मायावी रूपमा होस्, या त्रेता युगमा भगवान रामचन्द्रले वलि बध गर्दा लिएको ताडि वृक्षको छेकवारमा होस्, द्वापरमा श्री कृष्णको कुटनैतिक आडमा महाभारत युद्धको दौरान अर्जुनद्वारा भीष्म बध, कौरव महारथिको गठजोडमा अभिमन्यु बध, त्यस्कै पृष्ठभुमिमा युढिष्ठिरको द्वैध मुखारविन्दुको कारण द्रोणाचार्य बध, कर्ण बध, अश्वस्थामाद्वारा निहत्था किशोर पाण्डव पुत्रहरूको बध तथा युद्धको अन्तिम भागमा भएको निकृष्ट दुर्योधन बधका उदाहरण किन नहुन् ? बर्बर युगीन धार्मिक सत्ता र सुरक्षाका सान्दर्भिक तथा वर्णन योग्य नकारात्मक द्वैधताका उदाहरणहरू हुन् । तसर्थ मलाई के लाग्छ भने सामाजिक विधि, व्यवहार, वातावरण, परिस्थिजन्य सामाजिक उपजहरूबाट जन्मिने रीस, राग, द्वेष, घृणा, प्रतिस्पर्धा, लोभ, लाभ, स्वार्थ, शक्ति र सत्ताको मदले तरङ्गित हुने कमजोर मनोभावनाका नकारात्मक उद्वेगनै द्वैधता हुन् ।
स्वयं भगवानले धर्म र देव अधिकारको बिउ बचाउदेखि सम्पूर्ण प्राणी, जगत र मानव अधिकार रक्षार्थको निहुँमा होस् या देवासुर सङ्ग्रामको साध्यमा होस्, अस्त्रको प्रयोगको बाध्यतामा बृहत् द्वैध चरित्र हाबी भएको देखिन्छ । वास्तवमा द्वैधता आफ्नो र आफ्नाहरूको हित, लाभ र स्वार्थका लागि अपनाइने झुट, फुट, गुट अनि लुटको नीति हो । आधुनिक समाजको सभ्य भाषामा यसैलाई कुटनीति भन्ने गरिएको छ । यसको मूख्य सिद्धान्त भनेको प्रतिद्वन्द्वी या दोश्रो पक्षलाई केही आश्वासन, प्रलोभन दिएर, फकाएर, थुम्थुम्याएर, कन्याएर, काउकुती लगाएर, झुक्याएर, चुक्याएर या हल्का खेल खेलेझैँ मुक्का तेर्स्याउँदै तर्साएर या लाभको खजाना बर्साएर होस्, आफ्नो स्वार्थको लागि दोस्रोलाई नियन्त्रणको पोखरीमा भैँसीलाई आहाल बसालेझैँ थचक्क बसाल्ने नीति हो ।
यसमा तर्क, बुद्धि, ज्ञान, विवेकको अत्यधिक प्रयोग गरेर दोश्रो पक्षको चित्त शान्त गराइन्छ । आधुनिक व्यवस्थापन र अझै भनौँ विशेषतः द्वन्द्व व्यवस्थापनमा दुवै पक्षबीच जित जितको अवस्था सिर्जना गर्ने महत्वपूणर् हतियारको रूपमा पनि काम गर्छ । कतिपय सन्दर्भमा यस्मा यस्तो जादुको चक्मा चलेको हुन्छ नि ! दोस्रो पक्ष स्वयंलाई थाहा हुँदैन कि उस्को हैँसियत कहाँ गएर लड्किसकेको हुन्छ । स्वनियन्त्रण कुन अङ्कुसेमा अड्किसकेको हुन्छ र उस्को वाक्य बन्दभै आत्मा कहाँ भड्किसकेको हुन्छ भनेर ।
द्वैधताले स्वार्थ अनुकूल बाँच्न र आफ्नालाई बचाउने काम गर्छ भने अरु दुनियाँलाई झुक्याएर धोखा दिने र फसाउने काम समेत गर्छ । जङ्गली युगमा द्वैधता सिकारलाई फसाउने र शत्रुलाई झुक्याउने हतियारको रुपमा मात्र उपयोग हुन्थ्यो । सामन्ती युगमा आफ्नो श्रीसम्पतीको पकड, विस्तार र निश्चित प्रभाव बढाउनमा समेतमा उपयोग हुन थाल्यो । अझै पुजीवादी युगमा त पुजिको अत्यधिक प्रयोग, उपयोगको कारण विस्तारित औद्योगिकरण तथा त्यससँग सम्वद्ध जनशक्तिसङ्गको अन्तर्सम्बन्ध स्थापना, श्रम व्यवस्थापन र अतिरिक्त मूल्य सिद्धान्तभित्रको रसमा पौडी खेल्न द्वैध चरित्रको उपयोग र त्यसको वैधता कायम गर्ने विधिसम्मत प्रावधानले अझै सक्रिय भएको अवस्थामा छ ।
समय सापेक्ष लाभ, स्वार्थका आधार प्रभाव र अवसरवादी चरित्र अनुसार द्वैध चरित्रका सिद्धान्त, विधि व्यवहार सापेक्ष हुँदै मात्रात्मक या गुणात्मक रूपले विविध कोणबाट प्रष्टिँदै आएको महसुस हुन्छ । हाम्रो समाजमा सकारात्मक या नकारात्मकताभित्र समेत आफ्नो स्थायित्व, स्थिरता, स्वार्थ अनुकूलका विधि व्यवहार कायम गर्न प्रयोग गरिने तर्क, उखान, टुक्का, भनाई विविध सन्दर्भमा प्रयोग हुँदै आएका छन् । अर्थात् मान्छे भनेकै दोहोरो चरित्र भएका प्राणी हुन् भन्ने कुरा सामान्य भइसकेको छ । द्वैध चरित्र प्रायः सम्पूर्ण मानवमा हुनेनै कुरा हो । फरक यति छ कि कसैको दोहोरो चारित्रिक भुमिकाले संसार हल्लाइदिन्छ, या संसारभर डढेलो लगाइदिन सक्छ भने कसैको चरित्रले समाज, घर या व्यक्ति बीचको सिमित सम्बन्धमा मात्र । कुनै देशका नेता, शासक, प्रशासकहरूका कुटनैतिक चरित्रले राष्ट्रको छवि, गरिमा र समुन्नतिको अभिवृद्धि गरेको हुन्छ भने हाम्रो जस्तो देशका नेता, सरकार, प्रशासकका द्वैध चारित्रीक नेतृत्त्वले राष्ट्रलाई क्रमशः अँध्यारो र खाल्डोमा हाल्ने काम गरिरहन्छ । मात्रा, गुण, प्रभाव र शासकिय स्वरूपको आधारमा द्वैधताको वर्गीकरण भने हुन्छ नै ।
राम्रा, नरामा सबै समाजका अभिन्न अङ्गहरू हुन्, सृष्टिका सुन्दर उपहार हो मान्छे, विविध सोच, संस्कार, वातावरण, शिक्षा, नैतिक धरातलका कारण सोचाइ पनि विविध हुन्छन् मान्छेका । समाज यस्तै हो, अनावश्यक धेरै बुझ्ने पनि छन्, नबुझ्ने पनि छन्, बुझपचाउने पनि छन्, लाज बचाउने पनि छन्, सन्तुलन कायम गर्ने पनि छन्, असन्तुलनमा कायम मुकायम मुकरर गर्ने पनि छन् । मेरो विचारमा बुझ्दै नबुझ्ने वा अत्याधिक बुझ्ने एकदमै कम वा नगन्य छन्, बुझ पचाउने या आफ्नो बाहेक अरु सरोकार नराख्नेहरू केहि छन् । सन्तुलित र संवेदनशील मनुवाहरू पनि न्यून छन् । ज्यादा बाहुल्यता सामान्य, औसत र निम्छरा मान्छेहरूकोनै देखिन्छ । जसलाई रैती, नागरिक या जनता भनिन्छ । यिनै शक्तिलाई परिचालन गर्न सकेमात्र श्रम, ज्ञान, बुद्धि र विवेकको टेकोले समाज उत्पादनशील र गतिशील हुने हो । यिनिहरू बीचमानै सामान्य द्वैधताका विधि, व्यवहार, प्रभावका चरित्र छरपस्ट भएका हुन्छन् र प्रत्यक्ष भाव, प्रभाव यिनै मार्फत देखा पर्ने गर्छन् ।
तर आस्था, विश्वास र त्यसपछिका मर्यादा, समर्पणका सोच अनुसार सन्तान थरिथरीका छन् । चेतनाको स्तरमा फरक छन्, र त द्वैधताका मात्रा, गुण र प्रभावमा पनि फरक पार्दछ । प्राप्तिमा पनि “नहुनु मामा भन्दा कानो मामा निको” भन्नेहरूले अलि चित्त बुझेन भने “जात फाल्नु गहतको झोलमा ?” भन्दै पन्छिन खोज्छन् । “रोइ रहनुभन्दा गीत गाउनु निको…” भन्नेले तुरुन्त “बौलाउनु भन्दा बरू मर्नु निको …” भन्न थाल्छन् र बाटो फेर्न खोज्छन् । लाभमा लोभिँदै “कोरिको पनि पाउ मोल्नुपर्छ भन्ने तिनै मान्छे अलि सक्षम भएपछि” “स्वाभिमान भन्दा ठूलो क्यै छैन बुझ्नु भो…?” भन्दै अन्य विकल्पको खोजी गर्न थाल्छन् । यसरी वैधता नभए पनि सामाजिक जीवनको विविध सन्दर्भमा द्वैधताको उपस्थिति घनिभुत रूपमै देखिन्छ ।
द्वैध चरित्रका विविध खाले रुप र गुणहरू हुन्छन । कसैको भनाइ र गराइ या बोलि र व्यबहारमा तत्काल फरक पार्ने प्रत्यक्ष र अल्पकालीन द्वेध चरित्र हुन्छन् भने हेर्दा फरक नलाग्ने, अन्ततः रुप, रङ्ग, ढङ्गमै फरक पर्ने छद्म भेषि, छद्मबोलि र व्यवहार भएका द्वैध चरित्र अप्रत्यक्ष खाले हुन्छन् । पहिलो प्रकारमा गाढा र सोझो जङ्गलिपना देखिने हुँदा सुरुमै निर्क्योल गर्न सकिदा प्रभावको नकारात्मकताले त्यति पिरोल्न पाउदैन भने दोश्रोमा मान्छेको भित्री र घाति चरित्रको छवि हुँदा बढि खतरनाक र हिंस्रक स्वभावको कारण अत्यधिक क्षति पुराउने र सचेतना अपनाउनुपर्ने खालको हुन्छ ।
मान्छेको स्वभावले एउटै सम्बन्धलाई पनि दुई धारमा टिकाई राखेको हुन्छ । जस्तैः आफू अनुकूलको सम्बन्ध कायम रहुञ्जेल राम्रो, वस्तुवादी, एकताको प्रतिक, अपरिहार्य, नमूनाको, मर्दा र पर्दा ज्यानै दिने खालको सम्बन्ध भन्दै चर्चा गरिरहदा आफ्नो प्रतिकुल हुनेबितिकै बर्बराउने अवस्था सिर्जना हुन थाल्छ । जब कि उसलाई पहिल्यै शङ्का थियो, अहिले प्रष्ट भएको मात्र हो । पहिले छायाँमा, अहिले छरपस्ट भएको मात्र हो । घातीको विचार बेलैमा थाहा भएकोमा सन्तुष्टि व्यक्त गर्दै बालबाल बचियो या फसियो भन्ने अवस्था सच्चियो भन्दै सुस्केरा हाल्ने र जे भयो ठिकै भयो भनेर कुरा काट्ने प्रसङ्ग भित्र देखिनै व्यक्त भएका कयौं उदाहरण छन् ।
र त, भनिन्छ…
सिंहका मुटु भन्नेहरू स्याल जस्तै देखिन्छन्
सस्तो नीर मसी जस्तै भुइँमा उसै पोखिन्छन्
भन्दाभन्दै कुमान्छेको सङ्गतले रङ्ग पोतिँदा
एकाएक निरीहताको तराजुमा जोखिन्छन् ।
यसरी प्रत्येक घटना, परिस्थिति, व्यवहार आफ्नो अनुकूल हुँदा र प्रतिकुल हुँदा व्यक्तगर्ने फरक धारणा, विचार, भनाइ, उखान, सिद्धान्त मान्छेले आफ्नो अनुकूलता अनुसार सिर्जना र प्रयोग गरेका छन् । यसबाट द्वैध चरित्र झल्किन्छ, यो अवसरवादी चरित्रको ज्वलन्त उदाहरण हो । तथापि जीवन ज्युन र व्यवहार चलाउन सोचे जस्तो सजिलो भने पक्कै नरहेको सन्दर्भ र संवेदनशील तिक्तताको कारण एउटा आधारमा टेकेर आफ्नो विचार, बुद्धिलाई हावी बनाउने, कहिले चित्त बुझाउने, कहिले कसैको मेख मार्ने, कहिले अरुलाइ देखाउने, कहिले आत्माभिमान र स्वाभिमानको हवाला दिदै आफैँलाइ ऐँचेर राख्ने या प्रसङ्गसम्मत भावनाको एथार्थतासङ्ग तालमेल मिलाउन खोज्नु आफैँमा आत्मातुष्टीले भरपुर जीवन जिउने कला पनि हो, द्वैध चरित्र । त्यसैले दोश्रोलाई पीडा नदिई सम्मानपुर्वक बाँच्न उत्प्रेरित गर्न सिकाउने द्वैध चरित्रलाई र त्यस्का संबद्ध सुत्रहरूलाई सकारात्मक रुपमा लिनसकिदा कहिलेकाहीँ ठिकै हो कि ? जस्तो पनि लाग्छ ।
कसैको असाधारण हानिनोक्सानी रोक्न वा जीवन बचाउ गर्न बोलेको झुट नराम्रो मानिँदैन । मानव हित र कल्याणको लागि बोलिएका झुट वा देखाएको द्वैध चरित्र कतिपय अवस्थामा सही देखिन सक्छन् । मनमा जे जस्तो भए पनि मुखले सकारात्मक कुराको सन्देश दिनु, अनुहारमा खुशीको मुस्कान देखाउन सक्नु सकारात्मक द्वैध चरित्रको सवल पक्ष हो भने भित्र मन हर्षले गद्गद हुदा पनि सकारको अभिव्यक्ति दिन नसक्नु दुर्वल पक्ष हो । कुटनीति र राजनीति लगायत व्यवहारिक जीवनमा सकारात्मक द्वैधताको महत्वपूर्ण मूल्य, मान्यता हुन्छन् । समग्रमा यो नकार, दुर्गुण, आत्माभिमानको अभिव्यक्ति हो, भन्नेनै लाग्छ । प्रायः सामान्य र मध्यम मान्छेको नैसर्गिक गुण, विशेषतानै हो, द्वैध चरित्र । सम्भावना भएसम्म हर हिसाबले नकारात्मक द्वैधता र यस्को वैधतालाई त्याग्न सिक्नुपर्छ, सक्नुपर्छ । द्वैधताको साटो स्वच्छ प्रतिस्पर्धा र विकल्पहरूको खोजी गर्दै उत्तम विकल्पको छनोटसँगै उत्कृष्ट जीवन ज्युने प्रयत्न गर्नुपर्छ । विहङ्गम मानविय दृष्टिकोण र वस्तुवादी सद्भावनाको ओतप्रोतले मात्र सामान्य मान्छे उत्तम मानवको श्रेणीमा पुग्न सफल हुन्छ भन्नुमा कुनै दुविधा हुनेछैन । अस्तु… !
०००
आलापोट, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest