होम सुवेदीसाँढेहरूका राज्यको गणतन्त्र
पट्टाइ खेलेका यी साँढेहरू अहिले लितिक लितिक छेरेर झन् थलो फोहोर पारिरहेका छन् । जति खाए पनि अघाएका छैनन् भनेजस्तो छ । यिनले चाहे जस्तो छ । दाम्लो छैन । आफूखुसी छ । कुनै रोकटोक छैन ।

होम सुवेदी :
यो पशुसमाजको कुरा हो । बाघ, अर्ना, हाइना, हुँडार, स्याल आदिको समाज अलग छ । तिनका राज्य अलग छन् । तिनको कैरन गरुँला कुनै बखत । अहिले त साँढेको समाजको मात्र कुरा गर्न लागिरहेको छु । साँढेका राज्यमा आएको गणतन्त्रका बारेमा मात्र अहिले । हलो तान्नु पर्ने, महला लाग्नु पर्ने, जोतिनु पर्ने र एक पेट पनि खान नपाएको झोँकमा साँढे हुन नपाएका र गोरुहरूले आन्दोलन गरे ।
हामी पनि फुक्का मूल साँढेझैँ हुन पाउनु पर्छ, जेठो मूल साँढेझैँ हामीले पनि अधिकार पाउनु पर्छ, हामीले जोतिने, साँढेको मनपरी चल्ने !! यो हुन सक्तैन भनेर बेपत्तासँग डुक्रिए, उफ्रिए, पुछर ठाडो पारेर बेपत्तासँग बाली मडारे थामिनसक्नु भो । जेठो मूल साँढेका आउरे बाउरेहरूको केही सिप लागेन । भोकाएपछि के लाग्छ र ! भोकाएका साँढेहरूले जिउज्यान छाडेर धाइफल तोडेको देखेर मूल साँढेका मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो ।
केही सिप नलागेपछि मूल साँढेले आफ्ना मुलुकमा साँढेहरूलाई गणतन्त्र दियो र अब निष्कण्टक भएको बोध गरेर ऐश भोग्न लाग्यो । आउरे बाउरेले उसको पूजा गर्न लागे । उसका भक्तहरूले उसको गोबरलाई समेत पर्सादी मान्न थाले । आरती गाउन थाले ।
त्यसपछि गणतन्त्र पाएका साँढेहरूले हाइसन्चो गरे केही बर्खका लागि । खानु खाए, जता मनलाग्यो उतै छेरे, जता मन लाग्यो उतै मुते । जता मन लाग्यो उतै सिँगौरी खेले । कसैको बाली रहेन जहाँ हरियो देखे उतै पसे र सोत्तर बनाए । जहाँ कोरली गाई देखे उहीँ लठारिए । कोरलीहरूको धुलो काढे । लठारिए बटारिए एकपछि अर्को गर्दै कोरलीका पछि लर्को लागेर कमिलाको लस्कर जस्तो देखिन थाल्यो । कात्तिकेको भान हुन थाल्यो । मान्छेहरूका ताँती लागेजस्तै लस्कर लागेको पनि देखिन थाल्यो । एक गाईमाथि दसौँ साँढे जाइलागे । साँचो मानेमा साँढेसमाजमा गणतन्त्रको परिभाषा यस्तैयस्तै बुझिँदै गयो ।
साधारण साँढेहरूले पनि गणतन्त्र ल्याए आफ्ना थलामा । ल्याउनका लागि निकै हम्मे हम्मे परेको हो । गणतन्त्र ल्याउने हामी जात्रा गाईको मनाउने भनेर पहिलो निणर्य गाईजात्रा हटाएर साँढे जात्रा गर्ने कुरा पास भयो ।
गणतन्त्र उल्टेला र मेरो पनि पालो आउला भनेर पालो कुरी बसेका केही लुरे निमुखा साँढेहरू एकठ्ठा हुन थालेको दृश्य देखिन थाल्यो । यसबाट माथिल्लो तहका साँढेका घाँटीमा घन्टी बाँधिने लक्षण देखेर केही साँढेहरू पुछर ठाडो पारेर यता र उता गणतन्त्र थाम्न धाइफल तोडिरहेको दृश्य देखिन थाल्यो । त्यो भन्दा पनि माथिल्लो तहका साँढेका समाजमा पनि निकै खैलाबैला देखिन थाल्यो । खाँदा खाँदा उपरतली हुन लागे पनि हरियो घाँसको सिठुवासम्म पनि नछाडी गजगज राल काढेर खाइरहने साँढेहरूका घाँटीमा घन्टी बाँधिने हो कि भन्ने ठुलो त्राहि परेको बुझिन थाल्यो ।
थलो छेरेर खतम छ । तैपनि साँढे खाइरहेका छन् र उघ्राएर पचाउन छाडेको र पाचनशक्ति कमजोर भएको छ । खाना पनि अति भइसक्यो तैपनि खानु छ खानु छ । कति साँढेहरूलाई टुर्रे लागेको छ । जतासुकै छेरेका छन् । तिनले छेरेका छेरको लत्को उछिट्टिएको छ । फोहोर छ । त्यो छेर उछिट्टिएर ओरपरसम्म पनि जाइसक्नु छैन । दुर्गन्ध सिनु गनाएको जस्तो छ । हरिया झिँगा भन्केका छन् । औँसाहा परेर खपिसक्नु छैन । तैपनि साँढे सकिनसकी चबाइरहेको छ । कोरली ओगटिरहेको छ । आदेश उत्तिकै कडो छ । कति साँढेहरू दाम्लो चुँडाएर आफूखुसी टाहारीमा पट्टाइ खेलिरहेका पनि छन् । आखिर गणतन्त्र न हो । महला लाउने, फाले लाउने र दाम्लो लाउने कोही नभएपछि साँढेहरू बेपत्तासँग दौडिने नै भए ।
पट्टाइ खेलेका यी साँढेहरू अहिले लितिक लितिक छेरेर झन् थलो फोहोर पारिरहेका छन् । जति खाए पनि अघाएका छैनन् भनेजस्तो छ । यिनले चाहे जस्तो छ । दाम्लो छैन । आफूखुसी छ । कुनै रोकटोक छैन । छाडा साँढेहरू भने ठसठसी भएर खाँदा खाँदा उठ्न पनि नसकेर बसी बसी भए पनि गाई ओगटिरहेका छन् । यी साँढेहरू र्याल काढिरहेका छन् । दाँत फुक्ले पनि साँढेको राइँदाइँ उत्तिकै छ ।
जनताहरूले पितृको उद्धार र आफ्नो कल्याण होस् भनेर डामेर छाडेका अनि अग्लो जुरो भएका यी साँढेहरूले बाली खाएर ध्वस्त भइसक्यो ।
यी र्याले साँढेको राज्यमा अन्य पशुहरूको र तिनकै बाछाबाछीको समेत दुरीदुहाइ छ । हेरौँ साँढे राज्यबाट कहिलेदेखि गणतन्त्र जाने हो र दाम्लोमा साँढे बाँधिने हुन् भनेर फ्याउराहरू बाटो हेरिरहेका छन् । भुस्याहा कुकुरहरू कराइरहेका छन् । डराएका हुँडारहरू चियाइरहेका छन् ।
०००
भद्रपुर झापा
फित्काैली, पूर्णाङ्क ४२ (२०८१, वैशाख-जेठ)
Subscribe
Login
0 Comments
Oldest







































