साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहस्यको भ्वाङ

पैसा हुँदा कतिलाई छेलोखेलो हुने गरी बाँडियो, कतिले फर्काए कतिले फर्काएनन् । कतिका चाडबाड, बिहे, काजक्रिया, औषधी उपचार आदि मैरै पैसाले फर्सियो । भनेर साध्य छ र ? फेरि यी सबैकुरा तँलाई सुनाएर के हुन्छ र ?

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

बाफ रे बाफ ! सबै खत्तम भयो ! भत्कियो, बिग्रियो, समाप्तै भयो । कुरो कहाँबाट कहाँ पुग्यो, केबाट के भयो ! देश दुनियाँ चुर्लुम्मै डुब्ने भए । काहीँ कतै केही बाँकी रहेन । यो कस्तो अनौठो र अचम्म भयो ! अब के गरेर, कहिले, कसले सह्माल्छ होला ? यस्तै यस्तै कुरो सुन्न, देख्न, अनुभव गर्न, भोग्न यो उमेरसम्म बाँच्नुपरेको होला ! भनेर बुढा एक्लै बर्बराउँदै थिए । हैन हौ बा, के भयो ? भनेर मैले सोधेँ । उनले अझै जोसिएर भने – के भयो होइन, के भएन चाहिँ भन् न ! यहाँ सानोतिनो कुरो छ ? भन्न थालेर सकिन्छ ? कहाँबाट थाल्नु कहाँ सिध्याउनु ? सबै नष्ट, भ्रष्ट, छरस्ट, बर्बाद भैसक्यो ! तैँले अझै पनि केही थाहा नपाउनु भनेको लोदर हो, महालोदर ! तँजत्तिको दुईचार अक्षर पढेको मान्छेले के भयो भनेर सोध्न सुहाउँछ ? भनेर बुढाले मलाई परपरै टिप्पा उडाउन खोजे ।

खत्तम, सब खत्तम ! अब यो कसले सुधार्ने, सपार्ने, सह्माल्ने ? सुधार पनि कहाँबाट थालेर कहाँ टुङ्ग्याउने ? कुनै पनि कुराको सुधार गर्न त्यसको थालनी गर्ने बिन्दु चाहिन्छ । यहाँ त थाल्ने ठाउँ नै छैन भनेर बुढा भुटभुटिँदै मुर्मुरिँदै हियो डढाउन थाले । बाबैका अमूर्त कुरालाई मूर्त बनाउने प्रयत्न गर्दै मैले फेरि सोधेँ – ए बा ! खत्तम त भयो ठिकै छ तर के खत्तम भयो त्यो चाहिँ भन्नुहोस् न !

बुढाले भने – ल ! फेरि पो सोध्दैछ ! यस्तो भइसक्दा पनि केही थाहै छैन ? तँ ता कामै नलाग्ने, पत्रु, उदेककै मान्छे पो रैछस् त ! तेरो अलिकति गुदी त छ होला पो भन्ने ठान्या थिएँ, शून्यै पो रछस् त हौ ! यस्तो कुरा पनि सोध्ने हो ? सबै कुरा, सबै मान्छेलाई सबै ठाउँमा भन्दै हिँड्नु हुन्छ ? भनेर बुढाले रहस्यको रित्तो खाडल गहिर्‍याउँदै लगे !

हिजोअस्ति मात्रै प्रधानमन्त्रीले कस्तो खतर्नाक डरलाग्दो कुरा गरे । उनका कुराअनुसार त अब काहीँ कतै केही बाँकी रहेन । मैले त त्यो कुरा सुन्न पनि सकिनँ । त्यसै त्यसै आङ सिरिङ्ङ, भुत्ला जिरिङ्ङ भयो । खै यस्ता कुरा दुनियाँले सुनेर कसरी पचाए ? म त छक्क पर्छु, भन्दै बुढाले अर्को रित्तो भ्वाङ खन्न थाले ।

मैले सोधेँ – के भनेका थिए त प्रधानमन्त्रीले ?

मेरो कुरा भुइँमा खस्न नपाउँदै उनी पड्किए – तँ मान्छे काम नलाग्ने लठुवा नै रैछस् । त्यति कुरा पनि थाहा छैन ? पत्रपत्रिका पढ्दैनस् ? रेडियो सुन्दैनस् ? टेलिभिजन हेर्दैनस् ? यसो सभा सम्मेलनमा भाषण सुन्न जाँदैनस् ? कस्तो स्वाँठ पत्रु मान्छे हँ तँ ? ल भइगो यस्तो मुटु हल्लिने खतर्नाक कुरो नसुनेकै राम्रो !

बुढा एक्लै बक्न थाले – साला यो जिन्दगीमा देशदुनियाँका निम्ति के मात्रै गरिएन र ? उसबेला बलबर्गत थियो, जोशजाँगर कति हो कति ! परोपकारी काम यतिउति गरियो भनिसाध्य छैन । देशप्रेमको भावनाले भावुक भएर एकान्तमा कति आँसु झारियो । त्यो आँसु दुनियाँले देखेको भए देशभक्तिको राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय कदर, मानसम्मान, पुरस्कार, अभिनन्दन कति पाइन्थ्यो । एक्लै आँसुको खोलो बगाएर मात्र पनि नहुँदो रहेछ । दया, प्रेम, सद्भाव, संवेदनाको महासागर मेरो छातीमा छचल्किन्थ्यो तर अहिले सबै समाप्त भएर चैतको खहरे जस्तो भयो ।

बुढाका कुरा सुनेपछि मेरो मस्तिष्क झनक्कै भयो । यी कस्ता पाङ्दुरे बुढा ! कुराको चुरो केही छैन, गरेको केही होइन, तर पनि ठुलो पल्टिनुपर्ने ! हिजोआजका युट्युबेहरूले फोस्रा समाचार बिकाउन ‘मुटु हल्लिने समाचार’ आयो ‘अब देशमा के होला ?’ जस्ता शीर्षक राखेर समाचार घिचाएजस्तो यी बुढा पनि उट्पट्याङ रित्तो भ्वाङ खनेर त्यही भ्वाङमा मलाई पनि ठेल्न खोज्छन् । फटाहा बुढा ! संसद बैठकमा हाइ काडेर, उङेर बस्ने सांसदले गाउँतिर गएर बठ्याइँ छाँट्न खोज्दै, यिनीहरूलाई जे भन्दिए पनि हुन्छ भनेझैं गरेर यी बुढाले मलाई अलिक हेपेर कुरा गरे । सामन्ती सोचले ग्रस्त भएका बुढा !

बुढालाई अलिक उल्याउने, उल्क्याउने, बिच्क्याउने विचारले मैले सोधेँ – ए बा, तपाईंले कहिले, कसको, के उपकार गर्नुभयो ? एउटा मात्रै सुनौं न !

बुढाले अलिक् झर्किएर जर्खरिएर भने – कसको गरिस् होइन, कसको चाहिँ गरिनस् भनेर सोध् न ! त्यो अहिले यहाँ भनिसाध्य छ ? फेरि तँलाई सबै बेलिबिस्तार लाउनुपर्छ भन्ने छ ? काउ माने गाई भनेजस्तो सजिलो कुरो हो त्यो ? भनेर फेरि बुढाले मलाई रित्तो ओडारतिरै धकेल्न बल गरे ।

हैन यी कस्ता चाम्रा, बाङ्गा, पसाङ्गिएका, बाउँठा, कोक्ल्याँटा बुढा हँ ? जताबाट पनि उनकै कुरो ठुलो पार्ने ! जिन्दगीभर देश दुनियाँ रुवाएर, घुस कमिसन हसुरेर, पैसाका निम्ति कसैको दास-दलाल बनेर सम्पत्तिको उरुङ लगाए, अहिले दारा नङ्ग्रा झरेपछि भने राल चुहाउँदै बडो आदर्शको कुरा कोरल्ने कुख्यात भ्रष्टाचारी जस्ता यी बुढा अझ नेतागिरी गरेका भए, जागिर पनि खाएका भए कसो गर्थे होलान् ? यो दुनियाँमा कस्ता कस्ता मान्छे पनि हुन्छन् ?

बुढा भन्दैथिए – पहिलेका प्रधानमन्त्री गिरिजा र म सँगै पढेका, एउटै कक्षाका साथी । उनले बनारसमा पढे मैले नेपालमा फरक त्यत्ति हो । बनारसतिर परीक्षा अलिक खुकुलो भएकाले उनले आइए पास गरे, म चाहिँ नेपालमा फेल भएँ । गिरिजालाई गिरिजा बनाउन कस्को हात त तँलाई थाहा छ ? उनलाई प्रधानमन्त्री कसले कसरी बनायो ? यो कुरा तँ आफैं अनुसन्धान गर् । मैले भन्नै पर्दैन आफैं थाहा पाइहाल्छस् । सम्झेर ल्याउँदा यो जिन्दगीमा कति गरियो गरियो । माओवादीले इलाम सदरमुकाम हान्दा म कहाँ थिएँ ? चारआली ब्यारेक पनि हान्ने हल्ला थियो । मेरो घरै त्यहीँ भएकाले त्यो कसरी कल्ले रोक्यो होला ? तँ नाथुले अन्दाज आँक्न पनि सक्तैनस् ! अब यस्ता कुराको कैरन कोरलेर मात्रै के हुन्छ र ? तँ फुस्रालाई यी सबै कुरा किन भन्नु ? केही वर्षअघि राजतन्त्र गएको, गणतन्त्र आएको राती म कहाँ थिएँ त्यो कुरा अहिलेसम्म कसैलाई थाहा छैन । त्यस्तो रहस्यमय गुह्ये कुरा तँलाई सुनाउन आवश्यकै ठान्दिनँ म । उहिलेका कुरा मात्रै होइन अहिलेकै कुरा पनि देशमा भएका पदखोरहरू र राजनीतिका नाङ्गा बाबाहरूको करतुत सबै मलाई थाहा छ । कार्यालयका हजार पन्ध्रसय घुस खाने खरिदार र सुब्बाहरूलाई पक्रेर जग्गर ठड्याउने नाक फुलाउने अख्तियार करोड करोडै सुम्ठ्याउनेहरूसँग आफैं भाग बस्छ होला र नै कहिल्यै पक्रँदैन । मुद्दा परिगयो भने न्यायाधीशले फैसला गर्दैन । भित्र आपराधिक कुरा जम्मै मलाई थाहा छ तर म अरू जस्तो बकबक गर्दै हिँड्दिनँ ।

बुढा बानी बेहोरा, गतिमति प्रवृत्ति जे भए पनि गाउँका अलिअलि पैसा भएकै मान्छे हुन् । अर्को शब्दमा भन्नुपर्दा गतिलै सुदखोर हुन् । मलाई पनि अलिकति पैसाको खाँचो परेकाले त्यहाँ गएको थिएँ । त्यही कारणले बुढाले बजाएको रित्तो ढ्वाँङको ध्वनिप्रदूषण खपेर बसेँ । मैले बुढासँग अलिकति सापटी पैसाको कुरो उप्काएको मात्रै के थिएँ उनी अर्को रित्तो खाडल खन्न थालिहाले – के गर्नु दशैँ नजिकिँदै छ । एक-दुई लाख दक्षिणा ठिक पार्नैपर्‍यो । साना काखे नानीलाई पनि पाँचसयभन्दा तल दिन हात लाग्दैन । ठुलालाई त्यसको डेढा-डबल त दिनैपर्‍यो । बुढो घर, आस गरेर आउँछन् । आठ-दश खसी ढाल्नै पर्‍यो । चन्दा चिट्ठा गर्नेहरूलाई पनि रित्तो फर्काउने गरेको छैन । हिजोसम्म आएको भए पैसै पैसा थियो । धेरै मान्छेले दसै मान्न ऋण लगे । तँलाई चाहिँ पुगेन भनेर बुढाले हात टक्टक्याए ।

उनी बकिरहे – म ठुलो उद्योगी व्यापारी भएको भए बैंकबाट ग्वाम्म ऋण लिने थिएँ र आफ्नो अनुकूल सरकार आएको वेलामा नेपालका चङ्खेचतुरे, उद्योगीव्यापारीले झैं ऋण मिनाहा गराइमाग्थेँ तर आफू सानो मान्छे परियो । ऋण लियो भने काजग, कानुन, पुलिस छन्, डन्डा लाएर पनि साउँब्याज नतिराई छोड्दैनन् । तिर्नुपर्ने ऋण त किन लिनु बित्थाँ । बरू पैसा छ भने यो दशैँभरिलाई मलाई नै सापटी दे न भन्दै बाबै मैतिर पो फर्किए । पैसा हुँदा कतिलाई छेलोखेलो हुने गरी बाँडियो, कतिले फर्काए कतिले फर्काएनन् । कतिका चाडबाड, बिहे, काजक्रिया, औषधी उपचार आदि मैरै पैसाले फर्सियो । भनेर साध्य छ र ? फेरि यी सबैकुरा तँलाई सुनाएर के हुन्छ र ? आजसम्म कोही रित्तो हात फर्किएको थिएन, तर तँलाई दिन सकिनँ भनेर उनले पैसा दिने कुराको अरूअरूलाई जस्तै मलाई पनि बिर्को लगाए ।

आफ्नो काम नभएपछि म उठेर बाटो लागेँ । उनी एक्लै बौलाउँदै थिए दरवार हत्याकान्ड, मदन भण्डारी हत्या काण्ड, भीमसेन थापाको कथित आत्महत्या !… आदि रहस्य सबै सकिने भयो । बुढो भइयो, सन्च पनि हुन छोड्यो । म मरेँ भने यस्ता कुराको कसलाई वास्ता ? के के सोचेको थियो, के के गरौंला भन्ने लागेको थियो… ।

०००
झापा
‘मुलाको मुरली’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x