शेषराज भट्टराईलाली ओठैमा
दुनियाँ दातृ राष्ट्र मित्र राष्ट्रहरूले खुवाइ खुवाइ नेपाललाई तल र पछि पारिरहेका छन् । निम्छरो, न्यास्रो, निरिह, र पछौटेपनाले नेपाललाई गाँजेको छ । तर दान अनुदान खानमा मस्त नेपालले खुवाएर फसाउन खोजेको पत्तै पाउँदैन ।
शेषराज भट्टराई :
लाली लगाउने धोको हरेक महिलामा हुन्छ । लालीविहीन खाली महिला न अहिले न पहिला । अविच्छिन्न लगाउने कुरा जारी छ । शायद अजर अमर पनि हुन सक्छ । मर्न घिटी घिटी भइराखेका महिलालाई अन्तिम इच्छा के छ ? भनेर सोध्ने हो भने एउटा लाली ल्याइदेउन भन्छन् भन्थे हो कि झैँ लाग्छ । त्यसो त महिलाको मुखमा लाली मात्रै होइन गाली पनि हुन्छ । चित्त नुबझ्दा थाली ठटाएर गुन्यु उचाल्दै गाली बर्साउन तर्साउन सक्छन् । लाली भएन भने पनि उपद्रो उखरमाउलो मच्चाउन सक्छन् । उफ्रिँदै सडकमै उत्रिन पनि सक्छन् । सानो तिनो कुराको खोजीमा समय सखाप पार्छन् । लाली पाउडर गाजल निधारमा टिकी, धान कुट्ने ढिकी, पेटमा भ्रुणदेखि लिएर भान्सामा जिरो पिरो चूर्ण नहुँदासम्म महिलाको माग पूर्ण हुँदैन । साना साना झिना मसिना लुते धन्दा रोजाइ र खोजाइमा उर्वर महिलाको समय सिद्धि रहेको हुन्छ ।
अनुहार ठिक भए अरु सबै ठिक हुन्छन् भन्ने सोचाइ राखेर नै होला राति बाह्र एक बजे उठेर दिउँसो दलेको लाली पाउडरमा भारी क्षति पुग्यो कि भन्दै फेरि लाली पाउडरमा रगमगिन रुचाउँछन् । बिहान आँखाको ढोका उघ्रिएदेखि बेलुका ओछ्यानमा तनक्क तन्किँदासम्म लालीमै रमाउन रुचाउँछन् । लालीविहीन खाली जिन्दगी व्यर्थ, अनर्थ र बोझझैँ मान्छन् । पद प्रतिष्ठाले व्यष्ठित महिलाको समेत एक हातमा लाली र अर्को हात खाली हेण्डसेक गरिरहेका हुन्छन् । साँच्चै सिङ्गो कदमा तलासी लिने हो भने लाली, पाउडर, गाजल, टिका, बहत्तर किसिमका अत्तरहरू बरामद गर्न सकिन्छ । अत्यन्त प्रिय वस्तु भएर नै होला हरेक शृङ्गारका साधनलाई उचित स्थान दिन्छन् । लालीको भागमा ओठ परेको छ । टिकाले ललाटको जिम्मेवारी निभाउँछ । पाउडरले गालाको छाला चम्काउँछ भने अत्तरले सारा शरीरलाई सुगन्धित बनाउँछ । त्यसैले त नवयुवायुवतीले ठाउँ कुठाउँ अधरपान गर्न रुचाउँछन् । त्यसो त लालीको इज्जत र अस्तित्व नै अधरमा हुन्छ । लाली बोटमा फल्दैन फुल्दैन तर ओठमा फुल्छ, खुल्छ र फक्रिन्छ । कुर्कुच्चामा कसले लाली लगाउँछ ? लालीलाई त कुरूप सुरूप जे भए पनि ओठै चाहिन्छ ।
महिलाको हर पाइलामा लालीभन्दा बढी ठोक्किन ठेस लाग्न र धस्सिन आउने पुरुष शत्रु मित्रु जे भने पनि महिलाकै माया जालमा फसिरहेका हुन्छन् । त्यसै सोझत्वको फाइदा उठाएर महिलाले पुरुषलाई हलुँडाले बाँधेर सातो जाने गरी एक छत्र सात बल्ड्याङ खुवाउँदै जोत्नु जोतेका हुन्छन् । जन्माउन हुर्काउन अन्माउन र आवश्यक परे थप्पडले रन्थनाउन सक्ने क्षमता महिला गणमा सुरक्षित भएको जानेर मानेर नै होला धार्मिक ग्रन्थ चण्डीमा भगवतीको स्तुति गान गर्दै भनिएको छ-
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
हिंस्रक बाघलाई बसमा पारेर बाघमै शयर गर्ने चातुर्य र अत्यन्त बलशाली नवदुर्गा देवी जे जे गर्छिन् त्यसलाई नचाहेर पनि पुरुष सन्ड मुन्ड सुर असुरहरूले ठिक मान्नु पर्छ । अन्यथा अनिष्ठकारी दैलो उघ्रिन र छाला उद्रिन सक्छ । अन्ततः देवी अखडामा तकडा तकडा पुरुष पनि पर्ने छन् । त्यसो भएपछि सानोतिनो लालीमा खाली अत्तो थापेर के गर्नु ? दल सकेको दल दलेरै दायाँबयाँ चल भन्नु पर्छ । अनि मात्र मानवमा शान्ति छाउँछ बहार आउँछ ।
लिबिस्टिक लालीकै अर्को नाम हो । यो ओठमा दल्ने प्रशाधन हो प्रसाद होइन । मनमोहक क्षणिक आँखाको रमझम मात्र । यसले छाक गर्जो मरौ परौ केही टर्दैन । त्यसैले पुरुषले धारण गर्दैन । महिलाको मन बहलाउने, राम्रो कहलाउने लाली हरेक देशका उद्यमीले करोडौँ स्वहा पारेर आहा ऽऽऽ ! गरिरहेछन् । गरिबीले ग्रस्त भोका नाङ्गा मानवको खिलाफमा लालीले एक छत्र बजार ढाकी रहेको छ । महिलाको मुहारमा अझ निखार ल्याउने प्रयत्न यत्नपूर्वक जारी राखेकै छन् । उत्पादन उत्पात रूपमा भइराखेकै छ । लगाउनेले ऋण धन गरेरै भए पनि लगाइराखेकै छन् । भगाउनेले भगाइराखेकै छन् । आफ्नो पाखुरी र पौरख नभए पनि हरेक नारीका पास, पहुँच र पोल्टामा लाली सुरक्षित रहेको हुन्छ । लगाउने र नलगाउने बीचमा कुनै विवाद, विस्मत, वितृष्णा र वित्यास केही छैन । एक छत्र सर्वप्रिय र ग्राह्य छ ।
ओठको आकार प्रकार देख्दै कुरूप तुरूप भए जस्तै लालीको आकार प्रकार पनि मोहक लोभलाग्दा, भर्खरे भात कटौती गरेर भए पनि खरिदेर लगाउँदै हिँडु जस्ता सौन्दर्य साधनहरू नाना भाँतिका देखिन थालेका छन् । दल्ने तौर तरिका रङ इच्छा अनुसार आआफ्नै ढङ्गका देख्न पाउँदा मानव स्वतन्त्रता र प्रजातन्त्र त ओठमा मात्रै आए छ कि जस्तो लाग्छ ।
पहिले पहिले हाम्रो पालामा राम्रो लिबिस्टिक थिएन । कन्यादान पाएकी कन्याको अधर ओठमा लाली छ कि खाली छ हेर्दे नहेरी बटुलेर बिटुलिन्थेउ । पाए पनि रातो रङमा एकथरी मात्रै पाइन्थ्यो । त्यो पनि नहुँदा नौनी घिउको डल्लो ओठमा दलेर हिडिन्थ्यो । खाए खा नखाए घिच भनेझैँ एकैथरी उत्पादन हुँदा पनि महिलाहरू उत्पात खुसी नै थिए । त्यही पनि सुकोदाम खर्च गरेर लाली किन्ने कि खाली पेट भर्ने ? सुविधा भन्दा पनि दुविधा हुन्थ्यो । भाग्यले साथ दिए श्रीमान् या मायालुले कठै भनेर किनी दिए ओठमा लाली छाउँथ्यो । बैँस पनि आउँथ्यो । ती सबै सुविधाबाट नचाहेर पनि विमुख हुनु पर्दा आँखा चुहुने हुनु स्वभाविकै हो । त्यसैले त्यस बखतमा महिला पैला जाने चलन उति थिएन । आजभोलि त पाइलै पिच्छे पोइला गएको देख्दा म अधर्मी वृद्धलाई पनि राम राम भन्न मन लाग्छ । ओठको लालीले दाम्लो छिनालेर अर्कैको बाली खादा कस्को मन रुदैन र ? देख्दा सुन्दा खाली गिजा देखाएर भए पनि हिक्का छोडेर रुन मन लाग्छ । उफ ! क्या फसाद ! कस्तो दुर्भाग्य ! यसरी अहिले जमानाले सिर्जना गरेको जरिबाना तिर्दै भोग्दै ठिक्क र दिक्क छ जिन्दगी ।
उदार मनका मायालुले उदर खाली राखेर लाली किनिदिनाको प्रतिफल आजका पुस्ताले अइया आत्थु गर्दै भोगिरहेछन् । हुन पनि लाली दलेर पर पुरुषलाई दल्नु, छाँदहाल्नु, प्रफुल्ल पार्दे आफ्नो अगाडि नचाउन सिपालु पौरखी महिलाहरू दिनानुदिन बढ्दै छन् । नेपालको विकास यस अर्थमा पनि सन्तोषजनक मान्नु पर्छ । महिलाको मागलाई मध्यनजर राखेर रातो मात्र होइन सातो जाने रङहरू देख्दा दल्न र भोग्न समेत कुनै अङ्कुश लाग्दैन । महिला अधिकारकर्मीको बफादारिता र लैङ्गिक हिंसालाई निमिट्यान्न पार्न पनि लालीमय ओठको योगदान अतुलनीय र बिर्सीनसक्नु छ । आजको एक्काइसौँ शताब्दीमा फुस्रा खस्रा ओठ र तन्नमभगतका कुरा कसले सुन्छ र ? जमानाको माग नै सुकिला मुकिला चिल्ला चाप्ला ओठर सम्पन्नताको हो । हेजा हिस्सी नपरेका दुर्वलका दिन गए । अब भयमा बाँच्नु नाच्नु पर्ने भए ।
एकथरी लिबिस्टिक माघे संक्रान्तिका दिन निधारमा धारण गरिने तिलक जस्तो कालो हुन्छ । कालो लाली लगाउनेले पुरुषको कठालो, गालो सजिलै समाउन सक्छन् भन्ने भनाइ समाजमा व्याप्त छ । हरियो, निलो, खैरो, ध्वाँसे, घाँसे, मासे अनेक रङमा उपलब्ध भएर विश्वमा लाली क्रान्ति नै आएको छ । छोरी, बुहारी, सासू, फुपु, माइजू हरेकका हातमा लिबिस्टिक देख्न पाइन्छ । किन्ने, मगाउने, उपहार दिने, लिने, ऐँचो, पैँचो, सर सापट गरेरै भए पनि बिना लालीका खाली महिलाहरू सडक सार्वजनिक ठाउँमा उत्रिँदै उत्रिँदैनन् भने इत्रिने त कुरै भएन । बस्त्र अनुसारको लालीको अस्त्रले हानेपछि प्रायः पुरुषहरू ठाउँको ठाउँ ठहरै भएको देख्न रहरै लाग्छ । धन्न मर्दाना मर्द धैर्यवान्, संयमित, सोझा सिदा भएकाले नै होला दुवै गालाका छालामा लिबिस्टिक ओठ छाप पुरुषको पौरख महिलाको गौरव देख्नु पर्देन । लाली पनि एउटा धारिलो पारिलो हतियार हो । जसलाई दले पछि पुरुष गले ढले भनेर जाने हुन्छ । मैमत्तु भएर ठडिएको पुरुष पनि लाली देखेपछि निहुरिन्छ ।
खस्रो, कर्कस, दर्फराउँदो आफ्ना ओठका कारण अर्काको ओठमा चोट पुग्ने नरम मन्द भएर पनि छन्द नपरेको ओठमा पनि लाली लगाउँदा लालीमय कलकलाउँदो मोहक साधन छन्द परेका र नपरेका अचडु पुरुषले किन लगाउँदैनन् ? सम्पत्तिले मात्तिएका हजारथरी लाली किनेर लगाउने क्षमता भएका धनाढ्य कम्पनीका मालिकले त लाली गोजीमै हालेर बेला बेलामा दाँत देखाउँदै दल्नु पर्ने हो कि हच्छिन्छन् ? किन दल्दैनन् ? कुरुप पुरुषले लाली दलेर महिला गणलाई मन्त्रमुग्ध बनाउनु पर्ने हो तर किन त्यो झन्झट झमेला बेसाउँदैनन् ? कारण एउटै छ त्यो हो महिला परस्त जिन्दगी । पुरुषले महिलाले पकाएको खुराक खाँदाखाँदै हार खाएको पत्तै पाएन । खुवाइमा खुसुक्कै भुसुक्कै फसे पुरुष । फलतः महिलाले मेरो भनेर भनि सकेपछि पुरुष अवाक बन्दै पछि हट्छ । दुःख दिएपछि खाए पछि जो पनि तल पर्छ पछि हट्छ । दुनियाँ दातृ राष्ट्र मित्र राष्ट्रहरूले खुवाइ खुवाइ नेपाललाई तल र पछि पारिरहेका छन् । निम्छरो, न्यास्रो, निरिह, र पछौटेपनाले नेपाललाई गाँजेको छ । तर दान अनुदान खानमा मस्त नेपालले खुवाएर फसाउन खोजेको पत्तै पाउँदैन । त्यस्तै छुुद्र पुरुष महिलाका अगाडि ठूलो धोद्रे स्वरले डुक्रिए पनि सानो स्वरको हप्की दप्की खप्की पीडादायक नसालु जहेर युक्त हुने भएकाले सामना गर्न नसकी परस्त जिन्दगी बाँचेको प्रष्ट देखिन्छ । हरेक मामलामा पुरुषका हजार प्रयास खेर जान्छन् । सफलताको फल हत्तपत्त मिल्दैन त्यसैले भन्ने गरिन्छ पुरुषले चाहे वर्षदिन महिलाले चाहे एकै छिन । कमजोर मनस्थितिमा तम्तम्याइलो रस रहित खस्रो फोस्रो जिन्दगी बाँचिरहेछ, नाचिरहेछ र रुँदै हाँसिरहेछ पुरुष ।
०००
फित्कौली पूर्णाङ्क ४१
(२०८० वैशाख जेठ)
Subscribe
Login
0 Comments
Oldest








































