आजका यी अगस्तिहरू
त्यो युग खाएको र स्थानी परिचायक पर्यायसमेत बनेको त्यो लामपोखरीको एउटा टुक्रो अस्तित्व मात्र घिटिघिटी गरिरहेको देखिन्छ । कुन दिन कुन अगस्तिको दृष्टि त्यसको पानीमा पर्ने हो र उसले आफ्नो अञ्जुलीमा उभाएर त्यो पनि पिइदिने हो, त्यसको कुनै निश्ञ्चितता छैन ।
रमेश विकल :
मैले उहिल्यै एउटा पुराकथा (मिथकथा) पढेको थिएँ, अगस्त्य ऋषि र समुद्र, अगस्ति ऋषि एक जना ठूला तेजिला र तपोबलले शक्तिशाली ऋषि थिए । एक पल्ट उनी आफ्नी पत्नी लोपामुद्राका साथमा अर्कै ऋषिको गुरुकुल आश्रम जान भनेर हिँडेका थिए । उनको बाटोमा एउटा ठूलो समुद्र पर्दथ्यो । त्यहाँ तुरुन्त डुङ्गा वा जहाज नमिलेकाले उनले समुद्रसँग आफूलाई बाटो दिन प्रार्थना गरे। तर घमण्डी समुद्रले उनलार्य टेरपुच्छरै लाएन ।
ऋषिलाई समुद्रदेखि क्रोध चढेर आयो । उनले त्यो समुद्रको पानी अँजुलीमा उठाएर पिइदिए । समुद्र रित्तियो । यसरी समुद्रलाई सुकाइदिएकाले उनलाई लोक भाषामा ‘अगस्ति’ पनि भनियो ।
हाम्रो लोक धारणामा धेरै खाने अरुको भागै नराखी जत्ति पाए पनि खाने खञ्चुवालाई कस्तो अगस्ति रहेछ भन्छन् । अर्थात् ठूला विद्वान् ऋषिका रूपमा होइन, आह्रिसे, लोभी र अर्काको भागै नराखी खाने खञ्चुवाका रूपमा अलि हेलाँको भाषामा उल्लेख गर्छन् ।
मलाई मालेको थियो, उतिखेरका अगस्त्य ऋषि (अगस्ति) त उहिल्यै बिते गैसके । आज त्यस्ता समुद्रे रित्तिने, सुक्ने गरी पिइदिने अगस्ति छैनन् होला । तर होइन रहेछ, म भूलमा रहेछु । आज त झन् एक जना अगस्ति मात्र होइन धेरै अगस्तिहरू जन्मिसकेछन्, जमातै पो भैसकेछ अगस्तिहरूको ।
आजका अखबार, पत्रपत्रिकाहरू, दूरश्रवण (रेडियो), दूरदर्शन (टेलिभिजन) हरूमा यस्ता अगस्तिहरू सम्चार नआउने त दिनै छैन भने पनि हुन्छ । फलाना ठाउँको ऐतिहासिक महत्त्वको पोखरी, ढिस्कानो ठूलो मान्छेले हडप गरेर त्यहाँ ठूलो भवन खडा गरेको छ, फलाना ठाउँको पुरातात्त्विक र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्व राख्ने ताल सुकाएर फलाना शक्तिशाली बडा मान्छेले अतिक्रमण गरेर आफ्नो नाउँमा लालपुर्जा लिएछन्, फलाना ठाउँको धार्मिक तीर्थस्थलका रूपमा परापूर्वकालदेखि जनताले मान्दै आएको फलानो सरोवर फलाना नेता अथवा उनको कृपापात्र जमात (ग्याङ), वा हनुमानले कब्जा गरेर त्यहाँको सम्पूर्ण पानी सुकाएर (पिएर) आफ्नो व्यापारिक केन्द्र (कम्ल्पेक्स) अथवा उपनिवेश (कोलोनी) का रूपमा विस्तार गरेका छन्, फलाना ठाउँको अत्यन्तै महत्त्वपूर्ण पोखरी एउटा व्यापारिक प्रतिष्ठानले आफ्नो नाममा दर्ता गराएर, त्यसको पानी सुकाएर आफ्नो औद्योगिक क्षेत्रका रूपमा परिणत गराएको छ – यस्तै, यस्तै र यस्तै ।
पौराणिक काल अर्थात् घोर सामन्तवादी युगका एक जना अगस्त (अगस्ति) ले एउटा समुद्र पिएका थिए । तर आजको प्रजातान्त्रिक युगमा अनेकौँ अगस्तिहरूले देशभरका धेरै समुद्र (जलाशयहरू) धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, पुरातात्त्विक, सामाजिक (कृषिकार्य, नहर कुलोलाई सिँचाइ आदिमा प्रयोग गरिने) र पर्यटकीय महत्त्वका ताल, पोखरी सरोवर, दहहरू अतिक्रमण गर्दै तिनका पानी सबै पिइसकेका छन् र तिनलाई सुक्खा तुल्याएर आफ्ना महल, भवन, व्यापारिक केन्द्र, औद्योगिक कारखानाहरू खडा गरेका छन् । यी सबै बडा मान्छेहरू प्राचीन समुद्र पिउने अगस्तिका प्रजातान्त्रिक संस्करण नै त हुन् ।
मैले देख्तादेख्तै, मेरै बाल्यकालका अभिन्न अङ्गसरह रहेका कैयौँ ताल, तलाउ, पोखरीहरू पनि यस्ता अगस्तिहरूले पिएर सुकाएको मैले आफैँले अनुभव गरेको छु । म केटाकेटी छँदा (किशोर हुँदासम्म पनि) मेरो घरबाट सहरबजार जाँदा रामहिटी र महाँकाल (हाल म.न.पा. ६ नं. ओडामा बौद्ध इलाकामा पर्ने) बीचको एउटा बर्खे पोखरी थियो । अन्दाजी लगभग सय-डेढ सय मिटर लामो यो पोखरी (लामपोखरी) अगिपछि गाउँले छिमेकका वस्तुभाउले पानी खाने, भैँसीहरू आहाल बसाउने (सफा गरिदिने) काममा लगाइन्थ्यो भने बर्खामा जलातल पानी भरिएपछि खेतहरूमा कुलो लाउने काममा उपयोग गरिन्थ्यो । त्यसका अतिरिक्त साउन-भदौको मध्याह्नको टन्टलापुर गर्मीले छटपटिएका गोठाला केटाहरू यसमा पौडी खेलेर आनन्द पनि लिन्थे । मैले यहाँ केटाहरू मात्र भने, किनभने त्यतिखेर केटीहरू खुला ठाउँमा पौडी खेल्दैन्थे, यो सामाजिक मर्यादाको विपरीत मानिन्थ्यो ।
देशमा सामन्तवादी निरङ्कुश राणापरिवारको सत्ताको अन्त्य भएपछि जनताको (दलहरूको) प्रजातान्त्रिक पद्धति लागू भयो । मानिसले व्यक्तिगत स्वतन्त्रताको चेत पायो । त्यसैबेलादेखि नै व्यक्ति स्वतन्त्रताको चेतना मानिसमा बढ्यो । सामाजिक मर्यादाभन्दा व्यक्तिगत स्वतन्त्रताको महत्त्व बढ्यो र अधिकारको चेत चुलिँदै गयो । त्यतिखेर प्रजातन्त्रले व्यक्तिको स्वतन्त्रता भित्र अधिकारका साथै सामाजिक कर्तव्य पनि समानान्तर हुनुपर्छ भन्ने कुरा प्रभावशाली ढङ्गले सम्प्रेषण गर्न सकेन । त्यतिखेरैदेखि व्यक्तिगत अराजक स्वतन्त्रताको लक्षण देखिन थाल्यो ।
पछि पञ्चायती प्रजातन्त्रको प्रादुर्भाव भएपछि जन-साधारणको यो स्वतन्त्र चेतना अलि कुण्ठित भयो, तर सत्ताशक्तिको बढी निकट हुने ठूलाबडा, धनीमानी र शक्तिशालीमा यो चेत झन् अराजक रूपमा चुलिँदै गयो र स्वछन्दताको सीमा छुन पुग्यो । यस साँढे स्वतन्त्रता (छाडापन) को बेला मुलुकका कतिपय सार्वजनिक सम्पत्ति चौर-चरण-पर्तीहरूका साथै सार्वजनिक महत्त्वका ताल- तलाउ र पोखरीहरू पनि प्रजातान्त्रिक अगस्तिहरूले पिएर सुकाउन थाले । अनि ती पर्ती सुक्खाहरूमा व्यक्तिगत घर-महल ठडिन थाले ।
यही अवसरमा एक जना ठूला शक्तिशाली प्रतिष्ठित महानुभाव (सायद उनी वरिष्ठ डाक्टर थिए) का गिद्धे दृष्टि महाँकाल (यसलाई जनभाषामा होल्देऊ पनि भन्थे – किन ? थाहा छैन ।) को सम्भार नभए उपेक्षित हुँदा सुक्ने प्रक्रियामा रहेको लामपोखरीको पानीमा पनि पर्यो । उनले आफ्नो व्यक्तित्व र शक्ति लगाएर त्यसको एक भागको सबै पानी पिएर (अतिक्रमण गरेर) त्यहाँ आफ्नो भव्य आधुनिक बङ्गला ठड्याए । कसैले बोल्ने साहस गरेन ।
त्यस्तै अर्को मेरो बाल्य स्मृतिको अभिन्न अङ्ग रहेको चाबहिल गणेशस्थान, पश्चिम कुटुबहालको मूलबाटो छेउको त्यस्तै अन्दाजी सय सवा सय मिटर लामो पोखरी-लामपोखरीको नियति पनि अगिल्लोको भन्दा राम्रो रहेन । हुन त मूलबाटोको छेउमा पसारिएको यो पोखरी सामाजिक उपयोगको दृष्टिले त्यति महत्त्वको थिएन, बरु बर्खामा पानी बढी भरिदा सडकलाई लपेटेर आफैँमा समाहित गर्थ्यो । बाटो हिँड्ने बटुवाहरू र सवारी साधनहरू (त्यतिखेर चारपाङ्ग्रे साधन त एकाध नै गुड्थे, बढी त दुई पाङ्ग्रे अझ भनौँ साइकल मात्र हुन्थे) को आवागमनमा अवरोध नै खडा गरिदिन्थे ।
यति हुँदाहुँदै पनि त्यो एउटा स्थानीय अस्तित्वका रूपमा रहेको थियो र यो त्यस ठाउँको परिचायक नाउँ पनि बन्न पुगेको थियो- कुटुबहाल लामपोखरी । अझ हामी कटाकेटीका लागि यसको बेग्लै मनोरञ्जनात्मक महत्त्व थियो । असार-साउनको वर्सातमा यो टनटन भरिने मात्र होइन सडकलाई नै ढाकिदिन्थ्यो। अनि त्यहाँ यसमाथि परेका हरिया झ्याउले पोखरी र सडकलाई हरियो चौर जस्तो रूप दिएर हामीमा उत्तेजक आर्कषण भरिदिन्थ्यो । त्यतिखेरको त्यो मनोरम दृश्य हेर्न त्यहाँ सानोतिनो मेलाजस्तै लाग्थ्यो । त्यस मेलाका दर्शक केवल केटाकेटी मात्र हुँदैनथे, त्यहाँ किशोर, युवा, अझ केही मात्रामा त वयस्कहरू पनि दर्शक बनेर भरपूर मनोरञ्जन लिइरहेका देखिन्थे ।
विना कुनै रचनात्मक जन उपयोग नहुने वस्तुलाई पुरानो पुख्र्यौली सम्पत्तिकै नाउँमा बचाइराख्नुपर्छ भन्ने मेरो तर्क होइन। तर कुनै कुरा प्रत्यक्ष जनउपयोगमा नआए पनि एउटा शोभा, एउटा अलङ्कारका रूपमा संरक्षित हुनुपर्छ, नत्र प्राकृतिक सौन्दर्य नै विनष्ट भएर जान्छ भन्ने मेरो मान्यता मात्र हो। यो कुटुबहालको लामपोखरी प्रत्यक्षत जन उपयोगमा नआए पनि त्यसको संरक्षण भएर पार्क बगैँचाका रूपमा विकसित भइसकेको भए यसको मनोरञ्जनात्मक र सौन्दर्यवर्धक महत्त्व रहन्थ्यो- मनोरञ्जनात्मक स्थलका रूपमा जनसेवा गर्न सक्थ्यो यसले ।
तर यो हुन सकेन । यो उपेक्षित नै रह्यो र आजका अगस्तिहरूको गिद्धे दृष्टि त्यसको पानीमा पनि पर्यो र उनीहरूको तिर्खा उकास्सियो । उनीहरूले अलिअलि गर्दै त्यसको पानी पनि प्राचीन अगस्तिले आफ्नो अञ्जुलीमा उभाएर पिउँदै गए-तृप्ति लिँदै गए । अनि आज त्यहाँ व्यक्तिको मात्र होइन सामाजिक अनुहारमा उदाएका केही सङ्घ-संस्थाहरूका घर, भवन, कार्यालय पनि ठडिएका छन् । त्यो युग खाएको र स्थानी परिचायक पर्यायसमेत बनेको त्यो लामपोखरीको एउटा टुक्रो अस्तित्व मात्र घिटिघिटी गरिरहेको देखिन्छ । कुन दिन कुन अगस्तिको दृष्टि त्यसको पानीमा पर्ने हो र उसले आफ्नो अञ्जुलीमा उभाएर त्यो पनि पिइदिने हो, त्यसको कुनै निश्ञ्चितता छैन ।
आजका अगस्तिहरूको यही प्रवृत्ति बढ्दै जाने राज्य र समाजबाट पनि त्यसले प्रश्रय पाउँदै जाने हो आज देशका परिचायक नै बनिसकेका ताल- तलैया, दह-पोखरीहरू- फेवा, रूपा, वेगनास ताल, रारा, दौदहजस्ता दह पोखरी… हरूलाई पनि यी सार्वजनिक सम्पत्तिमा कब्जा जमाउनैमा आफ्नो चतुऱ्याइँ र आजका अगस्तिहरूले अञ्जुलीमा भर्दै रित्याएर यसका धर्तीमा कब्जा गर्न के बेर ? त्यसैले आजका यी अगस्तिहरूको यस्तो प्रवृत्ति रोक्न राज्य र देश सचेत नागरिकले चनाखो भएर दृढ भएर यसलाई रोक्नै पर्छ ।
०००
‘श्रीमानजी भन्नुहुन्छ’ (२०८०)
२०६१ कात्तिक १३
Subscribe
Login
0 Comments
Oldest