चूडामणि रेग्मीखोलाको पानी जस्तो
बेमतलबमा यहाँ समयको खर्च गरिन्छ, धन उडाइन्छ, वल पनि फ्याँकिन्छ । खोलाको पानीलाई कुलो वनाउन न समय खर्च गरिन्छ, न धन खर्च गरिन्छ न बल खर्च गरिन्छ । भेलामेला, पर्चापोष्टर, गुन्डागर्दी यी सब फाल्तू कुरामा यहाँ समय, धन र वल खर्च गरिन्छ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
पानी-बानी गफ
गीत राम्ररी सुन्नोस्, गुन्नोस्, ‘मायाँ खोलाको पानी जस्तो’ रे ! गफडी पनि आफ्ना गफलाई खोलाको पानी जस्तै ठान्छ । यहाँ गफको महत्व के कति छ र ? खोलाका पानीले कति ठाउँ कुलो काटिएर खेत सिँचेका होलान्, विचारणीय छ भने गफडीका गफको योगदान पनि अड्कल काट्न सकिन्छ । वास्तवमा, घिउ नलागे पनि गफ गर्नु गफडीको बानी हो । गँजडीलाई थाहा छ- गाँजा मात्र आदत हो, भँगडीलाई थाहा छ- रक्सी मात्र नभई नहुने नसा हो- तर पनि बानीवश नशाको सेवन गर्नुपर्छ- बानी लागेका पुरुषले । गफडको गफ पनि बानी हो र उसले बानीवश्चात् गफ गर्नुपर्छ- यद्यपि उसका गफ खोलाका पानी झै बगेर बेकार भइरहेका छन् र समुद्रानन्तमा विलीन भइरहेका छन् ।
यो जीवन कस्तो जीवन !
गफडी मान्छे गफडी हो, बेलायक हो गफडी यो कुरा मान्दछ । उसको, त्यसैले चिन्तना बेकारै होला र पनि त ठाकुरे हो ऊ प्राणी हो, मानव हो, ऊ यदा-कदा के कुराले भक्कानिन्छ भने यो जीवन कस्तो र कति विचित्रको छ । यो शोषणमय, यो ठगपूर्ण, यो अन्यायपीडित, यो दमित विषयमा निमग्न जीवन नाना छ । यो रुखो जगत् पनि करुणामय छ । कसैका पुत्र छैनन् । कसैका सन्तान छैनन् । कसैका सन्तान धेरै छन् । कोही विधुर छन् । कोही विधवा छन् । कोही जागिरपोषित छन् भने कोही जागिरपीडित छन् । अयोग्यले समाज किचिएको छ भने योग्यले निहुरिएर समाज ड्याकिएको छ । विषम समाजमा कोही धनधान्ययुक्त-सुखसयलयुक्त छन् भने समस्यै समस्याले वेरिएका कोही छन् । यसरी विचार्दा गफडीको गफी जीवन पनि विचित्रकै छ । आजको जुग ! आजको गफडी ! आजको गफ वास्तवमा खोलाकै पानी भएको छ, यसले नवसृजनामा योगदान दिन सकिरहेको छैन ।
समय-धन र बलको वृथा खर्च !
गफडीले सुनेको थियो हावामा बन्दुक हान्ने कुरा, अरण्यरोदनका कुरा र भित्तामा मुड्की हान्ने कुरा । यी सब वेकार हुन् मतलबमा । बेमतलबमा यहाँ गाना बन्दछन् । बेमतलबमाः यहाँ नृत्य हुन्छन् र बेमतलबमा यहाँ पघिता कुरा हुन्छन् । बेमतलबमा यहाँ समयको खर्च गरिन्छ, धन उडाइन्छ, वल पनि फ्याँकिन्छ । खोलाको पानीलाई कुलो वनाउन न समय खर्च गरिन्छ, न धन खर्च गरिन्छ न बल खर्च गरिन्छ । भेलामेला, पर्चापोष्टर, गुन्डागर्दी यी सब फाल्तू कुरामा यहाँ समय, धन र वल खर्च गरिन्छ । पहिले कसैलाई कुटाउन समय, बल र धन खर्च गरिन्छ, अनि कुटाइ खानेका तरफबाट पनि त्यस्तै कार्यका लागि सब खर्च गरिन्छ । हिन्दीका एक कथाकारको एक कथा ‘दो बाँके’ को चालामा यहाँ खुब धन समय र बल खर्च गरिन्छ । भरे यहाँ के-के न होला भन्यो- फास्स-न-फुस्स ! यहाँ फुर्तीफार्ती बेसी । काम साढे बाइस् ! हौवा मात्र ज्यादी । पुरुषार्थ कम । शुभविवाहका नाममा यहाँ हजारौँ उडाइन्छ । यहाँ उडाउनका लागि बहाना चाहिन्छ, बस्, गीत बज्छन्, भोज चल्छन्, बफे चल्छन्, बस् । स्वाहा परिणाम ।
पातमा पात ! बातमा बात !
गीतगायकज्यू, गीत गाउन सजिलो छ । राजनीतिज्ञज्यू, राजनीति चलाउन सजिलै छ । खोलाको पानी जस्तो मायाका प्रसङ्गमा, केराका पातमा पात हुँदा झै बातमा बात हुने हुँदा गफडी भन्दै छ, गफबारे गफडीले माथिका केही गन्थन गरेको हो । विश्वमा हिमाल अग्लो होला, हाम्रा नद-नदी राम्रै होलान्, देश प्राकृतिक होला । यहाँ गजब-गजबका कवि पनि होलान्, तर गफडी जस्तो लेखक बानीवशात् गफ गर्न बाध्य भएको आफूलाई ठान्दै आफ्ना गफ बेकार भएको ठान्दछ । उसका गफ पानी भएको ठान्दछ । गफडीका गफले पनि सृजनामा मद्दत दियो भन्ने सुनेका दिन ऊ सायद मूर्च्छा पर्छ होला । जय नेपाल आजलाई । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क २१,२०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































