डा. टीकाराम पोखरेलहास्यव्यङ्ग्य प्रतियोगिता
अन्त्यमा आज हामी आफैँमाथि व्यङ्ग्य गर्छाैँ, जो समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरेर समाजलाई अगाडि बढ्न नदिन बाधक बन्छौँ र आफूलाई जिम्मेवार व्यङ्ग्यकार ठान्छौँ ।

डा. टीकाराम पोखरेल :
हास्यव्यङ्ग्य प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा प्रतियोगीहरू के विषयमा व्यङ्ग्य गरेर हसाउने भन्नेमा द्विविधामा थिए । तर सुरुमा नै आयोजकले आजको हास्यव्यङ्ग्य प्रतियोगिताका लागि शीर्षक दिएर सुविधा बनाइदिने घोषणा गरे ।
उद्घोषक बोल्न सुरु गरे- ‘आजसम्म हामीले देशको राजनीति, भ्रष्टाचार र विकृतिमाथि व्यङ्ग्य गरेर हसायौँ । तर राजनीतिमा देखिएका नेताका क्रियाकलाप आफैँमा हाँसो भएकाले त्यसमाथि व्यङ्ग्य गरेर थप हाँसो उठ्दैन । भ्रष्टाचारमाथि व्यङ्ग्य गरेर हामीले घुस खान पाउने अधिकारको हनन गरिरहेका छौँ । भ्रष्टाचार जस्तो देशको पूँजी चलायमान हुने कुरामा व्यङ्ग्य गर्दा देशको अर्थतन्त्र बिग्रेर श्रीलङ्का हुन सक्छ । हामी व्यङ्ग्यकार जस्तो जिम्मेवार मान्छेले त्यस्तो देश बिगार्ने विषयमा व्यङ्ग्य गर्नु हुँदैन । हाम्रो समाजमा भएका विकृतिले विश्वव्यापी कीर्तिमान राख्दै गरेको बेला विकृतिमाथि व्यङ्ग्य गरेर हाम्रो देशको विश्व रेकर्ड कायम गर्ने अभियनमा पनि हामी व्यङ्ग्यकारहरू बाधक बन्नु हुँदैन ।’
उद्घोषकले अझ थपे- ‘हाम्रो समाजका दिग्गज व्यक्तित्वहरूलाई विम्ब बनाएर कुकुर, बिराला, सुगुर, गधा जस्ता प्राणीहरूसँग तुलना गरेर हसाउने नाममा ती प्राणीहरूको अपमान पनि हामी गर्दैनौँ, गर्दै गर्दैनौँ । त्यसो भए आजको प्रतियोगितामा हामी केमाथि व्यङ्ग्य गर्छाैँ त ? तपाईं प्रतियोगीहरूलाई जिज्ञासा अवश्य उत्पन्न भयो होला । ल सुन्नुुस्, आज हामी …
– जनता, जो चप्पल पड्काएर हिँड्नेलाई भोट दिएर जिताउँछन् र राजाको स्थानमा लगेर विराजमान गराउँछन्, तीमाथि व्यङ्ग्य गर्छाैँ ।
– समाजमा जो निमुखाहरू छन्, तिनले नबोलेकै कारण अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुग्यो, यस्ता संविधानमा दिएका अधिकारको समेत प्रयोग गर्न नसक्नेहरूको बारेमा व्यङ्ग्य गछौँ ।
– देशभित्र जो गरिब छन्, तिनका गरिबीले गर्दा देश गरिब देखियो, देशलाई गरिब देखाउने तिनका गरिबीमाथि आज हामी व्यङ्ग्य गर्छाैँ ।
– यो देशमा जन्मेर जो घुस दिन सक्दैनन्, तिनले घुस नदिएर देशको पूँजी चलायमान हुन सकेन, तिनीहरूमाथि आज हामी जोडदार तरिकाले व्यङ्ग्य गछौँ ।
– यस समाजमा रहेर जो अन्याय सहन बाध्य छन्, तिनीहरूले अन्याय सहँदा अदालतमा मुद्दाहरू घटेर वकालती पेशालाई घाटा लाग्ने भो, तिनीहरूमाथि व्यङ्ग्य गर्छाैँ ।
– जो बिरामी भएर पनि अस्पताल जान सक्दैनन् तिनीहरूका कारण डाक्टरसाबको क्लिनिक नचल्ने भो, क्लिनिकमा डाक्टरसाबलाई झिँगा धपाएर बस्न बाध्य पार्ने तिनीहरूमाथि व्यङ्ग्य गर्छाैँ ।
– जो छोराछोरी बोर्डिङ स्कूलमा पठाउन सक्दैनन्, तिनले गर्दा बोर्डिङ स्कूल बन्द हुने मात्र होइन, ड्रेस सिलाउने टेलरिङ बन्द हुने भो, टाई बेल्ट सप्लायर्सको रोजिरोटी खोसिने भो, बोर्डिङका पुस्तक छाप्ने प्रकाशकको बिल्लीवाठ हुने भो । यस्ता छोराछोरीलाई बोर्डिङ नपठाएर सब व्यापार व्यावसाय ध्वस्त बनााउनेहरूमाथि आज हामी जोडदार व्यङ्ग्य गर्छाैँ ।
– र, अन्त्यमा आज हामी आफैँमाथि व्यङ्ग्य गर्छाैँ, जो समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरेर समाजलाई अगाडि बढ्न नदिन बाधक बन्छौँ र आफूलाई जिम्मेवार व्यङ्ग्यकार ठान्छौँ ।’
आयोजकले दिएको विषयवस्तुमाथि गरिएका व्यङ्ग्यले हास्यव्यङ्ग्य प्रतियोगिता दमदार भएको थियो । आयोजक खुसी भएका थिए । व्यङ्ग्यकार दङ्गदास थिए ।
आजको हास्यव्यङ्ग्य प्रतियोगतासँगै हास्यव्यङ्ग्यको विकास यात्राले अर्को एक फड्को मारेको थियो ।
०००
काठमाडौं










































लेखकलाई एकतिस तोपको सलामी र अबि रको टिका पनि टक्राएँ।😉
टिका टिप्पणी गर्ने ठाउँ नै छैन त!