रमेश विकलबा.अ.क. … नं. को मोटर
तस्करी र लागूपदार्थको व्यापार गरेर देश र देशका लाखौँ किशोर युवकहरूलाई अँध्यारो भविष्यमा धकेल्ने अन्तर्राष्ट्रिय तस्कर अपराधीहरूसँग चुनाउ लड्ने चन्दा असुल गरेर गंगाजलले चोख्याउन सकिन्छ ।

रमेश विकल :
‘बा.अ… नं. को जाली प्लेटवाला मोटर फलानाको कब्जामा रहेको आज ५ वर्ष ९ महिना भयो । उक्त मोटरकार श्री फलानाज्यूले आफू फलाना कार्यालयको बडाहाकिम हुँदा सुविधाका रूपमा कार्यालय उपयोगका लागि पाउनुभएको थियो । तर आज उहाँ त्यस कार्यालयबाट मात्र होइन सरकारी सेवाबाटै अवकाश पाउनेमध्येमा पर्नु भैसकेको भए पनि (दुई वर्ष बितिसक्दा पनि) उहाँले सो गाडी त सरकारलाई फर्काउनु भएको छैन । सरकारले पनि आजसम्म उहाँमाथि कुनै किसिमको कारबाही गरेको छैन ।
उपयुक्त खबर देशको राष्ट्रिय स्तरको पत्रिकामा र अरु पत्रिकाहरूमा पनि लगातार भनेजसो निस्किइरहेको छ । तर यो खबर झूटो हो भनेर सरकारी स्तरबाटै, न त बात लागेका श्रीमानज्यूबाटै खण्डन भएको छ, न त सरकारको तर्फबाट कुनै कारबाही नै भैरहेको छ । तर मैले भने उक्त खबरमा खबरमा छापिएको हुलिया र नं. को मोटर गाडी उक्त श्रीमान्ज्यूले निर्धक्कसँग (केटाकेटीलाई स्कुल ल्याउन पुऱ्याउन, श्रीमतीलाई साडी प्यालेस वा विशालबजार घुमाउन, वा नोकरलाई तरकारी लिन पठाउन र दम्पती परिवारसहित क्लब र सिनेमा जान) उपयोग गरेको देख्दै आएको छु ।
यो कसरी सम्भव भयो ? त्यो त जनम्यान्डेट लिएर बसेको प्रजातान्त्रिक सरकार नै जानोस्, तर मलाई चाहिँ के लाग्छ भने उक्त महाशय सरकारी ज्वाइँ हुन् र उनलाई सरकारले छोरी (अघोषित हालीमुहाली) सुम्पेको छ र दाइजोको रूपमा उक्त गाडी दिएको छ । (अझ नजरले नभ्याउने अरू सानातिना दाइजो त के-कति दिएको होला ।) तर आज छोरी मरेर गइसकेर पनि (अवकाश पाइसकेपछि पनि) हाम्रो पुरानो परिपाटीअनुसार छोरीको सम्पत्ति ज्वाइँकै हुने र दान दिएको वस्तु फिर्ता लिई भोग गर्न नहुने परिपाटीअनुसार सरकार चुप लागेर बसेको छ । त्यसैले महाशयजी सरकारी मोटर गाडी छोरी मरेको ज्वाइँले स्वास्नीको नाममा आएको ससुरालीको सम्पत्ति (दाइजो) जूँघामा ताउ लिँदै भोग गरे जस्तो भोग आजसम्म गर्दैछन् । तर अहिलेको बदलिँदो परिप्रेक्ष्यमा यी राष्ट्रिय ज्वाइँले स्वास्नीको दाइजोमा पनि आफ्नै रबरस्ट्याम्प (जाली, नक्कली नम्बर प्लेट) जडान गर्ने तीक्ष्ण बुद्धिको परिचय भने दिएकै हुन् । ‘यो खबर साँचो हो जीवा ?’ म आफ्नो खसखस पोख्छु ।
धत् लम्फु । तँ पनि आजका यिनै दुई पैसे ब्ल्याक मेलर पत्र-पत्रिकाको लहैलहैमा लागेर त्यत्रो मानिसलाई दोष दिन अगि सर्छस् ? ‘दरबारभित्रको ठूलो मेचमा ढसमस्स साँढेफैँ बसेका श्री विष्णु पार्षद् (मेरा कान्छी आमापट्टिका सहोदर मामा बाजे पर्ने मानिस) भन्छन् । यसले मेरो मनमा पनि एउटा धरमरको स्थिति जन्मन गएको छ । होइन के त पत्रिकाका खबर (वर्षदिनदेखि लगातार आइरहेको) झूटो हो त ?… तर भूटो हो भने सरकार त्यस्ता भुर पत्रिकामाथि किन कारबाही चलाउँदैन ? यसको विपरीत खबर साँचो हो भने… ।
अब म के निक्र्योलमा पुग्छु भने खबर न साँचो हो न भूटो । यो साँचो झूटो दुबै थोक हुन सक्ने खबर हो । साँचो हो, किन भने पत्रिकाले आकाट्य सबुत प्रमाणसहित भनेको छ । खबर झूटो पनि हो किनभने खबर साँचो हो भन्नासाथ सरकारी ज्वाइँको हैसियतमा पुगिसकेको निज त्यत्रो व्यक्ति भ्रष्टाचारी, बदमास र मण्डले ठर्हछ । त्यो ठहरेपछि उसलाई सरकारले सजाय गर्ने पर्छ । अब तपाईं नै सोच्नोस्, कुनै पनि असल खान्दानी र आफ्नो जातीय संस्कृतिको कट्टर भक्त ससुरोले जस्तै बदनाम र मण्डले भए पनि सिंगुलै आफूले पाउ पुजेर छोरी दान दिएको ज्वाइँलाई आफूले सजाय गर्न सक्छ ? ठाडै नरक-नरकमा पनि कुम्भीपाक नरक भोग्नु पर्दैन उसले ? त्यसैले मेरी कान्छी आमातर्फका मेरा सहोदर मामाबाजे पर्ने विष्णु पार्षद् शर्मा दरबारभित्रको एउटा अग्लो मेचमा बसेर भन्छन्- सुन नाति, यस्तो कुरालाई साँचो भए पनि साँचो ठान्नुहुन्न, बरू यसलाई भूटो तुल्याउनुपर्छ । नत्र शास्त्रदोष पर्छ । तैँले महाकवि तुलसीदासजीले भनेको सुन्या छैनस् ? ऊ समरथको कछु दोष नाही गोसाईं । (यो भनाइ तुलसीदासको हो, तर मेरा बुज्ज्रुक बाजेलाई कुन कसको हो, कुन कसको ज्ञान छैन-पढेका भए पो ।)
वास्तवमा अहिले आएर मेरो घूँटामा घाम लाग्यो हो त नि ! तीन कौडीका पत्रपत्रिकाले साँचो खबर छापेर बदनाम गर्न खोजेका बा. अ… नं. को जाली नम्बर प्लेटवाला (नजाली नै राखे चढेका भए पनि उनको कसैले केही ख्याँस्न सक्ने थिएन, तर हद जाली नम्बर सम्मन् फेरेछन् । यो पनि उनको उदारमना र भद्रपनकै प्रदर्शनी हो ।.. किन मफतमा असल नम्बर प्लेट राखेर आफ्नी स्वास्नी मरेकी नै भए पनि ससुराली त ससुराली नै हुन्- तिनलाई किन धर्मसंकटमा पार्नु ?) मोटर चढ्ने श्रीमानले जस्तोसुकै काम गरे पनि त्यो जायज कानूनी र नीतिपूणर् हुनैपर्छ । किनभने बडाले जो गर्यो काम, हुन्छ त्यो सर्वसम्मत, छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित, निन्दित बनाएका त छैनन् बरू उनी भेषै लघु मगन्ते र स्वयम् यति अग्लो र पवित्र ठाउँमा बसेका छन् । उनीबाट कुनै गल्ती हुनै सक्तैन (गल्ती र औचित्यको सीमा निर्धारण नै त्यही ठाउँबाट गरिन्छ र त्यो ठाउँबाट जेलाई नीति भनिन्छ त्यो सर्वसाधारणको विचारमा अनीति पनि त्यसको अस्वतः झिकिएर ‘नीति’ मात्र बाँकी रहन्छ) । त्यसैले त्यति अग्ला ठाउँमा विराजमान भएका उक्त ठूला र शक्तिशाली व्यक्तित्वतिर हात लम्काएर उनलाई भेट्न खोज्नु यी तीन कौडे पत्रिकाको दृष्टताबाहेक अरु के हुन्छ ?
उसो भए त्यो खबर साँच्चै हो, होइन त ?
हो, साँचो हो, तर साँचो भएर पनि ठूलो हो त्यो । किनभने त्यसलाई जस्ताको तस्तै रूपमा हेर्न मिल्दैन । त्यसैले गान्धारीले आँखामा पट्टी बाँधेर धृतराष्ट्रको अन्धोपनलाई आफ्नो सत्य दृष्टि समपणर् गरेको ।… नत्र उनको दृष्टि झीर तताएर फोरिन्थ्यो । धृतराष्ट्रले फोर्न लाउँथे ।
– त्यसो भए यहाँ सत्य पनि असत्य र असत्य पनि सत्य बन्न सक्छ ?
किन सक्तैन ? हातमा शक्ति चाहिन्छ, नपत्याए हाम्रा आजका एसियाका सबैभन्दा योग्य गृहमन्त्रीलाई सोध, ज्यानमाराको अपराधमा सजाय, अदालत र देशको कानूनले सजाय तोकेको अपराधीलाई पनि सर्व चन्द्रायण टिकट दिएर सजाय मुक्त गर्न सकिन्छ । … तस्करी र लागूपदार्थको व्यापार गरेर देश र देशका लाखौँ किशोर युवकहरूलाई अँध्यारो भविष्यमा धकेल्ने अन्तर्राष्ट्रिय तस्कर अपराधीहरूसँग चुनाउ लड्ने चन्दा असुल गरेर गंगाजलले चोख्याउन सकिन्छ । त्यतिमात्र कहाँ, रुखको झ्याम्म परेको हाँगो बोकेर केही कालको लागि सूर्यको प्रकाशलाई पनि छेकेर उज्यालो छैन, अँध्यारो भयो भन्न सकिन्छ ।
हो, तपाईंले ठीक भन्नु भो, मैले माने तपाईंको तर्क । बा.अ. नं… जस्ता जाली प्लेटका कति सरकारी मोटरहरू सरकारी ज्वाइँहरूले चढेर हिँडेका छन् । यो खबर साँचो भए पनि यसलाई भूटै मानेर चलौँ, अथवा त्यो उपयोग गर्ने श्रीमान्लाई आफ्नो मरेको स्वास्नीको माइतबाट आएको दाइजोको उपयोग गरेझैँ गर्न पाउने अधिकारी ज्वाइँ सम्झेर बसौँ । अस्तु ।
०००
‘श्रीमानजी भन्नुहुन्छ’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































