साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्कार !

नमस्कार गरेर भन्छु, नमस्कार चमत्कार हो, यसको बलाात्कार गर्नु हुँदैन । नमस्कार शिष्टाचार हो, यसमाथि भ्रष्टाचार गर्नु हुँदैन । नमस्कार सदाचार हो, यसमाथि अत्याचार गर्नु हुँदैन । समग्रमा नमस्कार पुरस्कार हो, यसको तिरस्कार गर्नु हुँदैन ।

Nepal Telecom ad

रमेश समर्थन :

‘नमस्कार सर !’ मेरो नमस्कारको प्रत्युत्तरमा न उनले ‘नमस्कार’ भने, न मेरो हातजोराइको प्रत्युत्तरमा उनले हात नै उठाए, हात जोर्ने कुरो त परै जाओस् । उनले टाउको निहुराएर आफ्ना दुवै साप्राका बिचमा नजर पुर्‍याए मानौं भनिरहेका होउन् ‘तेरो नमस्कार त यसलाई !’ भन्दा र सुन्दा अश्लील लागे पनि यो ढाँटढुँट नगरेको सत्य हो । यसमा मैले न त कतै काटकुट गरेको छु, न केही टाकटुक पारेको छु ।

उनी मेरा हाकिम थिए र हाकिमइको पहिचान नै मातहतको सक्दो हुर्मत लिनु हो भन्ने महामन्त्रलाई उनले रुद्राक्ष बनाएर कण्ठमा धारण गरेका थिए । आखिर थिए त हाइस्कुलका हेडमास्टर । त्योभन्दा पहिले भूमिसुधार अधिकृत हुँदा गाउँलेका गरगहना लिएर जागिरसागिरलाई लात हानेर रातारात भागेका थिए भनेर मेरी सासूका ससुराले मैसँग भनेका हुन् । सरकारले भविष्यमा सरकारी सेवामा अयोग्य प्रमाणित नहुने गरी बरखास्त गरेपछि आफ्नै गाउँको हाइस्कुलको हेडमास्टर भएका व्यक्ति पो थिए उनी । कुन कुरो भिन्दै छ भने उनले त्यहाँ पनि कहिल्यै शिक्षक कर्मचारीलाई पुरा तलब एकै पटक दिने कष्ट गरेनन् । त्यो पैसा दिनगन्ती व्याजमा लगाएर उठेको व्याजबाट किस्ताबन्दीमा दिन्थे । फेरि पनि थिए त हाकिम नै । नमस्कार त नगरी भएन चाहे त्यसको जति तिरस्कार होस् ।

राणा गए, राणातन्त्र गयो; राजा गए, राजतन्त्र गयो; प्रजातान्त्रिक गए, प्रजातन्त्र गयो; लोकतान्त्रिक गए, लोकतन्त्र गयो; तर यो चाकरीप्रथा आएपछि यहीँ आसन जमाएको जमायै छ । नवराणाहरू, नवराजाहरू र हरेक हाकिमको हाकिमइ भनेको नै मातहतबाट चाकरी गराउनु र नगरेमा पजनी गर्नु हो । मैले एस. एल. सी. परीक्षा सञ्चालन गर्दा निरीक्षणमा आएका हाकिमले पछि गुनासो गरेछन्, ‘अमुक केन्द्राध्यक्षले त स्वागत नै गरेनन् ।’ भइपरी आउने खर्च भनेर एक रुपियाको बजेट नदिने अनि हरेक दिन अनुगमनमा आउने हाकिमसाबहरूलाई स्वागतमा हजारौं खर्च गर्न त कि आफ्नो पेट काट्नुपर्‍यो कि संस्थाको घेंट (घाँटी) काट्नुपर्‍यो । हाकिमले हाजिरी रजिस्टर आफ्नो टेबुलमा राख्नुको अन्तर्यमा पनि प्रशासनिक आवश्यकताले भन्दा चाकडी गराउने मनोविज्ञानले काम गरेको मान्छु म त । हाजिर गर्ने कामले मातहतको कर्मचारी आओस् र आउँदाआउँदै विवशताका दाँत ङिच्च पारेर प्रसन्नचित्त भएको स्वाङ अनुहारभरि भर्दै सकै धनुषटङ्कार नसके निगुरिमुन्टे भएर जुम्ले हात जोरी ‘नमस्कार सर !’ भनेर अभिवादनरूपी चाकरी बजाओस् र आपूmले कुनै पनि काल्पनिक कुरो उठाएर उसको मनोबलमाथि कुठाराघात गर्न सकियोस् जसले गर्दा उसले कहिल्यै आफ्नो अक्षमतामाथि चोरऔंलो नठड्याओस् बरु हरेक दिन जागिर जाने डरले थुरथुर काम्दै छुलछुल गरिरहोस् ।

तपाईं हाकिम बन्ने लाइनमा हुनुहुन्छ भने र अनुशासित, नियमित र कर्तव्यनिष्ठ हुनुहुन्न भने तपाईंको हाकिम बन्ने नम्बर आउन सक्छ । केवल एउटा दक्षताको मूल्याङ्कनप्रक्रिया शेष रहन्छ र त्यो हो तपाईंमा हाकिमप्रति निष्ठा छ कि छैन ? तपाईंले चाकडी गर्न जान्नुभएको छ कि छैन । हाकिम बन्न चाकडी गर्न जान्नुपर्छ भन्ने कुरो त गल्लीको टेलरलाई पनि थाहा छ ।

एकजना कर्मचारी हाकिम बन्ने भएपछि दौरासुरुवालको नाप दिन टेलरकहाँ गएछन् । नाप्ने क्रममा मास्टरले सोधेछन्, ‘कति वर्षमा हाकिम बन्दै हुनुहुन्छ ? कति ठाउँमा सरुवा हुनुभयो ? कति पटक बढुवा पाउनुभयो ?’ आदि आदि । कर्मचारी आश्चर्यमा परेछन् किन यो टेलरिङमास्टरले यी कुरा सोध्दै छ ? कर्मचारीतन्त्रभित्रको जन्त्रमन्त्र यसलाई के थाहा छ ? उनले प्रत्यक्षमा सोधेछन्, ‘तैंले यस्ता कुरा किन सोधेको होस् ?’ कर्मचारीको ‘तँ’ सम्बोधनबाट नै मास्टरले यी हाकिम बन्न योग्य पात्र हुन् र कसरी हाकिम बन्दै छन् भन्ने अनुमान लगाएछन् र कर्मचारीको जिज्ञासा समाधान गर्दै भनेछन्, ‘यदि तपाईंले नियुक्ति पाएको छोटो समयमै बढुवा पाउनुभएको हो भने तपाईंको दौराको अगाडिको फेरो छोटो र पछाडिको लामो पार्नुपर्ने हुन्छ र यदि लामो समयसम्म बढुवा नपाएको र बारम्बार अपायक सरुवा भएको हो भने बराबर नापको राख्नुपर्छ ।’ मास्टरका यस्ता पाल्सी कुरा सुनेर कर्मचारी त जिल्लाराम परे । ‘किन तिमीले यसो भनेको ?’ अब उनको चाकडीबाजीले छेपारे वृत्ति समातिहाल्यो । उनी ‘तँ’ बाट ‘तिमी’ मा उक्ले । मास्टरले कायाकैरन लाउँदै भने, ‘छिटै हाकिम बन्न र छिटोछिटो बढुवा पनि पाउन माथिल्लो हाकिमका सामु कम्मरलाई कुप्य्राएर झुक्नुपर्दा दौराको अघिल्लो भाग तल लत्रिने र पछिल्लो भाग ढाडमाथि उक्लिने सम्भावना हुने भएकाले पहिले नै अगाडिको छोटो र पछाडिको लामो पार्नुपर्ने हुन्छ भने बढुवा भएको छैन र अपायक ठाउँमा बारम्बार सरुवा भएको छ भने त्यो कर्मचारी स्वाभिमानी हुने हुँदा उसको नाप सोझो र बराबर राख्नुपर्छ ।’ यो सुनेर कर्मचारी ठन्डाराम परे ।

चाकडीका लागि बादशाहको बादशाहतमा ‘बादशाहको हुकुमत सलामत रहोस् !’ भन्नुपर्थ्याे । राणाहरूको राणाशाहीमा ‘कुर्नेस’ भन्नुपथ्र्यो, शाहहरूको शाहीकालमा ‘जो निगाह सरकार !’ भन्नुपर्थ्याे । प्रजातन्त्रवादीको प्रजातान्त्रिक कालमा ‘जय नेपाल !’ भन्नुपर्थ्याे । लोकतन्त्रवादीको लोकतान्त्रिक कालमा ‘लाल सलाम !’ भन्नुपर्थ्याे । यो गणतन्त्र नामको व्यवस्थामा त कर्मचारीहरू नै अन्योलमा पर्छन् । बिहानको हाकिमले ‘जय नेपाल !’ मागेको हुन्छ भने साँझको हाकिमले ‘लाल सलाम !’ चाहेको हुन्छ । चौबिस घण्टामा मन्त्री फेरिने समयमा छ घण्टामा हाकिम फेरिनु कुनै अनौठो होइन ।

मेरो लेख पनि हाम्रा कानुनको भाषाजस्तै जेरी बन्न पुगेछ । मैले नमस्कारको चमत्कार देखाउन थालेको थिएँ तर कुरो नजान्ने विद्यार्थीको निबन्ध बन्न पुग्यो । जान्ने त पनि पनि पो कहाँ हूँ र ?

नमस्कार एउटा शिष्टाचार हो । तर हाम्रा हाकिमहरू यस शिष्टाचारको अचार बनाएर कर्‍यामकर्‍याम चपाउन खप्पिस छन् । मातहतको नमस्कार सुन्नु त अपमानबोध पो हो त यिनीहरूका लागि । हाकिम पनि हुनु र नमस्कार भनेको सुन्नु र गरेको देख्नु ? खरायोले जतिसुकै भुइँमा नाक रगडेर दण्डवत् गरे पनि ब्वाँसाले खरायोलाई छोडोस् न हाकिमले मातहतलाई छोडोस् । त्यति पनि गर्न नसके केको हाकिम ? सधैँ मातहतमै रहेर नमस्कार गरिरहे त भइहाल्यो नि !

मेरो अनुभव पनि विचित्रको छ । यदि मलाई कसैले भेट्दा नमस्कार गरिहन्छ भने मलाई लाग्छ अब मैले नै पहिले उसलाई नमस्कार गर्ने शिष्टाचार देखाउनुपर्छ र नमस्कार गर्न थाल्छु । एक दुई पटक उसले पनि शिष्टतापूर्वक नै हात जोडेर नमस्कार गर्छ, त्यसपछि एउटा हात उठाएर नमस्कार भन्छ । त्यसपछि हात नउठाइकन मेरो नमस्कार ग्रहण गरेर मप्रति अनुग्रह नै गरेझैं नमस्कार नमस्कार मात्र भन्छ । त्यसपछि देख्दै नदेखेको र नमस्कार भनेको सुनेर ख्याल आएको स्वाङ पार्दै ए, नमस्ते भन्छ र आशीर्वावाद दिने ढाँचामा आफ्नै हातलाई सन्नी देओलको ढाई किलोको हात बनाएर बल्लबल्ल उठाउँछ । त्यसपछि अहङ्कारपूर्वक हुङ्कार मात्र भर्छ । त्यसपछि त उही माथिको हेडमास्टरले झैं आफ्नो दुई साप्राबिचमा हेर्न थाल्छ चाहे त्यो पद, प्रतिष्ठा, उमेर र शिक्षामा पनि मभन्दा निकै तल होस् ।

पहिले भनिन्थ्यो , ‘बनारस में पाँच सौ का पान मिलता है ।’ पाँच सयको पान भन्दा जिब्रो टोकेर पान खाएर पारेकोजस्तो मुख रातो नपार्नुहोला । त्यो भनेको एउटा पानको बिडा अगाडि बढाएपछि पाँच सयको काम बनाउन सकिन्छ भनेको हो । बिहारमा ‘एक जूम खैनी में हाकिम भूmम’ भनिन्छ । नेपालको राजनीति र शासनव्यवस्था पनि बनारसकै दत्तक पुत्र भएकाले थोरोबहुत गुनअवगुन त भइहाल्छ नि । मधेसतिर पानको बिडा र खैनीको जुममा घुम्ने र झुम्नेहरू भेटिए पनि पहाडतिर भने नमस्कारमा जोडिएका जम्ले हत्केला खुल्दा खामसाम देखियो भने हाकिमबाट काम बनाउन सजिलो हुन्छ । त्यसैले भनिएको हो, नमस्कार एउटा चमत्कार हो भनेर ।

नमस्कारको चमत्कार नेताले भन्दा बढी कसले बुझेको हुन्छ र ? चुनाव आयो कुनै महिलाको बढेको पेट देखे भने त्यही पेटलाई नमस्कार गर्न पुग्छन् भविष्यको अन्नपानीको दाता हो भनेर र जब चुनाव सकिन्छ तिनै महिलाले त्यो पेट खाली गराउन गुहार माग्दा माग्दा हार मान्छिन् तर नेता टसमस हुँदैन । हामीकहाँ नेता नेता बन्दा गर्भमा रहेको भ्रूण जन्मेर बुढो हुँदासम्म पनि नेता बुढो हुँदैन र नमस्कार खाइरहन्छ । यस्तो पो छ त नमस्कारको चमत्कार । चुनावमा चुनाव कसरी जित्ने होला भनेर सल्लाहकार समिति बनाउँछ, चुनाव जितेपछि उही सर्वज्ञ बनेर उपदेशका छिटा उछिट्याउँछ । यो अद्भुत मानव हो जसको आविष्कार ब्रह्माले किन गरे भन्ने उनलाई पनि थाहा छैन तर त्यो हामी त हामी, उनैलाई पनि अभिशाप भएको छ । उनैलाई आश्वासन दिन र ढाँट्न पछि पर्दैन । उसको वश नचलेर हो, नत्र ब्रह्मलोकको जग्गा पनि आफ्नो नाममा नामसारी गराउँदो हो । जुन दिनदेखि नेता भन्ने व्यक्ति अवतरित भयो त्यसै दिनदेखि यमराजले स्वैच्छिक अवकाश लिएर सबै अधिकार यसैलाई दिए भन्ने गोपनीयता त नमस्कारमा सधैं चमत्कारको खोजी गरिरहने चित्रगुप्तको कार्यालयबाटै चुहेको हो भनेर अख्तियारद्वारा डामिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले खुलासा गरेका हुन् ।

त्यसैले नमस्कार गरेर भन्छु, नमस्कार चमत्कार हो, यसको बलाात्कार गर्नु हुँदैन । नमस्कार शिष्टाचार हो, यसमाथि भ्रष्टाचार गर्नु हुँदैन । नमस्कार सदाचार हो, यसमाथि अत्याचार गर्नु हुँदैन । समग्रमा नमस्कार पुरस्कार हो, यसको तिरस्कार गर्नु हुँदैन । तर तपाईंले नम्रतापूर्वक गरेको नमस्कारलाई तिरस्कार गरेर कसैले व्यभिचार गर्छ भने त्यस अहङ्कारीलाई ‘कन्ढैसिती’ भनिदिनुभए हुन्छ । नमस्कार !

०००
रुपन्देही

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

यसलेखप्रति नमस्कारे समर्थन छ है मेरो।

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
1
0
Would love your thoughts, please comment.x
()
x