रमेश समर्थननमस्कार !
नमस्कार गरेर भन्छु, नमस्कार चमत्कार हो, यसको बलाात्कार गर्नु हुँदैन । नमस्कार शिष्टाचार हो, यसमाथि भ्रष्टाचार गर्नु हुँदैन । नमस्कार सदाचार हो, यसमाथि अत्याचार गर्नु हुँदैन । समग्रमा नमस्कार पुरस्कार हो, यसको तिरस्कार गर्नु हुँदैन ।

रमेश समर्थन :
‘नमस्कार सर !’ मेरो नमस्कारको प्रत्युत्तरमा न उनले ‘नमस्कार’ भने, न मेरो हातजोराइको प्रत्युत्तरमा उनले हात नै उठाए, हात जोर्ने कुरो त परै जाओस् । उनले टाउको निहुराएर आफ्ना दुवै साप्राका बिचमा नजर पुर्याए मानौं भनिरहेका होउन् ‘तेरो नमस्कार त यसलाई !’ भन्दा र सुन्दा अश्लील लागे पनि यो ढाँटढुँट नगरेको सत्य हो । यसमा मैले न त कतै काटकुट गरेको छु, न केही टाकटुक पारेको छु ।
उनी मेरा हाकिम थिए र हाकिमइको पहिचान नै मातहतको सक्दो हुर्मत लिनु हो भन्ने महामन्त्रलाई उनले रुद्राक्ष बनाएर कण्ठमा धारण गरेका थिए । आखिर थिए त हाइस्कुलका हेडमास्टर । त्योभन्दा पहिले भूमिसुधार अधिकृत हुँदा गाउँलेका गरगहना लिएर जागिरसागिरलाई लात हानेर रातारात भागेका थिए भनेर मेरी सासूका ससुराले मैसँग भनेका हुन् । सरकारले भविष्यमा सरकारी सेवामा अयोग्य प्रमाणित नहुने गरी बरखास्त गरेपछि आफ्नै गाउँको हाइस्कुलको हेडमास्टर भएका व्यक्ति पो थिए उनी । कुन कुरो भिन्दै छ भने उनले त्यहाँ पनि कहिल्यै शिक्षक कर्मचारीलाई पुरा तलब एकै पटक दिने कष्ट गरेनन् । त्यो पैसा दिनगन्ती व्याजमा लगाएर उठेको व्याजबाट किस्ताबन्दीमा दिन्थे । फेरि पनि थिए त हाकिम नै । नमस्कार त नगरी भएन चाहे त्यसको जति तिरस्कार होस् ।
राणा गए, राणातन्त्र गयो; राजा गए, राजतन्त्र गयो; प्रजातान्त्रिक गए, प्रजातन्त्र गयो; लोकतान्त्रिक गए, लोकतन्त्र गयो; तर यो चाकरीप्रथा आएपछि यहीँ आसन जमाएको जमायै छ । नवराणाहरू, नवराजाहरू र हरेक हाकिमको हाकिमइ भनेको नै मातहतबाट चाकरी गराउनु र नगरेमा पजनी गर्नु हो । मैले एस. एल. सी. परीक्षा सञ्चालन गर्दा निरीक्षणमा आएका हाकिमले पछि गुनासो गरेछन्, ‘अमुक केन्द्राध्यक्षले त स्वागत नै गरेनन् ।’ भइपरी आउने खर्च भनेर एक रुपियाको बजेट नदिने अनि हरेक दिन अनुगमनमा आउने हाकिमसाबहरूलाई स्वागतमा हजारौं खर्च गर्न त कि आफ्नो पेट काट्नुपर्यो कि संस्थाको घेंट (घाँटी) काट्नुपर्यो । हाकिमले हाजिरी रजिस्टर आफ्नो टेबुलमा राख्नुको अन्तर्यमा पनि प्रशासनिक आवश्यकताले भन्दा चाकडी गराउने मनोविज्ञानले काम गरेको मान्छु म त । हाजिर गर्ने कामले मातहतको कर्मचारी आओस् र आउँदाआउँदै विवशताका दाँत ङिच्च पारेर प्रसन्नचित्त भएको स्वाङ अनुहारभरि भर्दै सकै धनुषटङ्कार नसके निगुरिमुन्टे भएर जुम्ले हात जोरी ‘नमस्कार सर !’ भनेर अभिवादनरूपी चाकरी बजाओस् र आपूmले कुनै पनि काल्पनिक कुरो उठाएर उसको मनोबलमाथि कुठाराघात गर्न सकियोस् जसले गर्दा उसले कहिल्यै आफ्नो अक्षमतामाथि चोरऔंलो नठड्याओस् बरु हरेक दिन जागिर जाने डरले थुरथुर काम्दै छुलछुल गरिरहोस् ।
तपाईं हाकिम बन्ने लाइनमा हुनुहुन्छ भने र अनुशासित, नियमित र कर्तव्यनिष्ठ हुनुहुन्न भने तपाईंको हाकिम बन्ने नम्बर आउन सक्छ । केवल एउटा दक्षताको मूल्याङ्कनप्रक्रिया शेष रहन्छ र त्यो हो तपाईंमा हाकिमप्रति निष्ठा छ कि छैन ? तपाईंले चाकडी गर्न जान्नुभएको छ कि छैन । हाकिम बन्न चाकडी गर्न जान्नुपर्छ भन्ने कुरो त गल्लीको टेलरलाई पनि थाहा छ ।
एकजना कर्मचारी हाकिम बन्ने भएपछि दौरासुरुवालको नाप दिन टेलरकहाँ गएछन् । नाप्ने क्रममा मास्टरले सोधेछन्, ‘कति वर्षमा हाकिम बन्दै हुनुहुन्छ ? कति ठाउँमा सरुवा हुनुभयो ? कति पटक बढुवा पाउनुभयो ?’ आदि आदि । कर्मचारी आश्चर्यमा परेछन् किन यो टेलरिङमास्टरले यी कुरा सोध्दै छ ? कर्मचारीतन्त्रभित्रको जन्त्रमन्त्र यसलाई के थाहा छ ? उनले प्रत्यक्षमा सोधेछन्, ‘तैंले यस्ता कुरा किन सोधेको होस् ?’ कर्मचारीको ‘तँ’ सम्बोधनबाट नै मास्टरले यी हाकिम बन्न योग्य पात्र हुन् र कसरी हाकिम बन्दै छन् भन्ने अनुमान लगाएछन् र कर्मचारीको जिज्ञासा समाधान गर्दै भनेछन्, ‘यदि तपाईंले नियुक्ति पाएको छोटो समयमै बढुवा पाउनुभएको हो भने तपाईंको दौराको अगाडिको फेरो छोटो र पछाडिको लामो पार्नुपर्ने हुन्छ र यदि लामो समयसम्म बढुवा नपाएको र बारम्बार अपायक सरुवा भएको हो भने बराबर नापको राख्नुपर्छ ।’ मास्टरका यस्ता पाल्सी कुरा सुनेर कर्मचारी त जिल्लाराम परे । ‘किन तिमीले यसो भनेको ?’ अब उनको चाकडीबाजीले छेपारे वृत्ति समातिहाल्यो । उनी ‘तँ’ बाट ‘तिमी’ मा उक्ले । मास्टरले कायाकैरन लाउँदै भने, ‘छिटै हाकिम बन्न र छिटोछिटो बढुवा पनि पाउन माथिल्लो हाकिमका सामु कम्मरलाई कुप्य्राएर झुक्नुपर्दा दौराको अघिल्लो भाग तल लत्रिने र पछिल्लो भाग ढाडमाथि उक्लिने सम्भावना हुने भएकाले पहिले नै अगाडिको छोटो र पछाडिको लामो पार्नुपर्ने हुन्छ भने बढुवा भएको छैन र अपायक ठाउँमा बारम्बार सरुवा भएको छ भने त्यो कर्मचारी स्वाभिमानी हुने हुँदा उसको नाप सोझो र बराबर राख्नुपर्छ ।’ यो सुनेर कर्मचारी ठन्डाराम परे ।
चाकडीका लागि बादशाहको बादशाहतमा ‘बादशाहको हुकुमत सलामत रहोस् !’ भन्नुपर्थ्याे । राणाहरूको राणाशाहीमा ‘कुर्नेस’ भन्नुपथ्र्यो, शाहहरूको शाहीकालमा ‘जो निगाह सरकार !’ भन्नुपर्थ्याे । प्रजातन्त्रवादीको प्रजातान्त्रिक कालमा ‘जय नेपाल !’ भन्नुपर्थ्याे । लोकतन्त्रवादीको लोकतान्त्रिक कालमा ‘लाल सलाम !’ भन्नुपर्थ्याे । यो गणतन्त्र नामको व्यवस्थामा त कर्मचारीहरू नै अन्योलमा पर्छन् । बिहानको हाकिमले ‘जय नेपाल !’ मागेको हुन्छ भने साँझको हाकिमले ‘लाल सलाम !’ चाहेको हुन्छ । चौबिस घण्टामा मन्त्री फेरिने समयमा छ घण्टामा हाकिम फेरिनु कुनै अनौठो होइन ।
मेरो लेख पनि हाम्रा कानुनको भाषाजस्तै जेरी बन्न पुगेछ । मैले नमस्कारको चमत्कार देखाउन थालेको थिएँ तर कुरो नजान्ने विद्यार्थीको निबन्ध बन्न पुग्यो । जान्ने त पनि पनि पो कहाँ हूँ र ?
नमस्कार एउटा शिष्टाचार हो । तर हाम्रा हाकिमहरू यस शिष्टाचारको अचार बनाएर कर्यामकर्याम चपाउन खप्पिस छन् । मातहतको नमस्कार सुन्नु त अपमानबोध पो हो त यिनीहरूका लागि । हाकिम पनि हुनु र नमस्कार भनेको सुन्नु र गरेको देख्नु ? खरायोले जतिसुकै भुइँमा नाक रगडेर दण्डवत् गरे पनि ब्वाँसाले खरायोलाई छोडोस् न हाकिमले मातहतलाई छोडोस् । त्यति पनि गर्न नसके केको हाकिम ? सधैँ मातहतमै रहेर नमस्कार गरिरहे त भइहाल्यो नि !
मेरो अनुभव पनि विचित्रको छ । यदि मलाई कसैले भेट्दा नमस्कार गरिहन्छ भने मलाई लाग्छ अब मैले नै पहिले उसलाई नमस्कार गर्ने शिष्टाचार देखाउनुपर्छ र नमस्कार गर्न थाल्छु । एक दुई पटक उसले पनि शिष्टतापूर्वक नै हात जोडेर नमस्कार गर्छ, त्यसपछि एउटा हात उठाएर नमस्कार भन्छ । त्यसपछि हात नउठाइकन मेरो नमस्कार ग्रहण गरेर मप्रति अनुग्रह नै गरेझैं नमस्कार नमस्कार मात्र भन्छ । त्यसपछि देख्दै नदेखेको र नमस्कार भनेको सुनेर ख्याल आएको स्वाङ पार्दै ए, नमस्ते भन्छ र आशीर्वावाद दिने ढाँचामा आफ्नै हातलाई सन्नी देओलको ढाई किलोको हात बनाएर बल्लबल्ल उठाउँछ । त्यसपछि अहङ्कारपूर्वक हुङ्कार मात्र भर्छ । त्यसपछि त उही माथिको हेडमास्टरले झैं आफ्नो दुई साप्राबिचमा हेर्न थाल्छ चाहे त्यो पद, प्रतिष्ठा, उमेर र शिक्षामा पनि मभन्दा निकै तल होस् ।
पहिले भनिन्थ्यो , ‘बनारस में पाँच सौ का पान मिलता है ।’ पाँच सयको पान भन्दा जिब्रो टोकेर पान खाएर पारेकोजस्तो मुख रातो नपार्नुहोला । त्यो भनेको एउटा पानको बिडा अगाडि बढाएपछि पाँच सयको काम बनाउन सकिन्छ भनेको हो । बिहारमा ‘एक जूम खैनी में हाकिम भूmम’ भनिन्छ । नेपालको राजनीति र शासनव्यवस्था पनि बनारसकै दत्तक पुत्र भएकाले थोरोबहुत गुनअवगुन त भइहाल्छ नि । मधेसतिर पानको बिडा र खैनीको जुममा घुम्ने र झुम्नेहरू भेटिए पनि पहाडतिर भने नमस्कारमा जोडिएका जम्ले हत्केला खुल्दा खामसाम देखियो भने हाकिमबाट काम बनाउन सजिलो हुन्छ । त्यसैले भनिएको हो, नमस्कार एउटा चमत्कार हो भनेर ।
नमस्कारको चमत्कार नेताले भन्दा बढी कसले बुझेको हुन्छ र ? चुनाव आयो कुनै महिलाको बढेको पेट देखे भने त्यही पेटलाई नमस्कार गर्न पुग्छन् भविष्यको अन्नपानीको दाता हो भनेर र जब चुनाव सकिन्छ तिनै महिलाले त्यो पेट खाली गराउन गुहार माग्दा माग्दा हार मान्छिन् तर नेता टसमस हुँदैन । हामीकहाँ नेता नेता बन्दा गर्भमा रहेको भ्रूण जन्मेर बुढो हुँदासम्म पनि नेता बुढो हुँदैन र नमस्कार खाइरहन्छ । यस्तो पो छ त नमस्कारको चमत्कार । चुनावमा चुनाव कसरी जित्ने होला भनेर सल्लाहकार समिति बनाउँछ, चुनाव जितेपछि उही सर्वज्ञ बनेर उपदेशका छिटा उछिट्याउँछ । यो अद्भुत मानव हो जसको आविष्कार ब्रह्माले किन गरे भन्ने उनलाई पनि थाहा छैन तर त्यो हामी त हामी, उनैलाई पनि अभिशाप भएको छ । उनैलाई आश्वासन दिन र ढाँट्न पछि पर्दैन । उसको वश नचलेर हो, नत्र ब्रह्मलोकको जग्गा पनि आफ्नो नाममा नामसारी गराउँदो हो । जुन दिनदेखि नेता भन्ने व्यक्ति अवतरित भयो त्यसै दिनदेखि यमराजले स्वैच्छिक अवकाश लिएर सबै अधिकार यसैलाई दिए भन्ने गोपनीयता त नमस्कारमा सधैं चमत्कारको खोजी गरिरहने चित्रगुप्तको कार्यालयबाटै चुहेको हो भनेर अख्तियारद्वारा डामिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले खुलासा गरेका हुन् ।
त्यसैले नमस्कार गरेर भन्छु, नमस्कार चमत्कार हो, यसको बलाात्कार गर्नु हुँदैन । नमस्कार शिष्टाचार हो, यसमाथि भ्रष्टाचार गर्नु हुँदैन । नमस्कार सदाचार हो, यसमाथि अत्याचार गर्नु हुँदैन । समग्रमा नमस्कार पुरस्कार हो, यसको तिरस्कार गर्नु हुँदैन । तर तपाईंले नम्रतापूर्वक गरेको नमस्कारलाई तिरस्कार गरेर कसैले व्यभिचार गर्छ भने त्यस अहङ्कारीलाई ‘कन्ढैसिती’ भनिदिनुभए हुन्छ । नमस्कार !
०००
रुपन्देही









































यसलेखप्रति नमस्कारे समर्थन छ है मेरो।