पिँडालु पण्डितनमस्कारको नयाँ संस्करण
महादेवको ज्योतिर्लिङ्ग जस्तो न छेउ पत्ता लाग्छ न टुप्पो, उसले अझै थप्यो । यस्तो छेउ न टुप्पाको कुराका पछि लागेर ‘केही हुन्छु-गर्छु’ भन्नु बाँदरले घर र नेताले देश बनाउँछु भन्नु जस्तै हो ।

पिँडालु पण्डित :
‘नमस्तेको इकार उकार हुँदैन, न त आकार नै हुन्छ’- गुरुजी पढाउँदै थिए, विद्यार्थीहरू सुन्दै थिए । एउटा विद्यार्थी जुरुक्क उठ्यो, ‘इकार उकार र आकार नभए पनि प्रकार त हुन्छ होला नि । सर ?’ उसले आफ्नो कौतूहल पोख्यो । सधैँ ‘गुड मर्निङ्ग’ खाइरहेका गुरुजीलाई नमस्तेको प्रकारसँग के सरोकार । तैपनि उनी आत्तिएनन् । ‘गुरु बन्न सजिलो छ, चेलो बन्न गाह्रो’- भन्ने उखान उहिल्यै रटिसकेका गुरुजीलाई परिस्थिति उल्टाउन कसले सिकाउन पर्थ्यो र । उनले सुनेको नसुन्यै गरे । बोल्ने अधिकार उनको थियो, धाराप्रवाह बोलिरहे । सुन्नु र बुझ्नु विद्यार्थीको कर्तव्य हो- सुनुन्-नसुनुन्, बुझन-नबुझुन्, उनलाई मतलब भएन । सुनेको जति जम्मै बुभनुपर्छ भन्ने पो कहाँ छ र । उनले मनमनै सोचे ।
जानेको जति जम्मै पढाउने र सुनेको जति जम्मै बुझ्ने हो भने न परीक्षा लिएर सकिन्छ, न परीक्षा दिएर सकिन्छ । अहिलेसम्म सयमा सय नम्बर पनि त कसैले ल्याएको छैन, कसैले पाएको छैन । गुरुजी अर्को निष्कर्षमा पुगे । आफ्नो प्रभाव र छविमा धमिरा लाग्न नदिन गुरुत्याई छाँट्दै उनले भने, ‘बाबू हो । तिमीहरूले किताबमा जत्ति छ त्यत्ति पढे (घोके) पुग्छ । धेरै बोझ बोक्नु हुन्न । संसारमा सिक्नु पर्ने कुरा धेरै छन् ।’
उनको चलाक्याइँ सिटामोल बन्यो । गुरुजी एक सिंढी माथि, विद्यार्थी साविकबमोजिम एक सिँढी तल । आजकल जताततै ‘सर’ भनिने गुरुजीका क्याप्सुल यसै गरी बाँडिएका छन् । तपाईं भन्नुहोला त्यस्ता क्याप्सुलको गुणस्तर परीक्षण भएको छैन ? उत्तर सजिलो छ, छैन । हुति भए आफैँ जाँच्नुस् ।
गुरुजीले नमस्कारको प्रकार पत्ता लगाउने अघोषित गृहकार्य पाएका छन्, – आफ्नै विद्यार्थीबाट । ‘यो मेरो कर्तव्यभन्दा बढी लहड हो’ उनले सोचेका छन् । यो लहडी सोचाइ आजकल उनको अभिन्न साथी बनेको छ र बेलाबखत उनलाई ब्यूँझाइरहन्छ,- ए ! नमस्तेको प्रकार त हुन्छ होला नि ?
आज पनि साविकबमोजिम दैलोमा दलिनु अघि ओछयानबाट छुट्टिदै उनकी अर्धाङ्गिनी याने श्रीमतीजी आफ्ना पतिदेवका गोडा समातेर टाउको अडयाउन पुगिन् । गुरुजीले भाग्यमानी भएस् भने या सौभाग्यवती भएस् भने त्यति हेक्का रहेन । श्रीमतीजीले ‘यसैगरी सधैँ रातभर सुतेर बिहान सँगै उठ्न पाइयोस्’ भनेर कामना गर्दै पाउ परेकी हुन् वा ‘हिजोका दिनसम्म राम्रैसँग पाल्यौ-खुवायौ, आज पनि प्रसन्न भएर आफ्नो कर्तव्य पूरा गर’ भनी कूटनीतिक आदेश दिएकी हुन् उनले बुझ्न खोजेनन् । तर आज उनका आँखा अलिकति खुले- ‘यो पनि त नमस्कारको एउटा प्रकार हो ।’ अनि, नाम ? अँ ! ठीकै छ- ‘पछि संशोधन गर्न परे गरौँला’ भन्दै गुरुजी एक्लैले यसको नामकरण गरे, ‘नतमस्तक नमस्कार ।’
नोटसँग भोट साट्दा चोट खाएका नेतालाई एकदिन टेवहालमा टुइँटुइँ हिँडिरहेका बेला टुप्लुक्क भेट भयो । गुरुजी आफ्नै संस्कारमा दुईहात जोडेर प्रस्तुत भए- ‘नेताजी ! नमस्कार ।’ नेताजी हात बटार्दै मुड्की उठाएर आफ्नो बाटो लागे । गुरुजी छक्क । उनले अनायासै सँगैका साथी सन्तरामलाई प्वाक्क सोधे, – ‘यो कस्तो नमस्कार ?’ जस्तो प्रश्न उस्तै उत्तर- ‘अवसरवादी नमस्कार।’ सन्तरामले सहज रूपमा उत्तर दियो ।
सन्तरामको जवाफले उनी एक मन त सान्तै खुसी भए । तर उनलाई आफ्नो गुरुत्वमा केही धक्का लागेजस्तो अनुभव भयो । र पनि, व्यक्त गर्ने कुरो भएन । उनी एकछिन् चुपै लागे । तर सक्सक् मेटिएन । गुरुजी मनमनै छट्पटाए । उनको छट्पटाइसँग अपरिचित सन्तराम भने लगातार लम्किरह्यो, लगनखेलको बस समाउन ।
दलीय व्यवस्थाका पक्षपाती गुरुजी दलहरूको दौडादौड देखेर दड्दास थिए । कहिले समझदारीपछिको सत्ता साझेदारी, कहिले आन्दोलनमा अग्रसरता । कहिले आलिङ्गन, कहिले पानी बाराबार- के-के हो ! के-के । पेट भोको भए पनि यस्तो रामरमिता हेर्ने धोको उनमा अझै छ ।
दलहरूले दलहरूकै दैलो चहारेको, ढोके भेटघाट कोठेबैठक बेलाबखत गुहारेको, सके यतै नसके उतै छोटकरीमा कतै न कतै चिनापर्ची गर्दै गरेको अखबारी हालखबरसँग पनि गुरुजी अनभिज्ञ थिएनन् । नमस्कारको प्रसङ्गमा उनलाई यहाँ पनि अर्को कौतूहल जाग्यो । यस्ता कार्यक्रममा पनि त नमस्कारको आदान-प्रदान हुन्छ होला ? हुन्छ, पक्कै हुन्छ । उनले कसैलाई सोध्न चाहेनन् । नमस्कार बिनाको संस्कार तिरस्कार हुन्छ, पुरस्कार पाउन त नमस्कार गर्नै पर्छ ! उनको मनले लिँडे ढिपी गर्यो, ‘सोध, साथीसँग सोध् ।’
उनले सहन सकेनन्, मौनता तोडे । सबै बेलीबिस्तार सुनेपछि,- ‘अदृश्य कारोबारका लागि अदृश्य रूपमै गरिने यस्तो नमस्कारलाई भूमिगत नमस्कार भन्छन् ।’- सन्तरामले उसैगरी सहज रूपमा उत्तर दियो । गुरुजीलाई चित्त बुझ्यो । अरूलाई जेसुकै होस् ।
गुरुको बेदना अरूलाई भन्ने कुरा थिएन । उनैमा सीमित थियो । नमस्कारको नियमित प्रश्नवर्षाले सन्तरामलाई भने आफ्नै साथीप्रति टीठ लागेर आयो । ‘गुरुजीहरू सायद नमस्कारका भोका हुन्छन् क्या र ।’ उसले क्षणिक विश्लेषण गर्यो । सुनाउन मिलेन ।
सन्तराम नमस्कारका विषयमा केही भन्न तम्सियो । गुरुजीका अनुहारमा सूर्योदय भयो । उनी हाँसे ।
नमस्कार थरिथरिका हुन्छन्, सन्तरामले सुरु गर्यो । थुप्रै मान्छेका बीच कोही एकमुष्ट नमस्कार गर्छ भने त्यो हचुवा नमस्कार, मन नलागी नलागी मुस्किलले कोही दुईहात जोड्छ भने त्यो कछुवा नमस्कार, कोही डराइ-डराइ नमस्कार गर्छ भने त्यो मुतुवा नमस्कार, आँतले सत्तोसराप गर्दै हातले नमस्कार कोही गर्छ भने त्यो कूटनीतिक नमस्कार हुन्छ । नेपालभित्रै मात्र खोजतलास गर्दै जाने हो भने यसमा नौवटा विद्यावारिधि तयार हुन्छ । महादेशमा प्रवेश गरे सातवटामा सातसय । घटीमा ।
‘एउटा कुरा सुन्नु हुन्छ ?’ सन्तरामले फेरि सोध्यो । ‘तपाईंका एउटा कुरा कहिल्यै नसकियोस् जस्तो लाग्छ, किन नसुन्नू ।’ गुरुजीले घुमाउरो जवाफ दिए ।
सन्तराम भट्द्भटायो – ल, सुन्नुस् । नन्दप्रसादको नाति, छन्दप्रसादको छोरा, नाउँ नभनौं कुनै न्यायालयका नामुद न्यायमूर्ति । न्याय तलमाथि पर्ला भन्ने उनलाई ठूलो चिन्ता । त्यसैले न्यायमूर्तिजी कसैको नमस्कारको चियोचचौसम्म गर्दैनथे । जसले जसरी नमस्कार गरेपनि मूर्तिवत् । कुनै हलचल छैन । देउतालाई नमस्कार गरे जस्तो । मातहतका बबुरा बिचारी त्यस्ता न्यायमूर्तिसँग सधैँ सशङ्कित । नमस्कारको नौलो उपाय तिनले रचे । पत्थरकोटबाट पत्थर ल्याइयो, झन्डामुनि ठड्याइयो । बिचारीका बुद्धिले त्यसैमा नमस्कार ठोक्यो । उस्तै प्रतिक्रियाविहीन । न्यायमूर्ति ठहरियो । आखिर फरक के नै छ र ! सबैले फैसला गरे ।
‘त्यो कस्तो नमस्कार ?’ पक्कै तपाईं सोध्नुहोला । – ‘त्यो हो प्रतीकात्मक नमस्कार ।’
न्यायालयका कुरा कहिलेकहीँ अरूले त थाहा पाउँछन्, न्यायालयभित्रै थाहा नहुने कुरै भएन । एककान दुईकान मैदान । बिचारीका बुद्धिले न्यायमूर्तिको बिर्को उघ्र्यो । र, नमस्कार चलमलाउन थाल्यो । चलायमान नमस्कारको आदान-प्रदानले सबैको मन फुर्यो, निन्द्रा जुर्यो ।
नमस्कारका यस्ता लहरा कति छन् कति । यसका पछि नलाग्नुस् । नमस्कारको नसा नसा थाहा पाएझै गरी सन्तरामले सल्लाह दियो । महादेवको ज्योतिर्लिङ्ग जस्तो न छेउ पत्ता लाग्छ न टुप्पो, उसले अझै थप्यो । यस्तो छेउ न टुप्पाको कुराका पछि लागेर ‘केही हुन्छु-गर्छु’ भन्नु बाँदरले घर र नेताले देश बनाउँछु भन्नु जस्तै हो । उसले कुरो टुङ्ग्यायो ।
उनीहरूका कुरामा हाम्रो किन हस्तक्षेप ? चित्त नबुझे अर्को संस्करणमा कुरा गरौँला । अहिलेलाई बाटो लागौँ, ‘हाम्रो पनि नमस्कार ।’ (‘गोरखापत्र’ २०६०/८/२२)
०००
नुवाकोट, हाल काठमाडौं
‘थोते हाँसो’ (२०६२)








































पिँडालु पण्डितलाई नकोक्याउने पीँडालु प्रस्तुत गरेबापत सुति सुती पढेर सुतेकै अवस्थामा गरेको सुतुवा नमस्कार