साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमस्कारको नयाँ संस्करण

महादेवको ज्योतिर्लिङ्ग जस्तो न छेउ पत्ता लाग्छ न टुप्पो, उसले अझै थप्यो । यस्तो छेउ न टुप्पाको कुराका पछि लागेर ‘केही हुन्छु-गर्छु’ भन्नु बाँदरले घर र नेताले देश बनाउँछु भन्नु जस्तै हो ।

Nepal Telecom ad

पिँडालु पण्डित :

‘नमस्तेको इकार उकार हुँदैन, न त आकार नै हुन्छ’- गुरुजी पढाउँदै थिए, विद्यार्थीहरू सुन्दै थिए । एउटा विद्यार्थी जुरुक्क उठ्यो, ‘इकार उकार र आकार नभए पनि प्रकार त हुन्छ होला नि । सर ?’ उसले आफ्नो कौतूहल पोख्यो । सधैँ ‘गुड मर्निङ्ग’ खाइरहेका गुरुजीलाई नमस्तेको प्रकारसँग के सरोकार । तैपनि उनी आत्तिएनन् । ‘गुरु बन्न सजिलो छ, चेलो बन्न गाह्रो’- भन्ने उखान उहिल्यै रटिसकेका गुरुजीलाई परिस्थिति उल्टाउन कसले सिकाउन पर्थ्यो र । उनले सुनेको नसुन्यै गरे । बोल्ने अधिकार उनको थियो, धाराप्रवाह बोलिरहे । सुन्नु र बुझ्नु विद्यार्थीको कर्तव्य हो- सुनुन्-नसुनुन्, बुझन-नबुझुन्, उनलाई मतलब भएन । सुनेको जति जम्मै बुभनुपर्छ भन्ने पो कहाँ छ र । उनले मनमनै सोचे ।

जानेको जति जम्मै पढाउने र सुनेको जति जम्मै बुझ्ने हो भने न परीक्षा लिएर सकिन्छ, न परीक्षा दिएर सकिन्छ । अहिलेसम्म सयमा सय नम्बर पनि त कसैले ल्याएको छैन, कसैले पाएको छैन । गुरुजी अर्को निष्कर्षमा पुगे । आफ्नो प्रभाव र छविमा धमिरा लाग्न नदिन गुरुत्याई छाँट्दै उनले भने, ‘बाबू हो । तिमीहरूले किताबमा जत्ति छ त्यत्ति पढे (घोके) पुग्छ । धेरै बोझ बोक्नु हुन्न । संसारमा सिक्नु पर्ने कुरा धेरै छन् ।’

उनको चलाक्याइँ सिटामोल बन्यो । गुरुजी एक सिंढी माथि, विद्यार्थी साविकबमोजिम एक सिँढी तल । आजकल जताततै ‘सर’ भनिने गुरुजीका क्याप्सुल यसै गरी बाँडिएका छन् । तपाईं भन्नुहोला त्यस्ता क्याप्सुलको गुणस्तर परीक्षण भएको छैन ? उत्तर सजिलो छ, छैन । हुति भए आफैँ जाँच्नुस् ।

गुरुजीले नमस्कारको प्रकार पत्ता लगाउने अघोषित गृहकार्य पाएका छन्, – आफ्नै विद्यार्थीबाट । ‘यो मेरो कर्तव्यभन्दा बढी लहड हो’ उनले सोचेका छन् । यो लहडी सोचाइ आजकल उनको अभिन्न साथी बनेको छ र बेलाबखत उनलाई ब्यूँझाइरहन्छ,- ए ! नमस्तेको प्रकार त हुन्छ होला नि ?

आज पनि साविकबमोजिम दैलोमा दलिनु अघि ओछयानबाट छुट्टिदै उनकी अर्धाङ्गिनी याने श्रीमतीजी आफ्ना पतिदेवका गोडा समातेर टाउको अडयाउन पुगिन् । गुरुजीले भाग्यमानी भएस् भने या सौभाग्यवती भएस् भने त्यति हेक्का रहेन । श्रीमतीजीले ‘यसैगरी सधैँ रातभर सुतेर बिहान सँगै उठ्न पाइयोस्’ भनेर कामना गर्दै पाउ परेकी हुन् वा ‘हिजोका दिनसम्म राम्रैसँग पाल्यौ-खुवायौ, आज पनि प्रसन्न भएर आफ्नो कर्तव्य पूरा गर’ भनी कूटनीतिक आदेश दिएकी हुन् उनले बुझ्न खोजेनन् । तर आज उनका आँखा अलिकति खुले- ‘यो पनि त नमस्कारको एउटा प्रकार हो ।’ अनि, नाम ? अँ ! ठीकै छ- ‘पछि संशोधन गर्न परे गरौँला’ भन्दै गुरुजी एक्लैले यसको नामकरण गरे, ‘नतमस्तक नमस्कार ।’

नोटसँग भोट साट्दा चोट खाएका नेतालाई एकदिन टेवहालमा टुइँटुइँ हिँडिरहेका बेला टुप्लुक्क भेट भयो । गुरुजी आफ्नै संस्कारमा दुईहात जोडेर प्रस्तुत भए- ‘नेताजी ! नमस्कार ।’ नेताजी हात बटार्दै मुड्की उठाएर आफ्नो बाटो लागे । गुरुजी छक्क । उनले अनायासै सँगैका साथी सन्तरामलाई प्वाक्क सोधे, – ‘यो कस्तो नमस्कार ?’ जस्तो प्रश्न उस्तै उत्तर- ‘अवसरवादी नमस्कार।’ सन्तरामले सहज रूपमा उत्तर दियो ।

सन्तरामको जवाफले उनी एक मन त सान्तै खुसी भए । तर उनलाई आफ्नो गुरुत्वमा केही धक्का लागेजस्तो अनुभव भयो । र पनि, व्यक्त गर्ने कुरो भएन । उनी एकछिन् चुपै लागे । तर सक्सक् मेटिएन । गुरुजी मनमनै छट्पटाए । उनको छट्पटाइसँग अपरिचित सन्तराम भने लगातार लम्किरह्यो, लगनखेलको बस समाउन ।

दलीय व्यवस्थाका पक्षपाती गुरुजी दलहरूको दौडादौड देखेर दड्दास थिए । कहिले समझदारीपछिको सत्ता साझेदारी, कहिले आन्दोलनमा अग्रसरता । कहिले आलिङ्गन, कहिले पानी बाराबार- के-के हो ! के-के । पेट भोको भए पनि यस्तो रामरमिता हेर्ने धोको उनमा अझै छ ।

दलहरूले दलहरूकै दैलो चहारेको, ढोके भेटघाट कोठेबैठक बेलाबखत गुहारेको, सके यतै नसके उतै छोटकरीमा कतै न कतै चिनापर्ची गर्दै गरेको अखबारी हालखबरसँग पनि गुरुजी अनभिज्ञ थिएनन् । नमस्कारको प्रसङ्गमा उनलाई यहाँ पनि अर्को कौतूहल जाग्यो । यस्ता कार्यक्रममा पनि त नमस्कारको आदान-प्रदान हुन्छ होला ? हुन्छ, पक्कै हुन्छ । उनले कसैलाई सोध्न चाहेनन् । नमस्कार बिनाको संस्कार तिरस्कार हुन्छ, पुरस्कार पाउन त नमस्कार गर्नै पर्छ ! उनको मनले लिँडे ढिपी गर्‍यो, ‘सोध, साथीसँग सोध् ।’

उनले सहन सकेनन्, मौनता तोडे । सबै बेलीबिस्तार सुनेपछि,- ‘अदृश्य कारोबारका लागि अदृश्य रूपमै गरिने यस्तो नमस्कारलाई भूमिगत नमस्कार भन्छन् ।’- सन्तरामले उसैगरी सहज रूपमा उत्तर दियो । गुरुजीलाई चित्त बुझ्यो । अरूलाई जेसुकै होस् ।

गुरुको बेदना अरूलाई भन्ने कुरा थिएन । उनैमा सीमित थियो । नमस्कारको नियमित प्रश्नवर्षाले सन्तरामलाई भने आफ्नै साथीप्रति टीठ लागेर आयो । ‘गुरुजीहरू सायद नमस्कारका भोका हुन्छन् क्या र ।’ उसले क्षणिक विश्लेषण गर्‍यो । सुनाउन मिलेन ।

सन्तराम नमस्कारका विषयमा केही भन्न तम्सियो । गुरुजीका अनुहारमा सूर्योदय भयो । उनी हाँसे ।

नमस्कार थरिथरिका हुन्छन्, सन्तरामले सुरु गर्‍यो । थुप्रै मान्छेका बीच कोही एकमुष्ट नमस्कार गर्छ भने त्यो हचुवा नमस्कार, मन नलागी नलागी मुस्किलले कोही दुईहात जोड्छ भने त्यो कछुवा नमस्कार, कोही डराइ-डराइ नमस्कार गर्छ भने त्यो मुतुवा नमस्कार, आँतले सत्तोसराप गर्दै हातले नमस्कार कोही गर्छ भने त्यो कूटनीतिक नमस्कार हुन्छ । नेपालभित्रै मात्र खोजतलास गर्दै जाने हो भने यसमा नौवटा विद्यावारिधि तयार हुन्छ । महादेशमा प्रवेश गरे सातवटामा सातसय । घटीमा ।

‘एउटा कुरा सुन्नु हुन्छ ?’ सन्तरामले फेरि सोध्यो । ‘तपाईंका एउटा कुरा कहिल्यै नसकियोस् जस्तो लाग्छ, किन नसुन्नू ।’ गुरुजीले घुमाउरो जवाफ दिए ।

सन्तराम भट्द्भटायो – ल, सुन्नुस् । नन्दप्रसादको नाति, छन्दप्रसादको छोरा, नाउँ नभनौं कुनै न्यायालयका नामुद न्यायमूर्ति । न्याय तलमाथि पर्ला भन्ने उनलाई ठूलो चिन्ता । त्यसैले न्यायमूर्तिजी कसैको नमस्कारको चियोचचौसम्म गर्दैनथे । जसले जसरी नमस्कार गरेपनि मूर्तिवत् । कुनै हलचल छैन । देउतालाई नमस्कार गरे जस्तो । मातहतका बबुरा बिचारी त्यस्ता न्यायमूर्तिसँग सधैँ सशङ्कित । नमस्कारको नौलो उपाय तिनले रचे । पत्थरकोटबाट पत्थर ल्याइयो, झन्डामुनि ठड्याइयो । बिचारीका बुद्धिले त्यसैमा नमस्कार ठोक्यो । उस्तै प्रतिक्रियाविहीन । न्यायमूर्ति ठहरियो । आखिर फरक के नै छ र ! सबैले फैसला गरे ।

‘त्यो कस्तो नमस्कार ?’ पक्कै तपाईं सोध्नुहोला । – ‘त्यो हो प्रतीकात्मक नमस्कार ।’

न्यायालयका कुरा कहिलेकहीँ अरूले त थाहा पाउँछन्, न्यायालयभित्रै थाहा नहुने कुरै भएन । एककान दुईकान मैदान । बिचारीका बुद्धिले न्यायमूर्तिको बिर्को उघ्र्‍यो । र, नमस्कार चलमलाउन थाल्यो । चलायमान नमस्कारको आदान-प्रदानले सबैको मन फुर्‍यो, निन्द्रा जुर्‍यो ।

नमस्कारका यस्ता लहरा कति छन् कति । यसका पछि नलाग्नुस् । नमस्कारको नसा नसा थाहा पाएझै गरी सन्तरामले सल्लाह दियो । महादेवको ज्योतिर्लिङ्ग जस्तो न छेउ पत्ता लाग्छ न टुप्पो, उसले अझै थप्यो । यस्तो छेउ न टुप्पाको कुराका पछि लागेर ‘केही हुन्छु-गर्छु’ भन्नु बाँदरले घर र नेताले देश बनाउँछु भन्नु जस्तै हो । उसले कुरो टुङ्ग्यायो ।

उनीहरूका कुरामा हाम्रो किन हस्तक्षेप ? चित्त नबुझे अर्को संस्करणमा कुरा गरौँला । अहिलेलाई बाटो लागौँ, ‘हाम्रो पनि नमस्कार ।’ (‘गोरखापत्र’ २०६०/८/२२)

०००
नुवाकोट, हाल काठमाडौं
‘थोते हाँसो’ (२०६२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

पिँडालु पण्डितलाई नकोक्याउने पीँडालु प्रस्तुत गरेबापत सुति सुती पढेर सुतेकै अवस्थामा गरेको सुतुवा नमस्कार

Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x