युगल बसेलनिसाफ
त्यसै रमाइन्छ, मुक्खे ? हाम्रो पच्छेले पनि ती दुवै थरीको पच्छेले जस्तै जरिमाना नहुने कसुर गर्न पाउनुपर्छ, तब मात्रै रमाउन सकिन्छ । आजको कचहरीले यही निणर्य गरोस् ।

युगल बसेल :
(मुखियाको आँगनमा गाउँलेहरू भेला भएर बिछाइएका गुँदरीहरूमा बसेका छन् । नरेले आफ्नो डोराफेराभित्रको डाले घाँस काटिदिएको नालिस खरेले गरेकोले सो नालिसको सुनुवाइ गरी न्याय निरूपण गर्ने सिलसिलामा गाउँलेहरूको घुइँचो कचहरीमा लागेको छ ।)
मुख्य पात्रहरू : मुक्खे, खरे, नरे, लखन्तरे, पन्तरे र खप्परे ।
मुक्खे : केनाम, जम्मा हुनुपर्ने मान्छे सबै जम्मा भइसकियो, अब समय खेर नफालौँ, छलफलतिर लागौँ कसो ?
गाउँलेहरू : हो, लागौं अब छलफलतिर लागौँ । समय किमती छ ।
मुक्खे : केनाम, लौ भन खरे, तिम्रो गुनासो के हो ? नालिस के हो ? बढाइचढाइ नगरी भन, सत्ते सत्ते भन ।
खरे : मुक्खे दाइ र यहाँ भएका सप्पैलाई मेरो दशै औँला जोडी नमस्कार । ममाथि नरेले ठूलो अन्ने गर्यो ? अत्तेचार गर्यो आज । यहाँ जम्मा भएको कचहरीले दूधको दूध पानीको पानी छुट्याइदिनु पर्याे, मैले नियाँ पाउनुपर्यो ।
मुक्खे : केनाम, मुक्खेको आँगनमा अड्डा अदालतमा जस्तो अन्ने हुन्न, जता घुस, कोसेली उतै सुसेलीको बान्की यहाँ चल्दैन। यहाँ मेरो बोली चल्छ, समाजको सकाराइ चल्छ। हो कि होइन ?
गाउँलेहरू : हो हो, यहाँ जे चल्छ मुक्खेको चल्छ ।
मुक्खे : खरे, केनाम, कस्तो अन्ने परेको हो त तिमीलाई ? नरेले के हराम बिराम गरेको हो, रिठ्ठो नबिराई भन ।
खरे : सुनिदेओ सबैले, यो साइँदुवा नरेले मेरो एकलौटी हक भएको मेरा बाजेका पालादेखिको मेरै बारीका डिलको दबदबेको डाले घाँस काटिदियो, सत्यनास गरिदियो । यस्तो हुर्मत लिन पाइन्छ ?
सबैजना : पाइँदैन, पाइँदैन ।
खरे : यो त जसको लाठी, उसैको भैंसी भने जस्तो भएन ? यसरी यो बजियाले मेरो घाँस सुइँकाइदिन थालेपछि मेरा डिंगाबाछाले के नर्क खाने ?
धेरै जना : हो त नि बखुरा ! खरेललाई अन्ने परेकै हो ।
नरे : ठूलो भए पनि सानो भए पनि अन्ने भनेको अन्ने नै हो । यहाँ बुढी मरी भन्दा पनि काल पल्कने हो कि भन्ने डर छ, हो कि होइन ?
धेरैजना : हो, हो । कुरो सही हो ।
नरे : (कुर्लँदै) हिजो मेरो डाले घाँस काटिदिनेले भोलि मेरा गाई भैसीका दाम्ला काटिदिन सक्छ, मेरा जहान बच्चा समातिदिन सक्छ । सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ ।
धेरैजना : हो, हो, कसुरलाई ठूलो सानो मान्नुहुन्न । काँक्रो चोरलाई मुड्के सास्ती भए पनि दिनैपर्छ ।
मुक्खे : केनाम नरे, हो त ? तैँले खरेको दबदबे फाँडेर घाँस सुइँकाएको, आफ्ना डिंगाबाछा घँसाएको हो ? साँचो साँचो भन् ।
नरे : हो, मैले खरेको डाले घाँस फाँडेकै हो । मेरो डोराफेरामा एउटै त्यान्द्रो पनि डाले घाँस छैन । खरेका डोरा फेराभरि दमार परेको छ डाले घाँस । मैले आफ्ना भोका डिँगाबाछालाई कुनिउँजत्रो एक भारी घाँस खुवाएँ त के बिराएँ ? म आफैले त्यो घाँस बुज्याएको त होइन नि !
खरे : अनि मेरो बारीको घाँस राम्रो भयो भनेर त्यसको सत्यानाश गर्न, मेरा जहान राम्रा भए भनेर तिनको हातै समाएर अनाप सनाप गर्न पाइन्छ तँ तैले ?
नरे : कमनिस्ट शासनमा सबैको सम्पत्तिमा सबैको हक बराबर हुन्छ भनेर अहिलेका हाम्रा मान्नेले चुनावताका भनेको होइन ? अहिले मान्नेहरूकै कमनिस्ट शासन छैन र ? खरेको घाँस मेरो पनि होइन र ? होइन भने जेजे फत्तुर लगाउनु छ तिनै मान्नेलाई लगाऊ ।
मुक्खे : नरे, तैँले केनाम, मान्नेको चुनावताकाको भाका याद गरेर अमान्ने काम गरिछस् ! त्यसै हो भने त मान्नेको कैलासकुट महलभन्दा पनि राम्रो नौतले दरबारमा तँ नै गएर ढलीमली गरे भइहाल्यो नि ।
नरे : अनि त्यस्ता खेलाँची कुरा गर्नेलाई भोट दिउँ भनेर तपाईंले किन भनेको त, मुक्खे दाइ ?
मुक्खे : अनि त्यो बेला त केनाम उनले जाँडपानी ख्वाए, फिला लुछाए, यो खल्तीमा (इस्टकोटको खल्ती देखाउँदै) बिटा ठुँसाए । त्यसपछि त जसका सीता खाई उसका गीता गाई गर्नुपरिहाल्यो नि नरे, खै कुरो बुझेको ?
नरे : त्यस्तो सीता खाएर गीता गाउने मुखले आउने चुनावमा फलानालाई जिताऊँ, तिलानालाई हराऊँ भन्यौ भने खब्दार मुक्खे ! फेरि मुखैले छास्ने, मुखैमा ताक्ने नौबत आउला नि !
(सबैजना मुसुमुसु हाँस्छन्, खरे पनि शिर झुकाएर, अनुहार लुकाएर मुसुमुसु हाँस्छ)
मुक्खे : (सबैको ध्यान आकर्षित गर्दै) अब गए मरेका कुरा छोडम्, केनाम आजैका कुरा गरम्, कसो ?
सबैजना : हो, हो, आजका कुरा गरम् अब ।
मुक्खे : केनाम नरे, तैँले हराम बिराम गरिछस्, जरिमाना त तिर्नै पर्यो नि ।
नरे : मलाई जरिमाना तिराउने, आफूले दस्तुर डकार्ने, हैन त मुक्खे दाइ ?
मुक्खे : (मुसुमुसु हाँस्दै) केनाम, त्यस्तो इलजाम नलगा न जालिम !
लखन्तरे : चाइनेजो, निर्णय हुनुअघि मेरो कुरा मुक्खे र यहाँ हाजिर भएका सबैले सुनम् । अब हाम्रो हित्तचित्त मिल्ने नरेलाई डन्ड तिराउने हो भने खरेको हित्तचित्त मिल्ने पन्तरेलाई पनि डन्ड तोक्नुपर्छ आज । मुक्खे केनाम , किन र ? के गर्यो र उसले ?
लखन्तरे : पन्तरेले पुसाँ मेरो बारीको मूला चोरेको होइन ? मूला चोर र भित्ताफोर एउटै ड्याङका मूला हुन् । उसलाई डन्ड नतोकी मैले मान्नेवाला छैन ।
मुक्खे : के भन्छस् त खरे, केनाम अप्टिक त तेरै इष्टमाथि पनि आइलाग्यो नि ? पन्तरेले मूला चोरेकै हो ?
पन्तरे : जाबो एउटा रातो मुला चोरेको कुरा पनि समाजका अगाडि हाला भएर कबुल गर्नुपर्ने भो मैले, हैन ?
खरे : (घोसे मुन्टो लगाउँदै) आजसम्म चुप लागेर बस्ने, ममाथि अन्ने भएपछि मैले कचहरी जुटाउँदा गाडेको मुर्दा उधिन्ने ? मेरो इष्टमाथि खनिने ?
मुक्खे : के गर्छस् त खरे, केनाम, हराम बिराम गरेपछि डन्ड जरिमाना त तिर्नै पर्यो । बरू तैँले तिर्ने र पन्तरेले तिर्ने डन्डको पैमाना पो फरक फरक होला त ।
खरे : मेरा कारणले मेरो इष्ट पन्तरेलाई जरिमाना तिराउने नियाँ मलाई चाहिएन । बरू नरेले गरेको अन्ने सहन्छु । आइन्दा मेरो सम्पत्तिमा नरेले आँखा लगायो भनेचाहिँ आँखै फोरिदिने हो नि मैले । बरू नेल जेल जे भोग्न परे पनि भोगुँला ।
मुक्खे : केनाम, खरेले नालिस फिर्ता लिएपछि नालिस पनि ढिसमिस कचहरी पनि ढिसमिस गरम् अब ।
खप्परे : पर्खम् पर्खम् । यो गाउँमा के नरे पच्छे र खरे पच्छे मात्रै छन्, हाम्रो पच्छे छैन ? दुई थरी पच्छे त जरिमानाबाट बचेर रमाउने भए । हाम्रो पच्छे कसरी रमाउने ?
मुक्खे : केनाम, रमाओ न त तिमीहरू पनि, कसले छेकेको छ र ?
खप्परे : त्यसै रमाइन्छ, मुक्खे ? हाम्रो पच्छेले पनि ती दुवै थरीको पच्छेले जस्तै जरिमाना नहुने कसुर गर्न पाउनुपर्छ, तब मात्रै रमाउन सकिन्छ । आजको कचहरीले यही निर्नय गरोस् ।
खप्परे पच्छेका खप्परेहरू : हो, हो, हामीले पनि कसुर गर्न पाउनु पर्छ । हाम्रो हित जिन्दावाद !
मुक्खे : (एकछिन गमेर) ल ल, यिनीहरुलाई पनि केनाम, यस्तै काँटको कसुर गर्ने मौका दिम्, कि कसो भन्छौ कचहरेहरू ?
सबै : दिऊँ, दिऊँ, कसुर गर्ने मौका दिऊँ, रमाउने मौका दिऊँ ।
(कचहरी सकिन्छ।)
०००
तुम्कोट, सन्धिखर्क -१, अर्घाखाँची
Subscribe
Login
0 Comments
Oldest










































