साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर कि सरदार ?

मैले मेरो लागि सिट छोडिदिने सज्जन विद्यार्थीतिर निरीह आँखा फिराएँ जसले आफू बसको सिट छोडेर मप्रति देखाएको सदाशयता र सम्मानले नै म ‘गुन्डाको सरदार’ बन्न पुगेको हुँ ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

हामी पति-पत्नी यात्राको सुविधा प्राप्त गर्नका लागि बस पर्खाइको असुविधा भोगिरहेका थियौँ । आखिर लामो कष्टदायक प्रतीक्षापछि बस आइपुग्यो । हामी जसरीतसरी बसमा चढ्यौँ । सारसले झै घित्रो तानेर म सिटको लागि आँखा घुमाउँदा त्यहीँ बसको डन्डी समातेर उभिएका मैले पढाएका केही पुराना विद्यार्थीहरूमाथि आँखा पर्‍यो । उनले पनि मलाई देखेछन् र ‘सर, नमस्कार’ भन्दै टाउको हल्लाए । मैले उनको नमस्कार फर्काउन नभ्याउँदै एउटाले ‘सर, यता सिट छ’- भन्यो । जसरीतसरी त्यो खाली सिटसम्म पुगेर पत्नीलाई बसालेँ एवं म उभिइराखेँ । पत्नी बसेको सिटकै छेउमा भ्यालनेर एउटा युवक आधाभन्दा बढी सिट घेरेर बसिरहेको थियो तथा चुरोटको धुँवा उडाउँदै एउटा फिल्मी पत्रिकामा चुर्लुम्म डुबेको देखाउन खोजिरहेको थियो । पत्नी पनि यात्राको आपत्-धर्म सम्झी सिटको एक छेउमा सङ्कुचित हुँदै बसिन् । ‘सर, यता बसौँ’- पछाडिबाट कसैको आवाज आयो । फर्केर हेरेँ । एउटा अर्को छात्र आफ्नो सिटबाट उठेर मलाई बोलाउँदै थियो । मैले ‘भो, हुन देऊ । तिमी टाढाको सफरबाट थाकेर आएका छौ, बस’ भन्दा पनि मानेन । म दङ्ग परेँ । हामी विद्याथीहरूमा अनुशासनहीनताको कुरा गर्छाैँ, नैतिक अधःपतनको कुरा गर्छाैँ, तर विद्यार्थीहरूमा गुरुप्रतिको आदर- भाव मिटेको हुँदैन भन्ने एउटा ज्वलन्त प्रमाण त मेरै सामु थियो । म उसलाई धन्यवाद दिई त्यस सिटतिर जान पाइला के बढाउँदै थिएँ, रेलिङ्ग समातेर उभिएका छात्रहरूमध्ये एउटाले मेरो हात टप्प समाउँदै भन्यो पख्नोस् सर ! तपाईं यहीँ मैडमसँगै बस्नोस् । त्यो सिटमा यो केटोलाई पठाउनुपर्‍यो ।’ उसले मेरी पत्नीको छेउमै बसेको युवकलाई सम्बोधन गर्दै भन्यो- ‘ए मिस्टर । तपाईं त्यो पछाडिको सिटमा गइदिनोस् न ।’ कुरा बुझेर मैले- ‘भो, हुन देऊ, म त्यहीँ बसिहाल्छु नि ?’ भन्दा पनि मानेन । त्यो युवकलाई सिटबाट उठ्न कर गरिराख्यो । तर उसले टेरपुच्छर नलाएको देखी झक्र्यो- ‘सुन्नुभएन त्यो सिटमा गइदिनोस् भनेको ?’ सिटवाला युवकले यो झर्काइलाई बेवास्ता गर्दै केही उपेक्षाको स्वरमा भन्यो- ‘म किन जाऊँ ? म आफ्नो सिट छोडेर जान्न ।’

‘श्रीमान्-श्रीमती छुट्टा छुट्टै बस्ने ? तपाईं पल्लो सिटमा जानै पर्छ’- आदेशात्मक स्वर आयो ।

‘महिलासित टाँसिएर बस्न चाहेको होला नि ?’ अर्कोले टिप्पणी गर्यो । सिटवाला युवकले हामीतिर हेर्दै व्यङ्ग्य शैलीमा भन्यो- ‘यस्ता सौखिनले छुट्टै आफ्नो गाडी राख्नुपर्छ नि !’

युवकहरूको वादविवादबाट म तथा मेरी पत्नी दुवैले अपमान र लज्जा महसुस गरिरहेका थियौँ । तर केही बोल्नु पनि निरर्थक नै थियो ।

‘यति विवाद किन चाहियो : खुरुक्क पल्लो सिटमा गइदिए त समस्या टुङ्गिहाल्यो नि ?’ अर्कोले सम्झौताको स्वरमा भन्यो ।

‘अहँ, म मरिकाटे पनि जान्न ।’ सिट वालाले ठोकुवा गर्‍यो ।

‘के रे ? तिमी जानैपर्छ’- लामो जुल्फी पालेको अर्को युवक मर्यादाको एक सिँढी तल ओर्लदै घुर्क्याे ।

‘मलाई मेरो सिटबाट कसले उठाउँछ हेरौँ !’ सिटवाला युवकले अघिल्लो सिटको फलामको डन्डीमा मुड्की बजाओ, बङ्गारा किट्यो र नाकबाट तात्तातो सासको मुस्लो फाल्यो । म यस प्रसङ्गको हुनसक्ने अप्रिय परिणतिबाट सशङ्कित हुँदै दुवै थरिलाई रोक्ने प्रयास गर्दै भनेँ- ‘भो, हुन देऊ । विवाद नगर ! म उभिएरै पनि जान सक्छु ।’ तर त्यो उभिएको ग्रुपले पाखुरा सुर्कन थालिसकेको थियो । एउटाले मलाई हकार्दै फिल्मी संवाद बोल्यो- ‘सर, यो हाम्रो इज्जतको प्रश्न हो । हामीमाथि उठ्ने हात हामी भाँचिदिन्छौँ ।’ उसको मुख ह्वास्स गनायो । राताराता आँखा पार्दै सिटवालासँग गर्ज्याे- ‘उठ्दैनस् स्साले

‘म उठ्दैन के गर्छस् ? यस्तो मनपर्दी ? यस्तो गुन्डागर्दी ?’- सिटवाला युवक पनि तात्न थाल्यो । तर एकाएक तीन-चार जना युवकहरू त्यसमाथि खनिए । झन्डै एकमिनटपछिको आँधी-बेहरीपछि त्यो युवकलाई सिटबाट तानी रेलिङ्गनेर ल्याई उभ्याइयो ।

अब दुवैतिरबाट धाराप्रवाह अश्लिल गालीको वर्षा सुरु हुन थाल्यो । बसका महिलाहरूले टाउको निहुराए । बूढाहरूले दबेको स्वरमा टिप्पणी गर्न थाले । मेरी पत्नी पनि अपमान र लज्जाले रातो अनुहार लगाउँदै झ्यालतिर सरेर बाहिर हेर्न थालिन् । म किकर्तव्यविमूढ भएर उभिइराखेको थिएँ तर एउटा युवकले ‘सर, अब के हरिराख्या ? यो सबै तपाईंकै निम्ति त हो नि । थपक्क बस्नुुस्’ भन्दै मलाई सिटमा थेचार्‍यो । हुन त यो झगडा गुरुको सुविधा र मर्यादाको रक्षाको लागि होइन, बरु आफ्नो अहंको रक्षार्थ थियो, मात चढेको परिणति थियो । तर मैले चाहेर पनि केही गर्न सकिनँ । बसका अन्य यात्रु पनि रमिते नै बने । मैले पिटाइ खाने युवकतिर हेरेँ कपाल भुत्लिएको, कठालोनेर कमिज च्यातिएको, ओठ चिरिएर रगत बगेको, देब्रे आँखाको मुन्तिर निलो मासु उक्सिएको देखेँ । मेरो मनभित्र उकुसमुकुस भयो । उसका आँखाले ममाथि घृणा बर्साइरहेका थिए । म जुरुक्क उठेर उसलाई सिटमा बस्न आग्रह गर्दै भनेँ- ‘बडो नराम्रो भयो । मैले यस्तो चाहेकै थिइन ।’ तर जुल्फीवाला युवकले आँखा तर्दै मलाई पुनः सिटमा धकेल्यो । घृणाले मुख बटार्दै घाइते युवक मसित गर्‍यो – ‘भो, रहन दे गुन्डाको सरदार ! काटेको घाउमा नून-चुक छर्छस् ? आफ्नो ठाउँमा भएको भए नानीको ताईं हेर्थे । आफ्नो घरमा त लुते कुकुर पनि सिंह बन्छ बुझिस् ?’

म भित्रभित्रै आहत भएर पुनः उठ्न खोजेँ तर पुनः बलजफती बसालिएँ । यस्तै क्रम केही बेर चल्यो, मानौँ म कक्षाको कुनै गल्तीमा उठबस गराइदैछु । यी विद्यार्थीहरू मेरा गुरु बनेका छन् । पढाउँदा कहिलेकाहीँ मैले यिनलाई सजाय दिएको हुनसक्छु, त्यसैले आज यिनले मलाई भावनात्मक सजाय दिएर मानौं पुरानो बदला लिइरहेका थिए । मैले मेरो लागि सिट छोडिदिने सज्जन विद्यार्थीतिर निरीह आँखा फिराएँ जसले आफू बसको सिट छोडेर मप्रति देखाएको सदाशयता र सम्मानले नै म ‘गुन्डाको सरदार’ बन्न पुगेको हुँ । मनले मान्दै नमानेकोले बसको बीच गल्लीमा बसेकी एउटी अधबैँसे स्वास्नी मान्छेलाई सम्बोधन गर्दै ‘तपाईं यो सिटमा बस्नोस्न ।’ भनेर सिट छोडी म उभिएँ । त्यो स्वास्नीमान्छे पनि मेरो कथनको प्रतीक्षा गरेरै बसेझै तत्काल उठी र सिटमा गजधम्म बसी । म उभिएरै गन्तव्यसम्म पुगेँ । तर बसबाट नओलँदासम्म विजीत र विजेता दुवैको आँखाको राप सहन नसकी मेरो टाउको निहुरिरह्यो ।
(दृष्टिकोण, ०४९-१-२२)

०००
‘सुनको फुल पार्ने पोथी’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x