रामप्रसाद अर्याल ‘अविराम’अराजकको घाँडो
अहिले पनि दुरदराजतिर बेला न कुबेला बास्ने दुनियाँको अमनचैन, मस्त निद्रा मास्ने अलच्छिना भालेलाई मध्यरातमा पूजा गरेर धुप्याएर, घरको घुरी कराइन्छ, स्वर्गे पठाइन्छ ।

रामप्रसाद अर्याल ‘अविराम’ :
राजकको उल्ला अराजक हुन्छ । राजक भनेको राजाहरूकै समूह हो । राजा भन्ने वित्तिकै कतिको कन्चट तात्छ, कतिको आशाको तान्द्रो जाग्छ । राजा घरका पनि हुन्छन् र वनका पनि हुन्छन् । घरका राजाले जहानको चित्त, बुझाउन सकेनन् भने परिवारले नै तह लगाउँछन् । वनका राजालाई वनका जीवजन्तु जनावरले नै तह लगाउँछन् । दलदले भासमा जाक्छन् । हामी कहाँ पनि राजाको अहित जिताउने, उपद्रो मच्चाउने राजालाई तह लगाएका हुन् । नङ्ग्रा काटेर र दाह्रा फुकालेर ।
अहिले राजतन्त्रको जरो पलाउन थालेको छ । त्यसको मुन्टो निमोठ्न र गलो चिम्मोट्न देशैभरिका छोटे राजाहरू तल्लीन छन् । उनीहरु राजाका स्थानमा आएका हुनाले हामी राजा नै हौँ भन्ठान्छन् । मतदाता चिन्दैनन्, अघिपछि प्याधा नलगाई हिन्दैनन् । हरेक पाँच पाँच वर्षमा उनीहरूको गुह्य मन्त्र सुन्न पाइन्छ, कानका जाली फुटुन्जेल । मलाई भोट दिनुस्, म यो देशलाई सिङ्गापुर बनाउँछु, हङकङ बनाउँछु, स्वीजरल्याण्ड बनाउँछु । म बुद्धको जन्मथलोमा जन्मिएको मान्छे । सन्तोषी छु र भन्छु नेपाललाई नेपालै रहन देऊ अरुको नबनाऊ । यहाँ भन्दा नबिगारीदेऊ ।
यिनीहरू चुनाव जिते कुर्सी पाए मच्चिन्छन् । कुर्सी नपाए थच्चिन्छन् भन्ने भ्रममा तपाईं नपर्नु होला । म मन्द बुद्धिको गोज्याङ्ग्रो धेरै पटक परेको छु । जिते कुर्सी भेटाए भने पनि चित्त बुझाउँदैनन् । यिनका चित्त भुसुनाका पित्त भन्दा पनि न्यून छन् । यिनलाई भनेकै कुर्सी छानेकै मन्त्रालय चाहियो । यिनले जे चिताउँछन् त्यो नपाए बिताउँछन् । आफ्नै दलको सरकार भए पनि दलदले भासमा भसाउँछन् । अनेक काण्ड झिकेर फाइल खोलेर मुद्दा मामिलाको बन्धनमा फसाउँछन् । उनीहरुको जीवन दृष्टि नवीन सृष्टि भनेकै “आफ्नो टाँउको फुटे पछि मितको टाउँको बेलै बराबर” भन्ने हुन्छ ।
यिनले कुर्सी पाउना साथ सम्पूर्ण राज्य व्यवस्था सुझ्रेको हुन्छ । यिनका सत्ता फुत्किना साथमा एकै रातमा सबै अवस्था उध्रेको हुन्छ । यिनका आँखा कति हो कति चनाखा । जसो पनि देख्ने, आफ्नो अनुकूलको दृष्टिविन्दु । आफू सत्तामा भए देश प्रगतिको शिखरमा गएको देख्ने र आफ्नो कुर्सी गए देश पाकिस्तान, श्रीलङ्का हुनलागेको बखान गर्ने धन्य हुन महामनाहरु म उनीहरूकै भक्त हुँ । उनीहरूले लाए अहएको गर्ने । उनीहरूले खाए अघाए आफ्नो पेट रित्तै भर्नेसँग खुशी छु । घरै बसीबसी पाकिस्तान र लङ्का घुम्न पाउने भए । घुम्न जाने सङ्केत अराजकको घाँडो बजी सकेको छ । प्रसन्न मुद्रामा आसन्न यात्राको तयारी गर्नु छ ।
बनाउन, सपार्न गाह्रो हुन्छ । बिगार्न, भत्काउन सजिलो । सजिलो सोझोबाटो हुँदा हुँदै अप्ठेरो बाटो हिँड्ने चेष्टा नगरेकै राम्रो । राज्यका, घरका, अफिसका, समाजका आ-आफनै, नीति, नियम, कानुन हुन्छन् । नीति र नियममा बस्न गाह्रो हुन्छ । त्यसैले अराजक, छाडा साँडा भएर अर्काका गोठगोठ धाउन र बेला न कुबेला दोबाटोमा चिच्याउन बेस । अनुशासनमा बस्न नपर्ने कहिल्यै तल खस्न नपर्ने हुनाले मैले आजभोलि अराजकताको घाँडो भिरेको छु । गोपनीयता खोल्न, धेरै बोल्न गल्ली, चोक र भट्टीतिर छिरेको छु । जिम्मेवारी र जवाफदेहीतासँग कुनै चल्ला बेचेको साइनो पनि छैन । बरू चिच्याएरै हल्ला गर्ने मेरो मुख बाझ्नु छ ।
घण्टी, घन्ट र घाँडोको अर्थ फरक फरक, स्थान फरकफरक भए पनि मुख्य काम भनेको बज्नु नै हो भएपनि । साइकिलमा घरका मूल ढोकाको स्वीच थिचेर बज्ने घण्टी पुजा कोठामा बज्ने बजाइने घण्टी मन्दिरमा बाहिर झुण्ड्याइएर राखिने र बजाइने घण्ट । निदाएका भक्तले जागेका भगवानलाई घण्ट बजाएर जगाउँछन् । धेरै घण्टहरुको निनाद सुन्न रमाइलै लाग्दछ ढुङ्गाका नबेल्ने देउताका अन्ध र मन्द भक्तहरु घण्ट चढाएर इच्छित वरको बार्गेनिङ गर्दछन् । कसैले त्रिशूल चढाउन, घण्टी र घण्ट चढाउन सबैले सुन्ने गरी ठूलो घण्ट बजाउँछन् । पूजा नथाल्दै भुजाको बुजो हाल्दै र परिक्रमा सकेपछि पनि दायाँ बायाँ भाल्दै घण्ट बजाएर आफ्नो भक्तिको शक्ति दर्शाउँछन् । निदाएका केटाकेटीहरूलाई तर्साउँछन् ।
घाँडोलाई ठाडोसँग तुलना गर्न पनि सकिन्छ । चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो हुन्छ । हाम्रो देशमा यति चाँडो सङ्घीयता घाँडो भयो भन्नेहरू पनि छन् । कतिपयले संविधान नामको धानका खकरी, ढुङ्गा माटो भुस र पपटा केलाउनु पर्दछ । पूर्नजीवन दिलाउनु पर्छ भन्नेहरू पनि छन् । तर केही गरिरहेको काम चलिरहेको नाम बदल्नु पर्छ भनेर अराजकताको घाँडो बजाइरहेका छन् । कोही कौवालाई बेल पाक्यो हर्ष न विस्मातको स्थितिमा छन । अलिअलि पढेलेखेका जाने बुभेका उपुज्रुकहरू असन्तुष्टिको डकार डकारीरहेछन् । आम नागरिक निराशा हताशामा छन् । निराशा र हताशा कुण्ठामा परिणत भयो भने आफै मात्र खाने भान्छेलाई ऐसा, आल्यो पार्नेछन् ।
जागृतिको आशा जगाउने घण्टी देवघाटको डुङ्गामा चढ्दा ढुङ्गामा ठोक्किएर सलल पानी डुङ्गैमा भएको छ उद्धार गर्ने कसले ? अराजकताको बिउ उम्रन कुनै ठूलो निहुँ चाहिँदैन । अलिकति दम्भको माटोमा अहङ्कारको युरिया राखेर घमण्डको पानी पठाएपछि अराजकताको बिरुवा हर्लक्कै बढ्दछ। यसको सुरुवात घरको भान्साबाट हुन्छ। रेख लाउने सासूले बुहारी को मेख मार्ने उद्देश्यले चोट नलागेको बोटमा खोट देखाउँ छिन – “आजको तरकारीमा अलिकति नून थपेको भए चरक्कै हुने । आजकलका बुहारी ढिकी जाँतो छुन्नन् मैलेका कपडा धुन्नन् । आउँघरमा मिसिन आएको छ। न छुन पर्छ न धुननै पर्छ ।
विद्यार्थीहरू नपढिकन, नलेखिकन प्रथम श्रेणीमा पासको माग राखेर हड्ताल गर्दछन् । मरेका पितृहरूले स्वर्गबाट आएर भोट दिन्छन् । न्याय मूर्तीले कानूनको खिल्ली उडाउँछन् । योग्यताको कसी घरमै बसीबसी किन्न पाइन्छ भने त्यो देशमा पढ्न किन पर्यो ? अनुशासनमा बस्नु पर्यो भन्ने विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक, भीसी, दोउँन वा बी.सी. उनीहरूको खैरियत छैन । हडताल, तालाबन्दी, कालो पाउडर र के जातिको मालाले गला शोभायमान हुन्छ । बजार परिक्रमा गरिन्छ घण्टी बजाएर । बडो रमाइलो कुरो त के छ भने भी.भी.आई.पीहरुको गोप्य बैठक बस्छ । बैठक समाप्त नहुँदै पहिले विदेशी अखबारमा खबर प्रकाशित हुन्छ । नेपालमा सरकार परिवर्तन हुँदै । नयाँ बन्ने मन्त्री मण्डलमा फलाना फलाना जाँदै आदि । त्यस पछि मात्र अर्को दिन बिहानको चिसोमा तात्तातो खबर नेपाली छापामा छापिन्छ । कौवाले के जातिको विष्टाले मुख चोखो गराउन नपाउँदै ।
उता ठुलाठुला पण्डालभित्र महामनाहरूको सम्बोधन भइरहेको हुन्छ । यता श्रोताहरूको समूहभित्र झुण्डझुण्डमा स्थानीय एफएममा गीत बजिरहेको हुन्छ । कतै भजन कतै लोक दोहोरी, अन्ध समर्थन, अन्ध विरोधमा । घण्टी बजाएरै भक्तहरू नेताको बोलीमा अनुरक्त भएका हुन्छन् ।
शान्त मनमा एकान्त वनमा बस्ने, जीउभरि खरानी घस्ने सन्त महन्तमा अराजकताको घण्टी बन्दैन भन्नु रुद्रघण्टी नहुनेले बोलेको कुरा हुन जान्छ । गुफा बस्ने फुफाका मनमा सुन्दरी किन्नरी छम्छमाएर नाचेकी हुन्छिन् । बाहिर देख्दा शान्त समुन्द्र पनि भित्रभित्र ज्वारभाटा जेली रहेको हुन्छ भन्ने कुरा बिर्सनु बुद्धिमानी नहोला । कति अगङ्नालाई कङ्गना किन दिइन्छ सोच सोचनीय विषय छ । कतिपय टपरटुईयाँ पण्डितले शङ्ख घन्ट बनाएरै व्यासासनबाटै दानको महिमा गान सुनाउँछन । धेरै दान दिनेलाई आफूले बैतरणी तार्ने र स्वर्गमा उतार्ने ठेक्का लिन्छन् । कतिपय चाहिँ दक्षिणा कुम्ल्याएर विमानबाट धर्तीको स्वर्ग भनिने देशतिर सवार चलाइसकेका हुन्छन् ।
अहिले जसले जतिधेरै, जति चर्को घण्ट बजाउन सक्यो उति उतिनै चाँडो उन्नतिको डाँडो उक्लिन सकिन्छ । सिटिङ होस या मिटिङ, चर्को घण्टी बजे पद पाइन्छ । काम गर्नु पर्दैन । ठूलो पद पाए यता नपाए उताको घण्टी बजाउनेहरूकै बोलवाला छ। भाँडेहरूले सप्रिएको कुरा हरेक ठाउँमा भाँडेका हुन्छन् । म जस्ता लाठेहरूले राजनीतिका गुह्य कुरा कसरी बुझ्नु ?
हरेक ठाउँमा जसको घाँडो चाँडो चाँडो बज्यो उसको चेक छिटो छिटो भज्यो भन्ने सुनिन्छ । टुँडिखेलमा, खुला चौरमा चिच्याई चिच्याई कराउनेको एउटै बुटि सर्वौसधी बन्छ । झुट कुरा पनि सयौ चोटि सुनाए पछि सत्य हुन्छ भने सिद्धान्तका अनुयागी हुन् घाँडो धारीहरु । बुद्धको देशमा पञ्चशील पाल्नु भन्दा अफाल्नु जाती हुन्छ ।
दुर्गम गाउँका कान्ला र गर्खा भएका ठाउँका ग्रामीण बासिन्दाले गोठालो बस्दा चोर साँढासाँढीलाई अर्काको आफ्नो घरबारी अन्नबाली, खरबारी, घसिबलटारी चर्न चोर्न नजाउन भनेर घाँटीमा हलो, मुङग्रो, मुढो, काठको गरुङ्गो ठेउको झुण्ड्याउने गर्दथे । अहिले पशु अधिकारकमीले विरोध जनाए पछि चोर बस्तु पाल्नै छाडे । तिनका घाँटीमा घाँडो चाँडो चाँडो झुड्याउनु नै परेन ।
तर सुगम क्षेत्र राजधानीमा देशको ढुकुटिको नाश गराएर गोर्ब्याने साँढेहरूलाई पक्रने कस्ले ? ठूलो जुरो, तिखा सिंङ उनैका छन् । गरिष्ठ खुराक खाएर वरिष्ठ बनेका उनै छन् । बलिया, जोदाहा उनै छन् । उनका पछि पछि लाग्नेको ग्याङ ठूलै छ । जुधे आफ्नै सिङ फुक्लिन्छ । मामाको धन फुपूको श्राद्ध ।
अहिले पनि दुरदराजतिर बेला न कुबेला बास्ने दुनियाँको अमनचैन, मस्त निद्रा मास्ने अलच्छिना भालेलाई मध्यरातमा पूजा गरेर धुप्याएर, घरको घुरी कराइन्छ, स्वर्गे पठाइन्छ । देश र जनताको श्री सम्पती नास्ने, जोदाहा, अराजक भालेहरूलाई कस्तो खालको सम्मान, पुरस्कार वा दण्डसजाय दिन उचित हुन्छ ? आफ्नो राय सल्लाह र सुझाव दिनु होला ।
०००
२०८१ असोज २० गते
Subscribe
Login
0 Comments
Oldest






































