रमेश समर्थनङिच्चपुराण
हे इस्सोर ! धन पनि लिइस् र धर्म पनि लुटिस् ? खल्तीको क्याँट गयो तर ससुराको एउटा पेट भर्न सकिएन । यो सोचेर म जुन रूपमा ङिच्च परें त्यसको बयान गर्न शेषनाग पनि असमर्थ छन् ।

रमेश समर्थन :
आँखाको प्यारो नानीलाई कठपुतलीलाई झैं दायाँबायाँ र तलमाथि पल्याकपुलुक पार्दै अनुहारमा खरानीको वैरागी रङ्ग पोतेर पानीमा ढाडिएको गुइँठाजस्तो अनुहार पारी ओठका पातलाई केराको उल्टिएको बोक्राजस्तो विपरीत दिशामा च्याती एकथरी पशुहरूले पोथीसित रमण गर्न मिल्छ कि मिल्दैन भन्ने जाँच्न प्रयोग गर्ने विधिको हुबहु नक्कल गर्दै आफ्ना बत्तिसदन्त खोलेर देखाउनुलाई नै ङिच्च पर्नु भनिन्छ । नेपाली भाषामा यस महामहिम ‘ङिच्च’को स्थान झन् महत्त्वपूर्ण छ । परम्परागत ‘ङ’ वणर्लाई आधुनिक नेपाली वणर्मालाको वैकल्पिक सदस्यता दिलाउने केही शब्दहरूमध्ये ‘ङिच्च’ पनि एक हो । ‘ङ्यार्र’ र ‘ङ्याक्क’लाई पनि फड्के किनाराका साक्षी मान्दा हुन्छ । त्यसैले ‘ङिच्च पर्नु’लाई अपमानपूर्वक हेरे पनि हाम्रो वर्णमालालाई समेत प्रभावमा पार्न सक्ने ‘ङिच्च’को कुन पुराण फलाक्न थाल्यो भनेर ङिच्च नपर्नुस् ।
ङिच्चपराइ पनि एकै प्रकारको छैन । विभिन्न अवस्थामा विभिन्न प्रकारले ङिच्च परिन्छ । मामासित आमाका कुरा लाएझैं सुलसुले वृत्ति बोकेकाहरू जब चोरपक्रा पर्छन् तब उनीहरूको ङिच्चपराइलाई क्यामेरामा कैद गरेर फोटो प्रदर्शनीमा राख्ने हो भने सबैभन्दा बढी दर्शकको जमघट त्यहीँ हुन्छ । अर्को अवस्था त्यति बेला आउँछ जब तपाई निम्तो न सिम्तो कुनै विवाहपार्टीमा पसेर अन्य निम्तालुहरूसित गफका फोहरा छोड्दै कोल्ड ड्रिङ्कसँगै कुखुराका साप्रा लुछिरहनुभएको हुन्छ र त्यसै बेला भोजी आएर तपाईंलाई सोध्छ, ‘तपाईं को नि ?’ अब कुखुराको मासु लुछिएको साप्राले भित्रको सेतो हाड देखाएझैं तपाईंले पनि ङिच्च परेर दाँत देखाउनुहुन्छ तर ढाड देखाएर त्यहाँबाट निस्किन सक्नुहुन्न । तपाईंको मुखभित्र परेको वस्तु हलुवा हो कि बालुवा हो भन्ने थाहा पाउन तपाईंले ङिच्च परेर अरूसितै सोध्नुपर्ने हुन्छ । यसको तेस्रो प्रकार तपाईंको घर तथा कार्यालयसित सम्बन्धित छ ।
साँझ कुनै कुरामा श्रीमतीसित ठाकठुक हुन्छ र बिहान श्रीमतीजी टाउको दुख्यो भनेर सुतिदिन्छिन् । अनि तपाईंले सबेरै उठेर सरसफाइ भातभान्सा आफै गरेर श्रीमतीलाई कर गरी गरी अलिकति केही मुखमा हुलिदिनुहुन्छ र उनले पनि निलिदिएर तपाईंमाथि उपकार गर्छिन् । तपाईं काँचोकचिलो र चर्कोअलिनो खाएर हस्याङफस्याङ गर्दै अफिस पुग्दा अबेर भइसकेकाले हाकिमको अगाडि पर्दाको ङिच्च । अर्को अवस्था पनि अफिसमै आउँछ । तपाईंले कुनै काम बिगार्नुहुन्छ र हाकिमले बोलाएर भन्छन्, ‘तपाईंलाई कुनै काम सपार्न पनि आउँछ कि बिगार्न मात्र जान्नुभएको छ ? काममा मन लाग्दैन भने राजिनामा दिनुस् ।’ यद्यपि तपाईंले सपारेका थुप्रै कामले हाकिमको नाक उचालिएको होस् तर उसले त्यसको गणना गर्दैन । केवल दोषको फेहरिस्त राख्छ । त्यस अवस्थामा न आफ्ना पूर्व सफल कर्मको स्मरण गराउन सक्नुहुन्छ न राजिनामा दिन सक्नुहुन्छ र कपाल कन्याउँदै केवल पर्नुहुन्छ ‘ङिच्च’ । उता तपाईंका ङिच्च परेका दाँत देखेर चिढिएको हाकिम झन् चड्किन्छ, ‘अब ङिच्च परेर लुइ लागेका दाँत नदेखाउनुस्, जानुस् ।’ यसरी थरीथरीका ङिच्चहरूको आफ्नै विशेषता छ, आफ्नै उपादेयता छ र आफ्नै गुरुत्व र महत्त्व छ ।
तर हामीलाई अभरमा पार्ने र जिउँदै मार्ने ‘ङिच्च’ त यीभन्दा भिन्दै छ र मापाको ज्याद्रो छ ।
यसखाले ङिच्चको आतङ्क त्यसो त सबै जागिरेहरूमाथि बज्रिन्छ त्यसमाथि पनि शिक्षकमाथि त चट्याङ परेझैं नै पर्छ । शिक्षालाई अनुत्पादक मरुभूमि र शिक्षकलाई मरुप्राणी उँट ठान्ने नेपालका सबै सरकारहरूको उत्कृष्ट शिक्षानीतिका कारण नेपालका शिक्षकहरू मासिक रूपमा तलब पाउँदैनन् । ‘तँ नखा’ पाउने ‘जा गिर’ खाएर पनि शिक्षकहरूले एकपटक तलब पाएपछि अर्को पटक पाउन काकाकुलले आकाश ताकेझैं ताक्नुपर्छ तर मासिक रूपमा उधारो खाने गरेका पसलको ताकेताले भने सधैं उनीहरूलाई ताकिरहन्छ ।
कल्पना गर्नोस्, तपाईं आफ्नो मित्रसित हिँड्दै हुनुहुन्छ र सम्भवतः आफ्नो मपाइँत्व पनि अलिकति पोख्दै हुनुहुन्छ । त्यसै बेला तपाईं त्यस पसलेका नजरमा पर्नुभयो जसकहाँबाट ल्याएको उधारो सामानको हिसाब तपाईंले समयमा बुझाउनुभएको छैन । अनि तपाईंलाई देख्नासाथ तपाईंसित को हिँडेको छ भन्ने विचारै नगरी उसले हकारेजस्तो गरी पुकार्छ, ‘माड् सा…ब !’ तपाईं तर्सिनुहुन्छ तर साथीसित ‘केही हैन’को भावले साथीलाई हेर्दै पसलेतिर हात उठाएर भन्नुहुन्छ, ‘के छ साहूजी ? पसल त राम्रै चलेको छ ?’ अनि जवाफमा उसले भन्छ, ‘तपाईंजस्ता दशजना ग्राहक भइदिने हो भने पसल चल्ने हैन, पसले चल्दिन्छ पसल बन्द गरेर । हैन माड्साब, कुरो मात्र हो कि कुराको चुरो वा जुरो पनि निस्किने हो ? महिना नाघेको त धेरै भयो नि ! हेर्नुस् है, साथीसित हुनुहुन्छ र मात्र केही नभनेको हुँ । अबदेखि पहिलेको हिसाब चुक्ता गरेर मात्र सामानको लिस्ट पठाउनुहोला । फेरि फिर्ता गर्यो नभन्नुहोला ।’ यसरी साथीको ख्याल गर्दै पसलेले तपाईंको इज्जतको राम्रै हुर्मत लिन्छ र तपार्इं साथीलाई हेरेर ङिच्च पर्दै भन्नुहुन्छ, ‘के भन्नु ? सोमतै हुँदैन यी द्रव्यपिचासहरूमा ।’
यस्तै अवस्था यदि ससुराली पाहुना वा ज्वाइँ पाहुनाका अगाडि आयो भने…….? ओहो ….! मर्नु कि बहुलाउनुजस्तो हुन्छ । मलाई परेको छ । सुन्नुहुन्छ भने लौ सुन्नुस् – २०५० सालतिर म र मेरी आफ्नै श्रीमती हाम्रो आफ्नै साझा (?) कान्छो छोराको उपचारका लागि काठमाडौं गएका थियौं र साथमा हुनुहुन्थ्यो मेरो छोराका मावली हजुरबा, मेरी श्रीमतीका आफ्नै ड्याडी र मेरा आफ्नै ससुराबा जसलाई श्रीमतीको सिको गरेर सकी नसकी मैले पनि ड्याड भन्ने गरेको थिएँ । काम मेरो भएपछि खर्च पनि मेरै हुने भयो । काम खोज्न जाने बेरोजगारले नेताजीको पनि खर्च बेहोरेझैं मैले पनि आफ्ना कानुनी पिताश्रीको खर्च सगर्व बेहोरेको थिएँ ।
त्यहाँ मारवाडी सेवा समितिमा भोजनको सस्तो र राम्रो प्रबन्ध छ भन्ने सुनेकैे भरमा हामी त्यहाँ पुग्यौं । भित्र गएर हेर्दा बस्ने कुर्सीका ठाउँमा लचकदार सोफासहितको तारे होटलको जस्तो लक्जरी व्यवस्था देख्नासाथ मेरो मुटु बाजको पन्जामा परेको परेवाझैं छट्पटाउन थाल्यो र करङका भाटारूपी डन्डी भाँचेर आजाद पन्छीझैं उड्ने प्रयास त गर्यो तर सुरक्षाव्यवस्था पोख्त भएको हुँदा सकेन । म पनि पुत्रीदाता महामहिम ससुरा महोदयलाई राजधानीको लक्जरी होटेलमा लगी एकछाक भए पनि भरपेट खुवाएर पत्नीऋणको एकांश ब्याज भए पनि चुक्ता गर्न पाइने सन्तोषले सबैतिर चुकुल ठोकेर सम्भावित खर्चको बोझले पहिले नै उचालिनसक्नुको भएको शिरलाई जसोतसो तन्काउँदै भित्र पसेँ ।
मानसरोवरका रजहाँसझैं सेता खोल ओढाइएको सोफामा धसिनासाथ मैले तिर्ने बिलमा त्यसको पनि हिसाब मिलान हुनेछ भन्ने कल्पनाले चिटचिट आएको पसिना पुछ्न पिसाबको निहुँ गरेर उता गएँ । तर ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’ को भावलाई पक्रेर मैले खानाको अनुरोध गरें । (अर्डर गर्ने हिम्मत हराइसकेको थियो ।) रोटीको सङ्ख्याभन्दा भेटीको सङ्ख्या गन्दै खाएपछि आधा पेटमै डकारें र वेटरको ‘अरू पनि केही ल्याऊँ कि ?’ भन्ने प्रश्नको उत्तरमा हत्तपत्त पुग्यो भनेपछि मात्र काठमाडौंमा गएर बसेका काँठेहरूले आपूmलाई भेट्न आएको पाहुनालाई ‘यहाँ त खाना खाएरै आउनुभएको होला । एकछिन बस्दै गर्नुस् । म खाना खाएर आउँछु है !’ भनेझैं मैले पनि सोधें, ‘अरू केही मगाऊँ कि ?’ उहाँले पनि मेरो खल्ती छामेर हो कि गल्ती गमेर हो, ‘भयो ।’ भनेर मेरो ज्वारभाटालाई शान्त पारिदिनुभयो ।
मैले मनमनै आभार व्यक्त गरें । काउन्टरमा गएर बिल बुझाउँदा भने वरिपरि को छन् भन्ने कुरै बिर्सेर मुखबाट निस्क्यो, ‘यति धेरै ?’ पैसा तिरें र उहाँतिर फर्केर ङिच्च गरें । पैसा नतिरे पनि त्यहीँ उँभिइदिएर मेरो ‘ङिच्च’को प्रत्युत्तरमा खिस्स हाँसिदिएर भए पनि मप्रति सहानुभूति देखाउनुपर्ने हो नि उहाँले, तर त्यसो गर्नुभएन र मुखभरि सोंफ र मिस्रीको बुजो हाली ढोकामा पुगेर मेरो चर्तिकला पो हेरिरहनुभएको रहेछ । हे फसाद ! नजिकमा पुग्नासाथ उहाँको मुखारविन्दबाट जुन मर्मभेदी खुँखार शब्दहरू निस्किए तिनलाई कविशिरोमणिको शैलीमा भन्दा ‘उहाँको बोलीमा उस बखत मैले जुन कुरा, सुनेथें त्यो सुन्दा तिमी पनि हुनेछौ अधमरा ।’ कविशिरोमणिसित क्षमा चाहन्छु । अलिकति बिगारें ल ? म भने जब जब त्यो सम्झिन्छु तब तब एक्लै पनि ङिच्च पर्छु । त्यो महावाणी सुन्ने मनसुवा तपाईंको पनि भए सुनिहाल्नुस् । रुझेपछि भिज्न केको डर ? पोल खुलिसकेपछि खोलको के भर ?
‘कति बिल उठ्यो ?’ प्रशान्त महासागरबाट उठेको गम्भीर वाणी ।
‘तीन सय छयासी ।’ अँध्यारो इनारबाट निस्केको रुन्चे स्वर ।
‘मैले खाना थपेको भए………….!!! ???’
हे इस्सोर ! धन पनि लिइस् र धर्म पनि लुटिस् ? खल्तीको क्याँट गयो तर ससुराको एउटा पेट भर्न सकिएन । यो सोचेर म जुन रूपमा ङिच्च परें त्यसको बयान गर्न शेषनाग पनि असमर्थ छन् । व्यासबाजेले भन्न छुटाएको र गणेश दाइले लेख्न नपाएको यो ङिच्च पुराण जसले एकान्तमा बसेर नित्य पाठ गर्ला उसले यस्तै ससुरा पाउला ।
इति श्री ङिच्चपुराणे मारवाडी भोजनालये ससुराभोजनं नाम लाजमर्दोऽध्यायः ।
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest








































