मुन पौडेलनाकको बखान
मानिस भनेको नै नाक हो। नाक नै छैन भने के मान्छे। एक मुठी खाएर त जो पनि बाँचिरहेका हुन्छन् । नाक ठाडो पारेर बाँच्नु पो बाँच्नु। तपाईंहरू पनि आफ्नो नाक छामी हाल्नुहोस् - छ कि छैन, छ भने ठाडो छ कि छैन ।

मुन पौडेल :
मानिसको अनुहाररूपी भू-भागको केन्द्रमा हिमालय पर्वतजस्तो आफ्नो मूलमा छहरा र झर्नाहरूका स्रोत लिएर बसेको निहुरमुन्टे न आकार र देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पहिलो वर्ण क को सहयोगले बनेको पाँच ज्ञानेन्द्रियमध्येको एउटा ज्ञानेन्द्रीय नाकको महिमा अपरम्पार छ, अनुहारका बीचमा ठाडो पारेर आफ्नो महत्त्वलाई दर्शाउँदै नाक जोगाएर बसेको नाक मानिसको अनुहारमा नभइदिएको भए मानिस कति बुच्चो देखिन्थ्यो होला। करोडौं वर्षको मानव इतिहासमा नाकले विभिन्न किसिमको हण्डर र दुःखहरूलाई पार गर्दै हामीसँग उक्सेको र ठाडो रूपमा रहिआएको छ। मानवको इतिहास खोतल्दै जाने हो भने नाक भएर पनि नभएका नकटाहरू गनी र लेखी साध्य हुने छैन ।
गन्हाउने, वास्ना आउने, वान्ता आउला जस्तो हुने सबै प्रकारको गन्ध, दुर्गन्ध, सुगन्ध प्राण गर्न सक्ने घ्राणेन्द्रियलाई नाक भनिन्छ। एउटा टालियो, बिग्रियो वा भत्क्यो भने अर्कोले काम चलाउन सकियोस् भन्ने मनसायले मोटरमा स्टेपनी भएको जस्तो ओठमाथि र निधारमुनि दुई नयनको छत्रछाँयामा रहेको नाकमा पनि दुईवटा प्वाल हुन्छन् । खाने जस्तो महत्त्वपूर्ण कार्यका लागि एउटा मात्रै प्वाल वा भ्वाङ मुख हुनु तर नाकमा भने दुइटा प्वाल हुनुबाट नै नाकको महत्त्व प्रमाणित हुन्छ। नाकले सुँघ्ने कामभन्दा पनि महत्त्वपूर्ण काम सास फेर्ने गर्दछ। मानिस जीवित रहनका लागि चाहिने प्राणवायु शरीरभित्र भित्र्याउने र प्रयोग भइसकेको वायु बाहिर फाल्ने काम यसै नाकले गर्दछ । कहिलेकाहीँ नाकको यो काम अधिकार मिचेर मुखले पनि गरिदिन्छ तर नाकले त्यति साहो दुख मान्दैन किनकि कहिलेकाहीँ ऊबाट प्रवाहित हुने सिँगानरूपी पदार्थको छहरा र भनलि उसलाई के टालिदिएको हुन्छ । फलस्वरूप मान्छेले मुखबाट सास लिनै पर्छ। कहिलेकाहीँ उसबाट निस्कने छहराहरूको मेललाई बाँध लगाउन हात र रूमालले धेरै निचोरनाचर पार्ने गर्छ।
कुनै व्यक्तिको सौन्दर्यको वर्णन गर्नु पर्यो भने सुरुआत नाकबाटै हुन्छ अर्थात् सुलुक्क परेको नाक, सानो खाने मुख इत्यादि । नाकको पहिलो प्रकारमा सुलुक्क परेको नाक नै आउँछ। सुलुक्क परेको नाक ओरालो समान हुन्छ, खुजमुजिएको हुँदैन। खिरिलो पाराको हुन्छ। कसैकसैको नाक गैंडाको खागजस्तो तिखो हुन्छ, त्यसैत्यसै छेड्लाजस्तो । यस्ता मान्छे हिँड्दा मान्छेभन्दा अघि नाक हिंडिरहेको हुन्छ । भगवान्ले नाक बनाउँदा आलो नै भएको बेलामा कसैले एक झापु दिएर थेप्च्याइदिएको थियो होला । एकथरीको नाक यस्तै हुन्छ थेप्चो, नेप्टो। यस्तो नाकको टुप्पो यति समतल हुन्छ कि त्यहाँ फुटवल खेल्ने हो भने मजाले खेल्न सकिन्छ। यस्ता नाक भएका व्यक्तिलाई रुघा पनि कम लाग्छ किनकि यस्तो नाकका प्वाल पनि साँघुरो हुन्छन् । अर्को नाक हुन्छ डल्लो, चारैतिरबाट सोलो डोलो। सिङ्गै पकौडी नाकमाथि राखेको जस्तो। यस्तो नाकलाई फुरौले नाक पनि भनिन्छ । यस्ता नाक भएका व्यक्ति देख्दै खग्गु देखिन्छन् । कुनै नाक सुगाको चुच्चो फर्केको जस्तो तलतिर घुमुर्किएको हुन्छ भने कुनै माथितिर फर्केको ।
नाकले एउटा विशेष किसिमको कामको कारोवार गर्न ठूलो मद्दत गर्छ। नाक नभए यो कारोबार सम्भव नै हुँदैन । यो कामको नाम हो वाँसुरी विक्री गर्ने काम। खास गरेर मधेशतिरको मेलाठेलामा एउटा लड्नीमा बाँसुरी नै बाँसुरी घुसारेर एउटा बाँसुरी चाहिँ नाकमा समेत घुसारेर बजाउँदै हिँडेको विक्रेतालाई धेरैले देख्नुभएको होला । त्योसँग कसैले बाँसुरी किन्न गयो भने उसले पहिले आफ्नो नाकद्वारमा घुसारेर बाँसुरी बजाएर देखाउँछ अनि तपाईंलाई दिन्छ । तपाईं शानका साथ उसले नाकभित्र हुलेको सिँगाने बाँसुरीलाई आफ्नो मुखभित्र हुलेर पिं पिं गर्न थाल्नुहुन्छ । मुखले बजाएर दिएको भए तपाईंलाई घीन लाग्थ्यो होला। नाक त चोखो भइहाल्यो नि होइन ?
अब भन्नुस् नाक नहुने हो भने बाँसुरीको कारोबार हुन सक्छ ? नाकबाट अद्भूत किसिमको सङ्गीत पनि निस्किन्छ, नाके बाेलीका रूपमा। धन्य नाक यो तिम्रै प्रताप हो। हाच्छ्यूँ कुनै हाच्छ्यूँ ट्याङ्कको जस्तो, कुनै तोपको जस्तो, कुनै स्कड मिसाइलको जस्तो। नाकको प्वाल सानो वा साँघुरो भएर होला, कमलो भएर पनि हुनसक्छ, खास गरेर आइमाईहरूको छ्यूँ हतपति नामबाट निस्किरहेको हुँदैन, यस्तो छ्यूँलाई समातेर तान्नु पर्छ। कसैकसैले यति जोडले छ्यूँ गर्छन् कि सानोतिनो युद्धमा यस्तै हाच्छ्यूँलाई प्रयोग गरे पनि दुस्मनहरूको सातो लिन सकिन्छ। यस्ता भयावह छ्यूँ गर्न सक्नेहरूलाई साही सेनामा भिन्दै बटालियन बनाएर राखेमा मुलुकको सुरक्षामा योगदान हुनसक्छ । यिनीहरूलाई कुनै अस्त्र शस्त्र पनि दिनुपर्दैन, एउटा एउटा सुत्लो दिए पुग्छ नाकमा हुल्न । नाकले राष्ट्रिय सुरक्षामा सहयोग पुऱ्याउन सकिन्छ भने नाकले नै घर टोलमा अशान्तिको स्थिति पनि उत्पन्न भएको देखिन्छ । दिनभरि कडा परिश्रम गर्ने मनिसहरू राति आरामले सुत्न पनि पाउँदैनन् यो नाकले गर्दा।
यो समस्याको नाउँ हो घुराइ । हुन त घुर्ने काममा घाँटीको पनि सहयोग हुन्छ तर नाकको यसमा ठूलो भूमिका हुन्छ। विस्तारै परेवा घुरेको जस्तो घुरे त हुन्थ्यो नि, त्यसै मेसिनगन चलाएको जस्तो घुरेर रात्रिको निस्तब्धता नै भङ्ग गरिदिन्छन् घुर्ने वीरहरूले। कसैको घरमा लोग्ने घुर्ने र स्वास्नी रातभर जाग्ने, कतै स्वास्नी घुर्ने हुन्छे लोग्ने जाग्ने । खास गरेर प्रजातन्त्र आएपछि त यो समस्याको समाधान हुनै पर्ने हो। होइन भने कुनै दिन शिशु प्रजातन्त्रको निद्रामा खलल पर्न बेर छैन । यो समस्याको समाधानका लागि प्रत्येक वडामा एक एक साउन्डप्रुफ केन्द्रहरूको निर्माण गर्नु अति जरुरी छ। यो केन्द्रको निर्माण भएपछि घुर्ने महारथीहरू रातिराति गएर त्यही साउन्ड प्रुफ केन्द्रमा सामूहिक घुर्ने सङ्गीतको कोरस प्रस्तुत गरिरहन्छन् । बाँकी आरामले घरमा सुत्छन् ।
गोर्खाली भनेर नेपालीलाई संसारमा नाकले गर्दा नै चिन्छन् तर जुन नाकले नेपालीहरू विश्वमा वीर र स्वामीभक्तिका लागि प्रख्यात छन् त्यो नाक ठाडो नाक होइन, सुलुक्क परेको नाक पनि होइन, त्यो नाक हो थेप्चो नाक। ब्रिटिस आर्मी र इन्डियन आर्मीका हाकिमहरू जब हाम्रो गाउँमा जवान भर्ना गर्न आउँछन् त्यति बेला उनीहरू नाककै भरमा जवानहरूलाई छान्छन् । यिनीहरू ठाडो नाक देख्यो कि ठाडो पुच्छर लाउँछन् । चेप्टो, थेप्चो नाक देख्यो भने राम्रो माल भनेर दङ्ग पर्दै भर्ना गर्छन् । संसारमा नेपाली कि त गोर्खालीका रूपमा कि त बहादुरका रूपमा विख्यात छन् ।
होइन भने अरू के लछारपाटो लाउन सक्याछन् नेपालीहरूले ? हाम्रो देशमा हिमाल छ. हाम्रो देशमा बुद्ध जन्मेका थिए भनेर मेरो बाउले घ्यु खाएको थियो मेरो हात सुप सुंघ भनेर कराउनुबाहेक अरू के गर्न सक्या छन् ? यो त थेप्चो नाक नै हो, थेप्चो नाकको बहादुरी नै हो कि हामी चिह्निरहेका छौं। होइन भने आजकल नेपाली भनेपछि पच्चिस पटक पासपोर्ट र भिसा ओल्टाइपल्टाई जाँच गरेर सकेसम्म कुनै पनि मुलुकले छिर्न दिनै चाहँदैन । थेप्चो नाकहरू । तिमीहरूलाई हार्दिक सलाम । तिमीहरूले नै ठाले नाक भनाउँदाहरूको इज्जत आफ्नो रगत दिएर भए पनि जोगाएका छौ। थेप्चाे नाकले एउटा अर्को काममा पनि सहयोग पुऱ्याउँछ, त्यो काम हो बक्सिङ । जसको नाकको डाँडी भाँच्चिएको छ, त्यो व्यक्ति बक्सिङको पेसेवर खेलाडी बन्न सक्छ ।
नाक भाँच्चिएको छ भने बक्सिङमा काम लाग्छ । नाक काटिएको छ भने त कौडीको भाउमा कसैले गन्दैन। उहिले चोर, बदमासजस्ता सामाजिक तत्त्वहरूलाई सजायँका रूपमा नाक काटिन्थे आजकल नाक च्वाट्टै पारेर काट्ने चलन त छैन तर नकटाहरूलाई समाजले त्यसै चिन्छ। आफूलाई इज्जतदार, पैसावाल बुद्धिवाला भनेर भोर्ले नाक पारेर हिँड्नेहरूको प्रायः नाक हुँदैन। नाक त उनीहरूको कारोबार, छोराको आवारागर्दी, छोरीको रात्रिको कारोवारले सफाचट भैसकेको हुन्छ। तैपनि उनीहरू पैसाको बलमा आफ्नो नाक कायमै रहेको मिथ्यागुमानमा बाँचेका हुन्छन् । नाक त ठाडो हुन्छ श्रमजीवीको, परिश्रमीको, इमान्दारको ।
आजको यो कलियुगमा इमान्दार भन्ने प्राणी बडो मुस्किलले पाइने भएको हुँदा नाक भएका धेरै कम देखिन्छन् । जताततै नकटार नकटीहरू नै बढी देखिन्छन् । तातो घिउमा एक दुई टुक्रा गुँद हाल्दा जसरी फुर्छ, नाक पनि प्रशंसा सुन्न पायो भने फुरीला हुन पुग्छ तर कसैकसैलाई नाम फुलाउने रोग लागेको हुन्छ। छिसिक्क केही गर्यो भने मङ्गलग्रहमै पुगेको जस्तो नाक फुलाइहाल्छन् के के न गर्दै भन्ठानेर। कतिपय व्यक्तिहरूले आफ्नो कुकृत्यले नाकमा गुहु लगाइसकेका हुन्छन् । यस्ता व्यक्ति परैबाट चिनिन्छन् किनकि यिनीहरू आउन थाले कि डङ्डङ्गी गन्हाउन थाल्छन् । त्यसैले बूढापाकाहरू अर्ति दिँदै भन्छन्- बाबु नाक जोगाएर हिँड्नु, छिनको छिनमा नाक जान बेर लाग्दैन ।
नाकलाई जब रुघादशाले समात्छ नाकको दोहलो हुन्छ। यो दशाले समात्ने वित्तिकै नाकभित्र भएका सुषुप्त छहरा र झर्नाको मूल फुट्छ र नाक रसाउन थाल्छ। पहिले नाक रसाउँछ कुलेखानीमा पानी रसाएको जस्तो । त्यसपछि हाच्छिउँरूपी पहिरो जान थाल्छ र अन्त्यमा बाढी नै आउँछ । मानिस लस्तपस्त भएर सिँगानको धारा बगाएर बस्छ। धनी भए सिँगानलाई खेर जान नदिई रूमालमा थापी खल्तीमा कोच्छ । गरिव भए मिल्काइदिन्छ। ये रुघाले गर्दा करोडौंको औषधि व्यवसाय फस्टाएको छ। चार पाँच दिनको अवधिमा आफैँ निको हुने भए पनि नाकलाई दुःख भएको हुँदा मानिसहरू काम न काजसँग रुघाको औषधि खान्छन् जबकि रुघा औषधिले होइन आफैँ निको हुन्छ भन्ने कुरा सबै नाक भएकाहरूलाई थाहा भएकै कुरा हो। हुन पनि रूघाले नाक मार्फत् मानिसलाई यति दुःख दिन्छ कि हुने भए मानिसहरूले नाकलाई उखेलेर खल्तीमा राखेर हिँड्थे- न रहन्थ्यो बाँस न बज्थ्यो बाँसुरी ।
मान्छेहरूलाई नाकाचालले कति थोक गर्नुपर्ने हुन्छ। उचित अनुचित जेसुकै होस्, निर्धात बलियोको कुरा नाकाचालले गर्नुपर्छ। मुखियाले सुब्बाले भनेको, सचिवले मन्त्रीले भनेको, तुम्हा वा आफ्नो बुद्धिको चालले होइन नाकाचालले गर्नुपर्छ। नाकाचालले गर्ने प्रचलन नै कर्मचारीतन हो. यसैलाई प्रजातन्त्र पनि भन्दछन् । नाक साहै संवेदनशील हुन्छ । एउटा सानो स्खटिरा नाक बाहिर या भित्र आयो भने पुरे नाकलाई हल्लाएर छोडिदिन्छ। न चिर्नु न निचोर्नु। आफूलाई ठूला भन्नेहरूले केही व्यक्तिहरूलाई नाकको राैँ बनाएर नाकको ओडारभित्र सुरक्षित पारेर राखेका – हुन्छन् । यस्ता नाकका राैँरूपी व्यक्तिहरूले बढेर जुङ्गालाई छुन खोज्यो भने चाहिँ चट्ट छोट्याई हाल्छन् नाकका मालिकहरूले । नाकको रौँ बढ्न पाउँदैन । बढ्यो कि काटिदिहाल्छन् ।
हुन त यी राैँहरूले नाकमा फोहोर जानबाट रोक्छन् तर विचरा यी रौंहरूको नियति नै नाकभित्र मात्र बस्नु हो, कुवाको भ्यागुतो जस्तो । कतिपय व्यक्तिहरूको जिन्दगी नाकको रौँ नै भएर बित्छ। नाकबाट निस्केर जुङ्गासँग मिसिन कहिले पाउँदैनन् । नाक नभएको भए आइमाईहरूलाई ठूलो घाटा हुन्थ्यो। घाटा मात्रै होइन, सौन्दर्यमा पनि डाँका लाग्थ्यो। नाक नभएको भए हीराको फुली कहाँ लगाउँथे ? एक न फुली नभए उनीहरूको सौन्दर्य चम्किन्थेन। दोस्रो हीराको फुली किन्न लगाएर लोग्नेलाई दऱ्याउन पाउँदैनथे। कसको महँगो फुली भनेर कुरा काट्न पाउँदैनथे । जस्तोसुकै नाक । किन नहोस्, एउटा फुली र एउटा नत्थीको हकदार भैहाल्छ । नाक नभएको भए स्वाएको न । ट्द्वाएको गाँड किन आएको जस्तो गरेर बूढीहरूले पनि फुली झिक्दै नथुनी लाउन कहाँबाट पाउँथे ?
रामायणलाई हामी असत्य र सत्यको लडाई भनेर भन्छाैँ जबकि यो शुद्ध नाकको लडाइँ थियो । । रावणजस्तो महापण्डित, शिवभक्त र ज्ञानी व्यक्ति भगवानुरूपी रामसँग जाइलाग्न त्यत्तिकै जाँदैनथे । उनलाई थाहा थियो कि उनी मारिन्छन् तर उनले त नाकको लडाइँ पो लडेका हुन् । एउटा सुन्दर र शक्तिशाली युवकलाई बीच जङ्गलमा देखेपछि प्रणय निवेदन गर्नु रावणकी बहिनी शूर्पणखाको दोष होइन । अन्याय त लक्ष्मणले गरे कि एउटी प्रणय निवेदन गरिरहेकी कामातुर स्त्रीको नाकै काटिदिए। यो कस्तो न्याय हो ? शूर्पणखाको नाक काट्नु भनेको रावणको नाक काट्न खोज्नु भन्ठान्नु रावणका लागि अनुचित थिएन । फलस्वरूप उनले सीताको हरण गरे। उनले सीतालाई अरू केही गरेनन् । उनी त नाकका लागि लडेका थिए। नाकका लागि लड्नेहरूमा रावणको नाम सदा अग्रपङ्क्तिमा रहनेछ। वीर बलभद्रले नाकका लागि लडे, अमर सिंह थापाले नाकका लागि लडे। अहिले आएर सानो इराक जस्तो मुलुकले अमेरिकासँग नाकको लडाईं लड्यो । प्यालिस्टाइन अझै लड्दैछ, दक्षिण अफ्रिकाका कालाहरूले लडेर जिते पनि ।
मानिस भनेको नै नाक हो। नाक नै छैन भने के मान्छे। एक मुठी खाएर त जो पनि बाँचिरहेका हुन्छन् । नाक ठाडो पारेर बाँच्नु पो बाँच्नु। तपाईंहरू पनि आफ्नो नाक छामी हाल्नुहोस् – छ कि छैन, छ भने ठाडो छ कि छैन ।
०००
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
Subscribe
Login
0 Comments
Oldest







































