सिङ न पुच्छर
अब पनि कसैले पुच्छर समातेरै वैतरणी तरिन्छ भन्ने सोच्यो भने सम्झनाेस् त्यो नरकमा डुब्यो। वर्तमानका पुच्छरहरू वैतरणी तार्ने क्षमता पनि राख्दैनन् । कृपया पुच्छर गोड्न छोडौँ, र पुच्छर जोड्न छोडौँ ।
नरनाथ लुइँटेल :
पुच्छरका बारेमा धेरै लेखेन्तेहरूले धेरै पटक लेखिसकेका छन् तर सिङले उनीहरूको उपेक्षा खपिरहेको छ। शिरको पनि शीर्षस्थ स्थानमा रहेको सिङको महिमा गाउन छोडी मानिस किन पुच्छरको पछि लाग्छ ? यो प्रश्न कमसेकम मेरा लागि एउटा रहस्यमय पहेली बनेको छ।
समाजको सम्पूर्ण आचार-विचारमा पुच्छरले जुन मान मनितो पाइरहेको छ, यसको तुलनामा सिड विचरो र बबुरो बनेको देखिन्छ। ‘जुन गोरुको सिङ छैन उसकै नाम तिखे’ रहनसक्छ तर ‘जुन गोरुको पुच्छर छैन उसको नाम चौँरे हुन सक्दैन। पुच्छर नभएकाे गाेरू त लिँडे हो, लिँडे। अबको दुनियाँमा पुच्छर नहुने मानिसहरू पनि लिँडे, केवल लिँडे मात्रै हुन्। अघिल्तिर जतिसुकै तिखो सिङ वा गर्धने जुरो होस् तर पछिल्तिर पुच्छर छैन भने तपाईंको गन्ती हुनेवाला पनि छैन, कस्तो गजब !
काँण जस्तो तिखो सिङलाई पनि जाबो ठुटे पुच्छरले यसरी जितिरहेको छ, आफैँतिर खिचिरहेको छ। यसखाले पराक्रमी पुच्छरलाई पन्छाएर सिँगौरी खेल्ने सिङ कसले सिँगारपटार गरिरहोस् । धर्मभिरु नेपालीहरूलाई हनुमाने पुच्छरको पराक्रमबारे राम्ररी थाहा छ। त्यही पुच्छरले इन्द्रजस्तो बलवानलाई समेत चौखुऱ्याएर ठिङ्गनबाजी खेलाएको थियो।
वैदिक तथा धार्मिक ग्रन्थहरूमा पुच्छरको मान-मर्यादाका सम्बन्धमा प्रशस्तै वर्णन गरेको पाइन्छ तर सिङका बारेमा त्यति धेरै उल्लेख गरेको भेटिन्न । यसबाट पनि के प्रष्ट हुन्छ भने तत्कालीन लेखक मण्डलीमा दरिएका ऋषिमुनिहरूले पनि सिङको सानसाैकत होइन पुच्छरकै परम्परा र पराक्रमलाई महत्त्व दिएका थिए। उहिलेका ऋषिमुनिको त त्यो चाल थियो भने अहिलेको सिसिमुनिको के हाल होला खै ! सायद त्यसैले होला पुर्खाको बिँडो थाम्न कम्मर कसेका हामी नेपालीहरूले लिँडे भए पनि पुच्छरको भजन कीर्तन गर्नुलाई नै राष्ट्रिय गौरव ठान्दैआएका छौँ।
हातमा जसरी औँलाहरूले शोमा दिएका छन्, त्यसरी नै टाउकोमा सिङले शोमा दिइरहेको हुन्छ । टाङमुनि हल्लिने पुच्छरभन्दा शिरमा टहलिने सिङ धेरै गुणा माथि छ तर पनि सिङ किन अपहेलित र तिरस्कृत बनिरहेको हाे ? सिङ प्रतिको उपेक्षामा सायद लेखनकर्मी हुन् या कलाधर्मी सबका सब उत्तिकै सहभागी छन् ।
मेरो भने कुरा अलि बेग्लै छ। म सिङमाथि उपर्युक्त प्रकारको अपहेलना, तिरस्कार र उपेक्षा गर्ने पक्षमा छैन । न त पुच्छर बनेर कुनै शीर्ष पुरुपका पछाडिपछाडि झिँगा धपाउन नै तैयार छु । पुच्छर हरदम पछाडि हुन्छ र हल्लिरहनु उसको नियति बनेको छ। एउटा स्वामीभक्त कुकुर आफ्नो मालिक सामु पर्दा जसरी पुच्छर हल्लाउँछ, पुच्छर प्रकृति र प्रवृत्ति भएका मानिसहरू विलकुल त्यसैगरी शीर्ष र विशिष्ट पुरुष सामु पर्दा निरन्तर हल्लिरहेका हुन्छन् । हल्लिनु र डोलिनु पुच्छरको विशिष्ट गुण हो । रौँ तथा भुत्ला विशेष प्रत्येक पुच्छरमा हुन्छ तर कहिलेकाँही रौंविहीन ठुटे पुच्छर पनि लिठिक् लिठिक् हल्लिरहेको देख्ने मौका मैले पाएको छु।
सिङको विशेषता भने नितान्त भिन्न छ । सिङ भनेकाे स्वाभिमान पनि हो । सिङ हल्लिन जान्दैन, डोलिन मान्दैन । स्वाभाविक यथार्थ हो, यो बरु फुक्लिन तयार हुन्छ तर झुक्न जान्दैन । न त यो कहिल्यै पुच्छरजस्तो टाङमुनि लुक्ने नै गर्दछ यसर्थ सिङ सिंह हो पुच्छर स्याल हो। सिङ स्वाभिमानको सिंहासन हो भने पुच्छर लोभ र लालचको र्याल हो, खकार हो ।
त्यसैले मलाई पुच्छरप्रति औधी घृणा छ र पुच्छर प्रवृत्तिप्रति उग्र वितृष्णा छ । पुच्छर देख्नासाथ मेरो ब्रह्माण्ड तात्न थाल्दछ र मलाई अजङ्गको जङ चल्दछ । सायदै पुच्छरधारी दुईखुट्टे प्राणीहरू पनि मलाई उतिसारो मन पराउँदैनन् ।
हिजोआज सपनाको लहर चलिरहेको छ । पुच्छरले पनि ठूलो ठूलो सपना देख्ने गर्दोरहेछ। सपनाहरूमा रम्दारम्दै कहिलेकाँही पुच्छर पनि शीर्ष स्थानमा पुग्न सक्छ । विपनामा गन्दागन्दै पुच्छर पनि कहिलेकाहीँ उच्च पदमा विराजमान हुन सक्छ । प्रतिभाशाली पुच्छरहरू अलौकिक क्षमताका हुन्छन् । उनीहरूको यस्तो क्षमताका बारेमा पुच्छरबिहीनहरूलाई थाहै हुन्न। गतिशील जमानामा गतिहीन सिङको औचित्यमाथि प्रश्नचिह्न लाग्नुलाई म त्यतिबिघ्न अन्यथा त ठान्दिनँ तर बुद्धि र विवेकहीन पुच्छर मेरो शिरको सिङमाथि बेरिन आयो भने म कसरी खप्न र सहन सक्छु ।
यस्तो बेलामा सिङले सिङ्गौरी खेल्दा पुच्छरयुक्त पुरुषहरू चिच्याउलान् ‘सिङले उपद्रो मच्चायो ।’ भनेर तर म भन्छु सबैभन्दा बढ्ता उपद्रो मच्चाउने काम त पुच्छरले गरिरहेको छ यहाँ । साँच्चै आधुनिक पुच्छरले त आजका अत्याधुनिक लङ्काहरूमा आगो झोसेर ध्वस्तै पारिरहेछन् । जहाँ जाऊँ पुच्छरकै हाल हुकुम, पुच्छरकै दमदमी र पुच्छरकै पपरचक्की चलिरहेको छ।
यो भूमण्डलमा पुच्छर यत्रतत्र सर्वत्र हाजिर छ । पुच्छर गाउँमा पनि छ, पुच्छर शहरमा पनि छ । जिल्लाका सदरमुकामदेखि चमर हम्कँदै र झिँगा धपाउने पुच्छर राजधानी आइपुग्ने गरेको छ। अहिलेको राजधानीमा धेरै कुरा छ, फोहोर दुर्गन्धको रास छ, खानेपानी र बत्तीको अभाव छ, उर्लंदो महँगी छ, सत्ता छ, सासन छ, निम्न वर्गीय नागरिकका निम्ति रासन नभए पनि परम्परागत आश्वासन छ। यी सबैभन्दा बढ्ता अहिलेको राजधानीमा पुच्छरजीवीहरूको भिडभाड छ।
राजधानीको त माटो नै स्वयं यस्तो युरिया रहेछ जसले पुच्छर प्रवृत्तिलाई लहलह बनाउन सक्छ। यहाँ पुच्छर प्रवृत्ति फस्टाएको तथा मौलाएको पनि यसैले गर्दा हो। शीर्ष पुरुषका अफिसका ढोकादेखि क्वाटरका कोठासम्म अहिले पुच्छरका लामालामा ताँती देख्न पाइन्छ। बाटै जाम छ, ट्याम्पु ट्याक्सीहरू भए पो ट्राफिकले नियन्त्रण गर्दथ्यो, पुच्छर जसको न हर्न छ न हेडलाइट नै । अलि जोड जबर्जस्ती गरे आफ्नै सिङ भाँचिदेलान् भन्ने डरले बिचराे ट्राफिक पनि हैरान हैरान छ।
जाँतोलाई भन्दा हाँतोलाई खसखस भनेझै पुच्छरहरू हल्लाउने र हल्लिने दौडमा सामेल छन् । पुच्छर सिङजस्तो अचल भएर रहनै सक्दैन । हल्लनु, हल्लनु र नियमित हल्लिरहनु उसको धर्म हो। शीर्ष पुरुषहरू पुच्छर हल्लिरहेकोमा गर्व गर्दछन् । पुच्छरका ताँती देख्दा गद्गद हुन्छन् । नत्र सिङका सामु पर्दा किन पसिना छुट्छ उनीहरूलाई ? किनकि सिङ सधै अगाडि नै हुन्छ, पुच्छरजस्तो पछाडि होइन र पुच्छर जसरी फोहोरमा लटपट हुने जात सिङ होइन।
बेमतलबसँग जोरी खोज्न आउनेसँग सिङ जुझ्छ पनि । उसको लडाईं सधै न्यायको पक्षमा हुने गरेको छ। त्यस्ता लडाइँमा सिङ कहिल्यै खिइँदैन, मुडिदैन। बरु झन तिखारिन्छ । अप्ठेरो र अत्यास लाग्दो परिस्थितिमा पनि
सिङ डटिरहन्छ, जुटिरहन्छ । तर पुच्छर कहाँ त्यस्तो हुन्छ र ? अप्ठेराहरूसँग पौंठेजोरी खेल्नुको साटो पुच्छर त टाङमुनिबाटै सुइँकुच्चा ठोक्छ ।
स्वाभिमानी सिङ नभए धर्ती यसरी जगमगाउने थिएन । स्वार्थ र कपटमा लुटपटिएका पुच्छरहरू यसको सुन्दरतामा हिलो छ्यापिरहेछन् । धर्तीलाई कुरूप बनाइरहेछन् । यही कुरूपता उनीहरूको प्राण हो। तर सिङ निर्माण र नवनिर्माणको औजार पनि हो । म देख्दैछु कतिपय शीर्ष पुरुषहरू केवल पुच्छरको स्वार्थ-अन्धतामा लपेटिएर सिङलाई मुठार्न, उखेल्न तथा भाँच्न करौँती र मुङ्ग्रो समाइरहेछन् ।
सिङको सर्वनाशभित्र हामी सबैको विनाश लीला लुकेको छ। यो बिर्सनै नहुने यथार्थ हो। अब पनि कसैले पुच्छर समातेरै वैतरणी तरिन्छ भन्ने सोच्यो भने सम्झनाेस् त्यो नरकमा डुब्यो। वर्तमानका पुच्छरहरू वैतरणी तार्ने क्षमता पनि राख्दैनन् । कृपया पुच्छर गोड्न छोडौँ, र पुच्छर जोड्न छोडौँ । मानिसका निम्ति पुच्छरको जरुरत छैन, त्यसैले अनावश्यक पुच्छर गाँस्न छोडौँ । पुच्छर पुच्छर नै हो । यसको हल्लिनु सिवाय अर्को धर्म छैन ।
त्यसकारण सिङ नै सर्वस्व हो यसलाई मुठार्ने, फुकाल्ने वा भाँच्ने दुष्प्रयत्नलाई रोकाैँ, सिङ स्वाभिमान हो, यसको रक्षार्थ पुच्छरलाई आफूबाट अलग्याऔँ ।
सिङ र पुच्छरको यो तुलनात्मक अध्ययनलाई कसैले सिङ न पुच्छर ठान्छ भने त्यसलाई म पुच्छरको पनि पुच्छर ठान्छु । यसो भन्दा जोरी खोज्ने जैरे सिङको उपाधि दिएमा पनि मलाई कुनै आपत्ति हुने छैन। बरु स्वीकार्य छ ।
०००
रचनाकाल : २०५२ वैशाख
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)
राम्रो
उच्च लेखन । साच्चै सिङ्काे किन नालीबेली कम हुन्छ । अगाडि पर्नेलाई, जाेरी खाेज्नेलाई जाईलाग्ने त सिङ्ले हाे । बदनाम पच्छरकाे छ । यथार्थ छ सर ।
निकै गहकिलो पुच्छर
यो त बडा गजबको जिनिस ओ सरि पुच्छर पो रैछ त गुरु
मीठो छ यो
सबै कुरा छोडी पुच्छरमा हात भनेझैँ गरेर सबै लेख छोडी पुच्छर नै पढियो ‘ दङ्ग परियो
[email protected]
गजबको हास्यनिबन्ध रहेछ । लेखकको जय होस्।