अमर अधिकारीबैगुनीलाई गुन !
मैले बेकारमा धाक लगाउने काम गरेँ, माफ गर्नुहोला सर । हजुरको छोरा मेरो छोराभन्दा पनि महान हुनुहुन्छ । अब मैले कहिल्यै पनि धाक लगाउने छैन । म हजुरभन्दा चार श्रेणी मुनिको कर्मचारी हुँ, मैले हजुरलाई सम्मान गर्नेछु ।

अमर अधिकारी :
चम्कप्रसादले आफू निकै चम्कीकम्की धाक लगाउने गर्दथे भने लम्कबहादुर सही बाटोमा मात्र लम्कने अनि इमानदारिता कायम गर्ने गर्दथे । चम्कप्रसादको चुरीफुरी देखेर टोलबासी वाक्क र दिक्क भइसकेका थिए । चम्कप्रसाद भन्सारमा अर्दलीको काम गर्दथे । सरकारी जागिरको पदहरूमध्ये सानै श्रेणीको जागिरमा गनिए पनि चम्कप्रसादले भन्सारमा तस्करहरूबाट पैसो असुल गरिरहन्थे र जाँचकी अनि भन्सार अधिकृतसम्म भाग पुर्याउँदथे । आम्दानी दह्रो भएपछि चम्कप्रसाद झन् पछि झन चम्किनु स्वभाविकै थियो । छोराछोरीलाई राम्रा स्कुल र क्याम्पसमा पढाए, अनि छोरालाई अमेरिका र छोरीलाई अष्ट्रेलिया पठाए । पछि छोरीको कुनै नेपाली केटासँग उतै विवाह भयो भने छोराको विहे पहिल्यै नेपालमै भइसकेको थियो । छोरा-बुहारी अमेरिकामै रमाइलो जिन्दगी बिताइरहे भने छोरी-ज्वाइँले पनि अष्ट्रेलियामा सुखका जीवन बिताइरहे । यता लम्कबहादुर हुलाकका अधिकृत भए पनि उनी इमानदार थिए । मालदार अड्डामा सरुवा भएर जानका लागि सामान्य प्रशासन मन्त्रालयमा सरुवाका निमित्त दलाली गर्नेलाई घुस घुवाउने क्षमता पनि उनमा थिएन । लम्कबहादुरको एउटा मात्र छोरा थिए । छोरी सानैमा बितेकाले एक मात्र छोरासँग सन्तोष लिँदै जिन्दगी गुजारिरहेका थिए । लम्कबहादुरको छोराले प्राइभेट कम्पनीमा काम गर्दथे । तलव सुविधा खासै नभए पनि कम्पनीले उनलाई मोटरसाइकलको सुविधा भने दिएको थियो ।
चम्कप्रसादले लम्कबहादुरसँग निकै धाक लगाएर कुरा गर्दै आएका थिए । चम्कप्रसादले “मेरो छोरो त अमेरिकामा छ, महिनामा नेपाली छ लाख कमाउँछ, छोरी अष्ट्रेलियामा छे, उसले पनि महिनाको नेपाली चारलाख कमाउँछे, यो लुगा छोराले पठाइदिएको, यो जुत्ता छोरीले पठाइदिएकी” भन्दै बेलाबेलामा निकै धाक लगाइरहन्थे । “बैङ्क खातामा यति पठाइदिए, उति पठाइदिए” भन्दै रवाफ देखाइ नै रहन्थे । लम्कबहादुरको भने धाक लगाउने बाटो थिएन । उनी हुलाकको अधिकृत भए पनि घर बनाउँदा कर्मचारी सञ्चयकोषबाट लिएको ऋण बाह्रवर्षसम्म पनि तिर्न सकेका थिएनन् । उनले दशवर्ष अघिदेखिका खुम्चिएका लुगा लगाउने गर्दथे ।
चम्कप्रसाद निम्न श्रेणीको कर्मचारी भए तापनि भन्सारमा काम गर्ने भएकाले तस्करहरू पालैपालो उनलाई दशबजे घरबाट कार्यालय र पाँचबजे कार्यालयबाट घरमा पुर्याउन गाडी लिएर आउँथे । तस्करका गाडी हेर्दा त्यसको मूल्य करोडभन्दा कमका देखिनथे । चम्कप्रसादलाई कहिले कसले र कहिले कसले कार्यालय पुर्याउने र ल्याउने गर्दथे । चम्कप्रसाद नाम जस्तै उनी सुकिला मुकिला देखिन्थे । लवाई-खवाई राम्रैखालको थियो । उनको घरको भान्सामा दिनहुँ मासु-भात पाक्थ्यो । लम्कबहादुरको भने चोखो तलवबाहेक आम्दानीको अरु स्रोत थिएन । उनको छोराले पाउने तलवले आफैलाई ठिक्क हुन्थ्यो । उनको घरमा मीठो मसिनो खानका लागि चाडपर्व नै कुर्नुपर्थ्यो ।
एकदिन टेलिभिजन हेरिरहेको बेला चम्कप्रसादकी श्रीमती बेहोस् भइन् । कोरोनाको त्रास थियो, घरबाट बाहिर निस्कने अवस्था थिएन । चम्कप्रसादले पल्लोघरका लम्कबहादुरलाई फोन गरेर आफ्नी श्रीमती बेहोस् भएको बताए र छोरालाई मोटरसाइकलमा अस्पताल पुर्याएर जचाउन अनुरोध गरे । लम्कबहादुरले पनि चम्कप्रसादले भने बमोजिम अस्पताल पुर्याएर जँचाउन छोरालाई अह्राए । छोराले चम्कप्रसादकी श्रीमतीलाई अस्पताल लगेर जँचाएर ल्याए, पलबाट औषधी पनि साथमा ल्याइदिए । अस्पताल लगेर उपचारका लागि सहयोग गरेकोमा चम्कप्रसादले लम्क बहादुरलाई धन्यवाद दिए । उनले भने- “माफ गर्नुहोला सर ! मेरा सन्तान विदेश गएर धेरै कमाएर के फाइदा भयो र ? मैले बेकारमा धाक लगाउने काम गरेँ, माफ गर्नुहोला सर । हजुरको छोरा मेरो छोराभन्दा पनि महान् हुनुहुन्छ । अब मैले कहिल्यै पनि धाक लगाउने छैन । म हजुरभन्दा चार श्रेणी मुनिको कर्मचारी हुँ, मैले हजुरलाई सम्मान गर्नेछु ।” चम्कप्रसादकी श्रीमतीले स्वास्थ्यलाभ गर्दै गइन् । उता अमेरिकाबाट छोरोले र अष्ट्रेलियाबाट छोरीले हालखबर समेत बुझ्नका लागि फोन पनि नगर्ने भएपछि चम्कप्रसादले छोराछोरीबाट आशा मार्दै गए । यसरी बैगुनी बनेका चम्कप्रसादलाई लम्कबहादुरले गुन लगाएकोमा टोलबासीहरू पनि खुशी भए ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































