सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एक हातले दिएको दुई हातले देखाउनू

सायद यस्तो क्रियाकलापमा वाक्कै भएर होला एकजनाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका पनि थिए - “कृपया त्राण सामग्री वितरण गरेपछि आफ्नो फोटो फेसबुकमा अपलोड नगर्नुहोला ।”

Nepal Telecom ad

नगिता लेप्चा राई :

उहिले बूढा-पाका, गाउँका ठूला-बडा बुजुर्गहरू भन्थे, “दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् ।” फेरि यसो पनि भनेको सुनिन्थ्यो, “आफूले दान गरेको कुरा अरुलाई भन्नु मिल्दैन ।” हाम्रा बूढा-पाकाहरू, बुजुर्गहरू, गाउँ-बूढाहरू जति नै फलाके पनि हिजोआज उहिलेका ती डायलगहरू रद्द भइसकेको देखिन्छ । कसले कसलाई टेर्ने ? कसको कुरा कसले सुन्ने ? यसैले माथि मचानमा चढी चिच्याइ चिच्याइ भन्नु मन लाग्छ, “ए ! ब्याकडेटेड बूढा-पाकाहरू ! तपाईंहरूको जमानामा तपाईंहरूको यो अर्तीमूलक डायलग ठिकै थियो होला अनि अनुजहरूले त्यसै पनि गर्थे होलान् । तर गाउँ-बूढाहरू हो ! अर्ती र ओखति मिठो हुँदैन । कुकुरलाई घिउ पच्दैन भने जस्तो उहिलेको ठूला-बडाहरू ! तपाईंहरूले भनेका यी कुराहरू अब अचेलका जेनेरेशनलाई पच्दैन । यसकारण अहिले एक हातले दिएर दुइ हातले देखाउने समय आएको छ ।

कतै बाढले गाउँ नै सोतर पारेको होस् कि कतै हिंसात्मक झगडामा गावैँ डढेलो लागेको होस् । वा त्यस्तो कुनै प्राकृतिक प्रकोपले जनजीवन नै तहस नहस होस् । हामी त्यहाँ पुग्छौँ त्राण सामग्री लिएर । हामी बाहेक अन्य धेरै संस्थाका स्वयमसेवकहरू पुग्छन् त्राण सामग्री लिएर । एक छाक पनि राम्ररीसित नपुग्ने त्राण सामग्री लिएर प्रायः स्वयमसेवकहरू त्यस पीड़ित गाउँमा पुग्ने गर्छन्। त्राण सामग्री वितरण गर्नुभन्दा पहिले वा भुक्तभोगी पीड़ित आश्रयहीन परिवारको दुःख सुखको कुराबारे कुनै जानकारी नलिइकनै त्राण समग्री वितरण गर्न गएका स्वयमसेवकहरू भटाभट फोटो खिँच्नपट्टि लाग्छन् । कोही सेल्फी लिन, कोही अटिनअटिई त्राण सामग्रीभित्र गुजुल्टिएर पोज पोजको फोटा खिचाउन पट्टि लाग्छन् । अनि भरै फेसबुकमा “आज फलानु संस्थाको पक्षबाट फलानु गाउँमा त्राण सामग्री वितरण गरियो ।” त्यतिमात्रै कहाँ र हजूर ! त्यति मात्रै कहाँ र ? क्यापसनमा संस्थाका कुन सदस्यले के पोका वितरण गरे त्यो पनि पोष्ट गर्छन् ।

भोलिपल्ट स्थानीय दैनिक समाचार पत्रमा त्राण सामग्री अघिल्तिर राखी पछिल्तिर संस्थाकै स्वयम सेवक उभिई समाचार पनि पो छपाइहाल्छन् । अब यहाँ प्रश्न के छ भने, यहाँ पीड़ित गाउँवासीलाई त्राण सामग्री वितरण गर्नु ठूलो कुरो होइन… तर त्राण समग्री अघि उभिएर फोटो खिँची फेसबुकमा अपलोड गर्नु ठूलो कुरो भइसकेको देखिन्छ । यस अर्थमा उहिले बूढा-पाका तथा बुजुर्गहरूले भनेका “दाहिने हातले दिएको देब्रे हातले थाहा नपावोस् ।” भन्ने कुरा वा अर्ती वा उपदेशले फेल खाएन त !

हिजोआज मान्छे प्रोपोगाण्डा एडिक्ट भएका छन् । सबैलाई प्रोपोण्डागाण्डा चाहिन्छ । उहिले हाम्रा बुजुर्गहरू भन्थे “आफ्नो डम्फू आफै नबजाउनू ।” अचेल जमाना त्यस्तो छैन । अचेल आफ्नो डम्फू आफैले बजाएन भने आफू शून्यमा बिलाइन्छ । यसैले अचेल ता दाहिने हातले मात्र दिँदैनन् स्वयमसेवकहरू दुइटै हातले त्राण सामग्री समाती पीडित परिवारलाई सुम्पिँदै गरेको फोटो ख्याच्याक्कै ख्याच्याक्कै खिँचाउँछन् ।

अर्को विशेष कुरो के याद गर्नुहोला… कुनै गाउँमा प्राकृतिक प्रकोपको शिकारमा परेर गाउँवासीका मुहारहरू ओइलिसकेको पात जस्तो भइसकेको हुन्छ… त्यस्ता निराशा, हताशा, त्रसित अनुहारलाई आफू सामु राखेर त्राण सामग्री प्रदान गरेको फोटो खिँच्नु लु स्वाभाविकै होला… तर स्वयमसेविकाहरू भने आर्टिफिसियल मुस्कुराएर सामग्री प्रदान गरेको देख्दा तिनकै घर चाहिँ कि बाढले कि चाहिँ आगलागी भएर स्वाहा पारिदिएको भए अवस्था स्थिति कस्तो हुन्छ भन्ने प्रश्न जाग्नु अस्वाभाविक होइन ।

भनुँ नै भने, त्राण सामग्री लिएर पीडित परिवारलाई सहयोग गर्न जाने स्वयमसेवक त्राणसामग्री वितरण गर्नुभन्दा पनि त्राण सामग्री वितरण गर्दै गरेको फोटो ख्याच्याक् ख्याच्याक् पार्नलाई मात्रै गए जस्तो लाग्छ । तर मेरो यो अनुमान गलत पनि हुन सक्छ । तर मनको कुरा के भन्न चाहन्छु भने, त्राण सामग्री वितरण गर्न संस्थाका कुनै पनि स्वयमसेवक त्राण सामग्री प्रदान गर्न मात्रै जान्छन् कि आफ्नो फोटो ख्याच्याक् ख्याच्याक् पारी फेसबुकमा अपलोड गर्न जान्छन् । यसबारे मलाई कुनै मतलब छैन । तर म चाहिँ पीडित परिवारसमक्ष त्राण सामग्री वितरण गर्नु चाहिए फोटो ख्याच्याक् ख्याच्याक् पार्नु मात्रै जान्छु । “दाहिने हातले दिएको देब्रे हातले थाहा किन पाउनु पऱ्यो र होइन हजूर ? बोल्दै बोल्दिनँ… नबोली नै त्राण समग्री प्रदान गरेकी फोटो ख्याच्याक् ख्यच्याक् पार्न लाउँछु । म किन बोल्नुपर्‍यो र ? अरु सित मलाई कुनै मतलब छैन । दाहिने हातले दिएको देब्रे हातले थाहा किन पाउनुपर्‍यो होइन र ज्यू ! किनभने भनिन्छ नि फोटो आफै बोल्छ । मैले किन बोल्नुपर्‍यो र !

त्राण सामग्री वितरण गर्ने निहुँमा फोटो खिँचेर फेसबुकमा अपलोड गर्न एडिक्ट भएका फोटोक्रेजी मेरा साथीहरू के भन्छन् भने खै त्राण सामग्री वितरण गर्ने चान्स कहिले आउँला ?

समष्टिमा के भन्छु भने, हिजोआज त्राण सामग्री वितरण गर्ने चान्समा फोटो ख्याच्याक् ख्याच्याक् पार्नमै मस्त देखिन्छन् कतिपय स्वयमसेवकहरूलाई । सायद यस्तो क्रियाकलापमा वाक्कै भएर होलान् एकजनाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका पनि थिए – “कृपया त्राण सामग्री वितरण गरेपछि आफ्नो फोटो फेसबुकमा अपलोड नगर्नुहोला ।” तर जति नै अर्ती उपदेशका कुराहरू लेखून् त्यसको असर कसैलाई पर्ने होइन । त्यसैले दाहिने हातले दिएको देब्रे हातले थाहा नपाउनु होइन संसारैले देख्ने गरी त्राण सामग्री वितरण गर्दै गरेको देखाउनुपर्छ भन्ने तिर सबै लागेको देखिन्छ ।”
कसको कुरा कसले सुन्ने ? लागेको बानी कसले छोड्ने ?

०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
माइला दाइको फुर्फुर

माइला दाइको फुर्फुर

नगिता लेप्चा राई
चारो

चारो

नगिता लेप्चा राई
झोला

झोला

नगिता लेप्चा राई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x