शेषराज भट्टराईमच्छडालाप
हामीलाई भगवानले शरीरमा ठग्नु ठगे र पो भाँडाकुँडा, ट्युटायर, खाल्डाखुल्डी मैलोधैलो पानीमा लार्भा उत्पादन गरेर कुना काप्चामा सेल्टर खडा गर्दै वंशलाई निरन्तरता दिएका छौँ ।
शेषराज भट्टराई :
हामीले जाने बुझेकै शब्द हो यो मच्छडालाप । मच्छड्को आलाप मच्छडालाप । नेपाली जनजिब्रोमा लामखुट्टे र अङ्ग्रेजीमा मस्कुइटो यसैको नाम हो । उदाहरणका लागि प्रेमालाप, वार्तालापलाई पनि लिन सकिन्छ । मच्छड्को चिच्याट्ट क्रन्दन कानमा दन्दन् बोल्न थालेपछि मनमुटु पोल्न पनि थाल्दछ । निदाएको भए ठूलाठूला आँखा पारिन्छ । सुतेको भए उठिन्छ र बसेको भए मच्छडलाई चुटिन्छ । एक किसिमले मच्छड् र मान्छेको आकस्मिक, अप्रत्याशित, अघोषित अपर्झट आफ्नै आवासमा युद्ध शुरु हुन्छ । सुत्ने कोठा, बैठक कोठा, खाने कोठा, पुजा कोठा, पसल पाठशाला बधशाला, मधुशाला, पानीपँधेरो, कुवा, ताल तलैया, वनजङ्गल आर्यघाट, रामघाट, मसानघाट जता पनि संग्रामको श्रीगणेश गरिन्छ, बुट्टेदार लामखुट्टेसँग ।
मच्छड् भन्दा ठूलो मान्छेको घरलाई आफ्नै आवास ठानेर बसेको झिँगाले कहिल्यै आतङ्कित बनाउँदैन । अइया, आत्थुको तालमा पिटापिट पनि गर्नु पर्दैन । आफूले खाइरहेको थालको छेउमा बसेर वा भातको ठल्लो वा ढिँडाको नालमाथि चढेर हसुर्दा पनि त्यसलाई काल आउँदैन । न सिर न राग न आरोप प्रत्यारोप । पुस्तौदेखि सँगै बस्ने खाने गरेको झिँगालाई डेंगी फैलायो भनेर न जनताले फतुर लगाए न सरकारले । मान्छेकै भान्सामा मान्छेले नै खाने दाल, भात, दुध, दही, मही ज्यूनार गर्छ । मान्छेलाई न त्यस्ले डस्छ । मानवको ओच्छ्यान भन्दा रछ्यान मन पराउने झिँगा मच्छड् भन्दा उदुम इज्जतिलो स्टेडर्ड र खान्दानीया पो लाग्न थाल्यो । यस्तो पो इमान्दारिता मच्छड् त स्वर सुन्दै चिथोरौँ चिथोरौँ लाग्छ । कहाँको कवाडी, फुटपाथे, सुकुम्बासी, जोगी, भोगी, रोगी, असभ्य, भिखारीकै भान हुन्छ । जतिखेर जहासुकै जहिले पनि अर्कालाई चुसेरै बंश चलाउछ । यसो भएपछि सरकार र मच्छड् बिचको भिन्नता नै के रह्यो र ?
अरु सबै सिजन छोडेर यी मच्छड्हरुले किन गर्मी सिजन रोजेका होलान् । जाडोमा ति कता जान्छन ? के धोक्छन् । कता रात बिताउँछन् । मानव चाहि जाडो गर्मी हर मौसममा एउटै दुलोमा बसिरहेको हुन्छ । मानव मच्छड् नहुँदा आनन्द मान्छ तर पनि मच्छड्ले मान्छेलाई निकै नजिकको नाता झै विस्तारामै भेट्न पुग्छ ।
मच्छड्को मेख मार्न मान्छे आफै झुलले घेरिएर बेरिएर सुतेको हुन्छ । त्यो ओच्छ्यानको वरिपरि सयौ मच्छड्को र्याल चुहेको हुन्छ । धेरै मच्छड्हरु झुलका प्वालमा पाउ अड्किएर नै विरगति प्राप्त गरेका हुन्छन् । अनि मान्छेले मच्छड्कै त्रासका कारण झुल, झोल ट्याब्लेट, मलम जस्ता शस्त्र अस्त्र वस्त्र खरिद गरेर सुरक्षित महसुस गर्छ । भीमकाय शरीर नभए पनि मच्छड् उडेको देखेपछि मान्छेको सातोपुत्लो पनि सँगसँगै उड्ने गर्छ । जाबो भातको सितोजत्रा मच्छड्सँग मोदीसँग जस्तै थरथर कामेर भएभरको जायजेथा खर्चिएर गर्मी महिनाभरी डराइडराइ आधाभन्दा ज्यादा समय नष्ट गर्नुपर्छ । मान्छे त मुला मच्छड्लाई थान्को लगाउन नसक्ने हुतिहारा नै होकि झै लाग्न थाल्यो ।
यत्रावर्ष बितिसक्यो मच्छड्ले मात्रै एकतमासले मान्छेको रगत घटघटी पिइरहदा खैत ठूलो भनाउदो मान्छेले चाहि मच्छड्को खुनपान गर्न किन नसकेको ? सानो भनेर हेप्दाको परिणाम नै डेंगीको माध्यमबाट मान्छेले ब्यहोरी रहेको छ । मान्छे त ठूलो कुराको पछाडि दौडिदै बेहोस छ । तर सानो प्राणीले भान्सा, बैठककोठा, शयन कक्ष, आँगन, दलान, करेसाबारी, ट्वाइलेट, बाथरूम सर्बत्र एकछत्र राज गरिरहेका हुन्छन् । हेला गर्दा हेलाको फेला परिन्छ कि विचार गरौँ है ।
कुरा अहिलेको गर्मी सिजनकै हो । मेरो झुप्री घरको दायाँबायाँ वरिपरि जतासुकै चराचुरुङ्गीले घाँटी भिजाउन भनेर पानी अटुट रूपमा राखिदिने गरेको थिए । दिनप्रतिदिन चराचुरुङ्गीले भन्दा मच्छड्ले घर घेरिन थाल्यो । आगो बाल्यो धुवाँ पुत्तायो जे गरेपनि मच्छड्ले मेरो पौरख पाइन् पत्याएन । मच्छड्ले मलाई र मेरा परिवारलाई चुसेर मज्जा लिन छोडेन । दिनप्रतिदिन मच्छड्को वंश बढ्दै गयो । भान्सामा भात खाने हातमै बसेर मच्छड्ले टोक्न थाल्यो । पुजाकोठामा ध्यानमग्न ज्यानमा टेकेर टोकेर धावा बोल्यो । मान्छेका पिडुलामा जोरलात्तीले हान्दै सुड घुसारेर देखादेखी डस्न थाले । बैठक कोठामा बस्न पाएको छैन डस्न हाजिर भैहाल्छ । परपाहुनाको कुरामा चित्त नबुझे पनि मच्छड्का कारण ताली पिट्नु परिरहेको छ । प्यारो ज्वाइँलाई समेत पस्न बस्न नदिएको कोठामा पनि भालेपोथी मच्छड्को राइदाइ देख्दा आफैलाई काइकाइ गरेर रुन मन लागिसक्यो । निदाउन लाग्यो कानैमा मच्छडालाप शुरु हुन्छ । मस्त निन्द्रामा पनि मच्छडालापले छोड्दैन । कति पटक त मच्छड्ले लखेटेको सपना देखेर खाटबाट खङ्ग्रङ्ग खसेको छु ।
उखरमाउलो गरम समयमा शरीरमा भएको जनै त धेरै भइराखेको बखतमा कात्रोले पनि के ढाकिने । शरीरमा कुना कन्दरामा पनि अजस्र जलप्रवाह उर्ली रहेको हुन्छ । प्यारी मायालाई समेत टोक्न नदिएको पवित्र ज्यानमा मच्छड्ले दाँत गाडेर कतै सग्लो छैन । जहा पायो त्यहाँबाट रगत निकालेर आन्द्राभुँडी भरिरहेको छ । आफ्नो वंश वृद्धि हेतु अर्काको खुनमा जुन अतिचार चलिरहेको छ त्यो क्षमायोग्य छदै छैन । त्यसरी त नेपाली राजनेता र मच्छड्मा तात्विक भिन्नता नै के रह्यो र ? मान्छेले यि दुईबाट कहिले मुक्ति पाउलान ? म त आत्ति सके । मच्छडालापले घर घरजस्तो लाग्नै छोडिसक्यो । मच्छड् मार्ने रन्कोमा आफूले आफैलाई चड्कन लगाउदै धड्कन चलाउँदै गर्न कम गारो छ ज्यानलाई ।
अरु मौसमलाई लात मारेर किन गर्मी समय रोजेको होलान् त भनेर आफ्नै नाकको डाँडीमा बसेर मेरो ए पोजेटिभ रगतपान गरिरहेको बुट्टेदार व्याउन ठिक्क परेकी बुढी मच्छड्नीलाई रगत चुस्न दिने शर्तमा साँचो कुरा भन भनेर म आफैले आँखैका अगाडि आजकै दिनमा गरेको कुराकानी संक्षेपमा जनसमक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
म – जाडो याममा नाकमुखै नदेखाउने अहिले चाहि मानवको घरघरमा पसेर आतङ्कित पार्नुको कारण के होला ?
मच्छडालाप – जाडोयाममा मान्छेले शरीरलाई प्राण रहित मान्छेलाई जस्तै गरेर ढाकेर बेरेर राखेका हुन्छन् । त्यसमाथि पनि लुगाका पत्रहरु एकपत्र होइन दुईपत्र होइन सत्रपत्र भित्र कसरी थुतुनु जोतेर डस्नु ? अनि काँ बस्ने कता टोक्ने ? सर्वत्र वस्त्रैवस्त्र । आँखामा गएर टोकौँ भने आँखा झिमझिम गरेर परेलामा परेर मरिन्छ कि भन्ने पिरलो हुन्छ । सबैले आगोतापी रहेका हुन्छन् डर कति हो कति । त्यही भएर जाडोमा हामी मान्छेलाई चुसेर पाप गरेका कारण पाप पखाल्न तिर्थाटन चारधाम गर्न गएका हुन्छौ । अनि तेतिन्जेलसम्मको भोक प्यास मेटाउन नाङ्गा भुतुङ्गा मान्छे रोज्दै खोज्दै पछिपछि लागेर भएपनि ए पोजेटिभ, बि पोजेटिभ, ओ पोजेटिभ जस्तो पाइन्छ त्यस्तै खुनपान गरेर आफ्नो ज्यान र वंश वृद्धिका लागि मरिमेट्छौँ । त्यसै शिलशिलामा एक दिन मेरी जेठी बुहारीले ओ पोजेटिभको रगत चुस्दै गर्दा ठाउँका ठाउँ एैया पनि भन्न नपाइ सहिद बनेकी सम्झना ताजै छ ।
म – अहिले पछिल्लो समय डेँगु डेँगु भनेर मानवले मच्छड्लाई नै गम्भिर दोषारोपण गरेको छ, के हो यो मच्छड् कै कारणले डेँगु फैलिएको हो त ?
मच्छडालाप – हुँदै नभएको आरोप त यहाँ राजनीतिक दलका घनटाउके नेताले त व्यहोरी रहेका छन् भने हामी त मान्छेका घर, कम्पाउण्ड गोठ खोर फोहोर हरेक कुनाकाप्चामा सर्वत्र शयर गरेर आँखा हात छलेर डकारी राखेकालाई त लगाउने नै भए । तर के साँचो हो भने हामीले पनि आफ्नो वंशवृद्धि गरेर संसार छपक्क ढाक्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । त्यसैले पायक पर्ने उपयुक्त प्रजनन थलो रोजेर खोजेर आफ्नो श्रीवृद्धि हेतु भरिमेट्नु कुनै पनि प्राणीको नैसर्गिक अधिकार हो । र हामीले पनि त्यही अधिकारको सदुपयोग गरेको मात्रै । हामीले यसो गर्दा पेट भर्दा एकथोपा खुनपान गर्दा मान्छे मर्ने विरामी पर्ने हुन्छ भने त्यसमा हाम्रो भन्नु केही छैन । बाँच र बचाउको सिद्धान्त शिरोपर गरेको मात्रै । त्यसमा पनि सक्छौ इच्छा पुरा हुन्छ भने हामीलाई नै डस । मार । त्यसमा म जस्ता मच्छड् वंशको कुनै गुनासो छैन । दुइचार पाथी दुई चार किलो मारेउ भन्दैमा हामीले गर्मी मौसमलाई गुमाउन सक्दैनौँ । मानवको दशैँ तिहार चाड जस्तै उखरमाउलो गर्मी सिजन पनि हाम्रो उल्लासमय पर्व हो । पर्व मनाउन जस्ले पनि पाउँछ ।
म – खासगरी तिमीहरुको लार्भा, वंश, अण्डा कस्तो जग्गा जमिन खाल्डाखुल्डी वा जलाशयमा सुरक्षित रहेको हुन्छ ? त्यस मामलामा केही प्रकाश पार्न मिल्छ ?
मच्छडालाप – मान्छेले कसरी वंश वृद्धि गर्छ त्यो चाहि अश्लील भनेर गोप्य राख्ने अनि हाम्रो वंशको चाहि निदीखुदी किन ? मान्छेका कारण हामी पनि संकटापन्न अवस्थामा गुज्री रहेका छौँ । हाम्रा लोग्नेहरू भयंकर भयका कारण रुख विरुवाको चोप, रसपान गरेर वनमै बस्छन् । हाम्रो दुखेसो कता पोख्ने कहाँ बिसाउने ? राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिश, सेना प्रमुख, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, अस्पतालका डाक्टर प्रमुख प्राध्यापकका प्रमुख, सबैका कानमा गएर साँझ बिहान गुनासो गर्दा हामीलाई टिम्किन नदिइ टिप्पा खेलाउने । गुनासो नसुनी थप्पड लगाइहाल्ने कति छुद्र हुन् मान्छे । मेरा धेरै शाखा सन्तानहरु तिनै प्रमुखका दाहिने हातको शिकार भएका छन् । अनि आज शत्रुका लार्भाको उद्गम स्थल बासस्थान किन चाहियो ? सक्छौ भने तिमीहरु आफ्नो बासस्थान घर, गोठ आँगनका ओरिपरि वसपार्क, जतासुकै भएभरका फोहोर पानी जम्ने खाल्डाखुल्डी पुरपार पार या छोपेर राख । आफ्नो थैली बाँधेर नराख्ने अनि साथीलाई चोर लगाउने ? बुद्धिमानी मान्छेले वातावरण सफा राखे भैगो नि । हाम्रो त फोहोर नै मान्दिर हो । फोहोर नै प्रसादी । हाम्रो जमघट भेला प्रवचन । भोज सधैँ फोहोरमै हुन्छ । नजाने गाउँको बाटो नसोध्नु भन्ने थाहा छैन ? हाम्रो मुख हेर्न मन छैन भने आइसल्याण्ड भन्ने देशमा गएर बस । नेपाल भुमी त हाम्रो लागि मक्का मदिना जस्तै स्वर्गतुल्य छ ।
म – ए डेँगुकी सुत्राधार हामीलाई अप्ठ्यारोमा नपार । के तँ मान्छे भन्दा बुद्धिमानी होस ? मान्छेलाई अर्ति उपदेश दिने ?
मच्छडालाप – मान्छेको जस्तै तौल, चालढाल र हाम्रो शरीरमा टन्न बाल र बल भएको भए हामीले समुन्द्रको बिचमा गएर वंश कोरल्न सकिन्थ्यो । मान्छेले जस्तो घर अस्पताल भनेर बस्ने थिएनौँ । हामीलाई भगवानले शरीरमा ठग्नु ठगे र पो भाँडाकुँडा, ट्युटायर, खाल्डाखुल्डी मैलोधैलो पानीमा लार्भा उत्पादन गरेर कुना काप्चामा सेल्टर खडा गर्दै बंशलाई निरन्तरता दिएका छौँ । जहासम्म बुद्धिमानीको कुरा छ जो जतिसुकै बुद्धिमानी भएपनि कोही कसैको बुद्धिले बाँचेको हुँदैन । गुह्य किरो, साङ्लेकिरो, झुसुलीकिरो, मुसा, भ्यागुता, माछा, चराचुरुङगी, सिंह मान्छेका मगजले बाचेका हुन् र ?
हत्तेरीका मच्छडालापले म नराम्रोसँग रन्थनिएर मार्छु मच्छड्नीलाई भनेर नाकमा हानेको एक भुँडी रगत टिलपिल पार्दै मच्छड्नी टाप कसी । आफूले आफैलाई नराम्रोसँग थप्पड हाने । अस्पताल भर्ना भएँ । डाक्टरले मच्छड्ले टोकेको थियो ? भनेर सोध्यो । मैले खुइया सास फेर्दै हँ हँ गर्दै अँ भने । अहिले डाक्टर र नर्सको निगरानीमा रहँदै मच्छड्लाई फक्लक्क भन्दै धारे हात लगाइरहेको छु ।
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
Subscribe
Login
0 Comments
Oldest








































