घनश्याम रेग्मीमर्निङ वाक र परिदृश्यहरू
कुतीलाई सँगै सुताउँने, विदेशी सेम्पु साबुनले नुहाउने, आयातीत बट्टाको खाना खुवाउनेदेखि लिएर डुलाउँदै /बोकेर मर्निङ वाक गर्नु के ठुलो कुरा भयो र ?

घनश्याम रेग्मी :
“कति न उपति गरेँ भन्दा हौ ?
कामको सिन्को नभाँच्नेहरू त बिहान अबेरसम्म लम्पसार परेर सुत्नु नि !…
बिहान ५:३०को समय । केही घटना भएकाले मानिसहरू बिच सडकमा जम्मा भएका छन् । एक जना जोड जोडले कराएर माथिका यी र यस्तै शब्दावली बोल्दै थिए । सायद उनी कसैलाई गाली गर्दै थिए । उनी अलि बढी हतास र आवेशमा भएजस्तो देखिन्थे । नजिकै पुगेर मैले सोधेँ “ए ! के भयो हजुर ? चोट लाग्यो कि ?
“कसलाई के भन्नुभएको हो ?”
मैले सोधेको प्रश्नको उत्तरमा उनी थप पोखिए ।
भएछ के भने उनी आफ्नो घर भएको ठाउँबाट करिब १० किलोमिटर टाढाको अर्को सहरमा बिहानै पढाउन जाने गर्दारहेछन् । हरेक दिन बिहान ५ बजेतिर उठेर काममा जाने उनको दैनिकी नै रहेछ । उनी आफ्नो मोटरसाइकलबाट ओहोरदोहोर गर्दारहेछन् । आज पनि उनी पुरानै रुटिन अनुसार ठिक समयमा उठेर आफ्नो गन्तव्यमा लागेका रहेछन् ।
जाडो याम सुरु भएपछि अलिअलि कुहिरो पनि लाग्न थालेको छ । पानी/शीतका कणहरू हावामा बाक्लिँदै गएकाले प्रष्ट नदेखिने समस्या एकातिर छ भने अर्कोतिर मर्निङवाक नामको रोग लागेका मानिसहरू सडक कब्जा गर्दै हिँड्छन् । कानमा इयरफोन (आइ पोर्ट- काने त्यान्द्रो )लगाएर कुकुर डोर्याउँदै हिँडेको कुनै भुसतिघ्रे उनको अघि मर्निङ वाक/जगिङ के के हो गर्दै रहेछ ।
मोटरसाइकलको हेड लाइट बलेकै थियो, हर्न बजाउँदा पनि काने ठेँडीले सुन्नै दिएन । सुने पो डर हो, उसले सुन्दै सुनेन । आ, आफ्नो बाटो गइहाल्छ नि भन्ने किसिमको अलि अटेरी बानी पनि हुनसक्छ । घरमा हुने खाने भई टोपलेको पनि हुनसक्छ ।
आफ्नोभन्दा कुकुरको खातिरदारी गर्ने प्रवृत्तिको मान्छे भएकाले सानोतिनो सडक दुर्घटना घटेछ । धन्न कुकुर र उसको मालिक त तै जोगिएछन् ; तर हतारमा भएका कर्मचारी महोदय भने सानोतिनो दुर्घटनामा परेछन् । अलिअलि दर्फरिएछन् । कुकुर धनी र उनकाबिचमा भनाभन भएछ । कुकुर धनीले उल्टै थर्काएर झाँको झारेछ । उसले आफ्नो प्यारो कुकुर लिएर आँखा तर्दै अगाडि बढेछ ।
कुकुर धनी गएपछि पनि उनी उसैतिर फर्केर गाली गर्दै थिए । मैले सोधेपछि पनि उनी सोही प्रसङ्गमा आफ्नो रोषपूर्ण भनाइ राख्दै थिए ।
“सुत्न मन नलागे बरु भकाभक कोदालो समाएर खेतबारी खन्नु नि, तरकारी फलाउनु । खेत बाँझै छन्, उता विदेशबाट ल्याएका विषादीयुक्त तरकारी किन्न लाइन लाग्छन् बेइमानहरू ! एकाबिहानै काम न काजसँग कसैको नभएको कुकुर लिएर दुनियाँको बाटो छेक्दै लखरलखर गर्न खुब जानेका छन् …। मान्छेलाई कहाँ पुग्न हुन्छ ? कसरी समयमा पुग्न र काममा खटेर मानो जुटाउन पर्छ भन्ने यी भुसतिघ्रेहरूलाई के थाहा ? बाबुआमाको सम्पत्तिमा मोज गरेर फुर्मास गरेर होस् वा शोषण गरेर थुपार्नेहरूलाई समय र कामको के मतलब ? जम्मै बाटो मेरो मात्र हो भनेझैं गरेर हिँड्ने अझ दोष सवारी हाँक्नेलाई ..” उनी अझै आफ्नो आक्रोशलाई पोख्दै थिए ।
हुन पनि कुकुर पाल्ने र देखासिकी गरेर सडक कब्जा गरेर सडकमै व्यायाम कि के के गर्दै यो सडक सबैको हो भनेर नसोच्ने चलन आजकल खुबै चलेको छ । सानातिना भुराभारी केटाकेटीदेखि लिएर बुज्रुक उप बुज्रुकहरू जम्मै यसैगरी सडकमा लाम लागेका हुन्छन् । न सडक सुरक्षाको चासो छ न ट्राफिक चेतना नै छ । थाहा पाएर पनि बल मिचाइँ गर्ने, बेपर्वाहसँग हिँड्ने त भनी साध्यै छैन ।
कहिले कसले कताबाट फ्याट्ट बाटो काट्ने हो कि ? दुर्घटना हुने हो कि ? सधैँको त्राहि त्राहि भएर सडकमा हिँडी साध्य छैन । अझ त्यसमाथि कुकुर पालेकाहरूको सडकमा उपस्थितिले थप समस्या निम्त्याएको देखिन्छ ।
अहो ! कुकुर प्रेमीहरूको त कुरै बेग्लै छ । कुकुर पाल्नेहरू आफूलाई बडो सौभाग्यशाली ठान्दछन् । सान मान र रवाफको चुली चुलिएको हुन्छ । पप्पी, डगी जे भने पनि आखिर कुकुर कुकुर नै हो । कुत्ता कुती, आचे, श्वान, काले, खैरे , पाङ्ग्रे , डगी, पप्पी , जो जो आदि अनेक नाम धारी त्यो जीव जति गरे पनि कुकुर नै हो । त्यसले खाने आची नै हो । हाम्रो समाज कतातिर जाँदै छ र देखासिकीले कहाँ पुर्याउँदै छ भन्ने एउटा पक्ष यो पनि ज्वलन्तरूपमा देखापरेको छ ।
उहिल्यै हाम्रा व्यङ्ग्य शिरोमणि भैरव अर्यालले एक ठाउँमा लेखेका छन् –
“थलियाभरि पस्की झिँगालु रस
खटिया उपरै कुती साथ बस
खुब खाऊ पियाऊ सुमरी
अमरावती कान्तिपुरी नगरी ।”
अर्याल बाजेकै समयमा कुतीलाई यति विधि प्यारो गरेर खटियामा राखेर ऊ सँगै बसेर खाने गरेको परिदृश्य उतिबेला नै देखिएको रहेछ, अहिले त झन् नबढ्ने कुरै भएन । घरमा चारो छ छैन, म सबैभन्दा जान्ने सुन्ने हुँ भन्ने सर्वज्ञरत्नहरू यो मामिलामा अगाडि छन् । कुतीलाई सँगै सुताउँने, विदेशी सेम्पु साबुनले नुहाउने, आयातीत बट्टाको खाना खुवाउनेदेखि लिएर डुलाउँदै /बोकेर मर्निङ वाक गर्नु के ठुलो कुरा भयो र ? आजका भुसतिघ्रेहरूले पनि डुलाउन र आची गराउन हिँडाउनै पर्यो। आजको त्यो भुसतिघ्रेले पनि ठिकै पो गरेछ कि त ? बेकारमा ती बिहानी कर्मचारीले गाली गर्नु र हक्ल्याउन खोज्नु न्यायसङ्गत भएन कि ? शङ्का छ है ।
हाम्रा पुर्खाहरू गाई, भैंसी, बाख्रा आदि वस्तु पाल्थे । वस्तु भाउबाट दूध, दही मोही प्रसस्त पाइन्थ्यो । गोरस खाएर उनीहरूको स्वास्थ्य अवस्था पनि राम्रो थियो । आजकल भने के भएका हुन् ? हरे शिव ! न दूध देला न हलो जोत्ला न त मल नै होला र खेतीपाती सप्रेला । पहिले गाउँ घरमा जङ्गली जनावरबाट सुरक्षा , चोर डाँकाबाट सुरक्षा आदिका लागि कुकुर पाल्थे । अहिलेका धेरैजसो कुकुरहरू सौखका लागि लाखौं खर्चेर पालिने केबल कुकुर मात्र हुन् । कुकुर !
अहिलेको समाज पनि गजबको छ । आफू बरु ढाँटेर ठगेर बाँच्छन् तर कुकुरलाई भने दैनिक मासु त्यो पनि रोष्ट ! कमलो बिस्तरा, सुइ र औषधि सबका सब आयातीत । बिहान बिहान सोही पप्पी लिएर बिच बाटोमा दिसापिसाब गराउँदै लखरलख हिँड्दा आफू गौरवान्वित महसुस गर्ने आजको हाम्रो समाज कता जाँदैछ । सडकलाई आफ्नो निजी खेल मैदान सम्झेर बेवास्ता गर्दै सडकमै लमतन्न पल्टिएर योग कि के गर्दा पोहोर साल एकजना सडकमै सवारी साधनले किचिएर मरेको घटना ताजै छ । गाडीले ठक्कर दिएर भाग्यो महिनौं पत्ता लागेन। गाडीले ठक्कर दिन/ छुनमात्र पर्छ नारा जुलुस, चक्काजाम र सवारी साधनहरूको तोडफोड सुरु हुन थाल्छ । नेता प्रहरी गुहारेर हुँदो नहुँदो क्षतिपूर्तिको तमासा सुरु हुन्छ ।
सवारी साधनले आफैँ किच्ने होइन, कुनै सवारी चालकको किच्ने, मार्ने , हत्या गर्ने र अरूलाई दुःख दिने सोच हुँदैन । सवारी साधनहरू इन्जिन हुन् । कहिलेकाही इन्जिनहरूमा खराबी आउन सक्छ र ब्रेक नलाग्नेजस्ता कुराहरू प्राविधिक कुरा हुन् । प्रविधि मान्छेको मन होइन । सवारी साधनहरू पुराना वा मर्मत गर्नुपर्ने अवस्थाका भएका हुन सक्छन् । सडकको अवस्था उस्तै बेहाल छ । सानोतिना खाल्डाखुल्डी परे पुर्न सरकारलाई बर्षौँ लाग्छ । घर अगाडि सडकमा परेको खाल्डो नपुर्ने तर सरकारलाई गाली गर्ने प्रवृत्तिको समाज छ । दुर्घटनामा भई हाल्यो भने उद्धार गर्न भन्दा भिडियो खिच्न र टिकटक बनाउनेहरूको भिड लाग्न थाल्छ । यस्तोमा उद्धार र राहत नाममात्रको हुने र ढिलासुस्ती हुने गरेको पाइन्छ । सरकारी संयन्त्रको लापरबाही कस्तो छ भनेर बुझ्न भर्खरको उपत्यका बाढीको समयमा देखिएको प्रवृत्तिलाई लिन सकिन्छ । यस्तोमा हरेक नागरिकले सुरक्षा सावधानी अपनाउन र अर्को पक्षलाई सहयोग गर्नु सभ्य समाजको परिचय हो ।
एउटा भनाइ छ “सावधानी घट्यो कि दुर्घटना बढ्यो ।” सडक अतिक्रमण बढेको छ । जनसंख्या वृद्धिसँगै सवारीसाधनको चाप पनि अत्यधिक बढेको छ । यस्तोमा हरेक क्षण दुर्घटना बढ्न सक्छ । सचेत नागरिकले यस्ता कुरामा सचेतना फैलाउनुका साथै आफूले व्यवहारमा पनि उतार्नु पर्छ । सभ्य नागरिकले नै सभ्य देश बनाउने हो । हामी पनि सभ्य देशका सभ्य नागरिक बनौँ ।
०००
हाल: बैजनाथ १, चिसापानी, बाँके
Subscribe
Login
0 Comments
Oldest







































