साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्निङ वाक र परिदृश्यहरू

कुतीलाई सँगै सुताउँने, विदेशी सेम्पु साबुनले नुहाउने, आयातीत बट्टाको खाना खुवाउनेदेखि लिएर डुलाउँदै /बोकेर मर्निङ वाक गर्नु के ठुलो कुरा भयो र ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

“कति न उपति गरेँ भन्दा हौ ?
कामको सिन्को नभाँच्नेहरू त बिहान अबेरसम्म लम्पसार परेर सुत्नु नि !…

बिहान ५:३०को समय । केही घटना भएकाले मानिसहरू बिच सडकमा जम्मा भएका छन् । एक जना जोड जोडले कराएर माथिका यी र यस्तै शब्दावली बोल्दै थिए । सायद उनी कसैलाई गाली गर्दै थिए । उनी अलि बढी हतास र आवेशमा भएजस्तो देखिन्थे । नजिकै पुगेर मैले सोधेँ “ए ! के भयो हजुर ? चोट लाग्यो कि ?
“कसलाई के भन्नुभएको हो ?”
मैले सोधेको प्रश्नको उत्तरमा उनी थप पोखिए ।

भएछ के भने उनी आफ्नो घर भएको ठाउँबाट करिब १० किलोमिटर टाढाको अर्को सहरमा बिहानै पढाउन जाने गर्दारहेछन् । हरेक दिन बिहान ५ बजेतिर उठेर काममा जाने उनको दैनिकी नै रहेछ । उनी आफ्नो मोटरसाइकलबाट ओहोरदोहोर गर्दारहेछन् । आज पनि उनी पुरानै रुटिन अनुसार ठिक समयमा उठेर आफ्नो गन्तव्यमा लागेका रहेछन् ।

जाडो याम सुरु भएपछि अलिअलि कुहिरो पनि लाग्न थालेको छ । पानी/शीतका कणहरू हावामा बाक्लिँदै गएकाले प्रष्ट नदेखिने समस्या एकातिर छ भने अर्कोतिर मर्निङवाक नामको रोग लागेका मानिसहरू सडक कब्जा गर्दै हिँड्छन् । कानमा इयरफोन (आइ पोर्ट- काने त्यान्द्रो )लगाएर कुकुर डोर्‍याउँदै हिँडेको कुनै भुसतिघ्रे उनको अघि मर्निङ वाक/जगिङ के के हो गर्दै रहेछ ।

मोटरसाइकलको हेड लाइट बलेकै थियो, हर्न बजाउँदा पनि काने ठेँडीले सुन्नै दिएन । सुने पो डर हो, उसले सुन्दै सुनेन । आ, आफ्नो बाटो गइहाल्छ नि भन्ने किसिमको अलि अटेरी बानी पनि हुनसक्छ । घरमा हुने खाने भई टोपलेको पनि हुनसक्छ ।

आफ्नोभन्दा कुकुरको खातिरदारी गर्ने प्रवृत्तिको मान्छे भएकाले सानोतिनो सडक दुर्घटना घटेछ । धन्न कुकुर र उसको मालिक त तै जोगिएछन् ; तर हतारमा भएका कर्मचारी महोदय भने सानोतिनो दुर्घटनामा परेछन् । अलिअलि दर्फरिएछन् । कुकुर धनी र उनकाबिचमा भनाभन भएछ । कुकुर धनीले उल्टै थर्काएर झाँको झारेछ । उसले आफ्नो प्यारो कुकुर लिएर आँखा तर्दै अगाडि बढेछ ।

कुकुर धनी गएपछि पनि उनी उसैतिर फर्केर गाली गर्दै थिए । मैले सोधेपछि पनि उनी सोही प्रसङ्गमा आफ्नो रोषपूर्ण भनाइ राख्दै थिए ।

“सुत्न मन नलागे बरु भकाभक कोदालो समाएर खेतबारी खन्नु नि, तरकारी फलाउनु । खेत बाँझै छन्, उता विदेशबाट ल्याएका विषादीयुक्त तरकारी किन्न लाइन लाग्छन् बेइमानहरू ! एकाबिहानै काम न काजसँग कसैको नभएको कुकुर लिएर दुनियाँको बाटो छेक्दै लखरलखर गर्न खुब जानेका छन् …। मान्छेलाई कहाँ पुग्न हुन्छ ? कसरी समयमा पुग्न र काममा खटेर मानो जुटाउन पर्छ भन्ने यी भुसतिघ्रेहरूलाई के थाहा ? बाबुआमाको सम्पत्तिमा मोज गरेर फुर्मास गरेर होस् वा शोषण गरेर थुपार्नेहरूलाई समय र कामको के मतलब ? जम्मै बाटो मेरो मात्र हो भनेझैं गरेर हिँड्ने अझ दोष सवारी हाँक्नेलाई ..” उनी अझै आफ्नो आक्रोशलाई पोख्दै थिए ।

हुन पनि कुकुर पाल्ने र देखासिकी गरेर सडक कब्जा गरेर सडकमै व्यायाम कि के के गर्दै यो सडक सबैको हो भनेर नसोच्ने चलन आजकल खुबै चलेको छ । सानातिना भुराभारी केटाकेटीदेखि लिएर बुज्रुक उप बुज्रुकहरू जम्मै यसैगरी सडकमा लाम लागेका हुन्छन् । न सडक सुरक्षाको चासो छ न ट्राफिक चेतना नै छ । थाहा पाएर पनि बल मिचाइँ गर्ने, बेपर्वाहसँग हिँड्ने त भनी साध्यै छैन ।

कहिले कसले कताबाट फ्याट्ट बाटो काट्ने हो कि ? दुर्घटना हुने हो कि ? सधैँको त्राहि त्राहि भएर सडकमा हिँडी साध्य छैन । अझ त्यसमाथि कुकुर पालेकाहरूको सडकमा उपस्थितिले थप समस्या निम्त्याएको देखिन्छ ।

अहो ! कुकुर प्रेमीहरूको त कुरै बेग्लै छ । कुकुर पाल्नेहरू आफूलाई बडो सौभाग्यशाली ठान्दछन् । सान मान र रवाफको चुली चुलिएको हुन्छ । पप्पी, डगी जे भने पनि आखिर कुकुर कुकुर नै हो । कुत्ता कुती, आचे, श्वान, काले, खैरे , पाङ्ग्रे , डगी, पप्पी , जो जो आदि अनेक नाम धारी त्यो जीव जति गरे पनि कुकुर नै हो । त्यसले खाने आची नै हो । हाम्रो समाज कतातिर जाँदै छ र देखासिकीले कहाँ पुर्‍याउँदै छ भन्ने एउटा पक्ष यो पनि ज्वलन्तरूपमा देखापरेको छ ।

उहिल्यै हाम्रा व्यङ्ग्य शिरोमणि भैरव अर्यालले एक ठाउँमा लेखेका छन् –
“थलियाभरि पस्की झिँगालु रस
खटिया उपरै कुती साथ बस
खुब खाऊ पियाऊ सुमरी
अमरावती कान्तिपुरी नगरी ।”

अर्याल बाजेकै समयमा कुतीलाई यति विधि प्यारो गरेर खटियामा राखेर ऊ सँगै बसेर खाने गरेको परिदृश्य उतिबेला नै देखिएको रहेछ, अहिले त झन् नबढ्ने कुरै भएन । घरमा चारो छ छैन, म सबैभन्दा जान्ने सुन्ने हुँ भन्ने सर्वज्ञरत्नहरू यो मामिलामा अगाडि छन् । कुतीलाई सँगै सुताउँने, विदेशी सेम्पु साबुनले नुहाउने, आयातीत बट्टाको खाना खुवाउनेदेखि लिएर डुलाउँदै /बोकेर मर्निङ वाक गर्नु के ठुलो कुरा भयो र ? आजका भुसतिघ्रेहरूले पनि डुलाउन र आची गराउन हिँडाउनै पर्यो। आजको त्यो भुसतिघ्रेले पनि ठिकै पो गरेछ कि त ? बेकारमा ती बिहानी कर्मचारीले गाली गर्नु र हक्ल्याउन खोज्नु न्यायसङ्गत भएन कि ? शङ्का छ है ।

हाम्रा पुर्खाहरू गाई, भैंसी, बाख्रा आदि वस्तु पाल्थे । वस्तु भाउबाट दूध, दही मोही प्रसस्त पाइन्थ्यो । गोरस खाएर उनीहरूको स्वास्थ्य अवस्था पनि राम्रो थियो । आजकल भने के भएका हुन् ? हरे शिव ! न दूध देला न हलो जोत्ला न त मल नै होला र खेतीपाती सप्रेला । पहिले गाउँ घरमा जङ्गली जनावरबाट सुरक्षा , चोर डाँकाबाट सुरक्षा आदिका लागि कुकुर पाल्थे । अहिलेका धेरैजसो कुकुरहरू सौखका लागि लाखौं खर्चेर पालिने केबल कुकुर मात्र हुन् । कुकुर !

अहिलेको समाज पनि गजबको छ । आफू बरु ढाँटेर ठगेर बाँच्छन् तर कुकुरलाई भने दैनिक मासु त्यो पनि रोष्ट ! कमलो बिस्तरा, सुइ र औषधि सबका सब आयातीत । बिहान बिहान सोही पप्पी लिएर बिच बाटोमा दिसापिसाब गराउँदै लखरलख हिँड्दा आफू गौरवान्वित महसुस गर्ने आजको हाम्रो समाज कता जाँदैछ । सडकलाई आफ्नो निजी खेल मैदान सम्झेर बेवास्ता गर्दै सडकमै लमतन्न पल्टिएर योग कि के गर्दा पोहोर साल एकजना सडकमै सवारी साधनले किचिएर मरेको घटना ताजै छ । गाडीले ठक्कर दिएर भाग्यो महिनौं पत्ता लागेन। गाडीले ठक्कर दिन/ छुनमात्र पर्छ नारा जुलुस, चक्काजाम र सवारी साधनहरूको तोडफोड सुरु हुन थाल्छ । नेता प्रहरी गुहारेर हुँदो नहुँदो क्षतिपूर्तिको तमासा सुरु हुन्छ ।

सवारी साधनले आफैँ किच्ने होइन, कुनै सवारी चालकको किच्ने, मार्ने , हत्या गर्ने र अरूलाई दुःख दिने सोच हुँदैन । सवारी साधनहरू इन्जिन हुन् । कहिलेकाही इन्जिनहरूमा खराबी आउन सक्छ र ब्रेक नलाग्नेजस्ता कुराहरू प्राविधिक कुरा हुन् । प्रविधि मान्छेको मन होइन । सवारी साधनहरू पुराना वा मर्मत गर्नुपर्ने अवस्थाका भएका हुन सक्छन् । सडकको अवस्था उस्तै बेहाल छ । सानोतिना खाल्डाखुल्डी परे पुर्न सरकारलाई बर्षौँ लाग्छ । घर अगाडि सडकमा परेको खाल्डो नपुर्ने तर सरकारलाई गाली गर्ने प्रवृत्तिको समाज छ । दुर्घटनामा भई हाल्यो भने उद्धार गर्न भन्दा भिडियो खिच्न र टिकटक बनाउनेहरूको भिड लाग्न थाल्छ । यस्तोमा उद्धार र राहत नाममात्रको हुने र ढिलासुस्ती हुने गरेको पाइन्छ । सरकारी संयन्त्रको लापरबाही कस्तो छ भनेर बुझ्न भर्खरको उपत्यका बाढीको समयमा देखिएको प्रवृत्तिलाई लिन सकिन्छ । यस्तोमा हरेक नागरिकले सुरक्षा सावधानी अपनाउन र अर्को पक्षलाई सहयोग गर्नु सभ्य समाजको परिचय हो ।

एउटा भनाइ छ “सावधानी घट्यो कि दुर्घटना बढ्यो ।” सडक अतिक्रमण बढेको छ । जनसंख्या वृद्धिसँगै सवारीसाधनको चाप पनि अत्यधिक बढेको छ । यस्तोमा हरेक क्षण दुर्घटना बढ्न सक्छ । सचेत नागरिकले यस्ता कुरामा सचेतना फैलाउनुका साथै आफूले व्यवहारमा पनि उतार्नु पर्छ । सभ्य नागरिकले नै सभ्य देश बनाउने हो । हामी पनि सभ्य देशका सभ्य नागरिक बनौँ ।

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x