डा.अमर कार्कीकिन उमेर बढ्दै जाँदा मानिसहरू भगवानप्रति बढी चासो राख्छन् ?
कसैको स्वास्थलाभ हुने आश होला, कसैलाई जागिरमा प्रगति मिल्ने आश होला, कसैलाई धन आर्जनको त कसैलाई जाँचमा पास हुने । कसैलाई भगवान खुसी भए आफूले गरेको पाप पखालिन्छ भन्ने आश हुन्छ भने धेरैलाई परलोक सुध्रन्छ भन्ने विश्वास हुन्छ ।

डा. अमर कार्की :
उमेर ढल्कँदै जाँदा मानिसहरू भगवानप्रति बढि लगाब देखाउन थाल्छन। पुजा पाठ, प्राथना र व्रततिर चासो राख्न थाल्छन् । अर्को भाषामा भन्ने हो भने आध्यात्मिक हुन्छन भनौँन । साधारणतय महिलाहरू चालिस नाघेपछि र पुरुषहरू पचास नाघेपछि उनीहरूको व्यवहारमा यस्तो परिवर्तन देखिन थाल्छ । राम, कृष्ण, जिसस, अल्लाह, बुद्ध, साइ आदिको नाम जप्न थाल्छन् । मठ, मन्दिर, चर्च र मस्जिद धाउन थाल्छन् । जवानीमा प्रेमी, प्रेमिका, श्रीमान्, श्रीमती वा साथीभाइ बिना कतै हिँड्दिनँ र केही गर्दिनँ भन्नेहरू त्यस उमेरमा पुगेपछि जो मिल्छ उहीसँग वा एक्लै पनि यसमा लागिरहेका हुन्छन् ।
के यो उमेरमा पुगेर बुद्धले झैँ दुखको कारण बुझेका हौँ त हामीले ? त्यसो भनौँ भने पनि बुद्धले यो ज्ञान प्राप्त गर्नको लागि आध्यात्मिक भएको प्रमाण त कतै भेटिँदैन । फेरि मलाई लाग्छ दश – एघार वर्षको उमेरबाट सबैले बुझेका हुन्छन कि जन्म, बुढ्यौली र मृत्यु सत्य हो । सबैले दुख र कष्ट देखेको र भोगेको नै हुन्छन् । त्यसैको लागि त उमेर चालिस कट्नु पर्दैन ।
त्यसो भए के हो त कारण ?
हरेक आमाले जन्म दिन्छिन्, हुर्काउछिन् र एउटा सबल र स्वतन्त्र प्राणी बनाएर छोड्छिन् । अनि त हुर्केका यी जन्तुहरू आमाको काख र छहारी छोडेर हिँड्छन् । आफ्नै मेहेनत र भाग्यले जिन्दगी बिताउँछन । उनीहरू जिन्दगीभर न अरुबाट कुनै आसा राख्छन न आफु नै कसैलाई भरोसा दिन जान्छन् । तर मान्छे नै यो जगतको एक मात्र प्राणी हो जो आमाको काख छोडेपछि पनि अरुबाट आसा र भरोसा गर्छ । अरुमा भर पर्छ ।
हामी अरूबाट दया, माया, उपकार, उद्धार, भरोसा, आधार, प्रगति, माफी, मुक्ति, धनार्जन, स्वास्थ्यलाभ आदिको आशा गरिरहेका हुन्छौँ । हामी मानव, जातैले स्वार्थी छौँ । बचनपनमा हामीलाई हाम्रो बा, आमा, अन्य परिवार र आफन्तबाट आफ्नो स्वार्थ पुरा हुने विश्वास हुन्छ । जवानीमा त्यही विश्वास आफु स्वयं, जीवनसाथी र अन्य साथीभाइ माथि हुन्छ ।
जवानीमा हामी वास्तविकतामा नै बाँचिरहेका हुन्छौँ । आफ्नै कर्म र परिश्रममा विश्वास हुन्छ । हुन त हामी जहिले आफुलाई असुरक्षित महसुस गरिरहेका हुन्छौँ । हामी धेरै आफ्नै बारेमा सोचिरहेका हुन्छौँ । उमेर बढ्दै जाँदा हाम्रो यो सोच र डर झन् झन् हुर्कँदै जान्छ । हामी बिस्तारै वर्तमानको भन्दा भविष्यको अनि मृत्यु पश्चातको बारेमा चिन्ता गर्न थाल्छौँ । यो चिन्ताको औषधि हामी हाम्रा प्रियजन, आफन्त, डाक्टर, वैद्य, गुरु आदि कसैबाट प्राप्त गर्ने नदेखेपछि हामी एउटा यस्तो शक्तिको कल्पना गर्छौँ जसबाट हामीले यी सबैकुरा प्राप्त गर्ने विश्वास गर्दछौँ । त्यो शक्तिशाली प्रतिनिधी हो भगवान । हाम्रो भगवानप्रतिको विश्वास यति दरिलो हुन्छ कि हामी त्यहाँ उसको अस्तित्वको कुनै प्रमाणको औचित्य नै देख्दैनौँ । हामी केवल आफ्नो स्वार्थ पूरा हुने विश्वास बोकेर उसकै भक्तिमा लिन भएका हुन्छौँ । कसैको स्वास्थलाभ हुने आश होला, कसैलाई जागिरमा प्रगति मिल्ने आश होला, कसैलाई धन आर्जनको त कसैलाई जाँचमा पास हुने । कसैलाई भगवान खुसी भए आफूले गरेको पाप पखालिन्छ भन्ने आश हुन्छ भने धेरैलाई परलोक सुध्रन्छ भन्ने विश्वास हुन्छ ।
हुन त अध्यात्म र विज्ञानमा फरक नै त्यहि हो । विज्ञान सत्य भएकोले त्यहाँ विश्वासको जरुरत नै पर्ने भएन । हरेक बिहान उनी भगवानको पूजापाठ गर्छिन् । भन्छिन्, ‘मलाई यसबाट म र मेरो परिवारको कल्याण हुन्छ भन्ने विश्वास छ ।’ त्यसैगरी म बिहान सबेरै उठेर पिकलबल खेल्न वा दौडन जान्छु । यसले मेरो मानसिक र शारिरिक स्वास्थमा लाभ भइराखेको छ । यो मेरो विश्वास हैन सत्य हो। किनकि मेरो स्वास्थ परिक्षणको नतिजा र स्वयमको अनुभवले नै यो बताइरहेको छ । यसमा विश्वास र अविश्वासको कुरा नै आएन । भनेपछि उमेर ढल्कँदै जाँदा हामी सत्य भन्दा विश्वासलाई बढी मान्यता दिने रहेछौँ कि त ?
०००
फ्लोरिडा, युएसए









































जति बुढो भयो, भगवान मेरा उति पर पर भागेका भागै छन् ! भगवानलाई मेरो भरोसा नभएर हो कि मलाई भगवानको भरोसा नभएर हो? खोजीको बिषय छ।