डा.अमर कार्कीउफ ! एकलकाँटे समाज !
जहाँ जाऊ, सबैको कानमा हेडफोन र हातमा आइफोन। दस हात परको सहकर्मीलाई पनि ‘हेलो’ भन्न मुख चल्दैन, सीधै टेक्स्ट। अब त पल्लो कोठामा बसेका छोराछोरीले पनि टेक्स्टमै भान्साबाट म:म: अर्डर गर्छन बा !

डा. अमर कार्की :
आज मलाई बिहान सबेरैदेखि नै साह्राे रिस उठेको थियो। तर त्यो रिस किन र कससँग थियो भन्ने कुरामा चाहिँ म आफैं अलमलमा थिएँ । थिएँ मात्र हैन, अझै पनि छु। तर तपाईंहरू चाहिँ म जस्तो अलमलमा नपर्नु होला।
कुरो के भने, म बस्ने फ्लोरिडाको पाम बिच सहरको मौसम नै यति अलमल्याउने खालको छ कि मान्छे जाडो र गर्मीको बीचमै अलमलिन्छन्। अब हेर्नुस् त, अन्य ठाउँमा २७–२८ डिग्री फरेनहाइट (अर्थात् माइनस २ डिग्री सेल्सियस) को कठ्यांग्रिने जाडो भइरहेको बेलामा, यहाँ भने तापक्रम ५६ डिग्री फरेनहाइट (अर्थात् करिब १३ डिग्री सेल्सियस) मा अड्किएको हुन्छ।
उता मान्छेहरू स्वेटर र जाकेट थोपरेर थरथर काम्दै हिँडिरहेका हुन्छन्। यता भने यो अनौठो तापक्रममा के लगाउने भनेर अलमलमा परिन्छ— हाफ सर्ट लगाउने कि फुल सर्ट ? कि स्वेटर वा जाकेट नै लगाउने ? के लगाउने, के नलगाउने ठम्याउनै गाह्रो।
विश्वास नलागे, यही लेखसँग टाँसिएको फोटोमा भएका दुई महिलालाई हेर्नुस् न। एउटीले पूरा जाकेट र सुरुवाल लगाएकी छन्, भने उनीसँगै हिँडिरहेकी अर्की चाहिँ हाफ लुगा लगाएर सजिलै हिँडिरहेकी छन्।
भो, ती महिलातिर ध्यान नदिउँ अब। आफ्नै कुरा गरौं।
सधैंझैं, आज पनि बिहानै उठेर म घर नजिकैको ओकिहीली पार्कतिर कुद्न निस्केँ। केही दिनदेखि सबैले भन्थे — “यो सप्ताहन्तमा त निकै चिसो हुन्छ रे!” त्यही सुनेको भरमा म पनि आज पूरा बहुला भएको सर्ट लगाएर निस्केछु।
तर बाहिर निस्किएपछि मलाई चाहिँ जाडो महसुस भएन। “जाडो नै भएन” भन्न त मिल्दैन, तर “खासै जाडो भएन” भन्न भने मिल्छ। त्यसपछि फेरि घरभित्र फर्किएँ। एकछिन त्यहीँ उभिएर अलमलमा परेँ। सोचें — ‘केही बेर कुदेपछि त जिउ तातिहाल्छ। यसो गरौं, तल हाफ सर्ट नै लगाउँछु, माथि चाहिँ जाडो लाग्न सक्ने भएकाले भित्र हाफ र बाहिर फुल सर्ट लाउँछु। जाडो लागे हाफ खोलौंला, गर्मी भए फुल खोलौंला।’
लुजियानाबाट फ्लोरिडा बसाइँ सरेदेखि छुँदै नछोएको छालाको जाकेट—ह्याङ्गरमा झुन्ड्याइएको—मलाई माया लाग्दो गरी हेरिरहेको थियो। जति पटक म क्लोजेटभित्र पस्छु, उ त्यही ढंगले हेर्छ—एकदमै टिढ लाग्दो पाराले, बिचर! आज पनि उसलाई नदेखे झैँ गर्दै म टि-सर्ट लाएर निस्केँ।
तर हतारमा फुल सर्टभित्र र टि-सर्ट बाहिरपट्टी लगाएँछु। पार्कमा पुगेपछि गर्मी भयो, फुल सर्ट फुकाल्छु है भनेर हात बढाउँछु त—ला… भयो। अलिअलि लाज लाग्यो। वरिपरि हेरेँ। तर यो त अमेरिका हो, नेपाल हैन। यहाँ कसैलाई के फरक पर्छ र तपाईंले के लगाउनुभयो भनेर! आफै फिस्स हासेँ।
नेपालमा भएको भए अहिलेसम्म कम्तीमा चार जनाले त आँखा खुमाएर हेरेर मुसुमुसु हाँसिसक्थे। अनि साथीलाई कुमले धकेल्दै भन्थे, ‘उ हेर न, त्यो मान्छेको लवाइ !’
कुनै कुनै चिनिने दाइ बाटोमै भेटिन्थे होला। अनि भन्न भ्याउँथे— “ओ अमर भाइ, के हो यो लुगा त अलिक औतारी देखियो नि ! नयाँ फेसन हो कि के हो ?”
तर यहाँ ? एक घन्टाको हिँडाइमा एक जना मानिसले पनि एक शब्द बोलेन। बस्, त्यहीँबाट सुरु भयो मेरो रिस।
अनि तपाईं सोचिरहनु भएको होला—‘अरूले केही भनेन भने त खुसी हुनु पर्ने, रिस किन उठ्यो त ?’
हुन त हो। तर रिस त त्यसैले उठेको हो— कसैले बालै नदिएकोमा। म बोल्न मन पर्ने मान्छे। त्यसको मतलब म त्यस्तो मान्छे पनि होइन जसलाई माइक भेट्यो कि भाषण दिन मन लाग्छ, वा कसैको कुरा काट्न नपाउँदा भुँडी फुल्छ। मलाई मान्छेहरूसँग रमाइला भलाकुसारी गर्न मन पर्छ ।
‘नमस्ते’, ‘घुम्न हिँड्नु भा ?’, ‘आज एक्लै ?’, ‘सन्चै हुनुहुन्छ ?’— यति मात्र बोलेको भए पनि हुन्थ्यो नि कसैले।
अब तपाईं नै भन्नुस्—एक डेढ घन्टासम्म एक शब्द पनि कसैसँग बोल्न नपाएर, सिङ्गो पार्क घुमेर फर्किँदा मेरो यो मुखलाई कस्तो खसखस भयो होला त ?
ल, ठीकै छ— चुरोट, खैनी, सुपारी जस्ता खाने बानी भएका मान्छे त केहि न केहि मुखमा हालेर त्यो खसखस मेटाउँछन् होला। तर, आफू परियो ल्वाङसमेत नखाने ! अब के गरौं ? मुख, बिचरा, गुनासो गर्न पनि पाउँदैन।
फेरि, एक्लै बकबक गर्दै हिँड्ने कुरा पनि त भएन। हुन त त्यसो गर्नै नमिल्ने पनि हैन। हाम्रो गाउँमा त मैले यस्ता एक-दुई महानुभाव देखेको छु, जो सधैं एक सेकेन्ड लामो वाक्य बोल्न पनि एक मिनेट सोच्ने, तर टन्न पिएपछि भने धारा प्रवाह प्रवचन दिने।
अझ मातेरै आउनेहरू त बाटोछेउको बिजुलीको खम्बा, सतल, वा पाटीको कुनामा गुजिल्टिएर बसेका भुस्या कुकुरहरूसँगै मनको पिर पोखिराखेका हुन्थे।
एउटा घटना त झन् आजसम्म सम्झिँदा हाँसो आउँछ। एकपटक बाटोमा यस्तै अबस्थामा गाउँकै एक जना दाइसँग भेट भयो। इज्जत र पैसा राम्रै कमाएका अधबैसे ती दाइ, दोबाटोको बिजुलीको खम्बा समाएर उभिनु भएको रहेछ— आँखा रातै, गला भरिएको।
“ओ दाइ, किन रुनु भाको नि ?” भनेर सोधेको, उहाँ त मेरो काँधमा टाउको राख्दै भन्न थाल्नु भो, “ल भाइ, म त बर्बादै भए नि !” अनि फेरि क्वाँ क्वाँ रुन थाल्नु भो।
ह्वास्स ! रक्सीको गन्ध मेरो नाकबाट पसी सिधै कलेजोसम्म पुग्यो। तर पनि नरिसाई सोधेँ— “के भो र दाइ त्यस्तो ?”
बुढाको गुनासो फेरि उही रहेछ— “अमर भाइ, मेरी श्रीमतीको अपेन्डिसाइटको अप्रेसन गर्नु पर्ने भो ।”
यो कुरा त बुढाले अघिल्लो वर्ष पनि भनेका थिए। मैले भनेँ— “हे बुढा, एउटै मान्छेलाई दुइटा अपेन्डिसाइट कहाँ हुन्छ र ?”
त्यसमा बुढाको जवाफ झन् गजब—“हे भाइ, अपेन्डिसाइट त दुइटा हुँदैन होला, तर श्रीमती त दुइटा हुन सक्छ नि !”
हैन, यो पिएपछि पनि मान्छेले कसरी यस्तो कुरो निकाल्छ, अचम्मै लाग्छ ।
ल, त्यो पिउने कुरा त छोडौं। फेरि फर्कौं अघिको पार्कतिर।
मुला, मान्छे नै नभएको त हैन नि त्यो पार्कमा—टन्न थिए। तर के गरौं, बोलचाल गर्ने कुरामा भने सबै कन्जुस्याइँ गर्ने!
त्यति हुँदा पनि ‘कोही बोल्ला कि’ भनेर मैले बाटोमा भेटिएका लगभग सबैलाई ‘हाइ’ भन्न छोडेको छैन।
तर बोल्नु त परै जाओस्, कतिपय त मैले उनीहरूको कुनै गम्भीर एकाग्रता भङ्ग गरेँ कि झैँ गर्दै, सिधै अनुहार पनि नफेरिकन आफ्नो बाटो लाग्छन् ।
कतिपय त झन् यस्ता लाग्छन्—मानौँ मैले ‘हाइ’ भनेर केही माग्नेवाला भएँ कि क्या हो ! निच्च बत्तिस देखाएर, बडो कष्टसाथ हाँसेजस्तो गरेर हिँड्छन्।
तर, हो, एक–दुई जना चाहिँ भेटिन्छन्, जसले म जस्तै हात उठाएर ‘हाइ’ भन्छन्। ती भेटिँदा लाग्छ— ल, आज त मान्छे भेटियो! दिन बन्यो।
होइन, आज त एक जनाले भने— मज्जाले—“Hey! How you doing, man?”
बोल्नै आएको हो भन्ने लागेन, तर पनि दक्षिणी मुलुकतिरका जस्तो देखिने ती दाजुले त्यसो भनेपछि म त खरेडीपछिको झरीमा भिज्न पाइरहेको भ्यागुतो झैँ ट्वार ट्वार हेर्दै टक्क रोकिएर भनेँ, “I am good. How about you? It’s a perfect weather for running, ya…” भन्न नपाउँदै उनले कानबाट हेडफोन झिक्दै फर्केर—“What?” भने।
मलाई परिस्थिति बुझ्न एक सेकेन्ड पनि लागेन। “Nothing!” भन्दै म पनि आफ्नो गतिको बाटो समाएँ। अनि मनमनै भुनभुनाउँदै घरतिर लागेँ।
आफ्नो नेबरहुडमा छिरेपछि त झन् सुनसान।
चिटिक्क परेका बाटा, झकिझकाउ घरहरू, रंगीन बगैंचा— तर घरबाहिर मुसो पनि नदेखिने। केही वर्षअघि मेरा ससुरा बा यहाँ आउँदा भन्नु हुन्थ्यो, “होइन, यी गाउँमा मान्छे नि बस्दैनन् कि कसो ?”
हुन पनि हो—यहाँ त मान्छेहरूले गराजभित्रैबाट गाडी स्टार्ट गर्छन्, रिमोटले ढोका खोलेर निस्कन्छन्, र फेरि घर फर्किँदा गाडीभित्रै छिराउछन्, ढोका फेरि बन्द।
छिमेकीको अनुहार पनि कहिलेकाहीँ, त्यो पनि आक्कलझुक्कल फोहर फाल्न निस्किँदा मात्र देखिन्छ।
कुकुर पाल्ने छिमेकीहरू छन् भने बिहान–बेलुकी ती कुकुरहरूलाई डुलाउन निस्कँदा भेटिन्छ— त्यति मात्र।
यसै मौकामा बोल्ने आधार खोज्न मैले कुकुरतिर इसारा गर्दै सोधिहाल्छु— “He or she?”
हि भने कि सि भने मैले याद राख्दिन। मलाई त बहाना चाहिएको हो—बोल्न। पुग्यो।
यो मोबाइलले त झन् मान्छेहरूलाई भीडभित्र भएर पनि एक्लो बनाइदिएको छ। एकलकाँटे बनाइदिएको छ।
अफिस, बजार, पार्क, समुद्र किनारा— जहाँ जाऊ, सबैको कानमा हेडफोन र हातमा आइफोन।
दस हात परको सहकर्मीलाई पनि ‘हेलो’ भन्न मुख चल्दैन, सीधै टेक्स्ट। अब त पल्लो कोठामा बसेका छोराछोरीले पनि टेक्स्टमै भान्साबाट म:म: अर्डर गर्छन बा !
यस्तो लाग्छ— अब केही दशकपछि सम्पूर्ण मानव सभ्यताको साझा भाषा एकै हुनेछ—“Text”!
०००
वेस्ट पाम बिच, फ्लोरिडा
स्राेत : बाङ्गा अक्षरकाे बारीबाट सुटुक्क पाेकाे पारी
Subscribe
Login
0 Comments
Oldest








































