सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुरस्कार : पुरस्कार र पुरस्कार

निष्ठावान् र विशुद्ध व्यक्तिहरूले पुरस्कार प्रदान र स्वीकार गर्दा आफ्नो गरिमा आफ्नो व्यक्तित्वको उच्चतामा वृद्धि हुने वा ह्रास आउने कुरालाई ध्यानमा राखेर मात्र स्वीकार गर्ने वा नगर्ने कुराको निर्णय गर्नु उचित हुन्छ ।

Nepal Telecom ad

रमेश विकल :

पुरस्कार एउटा यस्तो वस्तु हो, जसले कुनै विषयको संवृद्धि, उन्नति, विकास र प्रगतिमा प्रभावकारी र प्रेरक भूमिका निर्वाह गर्न सक्छ । पुरस्कार, पारितोषिक आजमात्र होइन परापूर्वकालदेखि नै व्यवहारमा आइरहेको कुरा हो- कुनै खास क्षेत्रको कुनै स… समाज र राष्ट्रको कल्याणकारी वा राष्ट्रिय गाै… विषयमा – साहित्य, कला संस्कृति वा विज्ञान ज्ञान, समाजशास्त्र, देश भक्ति राष्ट्रसेवा वा त्यस्तै कुनै महत्त्वपूर्ण विषयमा अत्यन्त गहकिलो, मौलिक र इमानदार योगदान दिने व्यक्ति विशेष वा समूह-सङ्घ-संस्थालाई प्रदान गरिन्छ। यस्ता पुरस्कार, सन्मान र अभिनन्दन नगद राशी, वस्तु वा वाणीद्वारा पनि प्रदान गरिन्छ ।

अगिअगि राजा-महाराजाहरूको काल-सामन्तकालमा यस्ता पुरस्कार पारितोषिकहरू देश सेवाद्वारा वा आफ्नै गुणगानद्वारा आफूलाई रिझाउने (सेवकलाई) राज्यस्तरमा पारितोषिक वा बकसका रूपमा प्रदान गर्ने गर्थे । यस्ता पारितोषिक वा पुरस्कारहरू नगद राशी, मान, पदवी, वा वस्तु कुनै रूपमा दिइन्थ्यो। खासगरी इतिहास अध्ययन गर्दा हामी के देख्छौं भने राजा वा सामन्तका दरबारमा नियुक्त दरबारिया- साहित्यकार-कविकलाकार र राज पुरुषहरूलाई राजा वा सामन्तको गुणगान विरुदावली प्रशस्ति गाए, रचना गरेबापत वा राज्य विस्तारसम्बन्धी कुनै बहादुरीको काम गरेबापत खुशी भएर यस्ता पुरस्कार बकस तोषिक प्रदान गरिन्थ्यो। तर आज आएर यस्ता पुरस्कारको स्वरूप-उद्देश्य र प्रदान गर्ने प्रक्रिया (मानक) बदलिएको छ ।

सामन्तकालमा राजा वा सामन्त (व्यक्ति) लाई खुशी पार्ने खालका कार्य (रचना, कृक्ति वा बहादुरीका कार्यसम्पादन) वापत दिइने बकस, पारितोषिक अब सिङ्गोराष्ट्र वा समाजको श्रीवृद्धिको उद्देश्यले कुनै पनि सामाजिक सम्पदाका क्षेत्रमा विशिष्ट-मौलिक, चिरस्थायी योगदान गरी सेवा गर्ने र आफ्नो वर्चस्व निर्माण गर्ने व्यक्ति वा समूह (संस्थागत) लाई प्रदान गरिने प्रचलन चल्नथालेको छ । यस्ता पुरस्कार सन्मान आदिको स्थापना पनि राज्यस्तरका साथै व्यक्ति (पारिवारिक) र संस्थाको स्तरमा अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा पनि स्थापना हुनथाले ।

माथि उल्लेख गरिएका राष्ट्रिय गरिमाका राष्ट्रिय महत्त्वका कुनै पनि क्षेत्रमध्ये (साहित्य, कला, संस्कृति, विज्ञान वा सामाजिक सेवामध्ये) कुनै पनि विषयका क्षेत्रमा अखण्ड, गहकिलो, इमानदार, मौलिक गरिसकेका र त्यसैमा जीवन समर्पित गरिसकेका वरिष्ठ साधक- निर्विवाद व्यक्तित्वलाई उसको समग्र योगदानबापत प्रदान गरिने र उपर्युक्त विषयमा नै कुनै नयाँ नौलो मौलिक र उल्लेखनीय योगदान दिने (र भविष्यमा पनि दिन सक्ने) प्रतिभाशाली व्यक्तित्वलाई दिइने स्थानीय वा राष्ट्रियस्तरकै पुरस्कार। यी दुवै खाले पुरस्कार गौरव र गरिमाका लागि प्रदान गरिन्छन् र यस्ता पुरस्कार सम्मान पाएर अभिनन्दित हुने व्यक्ति र यस्ता गरिमामय पुरस्कार स्थापना गर्ने व्यक्ति वा संस्था- दुवै थरीले एउटा उच्चता, एउटा आत्मगौरव र महत्ताको अनुभूति गर्नुपर्छ ।

व्यक्तिगत (पारिवारिक गुठीगत) हैसियतमा वा संस्थागत हैसियतमा पुरस्कारहरूको स्थापना गर्ने हुँदैन भन्ने आशय मेरो कदापि होइन । यो परम्परा नितान्त नौलो र अनौठो अभ्यास पनि होइन । नोवेल, आस्कर, पुलित्जार, मेगासेसजस्ता विख्यात अन्तर्राष्ट्रिय स्तरका र मदन (राष्ट्रिय स्तरमा यस किसिमको यो शायद पहिले हो क्यार ।) जगदम्बा, वासुदेव-विद्यादेव लुइँटेल (अरू पनि केही) जस्ता राष्ट्रियस्तरका पुरस्कारहरू व्यक्ति (वा पारिवारिक) हैसियतमै स्थापना भएका पुरस्कार हुन् । तर यिनले आजसम्म जसरी पुरस्कारको मर्म र आचारसंहिताको निर्वाह गरेर आफ्नो चरित्रलाई बचाएर आएका छन्, त्यसरी नै आज (खासगरी यता दशकको अन्तरालमा) द्रुत गति र भीडभाडका साथ उम्रिन थालेका यस्ता पुरस्कारहरूले त्यसको निर्वाह गर्न सक्लान् ?… जुन प्रकारले सतही किसिमले यिनको स्थापना भएको र जसरी हचुवाका भरमा पुरस्कार आदान-प्रदानको छनक मिल्ने गरेको, त्यसबाट त के आभास हुन्छ भने अब त्यसमा स्वस्थता, रहन नसक्ने हो कि ?

पुरस्कार चाहे संस्थागत हैसियतमा स्थापना भएको होस्, चाहे व्यक्तिगत (पारिवारिक) हैसियतमा अथवा राष्ट्रद्वारा नै त्यो स्थापना भएको होस् त्यसको उद्देश्य मात्र होइन, त्यसको प्रदान प्रक्रिया पनि व्यक्तिको वा सञ्चालकको स्वार्थ र लहडभन्दा माथिको विशुद्ध र पूर्वाग्रह-आग्रहरहित हुनुपर्छ, जुन दिँदा र लिंदा, लिने र दिने दुवैले गौरव र गरिमाको अनि विशिष्टताको अनुभूति गर्नुपर्छ। तर अचेल पत्रपत्रिका सञ्चार माध्यमहरूमा प्रतिदिन भनेजस्तो पढ्न, सुन्न र देख्न पाइने पुरस्कार स्थापना, आदान-प्रदान र सम्मान अभिनन्दन खबरहरूले एकातिर त एउटा राम्रो परम्पराको निर्वाहको बोधले प्रसन्नता मिल्छ भने साथसाथै यी प्रक्रियामा आभाष हुने सतही, हचुवा र हल्कापनले भित्र मस्तिष्कमा एउटा प्रश्न पनि खेल्न पुग्छ- यस्ता यी पुरस्कार, सन्मान र अभिनन्दनले पाउने र दिने दुवै पक्षलाई कतिसम्म गौरव-गरिमाको अनुभूति दिलाउन सक्छ (र सकेको छ) ?

के हिजो आज यसरी तँछाडमछाड गर्दै स्थापना गरिने पुरस्कारहरूका गर्भमा राष्ट्रको साहित्य-कला- संस्कृति विज्ञानको संवृद्धि, प्रगति र विकासको विशुद्ध भावना कामना छ ?… कि यिनका पछाडि केवल आफ्नो अहं प्रदर्शनको प्रतिस्पर्धा- सम्पत्ति प्रदर्शनको अथवा सस्तो ख्याति आर्जेको, अथवा आफ्नो विगत चरित्रको कल‌ङ्क धुने, अथवा यस्तै अस्वस्थता र सङ्कीर्ण स्वार्थ ?… कतिपय यस्ता पुरस्कार स्थापनाका पछाडि त आफ्नो अकुत सम्पत्तिको प्रदर्शन र सम्पत्तिकै बलमा बौद्धिक सिर्जनात्मक प्रतिभाहरूलाई आर्थिक प्रलोभनमा फसाएर उनीहरूको सिर्जनात्मक प्रतिभालाई आफ्नो विरुदावली गाउनमा प्रयुक्त गराउनु रहेको जस्तो पनि आभास हुन्छ । के यस शंकाको नकारात्मक समाधान हुन सक्ला ?

पुरस्कार स्थापना गर्नु, त्यो प्रदान गर्नु स्वीकार गर्नु सबैको अधिकारको र त्यसमा अापति जनाउने कुनै खण्ड (र कसैकाे अधिकार पनि) छैन। अझ एउटा अर्को के पनि भन्न सकिन्छ भने यस्ताे पुनित कार्य कसैले कुनै पनि उद्धेश्ले गर्छ भने त्यसलाई स्वीकार गर्नुपर्छ- कमसेकम आफूसँगको सम्पत्ति चाहे त्यो उचित- अनुचित जुनसुकै बाटोबाट आर्जन होस्) को केही मात्र अंश भए पनि सदुपयोग त गर्यो !… यसप्रति विमति राख्नुको कुनै औचित्य छैन। तर जतिसुकै पवित्र उद्देश्यको घोषणा भए पनि यसको लेनदेनको प्रक्रियामा खोट- पूर्वाग्रह, पक्षपात, राजनीतिक सङ्कीर्णता (क्षुद्रता) जस्ता दोषको गन्ध आउन थाल्यो भने त्यहाँनिर विमति राख्नुपर्ने आवश्यकता पनि देखिन आउँछ । किनभने कुनै पनि उच्च र पवित्र उद्देश्यले प्रतिपादित अनुष्ठानको कार्यगत प्रक्रिया पनि विशुद्ध, निर्दोष र खोटरहित हुने अपेक्षा गरिन्छ ।

यदि यसको विपरीत हुन गयो भने त्यसको परिणाम पनि उद्देश्य विपरीत नकारात्मक हुन जान्छ, जुन स्थापक र प्रापक दुवैका लागि गरिमामय हुँदैन- दुवैको गणना भीडको अङ्ग सरह नै हुनपुग्छ । अति निर्धारित विषयमा गहकिलो, इमानदार र महत्त्वपूर्ण योगदान गरेर पुरस्कार प्राप्त गर्ने अधिकार आर्जन गर्ने प्रवृत्तिको भन्दा सस्तो र दूषित (कमिशन खोरी, चाकडी, गुटबन्दी, राजनीतिक प्रभाव आदि) उपायवाट पुरस्कार मान-सन्मान पड्काउने (प्राप्त गर्ने होइन) प्रवृत्तिको विकास भएर त्यस्तै प्रभुत्व बढ्न जाने जोखिम हुन्छ । अनि त्यस्तो आवाञ्छित उपायबाट पड्‌काएको पुरस्कार- सम्मानको मूल्य केवल अर्थ राशी (वा दोसल्ला आदि वस्तु) को स्तरमा मात्र रहन्छ र गुणवत्ताको गरिमा-गौरव, प्रतिष्ठाको मूल्य समाप्त हुन्छ ।

अतः यस्तो (अर्थात् आज पुरस्कार जगत्मा आभास हुन थालेको अशुद्ध प्रक्रिया) रोक्नका लागि उदात्त, पवित्र र विशुद्ध उद्देश्य राखेर पुरस्कार स्थापना गर्ने उदारमना र प्रतिष्ठाको मूल्यको पुरस्कार प्राप्त गर्ने अधिकार भएका इमानदार निष्ठावान् र विशुद्ध व्यक्तिहरूले पुरस्कार प्रदान र स्वीकार गर्दा आफ्नो गरिमा आफ्नो व्यक्तित्वको उच्चतामा वृद्धि हुने वा ह्रास आउने कुरालाई ध्यानमा राखेर मात्र स्वीकार गर्ने वा नगर्ने कुराको निर्णय गर्नु उचित हुन्छ, द्रव्यराशीलाई मात्र हेरेर (मानिसको मूल स्वभाव द्रव्यको प्रलोभनमा सजिलै फस्न सक्ने हुन्छ) त्यसको प्रलोभनमा फस्ने मानसिकताबाट माथि उठेर त्यस्ता साहहिन (द्रव्यको दृष्टिले होइन गरिमाको दृष्टिले) र खोटपूर्ण उद्देश्य (गोप्य) ले स्थापित पुरस्कारको परित्याग गर्नसक्ने मनोबल आफूभित्र जगाउनु वाञ्छनीय हुन्छ ।

०००
गोरखापत्र शनिबार / २०५७ असार ३
श्रीमान् जी भन्नुहुन्छ (२०८०)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x