साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परमात्माको लोटा

उसले ठूलो रातो टिका लगाउँछ । सके हनुमानको सिन्दूर होला ! मैले उससित भनेको थिएँ, ‘सर, यो टिका के झुटलाई पनि पचाउने लवणभास्कर चूर्ण हो ?’ ऊ हाँसेको थियो ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

एक जना ससाना समालोचकले एक दिन मसँग भने, ‘अब तपाईंले केही शाश्वत साहित्य लेख्नुपर्‍यो ।’
मैले तत्कालै निणर्य गरें, सूर्यमाथि लेख्छु । पुराना कथा साहित्यमा पहिलो वाक्य नै भगवान् भुवनभास्कर पूर्वमा उदाउँदै थिए भन्ने लेखेको हुने भएकैले हामी ती साहित्य पढ्ने गर्छौं । अथवा पश्चिममा भगवान् अंशुमाली अस्ताचलगामी हुँदै थिए भन्ने हुन्छ । यी लेखकहरू भगवान् भुवनभास्करलाई सास फेर्न दिँदैनथे । जब लेखकको वरिपरि अग्लाअग्ला अट्टालिकाहरू बन्न थाले र सूर्य उदाएको र अस्ताएको देखिन छाड्यो अनि बल्ल भगवान् अंशुमालीले फुर्सद पाए । फेरि पनि केही हठीहरूले हात्तीदाँतको धरहरा बनाएर त्यसमै उनको उदयास्त हेर्न थाले ।

समीक्षकले नै भनेपछि त मैले मान्नैपर्‍यो । स्मरण रहोस्, साहित्यमा म विद्यालयमा शुल्क मिनाहा पाउने विद्यार्थीजत्तिकै आज्ञाकारी छु ।

हामीले आफैं प्रयास गरेर कहिल्यै सूर्यदर्शन गरेनौं । ऊ र हामी सँगै उठ्दैनौं । देखियो भने हेरि पनि हाल्छौं । त्यसो त चारवटा पार्टी फेर्ने मन्त्रीलाई पनि प्रायः देख्ने गर्छौं । उसले इमानलाई बेरेर कुर्सीको गद्दीमुनि राखेको छ । देखियो भने पनि कुनै दोष लाग्दैन । लागेछ नै भने पनि घर गएर नुहाउँछौं ।

म रातिको रेलबाट भोपाल जाँदै गर्दा मेरो बिहान बुदनी स्टेसनभन्दा अघिल्तिरका ससाना थुम्काथुम्कीका बिचमा हुन्छ । त्यहाँ कुनै सानो कालो पहाडको शिखरमा उदाउँदै गरेको सूर्य देखिन्छ । मलाई भने त्यो दृश्य राम्रो लाग्दैन । कुनै काली र कुरूपा स्त्रीले निधारमा रेखडी (रातो टीकी) लगाएको जस्तो देखिन्छ । यस्तो दृश्यमा लोभिने मान्छेको घरमा त्यस्तै काली र कुरूपा पत्नी हुनुपर्छ र तिनले भद्दा प्रकारको शृङ्गार गर्ने गरेको हुनुपर्छ । कुरूपा पत्नीले पुरुषको सौन्दर्यबोधको आयाम बढाउँछिन् । सुन्दर पत्नीका पतिहरूको सौन्दर्यानुभूति सीमित हुन्छ ।

पछिल्लो महिनामा मैले सूर्यलाई उदाउँदै गरेको देख्दा यस्तो लाग्यो मानौं राष्ट्रपति शासन लागु भएको छ । चन्द्रमाको सप्तर्षि मन्त्रिमण्डल अनि नक्षत्रहरूको विधानसभा भङ्ग । संविद्का गठबन्धनमा तालमेल भएन । अब त गृहमन्त्रीको किरणरूपी लौरो छ अनि हामी छौं ।

पहिलेको समयमा ऋषिहरू वनमा बस्थे र वन्य पशुको डरले रातभरि सुत्दैनथे । त्यसैले सूर्योदय देख्थे । डरले पनि सौन्दयौनुभूतिलाई बढाउँछ । बगलीमाराले प्रहरीको फेटाको रातो सिउरलाई उत्सवको तोरण ठान्दछ । हामी ऋषि होइनौं त्यसैले घरमा अबेरसम्म सुतिरहन्छौं र यता जब सूर्योदय भइरहेको हुन्छ हामी त्यो दृश्य सपनामा देखिरहेका हुन्छौं । सपना निकै सुविधाको कुरो हो । जे भइरहेको छ त्यसमा सहभागी नभइकनै त्यसलाई सपनामा हेर्न पाइन्छ । सपनामै क्रान्तिमा भाग लिएर रगताम्मे भएका मानिसहरू थुप्रै पाइन्छन् । उनीहरूसित रगतको प्रमाण माग्नु उचित हुँदैन किनभने रक्तपात त सपनामा भएको हुन्छ ।

सहरमा सूर्य अट्टालिकाको पछाडि लुगेर उदाउन थालेको छ । मैले बडेबडे मान्छेको उदय पनि यस्तै अट्टालिकाको पछाडि लुकेरै भएको देखेको छु । मेरो एउटा साथी एक्कासि कतै गएछ । महिनापछि मात्र थाहा पाइयो, ऊ त दिल्लीमा पो लुकेर उदाएछ । अब त ऊ पनि टाउकामाथि आइसकेको छ र तातिरहेको छ ।

उदाउँदो सूर्यको दर्शन गर्नु छ भने कुनै अट्टालिकाको माथिल्लो तलामा जानुपर्छ । आपूm त कुनै कुरामा पनि माथिल्लो तलामा गइएन । अनि कसैको उदय हेर्नकै निम्ति माथि उठ्नु पनि त सजिलो छैन नि !

अनि अर्को कुरो, उदाउँदो सूर्यलाई हेर्ने हुटहुटी पनि छैन । हामी त जुनेलीमा पनि छाता ओढेर हिँड्ने किसिमका मान्छे हौं । जाडाको समयमा हामी जुनेली रातमा छाता ओढ्छौं । एक पटक म एउटा अन्तर्राष्ट्रिय सम्मेलनका लागि विदेश गएको थिएँ । त्यहाँ के देखें भने विदेशीहरू राति निकै अबेरसम्म नाच्ने, गाउने र आनन्द मनाइरहँदा रहेछन् । तर भारतीय भने ठिक समयमा सात्विक भोजन गरेर मनतातो पानीसित तीन चिम्टी त्रिफला चूणर् निलेर सुत्थ्यो अथवा कुनै महिलालाई हेरिरहन्थ्यो । उसले जुनेलीमा पनि निरन्तर छाता ओढिरहन्थ्यो । हामी दुईतीन जना साथीले विदेशीहरूको गाना बजाना र नाच हेरिरह्यौं । हामी नाच्ने व्यक्तिलाई भगवान् ‘नटराज’ त मान्छौं तर धेरै नाचेको पनि मन पराउन्नौं । पुरै जुनेली देवतालाई दिएर पुरै घाम मान्छेले राखेको छ ।

एक रात विदेशीहरूले हामीलाई पनि केही गाउन भने । अब के गाउने ? उनीहरूले नै सुझाव दिए, ‘कुनै राष्ट्रिय भावको गीत गाउनुस् ।’ त्यति वेला मनमा जुन गीत आइरहेको थियो त्यो यस्तो थियो, ‘आएका छौं हामी शरणमा तिम्रो, दया गर हे दयालु भगवन् !’ कैयौं वर्षसम्म यो प्रार्थनागीतका रूपमा विद्यालयमा गाएको थिएँ । तर वर्तमानमा पनि यसै गीतले वास्तविक रूपमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्दछ । कसलाई पो भगवान् मानिएन र ? कसको पो शरणमा गइएन र ? ठुलो अमेरिकाबाट गहुँ ल्याइयो भने सानो थाइल्यान्डबाट पनि चामल ल्याइयो । हे दयालु भगवन् ! कृपा गर । यही साँचो अर्थमा राष्ट्रिय गीत हो, ‘आएका छौं हामी शरणमा तिम्रो, दया गर हे दयालु भगवन् !’

तर यो गीत गाउन मन लागेन । मेरो साथीको निकै रमाइलो मुड थियो । उनले भने, ‘यिनीहरू कसैले पनि हाम्रो भाषा बुझ्दैनन् । त्यसैले त्यही नौटङ्कीको गीत गाइदेऊ न, ‘मैले लाखौंका भनाइ सहें बैगुनी माया तिम्रै लागि ।’ अनि उनले गाउन सुरु पनि गरे । विदेशीहरूले आफ्ना वाद्ययन्त्रमा सङ्गीत पनि बजाए । उनीहरू निकै श्रद्धाभावले भरिएका थिए किनभने उनीहरूको बुझाइमा यो राष्ट्रिय गीत नै थियो । गीत समाप्त भएपछि उनीहरूले उही औपचारिक वाक्य बोल्न थाले, ‘आहा ! कति राष्ट्रिय भावनामा चुर्लुम्म डुबेको गीत रहेछ ! यसमा त तपाईंको देशको लामो ऐतिहासिक परम्पराका तत्त्वहरू पाइन्छन् होला ।’

हामी उनीहरूलाई के भनौं ? मूर्खहरूहो ! जुन लामो परम्पराको प्रशंसा तिमीहरू गर्दै छौं त्यो त जुनेलीमा छाता ओढेर हिँड्छ । त्यो मनतातो पानीसँगै तीन चिम्टिी त्रिफला निलेर ओछ्यानमा पल्टेको छ । शताब्दियौंदेखि उसको पाचनक्रिया बिग्रेको छ । जब पाचनक्रिया ठिक थियो तब सम्पूणर् जातिलाई नै पचाइदिन्थ्यो । जबदेखि पाचनक्रिया बिग्रेको छ उसले वान्ता मात्र गरिरहेको छ । हामी त यस परम्परालाई घृणा गर्छौं अनि लाखौंका भनाइ सहन्छौं ।
भरखर ग्वालियरबाट रात्रीबसमा यात्रा गरेर बिहान ओर्लेको फेरि उदाउँदो सूर्य देखियो । मैले भनेंं, ‘यार, यतिका वर्ष भए । पूर्वबाट मात्र निस्किन्छौ । साह्रै रूढीवादी छौ ।’

उसले निकै गम्भीरतापूर्वक भन्यो, ‘प्रकाश दिनेहरूले दिशापरिवर्तन गर्दैनन् ।’ अनि के त, जसले दिशा तथा लक्ष्य फेरिरहन्छन् तिनले प्रकाश दिँदैनन् त ? हैन, ती त रङ्गमञ्चका स्पट लाइट हुन्छन् । मेरा धेरै भ्रमहरू भत्के । कैयौं समीक्षकहरूलाई म सूर्य ठान्थें । उनीहरू त केवल स्पट लाइट रहेछन् । रङ्ग र फोकस फेरिरहने । कुनै पत्रिका कुनै समयमा ‘नयाँ कहानी’ आन्दोलनका हातमा हुँदा नयाँ कहानीको दर्शन लेखेर छपाइन्थ्यो । पछि प्रगतिवादीको हातमा गएपछि तत्काल सामाजिक यथार्थवादमाथि केन्द्रित हुन थाल्यो । यदि दिगम्बर पुस्ताको कुनै पत्रिका निस्क्यो भने तुरुन्तै लुगा फुकालेर नाङ्नि सक्छन् । स्पट लाइटको इमानको बराबरी त सूर्यले के गर्न सक्थ्यो र ?

उदयमान सूर्यका कुरा धेरै भए । अब अस्ताउँदो सूर्यको कुरा गर्छु । यो मेरो बरन्डाबाट देखिन्छ । फुर्सद भएको वेला पर्‍यो भने हेर्छु । एउटा साँझमा अस्ताइरहेको सूर्यलाई हेर्दै थिएँ । निर्मल मनको कवि हुन्थें भने त्यसलाई निलो दहमा कमल फुलेको कल्पना गर्थें । तर निर्मल मन पो कहाँबाट ल्याऊँ ? मलाई त त्यो सूर्य पनि मेरो साथीलाई झुट्टा फौजदारी मुद्दामा फँसाउने पुलिस अफिसरको निधारको टिकाजस्तो लागेको थियो । उसले ठूलो रातो टिका लगाउँछ । सके हनुमानको सिन्दूर होला ! मैले उससित भनेको थिएँ, ‘सर, यो टिका के झुटलाई पनि पचाउने लवणभास्कर चूर्ण हो ?’ ऊ हाँसेको थियो ।

मेरो अगाडिको झुप्राको अगाडि एउटा मान्छे बसेर एकोहोरो अस्ताइरहेको सूर्यलाई हेरिरहेको थियो । त्यो निकै सौन्दर्यप्रेमी लाग्थ्यो । तर सूर्य अस्ताउनासाथ लोटा लिएर नजिकैको नालामा ओर्ल्याे ।

यस मान्छेको मनमा कस्तो प्रतीक उत्पन्न हुँदो हो ? ऊ सूर्यलाई परमात्माको लोटा ठान्दछ । सूर्यरूपी लोटा लिएर परमात्मा क्षितिजरूपी नालामा ओर्लिन्छ किनभने परमात्माको घरमा चर्पी छैन । जबसम्म यस मान्छेको आफ्नो चर्पी बन्दैन तबसम्म यसले सूर्यलाई परमात्माको लोटा नै मानिरहने छ । सूर्यलाई आफ्नो इजेतको अलिकति पनि ख्याल छ कि छैन ? कसैको लोटा बन्नु चाहे त्यो परमात्माकै किन नहोस् त्यो त बेइज्जतीकै कुरो हो नि !

०००
परसाई रचनावली ३, ‘परमात्मा का लोटा’ निबन्धको नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x