साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्कुटीको हुटहुटी

बेथा त बायाँ खुट्टामा हो भनेर मैले याद गराउन खोज्दा उनी कड्किए- “आफ्नै खुट्टा पनि बायाँ र दायाँ भनेर वामपन्थी र दक्षिणपन्थी भेदभावको राजनीति गर्ने ? डाक्टर तपाईं कि म ? बढ्ता कुरा नगर्नुस् ।”

Nepal Telecom ad

युगल बसेल :

उपसचिवको बिल्ला भिरेर आफ्नै जिल्ला, आफ्नै भिरपाखा कान्लामा आएपछि साहिँली आमाले सोध्नुभयो- “ए छोरा, तँ त उपसचिव भएर आइस् अरे भन्ने सुन्छु । सचिव भन्ने त सुनेकी थिएँ तर उपसचिवको दर्जाबारे थाहा थिएन । यो उपसचिव भनेको सचिवभन्दा माथिल्लो दर्जा हो कि तल्लो दर्जा हो ?”

साहिँली आमाले उहिलेदेखि आफूलाई सामाजिक सुरक्षा भत्ता भुक्तानी दिने सचिवलाई लक्षित गरेर प्रश्न गरेको कुरामा शंका थिएन । यो बबुरोले झट्ट जवाफ दिन सकेन । ‘खै के खै के’ भन्न पनि भएन त्यसैले मेरोे गोलमटोल जवाफ निस्कियो- “साहिँली आमा, दर्जा उपल्लो वा तल्लो जेसुकै भए पनि छोरो त तपाईंकै हुँ नि, तपाईंको अगाडि सधैं सानो, तल्लो र हजुरको आशीर्वाद र मायाको भिखारी ।”

भन्न त अरुकी लक्ष्मी भए पनि साँढेकी त जोई नै हो नि भनेर घुमाउरो पाराबाट सेखी बघार्दै आफूलाई लक्ष्मीजस्तै श्रेष्ठ र उपयोगी भएको आशय प्रकट गर्न पनि सक्थें तर, त्यस्तै दाबी गर्ने आँट यो पिलन्धरेलाई कसरी आउँथ्यो र ? फेरि लक्ष्मीमाईले आफूप्रति सधैं द्रोही भाव देखाएको, भित्रिने दाँजोमा बाहिरिने प्रवृत्ति बढाएको, वैरताको फित्कौलीले हिर्काएको र मारमाथि हियामारको अवस्थातिर घेँत्राएको श्रापग्रस्त बखुरोले अर्थ न बर्थसित के लक्ष्मीको नाम पुकार्नु भनेर मैले सो आहानलाई परै ठेगान लगाउने निणर्य बडो विवेकपूर्ण ढँगबाट द्रूतता र चातुर्यतासाथ गरेँ । आधा दशक नपुग्दै सेता हात्तीजस्ता ठाँडीखोरा भनेर कबाडीको मोलमा मिल्क्याउने हालै सुझाव दिइएका उतिबेलाका टिलिक्क टल्कने थोत्रा वायुयानलाई बेजोड बिजनेश गर्नका लागि भनेर भित्र्याउने शीघ्र निर्णयकर्ता भन्दा म के मानेमा कम थिएँ र ? भलै त्यो उखान प्रयोग गर्ने प्रसंग किन नहोस् ।

साहिँली आमाको अनुहार उज्यालो भयो । “सधैं यस्तै मीठा कुरा गरिरहेस् है, छोरा ! डाँडाको जून भएका हामीजस्तालाई तिमीहरुका यही भाँतीका कुराले बाँच्ने हिम्मत दिलाउँछ । नत्र त यो बुढेसकाल सजायजस्तै लाग्न थाल्छ नि, बाबै ।”

आफू पनि बाँचे केही वर्षपछि त्यही अवस्थामा पुगिने हो । कठै ! कसरी बित्नेहोलान् ती दिनहरु भन्ने कल्पना गरेर म मनमनै बित्काएँ, टोलाएँ, ‘गएर नआउने जवानी देखियो, आएर नजाने बूढोपन देखियो’ भन्ने पंक्ति पनि सम्झिएँ तर, यी कुराहरुलाई धेरैबेर मनमा खेल्न भने दिइनँ । अर्कै कुराहरु मनमा भित्राएँ र कल्पनाको निराशालाई भुलाएँ ।

आफ्नो अड्डामा हाजिर भएपछि एउटा भव्य सवारीसाधन पनि पाइयो, झ्याम्पटे स्कुटी । तैपनि कुखुराले कीराको आहारा पाएभन्दा पनि बढी खुसी भइयो । स्कुटी चढ्न पाएपछि नाक त घिरौँलाभन्दा पनि ठूलो पार्न पाइएला भन्ने लाग्यो म बबुरोलाई । धन्न जसोतसो हाँक्ने सीप बेलैमा आर्जन गरिएछ भनेर आफैलाई धन्यवाद दिइयो । मामुली रातीगेडी पाएपछि राजाको धन धेरै कि मेरो धेरै भनेर गुड्डी हाँक्दै भुर्र भुर्र उड्ने चिबे चराकोजस्तो गौरवको अनुभूति मेरो अन्तरकुनामा प्रविष्ट भैसकेको थियो । ‘ढुकुरको खस्याङखुसुङ जुरेलीको मानो, मै जाबो चिबिर्केको तीन तले छानो’ भनेजस्तै गरेर म दङ्दास परें ।

स्कुटी चढेर दायाँबायाँ आँखा डोलाउँदै सदरमुकामको बजार क्षेत्रबाट म हुरुरुरु हुईंकिएँ । आफूलाई चिन्नेले “बाफरे ! स्कुटी चढ्ने भैसकेछ यो त ।” भनेर छक्क पर्दै जिब्रो टोकिरहेका होलान् भनेर यस्सो आँखा नचाएको त पेलमपेल उपेक्षा भाव पो छताछुल्ल पोखिएको देखियो, उनीहरुका आँखामा । तैपनि ढिलो चाँडो अमर्ष महसुस गर्नेछन् तिनले भन्ने आशा बोक्दै मैले स्कुटीको कान पूरै बटारेँ । रेलको इन्जिनले धुवाँको मुस्लो फालेझैं स्कुटीले पटटटटटऽऽऽ भटटटटऽऽऽ को आवाज गर्दै हुतुतु कालो मुस्लो उत्सर्जन गर्‍यो । म वरिपरिको सडक पूरै धुवाँमय भयो । कसैले नाक थुने, कसैले थुतुनोमा मास्क कसे, कसैले त काँचै खाउँलाजस्तो गरेर आँखासमेत तरे । म भने निराश हुनुको साटो बहादुरी देखाएझैँ गरेर अगाडि हुत्तिएँ ।

बजारको भीडभाड सकिएपछि पनि म गर्वसाथ अगाडि बढिरहेँ । उकालीको चढाई सुरु हुनासाथ स्कुटी धम्कीले थलाएको भैँसीझैँ पो गर्न थाल्यो, अघि बढाउनै सकस पर्‍यो । थरथर खुट्टा काम्ने बृद्धझैं त्यो स्कुटी उकालोमा ग्वार्लाम्मै ढल्न खोज्यो । न्वारानदेखिको बल लगाएर जसोतसो थामेँ त्यसलाई र धकेल्न थालेँ । सुकेको जिउमा लुकेको बल त थिएन तैपनि सकेसम्मको जोड लगाएँ ।

जाबो एउटा स्कुटी धकेल्न नसक्ने नाथेले सरकारी जागिर खाएको के सार भन्ने हठ र सोचाइका साथ मैले त्यसलाई लतारेर अघि बढाएँ र आफू पनि अघि बढेँ । यही बाटोमा अन्तरे डोकामा शीतले रुझेको घाँस खाँदीखाँदी र जकाईजकाई बोकेको ज्यानले जाबो एउटा स्कुटी लतार्न केको आइतबार भन्ने चिन्तनका साथ चुनौती फत्ते गर्न म तम्तयार भैसकेको थिएँ । मनमनै मैले आफैसँग भनेँ- “अच्छ्युँ खाएँ बच्छ्यू खाएँ, झुसे बारुलो ?”

हुन त स्कुटी झुसे बारुलो नभएर झुसबिनाको चिल्लो पोत भएको टकेर्नो पाडोको वजन बराबरको थियो । तैपनि हिम्मत हारिनँ, असिनपसिन हुँदै त्यस ठाँडोलाई लतारिरहेँ ।  लताराइ, धकेलाइ र खुरी खेलाइको क्रममा धुलोले ढपक्क ढाकिएर मेरा लुगाहरु भने रङ नै नचिनिने खालका भए । साबुन जसोतसो जुटाए पनि पानी जुटाउन गाह्रो छ मेरो घरमा, जिउ र कपडाको धुलो पखाल्ने कसरी हो भन्ने जोडदार तर्सो मेरो मनमा पस्यो । गृहिणीले हिजो धोएको लुगाको त्यस्तो हबिगत देखेपछि एक जोडदार मुड्की त पक्कै बजार्नेछिन् मेरो ढाडमा, तैपनि ‘काँक्रो चोरलाई मुड्के सास्ती’ भन्ने उखान याद गरेर मुड्कीलाई चुड्कीमा उडाउनुपर्ला भन्ने कार्ययोजना समेत मनमनै बनाएँ । यस्ता योजना बुन्न म अनुभवी र सक्षम पनि त भएको छु ।

स्कुले पढाइ सकेर फर्कँदै गरेको एक चञ्चले डुकुलट्ठक ठिटाले मेरो दुर्दशा देखेर मुसुमुसु हाँस्दै सोध्यो- “के भो बा, तेल पुगेन कि कसो ?”
करबलले ऊसरह हाँस्दै मैले जवाफ दिएँ- “बावु, अफिसबाट दुईहजार मिलिलिटरको कुपन लिएर तेल त टन्नै भरेको हो आजै । तेल नपुगेको होइन, ठाँडोको बल नपुगेको हो ।”

एकातिर हिम्मत चुलिएको थियो, अर्कोतिर निराशाले मन हुँडलिएको थियो । गाला चाउरी परेपनि बैसालु नै छु भन्ने भ्रम पालेकी तथा जवानी नरित्तिएको भान पार्न अनुहारभरि लिपपोत र कपालभरि रङपोत गर्न उद्यत मेरी एकमात्र एकलौटी हककी श्रीमतीलाई स्कुटीमा घर बजार सयल गराउने धोको भने तुहिने पक्कापक्की भैसकेको थियो ।

चोरको बिगबिगीको बेला मालिकले ढिकीको पुच्छारमुनि दौलत लुकाएको बखतमा ढिकी कुट्दा कमारीको मन दौलतको रापले मन्किएको थियो रे, आँट आकाशिएको थियो रे । अनि जवानी छताछुल्ल भएकी मालिककी छोरीको लागि योग्य वर खोज्ने चर्चो ढिकाडीमा हुँदा कमारीले आफ्नै छोरोलाई बत्तीस लक्षणले युक्त मालिककी छोरीको लागि उपयुक्त भएको दाबी गरेकी थिई रे । मेरो मन पनि स्कुटीरुपी दौलतको रापले चङ्गाझैँ आकाशिएको थियो, भुङ्ग्रोझैँ रापिएको थियो र पाथीझैँ चुलिएको थियो । आफू र आफ्नो परिवारलाई जताततै उपयुक्त दावी गर्ने धोको मनमा अटेसमटेस भएको थियो । तर के गर्नु र ? मुसलधारे बर्खापछिको खहरे खोल्सो सुस्ताए झैँ थतमरिने भो मेरो मनोबल भनेर म अलिकता हतासिएँ । तैपनि सबै थोक हार्नू, हिम्मत नहार्नू भन्ने उक्तिलाई याद गर्दै मैले आफ्नो गिरेको मनोदशालाई डेन्टपेन्ट र मर्मत सुधार गरेर पुनर्स्थापित  गर्ने यत्न गरेँ ।

ठाडो उकालो बाटो सकिएर तेर्सो बाटो आएपछि फेरि म स्कुटीमा सवार भएँ र त्यसको कान निमोठेँ । पटटटऽऽऽ भटटटऽऽऽ थरररऽऽऽ धरररऽऽऽ गर्दै त्यो हुँइकियो । मैले वायुपंखी घोडामा सवार भएजस्तै गरेर पैयाँ कसेँ, बुर्कुसी मारेँ । घर पुगेपछि श्रीमतीले उज्यालो अनुहारले स्वागत गर्लिन् भनेको त आसे राँडीका उत्ताना जरा भनेजस्तो अवस्था पो भयो । धारे हात लाउँदै उनी कुर्लिइन्- “धिक्कार असत्ती बूढा ! चारपाङ्ग्रेमा सररर सुईँकेर आउला भनेको त यो कम्पारो सेक्नेमा पो मुन्टियौ हैन ? यो नाथे स्कुटीभन्दा त बयलगाडी चढेर आएको भए हुन्थ्यो नि । तिम्रो यो कसुर माफी लायक हैन, त्यसैले आज साँझ तिम्रा लागि भात पाक्ने छैन । आजको रात भोकै बस्नुपर्छ तिमीले, बुझ्यौ ?” श्रीमतीले बडो सुझबुझ र सुक्ष्म अध्ययनका साथ अपराध विश्लेषण गर्दै न्याय निरुपण गरिन् ।

कडा फैसला सुनेर कमलो मेरो मन चस्कियो । राजाको अगाडि बापको दुहाई भनेझैँ उनीविरुद्ध फिराद गर्ने थात्थलो यो संसारमा कतै थिएन । अघि धकेलमार गर्दाका पसिना ओभाएका थिएनन् । यो फैसलाले अझ अलिकता पसिना थपिदिए तापनि, ती पसिना पुछ्दै मैले बूढीलाई आश्वस्त पार्न खोज्दै सुल्का लगाएँ- “ल्याउन त चारपाङ्ग्रे के छपाङ्ग्रे पनि सक्थेँ नि मोरी, मजस्तो मर्दले, तर आफ्नो आँगन सानो भएर पो त । माटो उधिनेर बाटो बनाएको, वृक्षवनस्पतिलाई कर्कलो फाँडेझैँ धरालाई नाँगेझार पार्दै मरुभूमिजस्तो स्वरुपमा रुपान्तरण गरेको बहादुरी देखाउँदै विकासे अभियन्ता बनेको दाबी गर्ने दाबीका साथ छाती ठोक्ने अहिलेका नेताहरुले चौधहाते आँगनको यो दशा गराइदिएका छन् । चारहाते आँगनमा चारपाङ्ग्रे ल्याएर कहाँ राख्ने, भन त ? हाम्रा विकासप्रेमी अभियन्ताहरुले यही चारहाते आँगन पनि आगामी दिनमा मेटिदिएर शून्यहाते आँगनमा रुपान्तरण गरिदिन बेर छैन । यो कुरा लेखेर राख ।”

उनी पनि के कम थिइन् र ? रन्किँदै बम्किइन्- “नाच्न नसक्ने आँगन टेढो भने जस्तो कुरा नगर, बूढा । तिम्रा उल्फा कुरा सजिलै पताउने लाटीसुधी नठान मलाई । चान्नेचुन्नेकी छोरी होइन म पनि । आफ्ना धान भए नाइटोमा पनि कुटिन्छ । सक्छौ भने ठूलै हवाईजहाज नै ल्याउनु नि, आँगन सानो भएर के भो त ? यही घरपछाडिको आटो फल्ने पाटोमा राखौँला नि । राजाले तेल दिँदा भाँडो छैन भनेर खुम्चिने होइन, पछ्यौरी भएपनि थाप्नुपर्छ भन्ने बिर्सेउ कि कसो ? मान्छे बूढो भएपछि अक्कल पनि बुढिने रहेछ कि क्या हो ?”

म अक्क न बक्क भएको देखेपछि उनी फेरि डुक्रिइन्, “यस्ता नामर्दकी स्वास्नी हुनुभन्दा त बरु मर्दकी कमारी हुनु बेस थियो । कुन जन्मको पापले यो पासोमा परियो कुन्नि ?”
बूढीका जोरदार तर्क र दाबीका अगाडि म कमजोर साबित हुन वा जोईटिंग्रे सिद्ध हुन चाहन्नथेँ । त्यसैले कन्सिरीका रौँ तताउँदै कुर्लिएँ- “मुखमा लाउन माड छैन, गालामा फा भनेजस्तो कुरा नगर, बूढी । यही कच्ची बुकुरो बनाउँदाको कर्मचारी सञ्चयकोषको रिन तिर्न नसकेर यो हालत छ, तिमीलाई चारपाङ्ग्रे सवारी चाहियो ?”
यो ब्रह्मास्त्र प्रयोग गरेपछि भने बूढी अलिकता थतमरिइन् । टेढो नजरले हेर्दै उनले तीतो पोखिन्- “मैले त सुहाउँदो कुरा गरेपनि अर्घेलो नै ठहर्छ के । क्यार्नु मेरो कर्म नै अभागी !”

अर्को दिन स्कुटी चढेर हावासित कावा खाँदैथिएँ । हिजो त्यो ठाँडो ठेल्नुपरेको ठाउँमा त स्कुटी झन् पखेटा हालेर उडुलाझैँ गर्दै थियो । एक्कासि गाडी ग्वार्लाम्मै पल्टियो । आफू चढेको सवारी त आफैमाथि पो चढ्न पुग्यो । खुट्टा ठनक्कै ठुन्किएजस्तो लाग्यो । पछि बुझ्दा थाहा भो, हातखुट्टा ठुन्काइदिने त्यस टिलोको म साताैँ सिकार पो बनेको रहेछु । छ जनालाई त उसले जनही ४५/४५ दिन थला पारेर एक बित्ताको नाक बनाइसकेको रहेछ । मेरो अड्डामा हातखुट्टा ठुन्काउने म एक्लो रहेनछु भन्ने थाहा पाएपछि बिस्मात अलि कम भयो र डाक्टरको क्लिनिकमा बडो हिम्मतका साथ पुगियो । डाक्टरसाबले दुवै खुट्टाको एक्सरे गर्न भने । बेथा त बायाँ खुट्टामा हो भनेर मैले याद गराउन खोज्दा उनी कड्किए- “आफ्नै खुट्टा पनि बायाँ र दायाँ भनेर वामपन्थी र दक्षिणपन्थी भेदभावको राजनीति गर्ने ? डाक्टर तपाईं कि म ? बढ्ता कुरा नगर्नुस् ।”
डेढ तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नेको टाउको हल्लाएर सहमति जनाउनु श्रेयष्कर ठानेर म चानुमानु बसेँ । एक्सरेको फोटो हेरेर डाक्टरले ड्याम्मै घोषणा गरे-
“खुट्टा त जम्मा तीन ठाउँमा मात्रै ठुन्किएको रहेछ । अब काप्रो कस्नुपर्छ सिमेन्टीले, बुझ्नुभो’ ?”
दबाइपानी र मलमपट्टीमा कति खर्च हुन्छ नि ? भनेर सोधनी गर्दा तुरुन्तै जवाफ आयो- “तीन ठाउँमा खुट्टा ठुन्किए पनि धेरै लाग्दैन । नअत्तालिनुस्, तीन महिनाको तलब मात्रै खर्च हुने हो तपाईंको, सुर्ता लिनुपर्दैन ।”

तीन महिनाको कमाइ क्लिनिकमा सुम्पेपछि अबका तीन महिना हातमुख कसरी जोर्ने होला भनेर मैले सुस्केरा काढेको डाक्टरले सुनिहालेछन् । उनले हाँस्दै सान्त्वना दिए- “तपाइँको खुट्टा पो भाँचिएको हो, हात के भा’ छ र ? हातमुख जोड्न मजाले मिल्छ । यसको अनुमति दिइन्छ तपाईंलाई ।”

प्लास्टर गरीवरी डाक्टरले पूरापूर एक बोरा औषधि किन्न लगाए । डाक्टरले भनेजस्तै पुगनपुग तीन महिनाको तनखा बराबरको रकमको बिल बन्यो । सयकडा मासिक तीन रुपियाँ ब्याज तिर्ने सर्तमा ऋण पनि फोनबाटै जुटाइयो । जागिरे हुनको फाइदा यही हो कि ऋण जुटाउन धेरै पैताला खियाउनुपर्दैन । कटक्कै मुटु खाए पनि बिल बराबरको रकम झटक्कै बुझाउनुपर्‍यो । श्रीमतीलाई औषधी ठुसेको बोरा लदाएर एकपटक पुर्पुरो छामेपछि बैसाखी टेक्दै म क्लिनिकबाट बाहिरिएँ । औषधिको बोझ त घर पुगेपछि बिसाइएला, ऋणको बोझ कहाँ पुगेर बिसाउने होला ?

०००
सन्धिखर्क-१, तुम्कोट, अर्घाखाँची
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x