साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डलरको मोहमा

एक दिन त पिटर बाजे र बज्यै दुबैलाई दोकानमा राखेछ र पछाडि दुवैको पिठिऊँमा फोटोकपी पेपर टाँसी दिएछ- ‘यिनीहरू असी वर्ष पुराना हुन्’ भन्ने व्यहोरा प्रिन्ट गरेर !

Nepal Telecom ad

ईश्वर पोखरेल :

मेरो छिमेकी पिटर बाजे एक दिन अनौठो समस्या लिएर आए ।

कुरा के परेछ भने, डलरको लोभले विदेशमा भाँडा माझ्न जाने र फर्किदा भाँडा मझाउने भएर फर्किने नेपालीहरूको बदलिदों स्थितिबाट बाजे अत्यधिक प्रभावित भएछन् । आफू पनि त्यसरी जाऊँ भने गएर फर्किदा जात चाहिँ फर्किन नमानेर उतै बस्ने हो कि भन्ने सोचेर बाजे व्यावसायिक हिसाबले डराएछन् ।

यिनै पिटर बाजे हुन्, जसलाई एक दिनमा दुईटा बिहे, पाँचवटा व्रतबन्ध, तीनवटा न्वारान र एउटा श्राद्ध सक्ने भएकाले कुनै समय ‘डिस्को बाजे’ पनि भनिन्थ्यो, तिनै पिटर बाजे जीवनभर मन्त्री हुन नपाएको वृद्ध राजनीतिज्ञको मुखमुद्रामा आज मेरो कोठामा उपस्थित छन् र भन्दै छन्— ‘एउटा बिहेमा एक बोतल भोड्का पनि नआउने नेपाली पैसा दक्षिणा लिएर सरकारले अपेक्षा गरेअनुरूप नेपाली जीवनस्तर कसरी उकास्न सकिएला र ?’

बाजेले आफ्नो योजना सबिस्तार बताए— ‘गायत्री मन्त्रलाई अंग्रेजीमा अनुवाद गर्ने, नेपाल घुम्न आएका प्रत्येक विदेशीलाई समातेर भकाभक व्रतबन्ध गरिदिने र दक्षिणा चाहिँ डलरमा लिने । कसो होला, बाबु ?’

प्रश्न सोझै मैतिर सोझियो ।
मैले केही क्षण सोचें र संशोधन प्रस्ताव प्रस्तुत गरें— गायत्री मन्त्रलाई मात्र होइन, पुरै पुस्तकलाई स्त्री पुरुष दुबैको व्रतबन्ध गर्न मिल्ने गरी संशोधन गर्ने र अंग्रेजीमा अनुवाद गर्नु पर्छ । ’

मैले आफ्नो संशोधन प्रस्तावको पक्षमा थप तर्क प्रस्तुत गरें— ‘पुरै पुस्तकलाई अंग्रेजीमा अनुवाद नगर्ने हो भने विदेशीले बुझ्दैनन् र नबुझिने कुरा भट्भटयाउँदा विदेशीहरूले आफूलाई गाली गरेको ठान्ने पनि उत्तिकै संभावना रहन्छ । गाली गरेको ठाने भने दक्षिणा होइन; दुईचारवटा बङ्गारा गुमाउनु पर्ने पनि हुन सक्दछ । मकै भट्मास कसरी चबाउनु !’

केही क्षण रोकिएर मैले फेरि थपें— ‘अझ, लोग्ने स्वास्नी दुबैको व्रतबन्ध गर्न पाइयो भने, गारेन्टी साथ, दुईको साटो चार आम्दानी हुन्छ ।’

बाजेलाई मेरो तर्क ठिकै जचेको बुझियो । केही छिन घोत्लिए जस्तै गरेर बाजेले जिज्ञासा राखे— ‘‘डलरमा ‘काउ’को चित्र त हुँदैन क्यार; होइन त बाबु ?’

सराद्देमा ‘गाईको पुच्छर समात’ भन्दा गोठमा गाई फुकाउनतर्फ होइन; सिल्वरको पाँच पैसा खोज्नतिर लाग्ने जजमानहरूबाट बाजे साच्चै दिक्क भइसकेका रहेछन् । अरु जेसुकै भए पनि बाजेलाई मंजुर रहेछ, तर मुद्रामा गाईको आकृति छाप्ने प्रचलनमा भने बाजेको गहिरो असन्तोष रहेछ । भने पनि— ‘चौपट भयो नि ।’

बाजेलाई मैले थप सल्लाह पनि दिएँ— ‘‘एउटा फर्म दर्ता पनि गराइ हाल्नोस् बरु ’।’
बाजेले अनभिज्ञता प्रकट गरे— ‘कस्तो फर्म बाबु ?’ मैले स्पष्ट पारें— ‘‘बाख्रा बेच्नेदेखि लिएर मान्छे बेच्नेसम्मका यावत् किमिसका फर्महरू भकाभक सरकारले दर्ता गर्दैछ, बेला बेलामा कर तिर्नु पर्छ र करका हाकिमलाई घर बनाउन सहयोग गर्नु पर्छ, ड्रेस बेच्ने भनेर दर्ता भएको फर्मले उपदेश बेचे पनि कसैले केही भन्दैन ।’

सरकारलाई कर तिर्ने कुराले बाजेलाई नेपाली व्यापारी/उद्योगपतिलाई जत्तिक्कै थर्कमान् बनाएछ । भने— भै हाल्यो बाबु, जिजुबाजेको पालादेखि अहिलेसम्म त्यस्तो फर्म सर्म दर्ता नगराएरै भैराखेको छ अब पनि…’

पिटर बाजेको वास्तविक नाउँ प्रेमकृष्ण बाजे हो । एकसमय बाजे निधारमा निक्कै लामालामा धर्का बोकेर हिड्थे । त्यसताका बाजेले न्वारान गरेका गाउँका भुराभुरीले बाजेको न्वारान गरिदिए— ‘पेन्टर बाजे’ भनेर । अनि बाजे इलाकाभरि पेन्टर बाजे भनेर चिनिए । जब बाजेमा नेपाली मुद्राप्रति वितृष्णा र डलरप्रति मोह प्रवल बनेर आयो, अनि बाजे आफैले आफ्नो नाम पिटर राखे । मलाई पनि, खास गरी त्यतिबेला, जब बाजे मेरो कोठामा आएर मेरा मिठामिठा कुरामा लठ्ठिइरहेकी उनकी छोरीलाई घरमा बोलाएर अनाहकमा पिट्छन्; मलाई प्रेमकृष्ण बाजेको पछिल्लो नाम ठिक लाग्छ । काट्नेलाई ‘कटर’ भनिन्छ भने पिटिरहनेलाई ‘पिटर’ नभनेर के भन्नु त!

बाजेको छोरो विदेशीलाई क्युरियोको सामान बेच्छ । पिटर बाजे एक दिन गनगनाउँदै गरेको अवस्थामा भेटिए— ‘यस नाथेले बाजेबराजुका सबै पुराना सामानहरू निखार्ने भयो ।’

साँच्चै पिटर बाजेको छोराले घरमा भएका यावत् बुढा पुराना सामानहरू बेचिसकेछ । एक दिन त पिटर बाजे र बज्यै दुबैलाई दोकानमा राखेछ र पछाडि दुवैको पिठिऊँमा फोटोकपी पेपर टाँसी दिएछ- ‘यिनीहरू असी वर्ष पुराना हुन्’ भन्ने व्यहोरा प्रिन्ट गरेर !

मैले अतलिदैं छोरो चाहिँलाई सोधें— ‘के गरेको यो ?’
उसले अंग्रेजीमा थोरै नेपाली मिसिएको क्वाँटी भाषामा परि लगायो- ‘घर गाउँका सबै बुढा पुराना सामानहरू सकिइहालेछन्…व्यापार बन्द गर्ने कुरा आएन …, बाआमाले चारधाम जाने कुरा गर्नु भो… बुढाबुढीको इच्छा ..’

पिटर बाजेको छोरा पिटर बाजे जस्तो शुद्ध बाजे होइन; ‘ग्रान्ड फादर’ नै रहेछ ।

०००
बोझेपोखरी, ललितपुर
‘मिर्मिरे’ वर्ष २४, अङ्क २, पूर्णाङ्क ११७, जेठ, २०५२

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

बाजेकी छोरी पट्याउने, पाठकलाई हाँसोले लठ्याउने इस्टर पोकरेल बाजेलाई काउ हैन वाउ भन्न मिल्ने यौवनाको तस्बिर भएको डलर डोनेट गर्न मन लाग्यो

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

इस्टर पोकरेल बाजेले यस कमेन्टबाट सहृदयी पाठकले पढेको छनक पायो ।
दंग छ । र, हजुरलाई ‘धन्यवाद’ भनेको छ, धन्यवाद!

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

हार्दिक धन्यवाद, हजुर!

युगल बसेल
युगल बसेल
1 year ago

गज्जब 😀😘

Nepal Telecom ad
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
4
0
Would love your thoughts, please comment.x
()
x