
नेतालाई पोलियो !
यो सबै हुनुका कारण राजनीतिक क्षेत्रका डाक्टरहरू हेर्दाहेर्दै कोही कान नसुन्ने बहिरा भएका छन् ! कोही आँखै नदेख्ने अन्धा भएका छन् ! कसैको जनधरातल टेक्ने खुट्टै छैन त कसैको सत्य कुरो बोल्ने जिब्रै बाँकी रहेको छैन !

नरनाथ लुइँटेल :
एकाइसौं शताब्दीमा प्रवेश गरेकै दिन यो लखरठ्याकले अखवारमा एउटा समाचार पढ्ने अवसर पायो । त्यो समाचारको सार थियो- एउटा कुशल र दक्ष डाक्टरसाबले दायाँपट्टिको मृगौलाको अप्रेशन गर्नु पर्नेमा बायाँतर्फको मृगौला अप्रेशन गरिदिनु भयो । रोगी अङ्ग त रोगी नै थियो फेरि काटकुट गरेर निरोगी अङ्ग पनि रोगी बनाइयो । यो दुर्घटनापछि सजायस्वरूप सम्बन्धित अस्पतालले आजीवन ती रोगीको उपचार गर्नुपर्ने भएछ । यस्तो कुशलता र दक्षतासहित एकाइसौं शताब्दीमा प्रवेश गर्नुभएका डाक्टर महोदयलाई दिलैदेखि बधाई ज्ञापन गर्नु पर्दछ । हुन पनि यो चानचुने पौरखको कुरा त होइन नि !
लखरठ्याकका थुप्रै उट्पट्याङ साथीहरू छन् । उट्पट्याङ उटपट्याङ काम र कुरा गर्ने ती साथीहरू मध्येकै एकजना हुन्- थरेन्द्र बराल । कहीँ पनि मौका पर्नासाथ डाक्टरका बारेमा उनी एउटा प्यारोडी पेलिहाल्छन्-
“देब्रे खुट्टा भाँच्या ठाउँमा डेटल पानी छर्दिन्छ
दाइने खुट्टा तन्काएर प्लास्टर गर्दिन्छ ।”
डाक्टर भन्ने जातको बदख्वाइईं गर्ने नियत यो लखरठ्याकको कदापि छैन । बिचरा उहाँहरू त स्वयम् आफ्ना नाम र कामले आफ्नै बदख्वाईं गरिरहनु भएको छ । त्यही बदख्वाईं उहाँहरूको पौरख हो, पराक्रम हो । तपाईंलाई लाग्न सक्छ एक्काइसौ शताब्दी प्रवेशको सुखद् अवसरमा शुभकामना र बधाई दिन छोडेर मुलुकका प्राणदाता डाक्टरहरूको उछितो काड्ने काम किन गर्नु परेको होला ?
फेरि पनि भन्नै पर्दछ डाक्टर जस्ता विशिष्ट जीवहरूको उछितो काडेर असमयमै यो लखरठ्याकलाई यमलोकको यात्रा गर्ने मन छैन । त्यसैले यो अनर्थ अर्थ नलागोस् । सर्पले मात्रै सर्पको खुट्टा देख्छ भन्ने कुरा सबैलाई थाहा छ । ठीक त्यसैगरी डाक्टरको पुरुषार्थ र पराक्रमबारे डाक्टरलाई नै बढी थाहा हुन्छ । अनि याे लखरठ्याक डाक्टर हुँदा पनि होइन । एउटा डाक्टरको प्रेस्क्रिप्सनलाई अर्को डाक्टरले रद्दी ठहऱ्याउनु खुट्टा सर्पले नै देख्नुको परिणाम हो । कुन औषधिको प्रभाव र असर दिगो हुन्छ भनेर डाक्टरहरूले प्रयोग गर्दागर्दै कति रोगीहरूले दम तोडे बीसौं वादीको नेपालमा । अबको एक्काइशौं शताब्दीको नेपालमा अझै कतिले दम ताेड्ने हुन्, यस्ता कुराको तथ्याङ्क कुनै तथ्याङ्क विभागमा पाइँदा पनि पाइन्न।
केही समयअघि लखरठ्याकले एउटा धुरन्धर डाक्टरको डायरी फेला पारेको थियो । केही सन्दर्भ सार्वजनिक सरोकारसँग सम्बन्धित जस्तो लागेर त्यो डायरीका केही अंशहरू उसले सार्वजनिक गरिदियो । त्यसको भोलिपल्टै एउटा डाक्टरभक्त मित्रले डाक्टरभन्दा धेरैमाथि उक्लिएर लखरठ्याकलाई ओठेजवाफ लगायो – “डाक्टरहरू तैंले उल्लेख गरे जस्ता नीच र निकृष्ट छैनन्, हुनै सक्दैनन् । त्यस्तो त उनीहरूले न कर्म गर्छन् न उनीहरूको धर्म नै हुन्छ । तैले विनवित्थामा हिर्काइस्, दुखाइस्, दुखेकाहरूको घाउमा मल्हम लाइदिनेहरूलाई । नेपाली राजनेता जसरी डुड्डुङ्क्ती गन्हाएका त छैनन् नि डाक्टरहरू, अनि किन भकुर्छस् बराबिचरा डाक्टरहरूलाई ?”
“अरे बाबा ! तिम्रा बराबिचरा डाक्टरहरूलाई तिमीले भने जसरी भकुरेको होइन ।” लखरठ्याकले प्रतिपक्षीय शैलीमा कडा प्रतिवाद गर्यो “म डाक्टरहरूलाई आदर गर्छु, सद्भाव राख्छु । म उहाँहरूसँग जोरीखोज्ने हैसियतको प्राणी कहाँ हुँ र ? अत्तो न पत्तोसँग जोरी खोजेर यमराजका दूतहरूलाई निम्तो गर्ने म त्यस्तो मूर्ख पनि होइन ।” त्यो व्यक्तिको डाक्टरभक्ति नेपाली नेताहरूको भारतभक्तिभन्दा धेरैगुना बढी थियो ।
जहाँसम्म नेताको कुरा छ, नेता भनेका पनि राजनीतिक क्लिनिकका एक से एक डाक्टरहरू नै हुन् । दलीय राजनीतिको अप्रेशनमा उनीहरू पनि माहिर छन् । देशको टाउको दुखेको छ, यी डाक्टर भने देशको भुँडी अप्रेशन गर्छन् । मुटुमा महंगीको क्यान्सर पसेको छ, उनीहरू चाहिँ कमिशनको भन्सारमा डुबुल्की मारिरहेका हुन्छन् । कमाऊ, खाऊ, जनता अल्मल्याऊ- यो तीन सूत्रीय मन्त्रलाई गायत्री मन्त्रभन्दा प्रिय मन्त्र ठानिरहेका छन् नेताहरू । यो पनि एउटा विशुद्ध व्यवसाय हो। व्यवसाय भनेपछि नाफा नोक्सानको कुरा सर्वोपरी भएर आइहाल्छ । यस कित्ताका डाक्टरहरू खुद नाफाको व्यापार व्यवसायतिर राम्रैसँग ओर्लिएका छन् । एक्काइसौ शताब्दी नेताहरूको निम्ति नाफै नाफाको शताब्दी हुने छ । यसमा चाहिँ कसैले सन्देह नगरे हुन्छ ।
सन् दुई हजारसम्ममा नेपाललाई पोलियोमुक्त गराउने घोषणा स्वास्थ्य सेवा क्षेत्रमा समर्पित राजनीतिक डाक्टरले केही समय अगाडि गरेका थिए । भीषण उत्साहका साथ देशवासी रूपमा बालबालिकालाई पाेलियाे ख्वाउने अभियान छेडिएको छ । यससम्बन्धी कानै टट्टाउने प्रचार प्यासार सुनेर लखरठ्याकलाई पनि पोलियो खाउँ खाउँ लागेर आयो । विज्ञापनले मान्छेको मनाेविज्ञानमा कस्ताे असर पार्दछ भन्ने कुराको यो एउटा दह्राे प्रमाण हो । चालीसवटा वसन्त नाघ्न लागेकाे लखरठ्याकलाई तीन चार वर्षीय बालक बन्ने रहर लाग्याे पाेलियाे खानका लागि । तपाईंलाई लाग्ला हैन यो लखरठ्याक पनि अपाङ्ग छ कि क्या हो ? होइन, होइन । उसका सबै अङ्गहरू तन्दुरुस्त छन्। कुनै डाक्टरसाबहरूले काटकुट गर्ने सुअवसर पनि पाएका छैनन् । अनि ऊ सुस्त मनस्थितिको मान्छे पनि होइन । यस्तो मान्छेले पोलियो खाइरहनु पर्दैन, आवश्यक नै छैन ।
राष्ट्रको मेरुदण्ड भनेको राज्यव्यवस्था हो भन्ने कुरा चाहिँ सुस्त मनस्थितिको बालकले समेत सजिलै बुझ्ने कुरा हो । यो राष्ट्रमा दलीय प्रजातन्त्र स्थापना भएको दश वर्ष बितिसकेको छ । अथवा प्रजातन्त्र अहिले दश वर्षीय किशोर बनिसकेको छ । यसलाई हुर्काउने बढाउने जिम्मा लिएका राजनीतिक डाक्टरहरू भने अपाङ्ग भएका छन् । कस्तो आश्चर्य ! हेर्दा प्राय सबैको दारी कपाल फुलिसकेको छ तर उनीहरूको काम र कुरा गराइले उनीहरू भित्रको सुस्त मनस्थितिपन बारम्बार प्रकट भइराखेको प्रष्टै देखिन्छ ।
उनीहरूकै सुस्तमनस्थितिका कारण राष्ट्रको मेरुदण्ड भाँचिएको छ ! मूल्य र मान्यताहरू खोरण्डा बनेका छन्, राष्ट्रिय सोच अपाहिज भएको छ ! अर्थतन्त्रको हर खुस्किएको छ । यो सबै हुनुका कारण राजनीतिक क्षेत्रका डाक्टरहरू हेर्दाहेर्दै कोही कान नसुन्ने बहिरा भएका छन् ! कोही आँखै नदेख्ने अन्धा भएका छन् ! कसैको जनधरातल टेक्ने खुट्टै छैन त कसैको सत्य कुरो बोल्ने जिब्रै बाँकी रहेको छैन ! प्रजातन्त्रमा प्रतिस्पर्धा हुन्छ तर यहाँ प्रतिस्पर्धा को बढी अपाङ्ग हुने भन्ने कुरामा पो चलिरहेको छ ! धन्य धन्य यी डाक्टरहरूको मन्दबुद्धि !!
हैन, यिनीहरूलाई चाहिँ अपाङ्ग हुनबाट जोगाउने पोलियो थोपा पत्तै लागेको छैन कि क्या हो ? सबैखाले डाक्टरहरूको मानसिकता, सोच विचार, सिप र दक्षतामा देखिएको अपाङ्गतालाई नियन्त्रण गरी सपाङ्ग बनाउने पोलियो थोपाको खोज अनुसन्धान र खान मात्रै होइन नुहाउनै पुग्ने मात्रामा उत्पादन गर्ने कार्यका लागि एक्काइसौँ शताब्दीले पूर्ण सफलता पाओस् ! सबै डाक्टरहरूको शीघ्र सपाङ्गपनका लागि लखरठ्याक हार्दिक कामना गर्दछ ।
०००
‘हिमालय टाइम्स’ २०५६ पुस २१
जहिले पनि २०५६ मा जस्तै समय सापेक्ष खुराक
राम्रो