साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतालाई पोलियो !

यो सबै हुनुका कारण राजनीतिक क्षेत्रका डाक्टरहरू हेर्दाहेर्दै कोही कान नसुन्ने बहिरा भएका छन् ! कोही आँखै नदेख्ने अन्धा भएका छन् ! कसैको जनधरातल टेक्ने खुट्टै छैन त कसैको सत्य कुरो बोल्ने जिब्रै बाँकी रहेको छैन !

Nepal Telecom ad

नरनाथ लुइँटेल :

एकाइसौं शताब्दीमा प्रवेश गरेकै दिन यो लखरठ्याकले अखवारमा एउटा समाचार पढ्ने अवसर पायो । त्यो समाचारको सार थियो- एउटा कुशल र दक्ष डाक्टरसाबले दायाँपट्टिको मृगौलाको अप्रेशन गर्नु पर्नेमा बायाँतर्फको मृगौला अप्रेशन गरिदिनु भयो । रोगी अङ्ग त रोगी नै थियो फेरि काटकुट गरेर निरोगी अङ्ग पनि रोगी बनाइयो । यो दुर्घटनापछि सजायस्वरूप सम्बन्धित अस्पतालले आजीवन ती रोगीको उपचार गर्नुपर्ने भएछ । यस्तो कुशलता र दक्षतासहित एकाइसौं शताब्दीमा प्रवेश गर्नुभएका डाक्टर महोदयलाई दिलैदेखि बधाई ज्ञापन गर्नु पर्दछ । हुन पनि यो चानचुने पौरखको कुरा त होइन नि !

लखरठ्याकका थुप्रै उट्पट्याङ साथीहरू छन् । उट्पट्याङ उटपट्याङ काम र कुरा गर्ने ती साथीहरू मध्येकै एकजना हुन्- थरेन्द्र बराल । कहीँ पनि मौका पर्नासाथ डाक्टरका बारेमा उनी एउटा प्यारोडी पेलिहाल्छन्-

“देब्रे खुट्टा भाँच्या ठाउँमा डेटल पानी छर्दिन्छ
दाइने खुट्टा तन्काएर प्लास्टर गर्दिन्छ ।”

डाक्टर भन्ने जातको बदख्वाइईं गर्ने नियत यो लखरठ्‌याकको कदापि छैन । बिचरा उहाँहरू त स्वयम् आफ्‌ना नाम र कामले आफ्‌नै बदख्वाईं गरिरहनु भएको छ । त्यही बदख्वाईं उहाँहरूको पौरख हो, पराक्रम हो । तपाईंलाई लाग्न सक्छ एक्काइसौ शताब्दी प्रवेशको सुखद् अवसरमा शुभकामना र बधाई दिन छोडेर मुलुकका प्राणदाता डाक्टरहरूको उछितो काड्ने काम किन गर्नु परेको होला ?

फेरि पनि भन्नै पर्दछ डाक्टर जस्ता विशिष्ट जीवहरूको उछितो काडेर असमयमै यो लखरठ्याकलाई यमलोकको यात्रा गर्ने मन छैन । त्यसैले यो अनर्थ अर्थ नलागोस् । सर्पले मात्रै सर्पको खुट्टा देख्छ भन्ने कुरा सबैलाई थाहा छ । ठीक त्यसैगरी डाक्टरको पुरुषार्थ र पराक्रमबारे डाक्टरलाई नै बढी थाहा हुन्छ । अनि याे लखरठ्‌याक डाक्टर हुँदा पनि होइन । एउटा डाक्टरको प्रेस्क्रिप्सनलाई अर्को डाक्टरले रद्दी ठहऱ्याउनु खुट्टा सर्पले नै देख्नुको परिणाम हो । कुन औषधिको प्रभाव र असर दिगो हुन्छ भनेर डाक्टरहरूले प्रयोग गर्दागर्दै कति रोगीहरूले दम तोडे बीसौं वादीको नेपालमा । अबको एक्काइशौं शताब्दीको नेपालमा अझै कतिले दम ताेड्ने हुन्, यस्ता कुराको तथ्याङ्क कुनै तथ्याङ्क विभागमा पाइँदा पनि पाइन्न।

केही समयअघि लखरठ्याकले एउटा धुरन्धर डाक्टरको डायरी फेला पारेको थियो । केही सन्दर्भ सार्वजनिक सरोकारसँग सम्बन्धित जस्तो लागेर त्यो डायरीका केही अंशहरू उसले सार्वजनिक गरिदियो । त्यसको भोलिपल्टै एउटा डाक्टरभक्त मित्रले डाक्टरभन्दा धेरैमाथि उक्लिएर लखरठ्याकलाई ओठेजवाफ लगायो – “डाक्टरहरू तैंले उल्लेख गरे जस्ता नीच र निकृष्ट छैनन्, हुनै सक्दैनन् । त्यस्तो त उनीहरूले न कर्म गर्छन् न उनीहरूको धर्म नै हुन्छ । तैले विनवित्थामा हिर्काइस्, दुखाइस्, दुखेकाहरूको घाउमा मल्हम लाइदिनेहरूलाई । नेपाली राजनेता जसरी डुड्डुङ्क्ती गन्हाएका त छैनन् नि डाक्टरहरू, अनि किन भकुर्छस् बराबिचरा डाक्टरहरूलाई ?”

“अरे बाबा ! तिम्रा बराबिचरा डाक्टरहरूलाई तिमीले भने जसरी भकुरेको होइन ।” लखरठ्याकले प्रतिपक्षीय शैलीमा कडा प्रतिवाद गर्यो “म डाक्टरहरूलाई आदर गर्छु, सद्भाव राख्छु । म उहाँहरूसँग जोरीखोज्ने हैसियतको प्राणी कहाँ हुँ र ? अत्तो न पत्तोसँग जोरी खोजेर यमराजका दूतहरूलाई निम्तो गर्ने म त्यस्तो मूर्ख पनि होइन ।” त्यो व्यक्तिको डाक्टरभक्ति नेपाली नेताहरूको भारतभक्तिभन्दा धेरैगुना बढी थियो ।

जहाँसम्म नेताको कुरा छ, नेता भनेका पनि राजनीतिक क्लिनिकका एक से एक डाक्टरहरू नै हुन् । दलीय राजनीतिको अप्रेशनमा उनीहरू पनि माहिर छन् । देशको टाउको दुखेको छ, यी डाक्टर भने देशको भुँडी अप्रेशन गर्छन् । मुटुमा महंगीको क्यान्सर पसेको छ, उनीहरू चाहिँ कमिशनको भन्सारमा डुबुल्की मारिरहेका हुन्छन् । कमाऊ, खाऊ, जनता अल्मल्याऊ- यो तीन सूत्रीय मन्त्रलाई गायत्री मन्त्रभन्दा प्रिय मन्त्र ठानिरहेका छन् नेताहरू । यो पनि एउटा विशुद्ध व्यवसाय हो। व्यवसाय भनेपछि नाफा नोक्सानको कुरा सर्वोपरी भएर आइहाल्छ । यस कित्ताका डाक्टरहरू खुद नाफाको व्यापार व्यवसायतिर राम्रैसँग ओर्लिएका छन् । एक्काइसौ शताब्दी नेताहरूको निम्ति नाफै नाफाको शताब्दी हुने छ । यसमा चाहिँ कसैले सन्देह नगरे हुन्छ ।

सन् दुई हजारसम्ममा नेपाललाई पोलियोमुक्त गराउने घोषणा स्वास्थ्य सेवा क्षेत्रमा समर्पित राजनीतिक डाक्टरले केही समय अगाडि गरेका थिए । भीषण उत्साहका साथ देशवासी रूपमा बालबालिकालाई पाेलियाे ख्वाउने अभियान छेडिएको छ । यससम्बन्धी कानै टट्टाउने प्रचार प्यासार सुनेर लखरठ्‌याकलाई पनि पोलियो खाउँ खाउँ लागेर आयो । विज्ञापनले मान्छेको मनाेविज्ञानमा कस्ताे असर पार्दछ भन्ने कुराको यो एउटा दह्राे प्रमाण हो । चालीसवटा वसन्त नाघ्न लागेकाे लखरठ्याकलाई तीन चार वर्षीय बालक बन्ने रहर लाग्याे पाेलियाे खानका लागि । तपाईंलाई लाग्ला हैन यो लखरठ्याक पनि अपाङ्ग छ कि क्या हो ? होइन, होइन । उसका सबै अङ्गहरू तन्दुरुस्त छन्। कुनै डाक्टरसाबहरूले काटकुट गर्ने सुअवसर पनि पाएका छैनन् । अनि ऊ सुस्त मनस्थितिको मान्छे पनि होइन । यस्तो मान्छेले पोलियो खाइरहनु पर्दैन, आवश्यक नै छैन ।

राष्ट्रको मेरुदण्ड भनेको राज्यव्यवस्था हो भन्ने कुरा चाहिँ सुस्त मनस्थितिको बालकले समेत सजिलै बुझ्‌ने कुरा हो । यो राष्ट्रमा दलीय प्रजातन्त्र स्थापना भएको दश वर्ष बितिसकेको छ । अथवा प्रजातन्त्र अहिले दश वर्षीय किशोर बनिसकेको छ । यसलाई हुर्काउने बढाउने जिम्मा लिएका राजनीतिक डाक्टरहरू भने अपाङ्ग भएका छन् । कस्तो आश्चर्य ! हेर्दा प्राय सबैको दारी कपाल फुलिसकेको छ तर उनीहरूको काम र कुरा गराइले उनीहरू भित्रको सुस्त मनस्थितिपन बारम्बार प्रकट भइराखेको प्रष्टै देखिन्छ ।

उनीहरूकै सुस्तमनस्थितिका कारण राष्ट्रको मेरुदण्ड भाँचिएको छ ! मूल्य र मान्यताहरू खोरण्डा बनेका छन्, राष्ट्रिय सोच अपाहिज भएको छ ! अर्थतन्त्रको हर खुस्किएको छ । यो सबै हुनुका कारण राजनीतिक क्षेत्रका डाक्टरहरू हेर्दाहेर्दै कोही कान नसुन्ने बहिरा भएका छन् ! कोही आँखै नदेख्ने अन्धा भएका छन् ! कसैको जनधरातल टेक्ने खुट्टै छैन त कसैको सत्य कुरो बोल्ने जिब्रै बाँकी रहेको छैन ! प्रजातन्त्रमा प्रतिस्पर्धा हुन्छ तर यहाँ प्रतिस्पर्धा को बढी अपाङ्ग हुने भन्ने कुरामा पो चलिरहेको छ ! धन्य धन्य यी डाक्टरहरूको मन्दबुद्धि !!

हैन, यिनीहरूलाई चाहिँ अपाङ्ग हुनबाट जोगाउने पोलियो थोपा पत्तै लागेको छैन कि क्या हो ? सबैखाले डाक्टरहरूको मानसिकता, सोच विचार, सिप र दक्षतामा देखिएको अपाङ्गतालाई नियन्त्रण गरी सपाङ्ग बनाउने पोलियो थोपाको खोज अनुसन्धान र खान मात्रै होइन नुहाउनै पुग्ने मात्रामा उत्पादन गर्ने कार्यका लागि एक्काइसौँ शताब्दीले पूर्ण सफलता पाओस् ! सबै डाक्टरहरूको शीघ्र सपाङ्गपनका लागि लखरठ्याक हार्दिक कामना गर्दछ ।

०००
‘हिमालय टाइम्स’ २०५६ पुस २१

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

जहिले पनि २०५६ मा जस्तै समय सापेक्ष खुराक

Komal Prasad Pokharel
Komal Prasad Pokharel
1 year ago

राम्रो

Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
2
0
Would love your thoughts, please comment.x
()
x