कृष्ण शर्मा सुमुहोमवर्कले थिचेको भुण्टे
तब त आज कुनै पनि स्कुल पुग्दा शिक्षक भन्ने बितिकै दुई कर जोडेर नमस्कार गर्छौं । आज नैतिक शिक्षाको पाठ त कता पुग्यो पुग्यो । हतारमा नमस्कार, प्रणाम, शुभ दिन आदि जस्ता कुरा हराए ।

कृष्ण शर्मा सुमु :
बाटोमा बसेर बिहानको समय जब म हेर्छु निद्रा नपुगेर एउटा सिपाहीले बोक्ने झोला भन्दा ठूलो ब्याग ती माथि तुमलेटमा पानी एक हातमा टिपिनको झोला, यसो सोच्छु त्यो भुण्टे कुनै युद्धको लागि तयार पार्दै गरेको सिपाही जस्तो फिल हुन्छ।
साँच्चै अंग्रेजले देश छोडेर गए पनि भारी बोक्ने भरिया पक्का बनाएर गएको आभास त्यो झोला देख्दा मलाई कुनै पनि स्कुलले भरिया बनाउने तालिम दिएको जस्तै लाग्छ।
जति बच्चाको वजन हुन्छ त्यो भन्दा पक्कै दुई केजी धेरै त्यो नानीले बोकेको झोला हुन्छ।नानी भन्दा धेरै खाता किताब बोकाएर उसको दिमागमा त्यो कुरा पस्छ होला।राम्रो निद्रा नपुगेर बिहानै निद्रामा हिँडेको नानीले स्कुलभित्र के पढ्छ होला?एक बिहानै स्कुल लगाउनुको के अर्थ होला?नानीलाई राम्रोसित सुत्नु दिएर दस बजे स्कुल लगाउँदा कसो होला?आज अभिभावकमा यो प्रश्न राखेर भुण्टेको व्यथा सुनाउनु बसे म त।
सरकारी स्कुल बन्द भयो।गाउँमा बेकारीको धेरै जन्म भयो भन्दा म एक कुनामा बसेर मरिमरि हाँस्छु पो।स्कुल प्राइभेट पढाउने,हस्पिटल प्राइभेट देखाउने ,बस प्राइभेट चढ्ने आदि इत्यादि तब सरकारी टिचर,सरकारी डाक्टर ,नर्स वा बसको डाइभरलाई चै सरकारले झिँगा खेदाउने पैसा दिन्छ र ?
अब सबै कुरा निजी पढाउने ,निजी हस्पिटल देखाउने निजी गाडी चढ्ने भएपछि सरकारी सहुलियत बन्द भयो भनेर राँडी गन्थन गर्नु भन्दा त आफैंले कुन कुन खुट्टामा बन्चरो चलाएको छ हेर्नू पर्छ माइला।
ए… म के भन्दै थिए… ?
भुण्टेको भुइकथा।मान्छे चै छिप्पेको फर्सी जस्तो छ,आजको बच्चालाई कसरी यत्रो बुद्धि आएको होला हामी त कक्षा पाँच सम्म पुग्दा पनि कट्टु लगाउनु पर्छ भने कुराको बुद्धि थिएन । चप्पल, जुत्ता, झोला आदि त पछि यो पल्टनमा पुगेपछि थाहा भयो । जीवनमा धेरै कुरा चाहिन्छ भनेर तर खासै बजार अनि पैसाको अभावमा हामीले आधा कल्चो पढ्नु परेको थियो । आज जस्तै घर घरमा पढ्नेहरू थिएनन् । पढाइ कम भएर होला ठगाइ पनि कम नै हुन्थ्यो।
सोच्छु यत्रो सानो मगजमा कंप्यूटर जस्तो दिमाग दिएर भगवानले हामी माथि हेला नै गरेको थिए कि जस्तो लाग्छ।
अब भुण्टेको होमवर्क तर्फ गए एउटा रामायण नै सृजना होला। जे होस बिचारा भुण्टे स्कुलबाट थाकेर लोत भएर घर आइपुग्छ। उ घरभित्र पस्दा लाग्छ उ पढ्नु होइन विश्व युद्ध समाप्तपछि थाकेर फर्केको एक योद्धा। म जहिले उसको खाता किताब भन्दा पहिला खाना लगेको टिफन हेर्छु। घरबाट लगेको खाना जस्तोको त्यस्तै फर्काएर ल्याउँछ। किन नखाएको भन्दा खाने समय पाएन अरे….. होइन जीवनमा जे पनि काम गरिन्छ एक छाक खानालाई गरिन्छ होइन र ?यसरी खाने समय नदिएर भुण्टेलाई विश्वको ज्ञानी बनाउनु खोज्ने गुरुजन अलिकति समय खायो कि खाएन भनेर चियो गर्दा कसो होला ?
आज विश्वले ब्रामाण्डलाई छुलछुल पारेको बेला हिसाब किताब एउटा सानो मोबाइलमा अटाउने बेला सबको हिसाब किताब सबैलाई थाहा हुँदाहुँदै पनि एउटा अबोध बालकले बुझ्नु वा गर्नु नसक्ने होमवर्क दिएर पठाउने शिक्षा प्रणालीलाई पनि जयजयकार नै गर्नु पर्छ।
रातभरि आमा बाउले होमवर्क बनाउदा बनाउदा बिहान हुन्छ,जसको नाममा होमवर्क आएको थियो उसलाई त के आएको थियो भनेर पनि थाहा हुँदैन। भुण्टेहरूलाई कम साह्रो छ सात बजे उठेदेखि राती नौ बजेसम्म पढ् पढ् भनेहरू घरदेखि स्कुलसम्म छन फुर्सद निकालेर एकछिन खेल भन्ने कोही छैन । खेल्ने समय स्कूलमा दिएको हुन्छ छुटेको होमवर्क गर्दागर्दै समय सकिन्छ। यसो सोच्छु हामीलाई ढुक्क थियो कसैले पढ् भन्ने पनि थिएनन्, खेल भन्ने पनि थिएनन् घरमा बाँधेको गाई बाख्रा लाई घाँस काटेर नै हाम्रो बाल्यकाल बितेको थियो।
होइन मलाई मात्रै प्रश्न हो कि म जस्तो धेरै अभिभावकलाई यो प्रश्न छ खासै यो सात बजे नै स्कुल लगाउनुपर्छ भनेर कसले नियम बनायो होला ? फेरि एक नबज्दै छुट्टी दिएर के सन्देश दिन खोजेको होला?नानीहरूलाई जानी जानी जाडोमा कक्राउने नियम पनि मलाई ठिक लागेन। मुख धुनु त परको कुरा नानीहरूले दिसापिसाबसम्म गर्नु नभ्याउने समय खासै ब्रिटिसकालमा बनिसकेको नियम स्वतन्त्र सम्म पनि कलिलो उमेरमा नै गुलामी नियमको खण्डन गर्ने स्वतन्त्र देशमा सुभाष चन्द्र बोस, स्वामी विवेकानन्द जस्तै कैयौं स्वतन्त्रका हावा फेर्नु चाहने हाम्रो बाल हृदयमा जोसिला नानीहरू स्कुल पुग्दा नै भिजेको बिरालो बनाउने समय तालिका पनि म भए नानीहरूको स्कुल दस बजे देखि तीन बजे सम्म लगाउने थिए।
यहाँ म भनेर घमण्ड बोकेको पटक्कै होइन।यहाँ मैले म भनेर नियम बनाउनेको कान समात्ने काम गरेकोे छु। जे होस मलाई यो नियम मन परेको छैन। पटक्कै मन नपरेको खाना खुवाउदा बान्ता आउँछ।अपच खाना खानु त शरीरलाई हानी छ तब यो नानीहरूलाई बिहानको मौसममा दुख दिनु कति न्याय संगत छ र ?
स्कोलरसिपको नाममा नानीहरूलाई भक्कु प्रोजेक्ट दिएर घर पठाउने शिक्षकलाई पनि थाहा छ त्यो होमवर्क नानीले होइन अभिभावकले पूरा काम गरेर पठाउँछन् तब नानीले के सिक्छ त ? आर्थिक बोज पनि अभिभावकले बोक्ने पर्ने कुरा साथै समय गएको कसले फर्काएर दिन्छ अभिभावकलाई भनौं त ? यत्रो प्रोजेक्ट दिनु सक्ने संस्थाले स्कुलमा एक घण्टा निकालेर नानीलाई नै त्यो प्रोजेक्टको काम दिए शिक्षकले नै समय दिएर सिकाए वा नानीलाई अप्ठ्यारो परेको परिस्थितिमा सिकाई दिए नानी को स्केल अवश्य बढ्नेछ । यहाँबाट सम्पूर्ण शिक्षकगणलाई यस विषय माथि गहन अध्ययन गर्दै यस विषय तर्फ ध्यानाकर्षण गराउँदै अघि बढ्न चाहे।
पढाइ बोझ होइन पढाइ झमेला होइन पढाइ जबर्जस्ती होइन पढाइ खेल्नु हो पढाइ सिक्नु हो पढाइ मेला हो यहीँ मेलालाई झमेला बनाउने हुँदा आज भुण्टेहरू प्रतिशतको होडमा भएर होला जुन स्केल नानीमा छ छुपाउने काम भएको छ । यदि फुटबल खेल्नेलाई संगीतका कुरा गरे उसलाई थाहा हुँदैन उ उसै फेल हुन्छ । आज मात्रै होइन धेरै पल्ट लेखेको छु यदि सचिन तेंदुलकर क्रिकेटका भगवान हुनू उनलाई उनको अभिभावक वा शिक्षकगणले संगीत गाउनु दिएको भए उनी सिधै फेल हुने थिए । यदि संगीतका महान गायिका लता मंगेशकरलाई उनको आमाले घरको खाना पकाउनु भनेर दिएर जबर्जस्ती गरेको भए उनी खाना पकाउनुमा निपूर्ण हुने थिएनन्।उनको स्केल बुझेर नै उनलाई संगीत प्रति लगाव भएर आज विश्वमा परिचित छन।
यहाँ भुण्टेहरूको कुरा आउदा मैले दुई महान हस्तीहरूको नाम राखेर उदाहरण दिन मात्रै खोजेको हुँ। बच्चा भनेको काँचो माटो हो जसलाई जस्तो बनाउनु खोज्नु हुन्छ उसले उस्तै आकार दिन्छ माटोबाट दियो बन्छ माटोबाट घर बन्छ माटोबाट मल बन्छ माटोबाट मुर्ति बन्छ।अब कुमाले (अभिभावक) जुन आकार दिने हो उसले त्यही आकार लिन्छ।
हाम्रो त पढाइमा कमजोर छ भनेर भन्दै गरेको सुन्नु भएको छ होला है तब पढाइमा कमजोर हुनू सक्छ उ खेलमा कस्तो छ ? आर्ट्स बनाउनुमा कस्तो छ ? सायद मैक्निकजम उसको हृदयमा होला।सायद उसलाई प्राणीमा दया राख्छ होला ! सायद उसलाई प्राकृति मन पर्छ होला ! जे म उसको रुचि छ त्यही कुरामा अध्ययन गर्नु दिए सफलता उसको हुनेछ उ आफ्नो मर्जीमा बाँच्न सिक्छ जबर्जस्ती गरेको काम कहिले राम्रो हुँदैन। मैले नभन्नु पर्ने कुरा नानीलाई सकारात्मक फिल्म पनि देखाउनु पर्छ। जसबाट उ प्रेरित हुन सक्छ।
विकसित देश चीन,जापान छेउछाउको देशमा आफ्नो मौलिक भाषामा नै शिक्षा दिने प्रणाली छ। हामी भन्दा धेरै अघि त्यहाँका नानीहरू छन । अरूको भाषा भन्दा आफ्नो मातृभाषामा बुझेको कुरा बाल हृदयमा सधैं बस्ने गर्छ । अंग्रेजको मारमा आफ्नो भाषामा उतिकै जोड दिए भाषाको संरक्षण मात्रै होइन बाल हृदयलाई बुझ्नु सजिलो हुनेछ।
ए … म त भुण्टेको भुइँ कुरा गर्नु बसेको त कताकता पो पुगेछु। होमवर्क दिएर थिचेको भुण्टेलाई मनोरञ्जन गराउनु पर्छ भन्दै बसेको मान्छेले अझै मानसिक तनाव दिने रहेछ भनेर आज भुण्टे रिसायो होला ?
भुण्टेहरूले आजकल एकछिन फुर्सदको सास कहाँ फेर्नु पाएका छन त । स्कुल सकेर थाकेर हत्तुहराम भएर घर पस्नु पाएको हुँदैन कोचिङ्ग सेन्टर(टिभिसन)ले पर्खी बसेको हुन्छ …. हतार हतार फेरि उहीँ झोला बोकेर टिभिसन तर्फ लाग्छ । यत्रो खर्च गरेर पढाएको स्कुलबाट घर फर्केपछि पनि नानीले आफ्नो होमवर्क गर्नु सक्दैन भने स्कुलमा शिक्षकगणले के गरेर पठाउँछन् आज भुण्टेहरुको निसाब दिने कुरा गर्दै अभिभावक जगाउनु यस विषयमा मन्थन गर्नु बसेको छु ।
हाम्रो शिक्षा प्रणाली धराप छ कि त मेरो माथा ? कुरा गर्नु पर्दा अस्ति भुण्टेले एउटा क्लास नौ महिनादेखि भएको छैन बाबा भनेपछि म स्कुल पुगे । म स्कुलमा विन्ती गर्नु पुगेको थिए क्लास नभएको कारण बुझ्न पुगेको थिए। क्लास नभएको कुरा शिक्षिका अनि मनिटर दुवैले स्वीकार गरे त्यसपछि म घर आए । मैले सोचे अब सुचारु रुपमा क्लास हुने रहेछ ढुक्क भएँ । मैले सोचेको विपरीत भएछ भुण्टेलाई कराउने काम भएछ म आएपछि …. अब सोच्नु त क्लास हुँदैन भन्नु पनि नपाउने स्थितिमा हामी छौँ। तब नौ महिना सम्म हामीले तिरेको पैसा खोलाको बलुवा त पक्कै होइन ! शिक्षा प्रणाली सेवा भावमा हुनु पर्ने थियो ठिकै छ शिक्षक/शिक्षिका पनि स्कुलमा निर्भर हुन्छन् तर आफ्नो विषय त पढाउनु पर्छ नि ! परीक्षामा के लेख्छ अब मुखमा परीक्षा छ, नौ महिना त भुण्टे भुण्टीहरूको यतिकै खेर गएको छ।
आज हामी भौतिक शिक्षा प्रणालीमा छौँ ठिकै छ समयानुकूल चल्नु पर्छ नभए कस्तो पाखे मान्छे भन्छन् होला ? हाम्रो समयमा शिक्षक देखे हामी आउदै गरेको बाटो मोडेर अर्को बाटो हिँड्नु पर्ने दिन थियो। कम्ती डर थिएन । आज यत्रो उमेरमा पनि नयाँ सरको अनुहार देख्दा पनि डर अनि श्रद्धा लाग्छ।कम्ती पिटाइ खाएनौं।
हामीलाई भौतिक शिक्षा मात्रै दिएनन् हामीलाई नैतिक शिक्षा पनि दिएछन् तब त आज कुनै पनि स्कुल पुग्दा शिक्षक भन्ने बितिकै दुई कर जोडेर नमस्कार गर्छौं । आज नैतिक शिक्षाको पाठ त कता पुग्यो पुग्यो । हतारमा नमस्कार, प्रणाम, शुभ दिन आदि जस्ता कुरा हराए । शिक्षक/शिक्षिका देख्दा पनि आँखा तरेर हेर्छन् यसो सोच्छु पैसामा सबै कुरा लुप्त हुन लागेको छ।
शिक्षकले गाली मात्रै गरे पनि घरबाट अभिभावक झगडा गर्नु आएको कुरा नौलो होइन। यस्तो नियम हाम्रो समयमा थिएन घुँडा टेकेर हिँड्नु परेको कुरा गरे आजकल भुण्टेलाई रामकथा नै हुन्छ।
जे होस् भुण्टे अनि सालभरीको हिसाब गरेर तराजुमा राखे भुण्टेको ओजन कम अनि स्कुलको फिस धेरै भए पनि आज भुण्टेले संघर्षका कथा भविष्यमा लेख्नु नै पर्छ ।
०००
मिलन मोड, शिलगडी
Subscribe
Login
0 Comments
Oldest







































