सुरेशकुमार पाण्डेशहीद
अलिक पर गान्धीका तीन बाँदरहरू आफ्नै धुनमा थिए । एउटाले आफ्नै हातले आँखा छोपेको, अर्कोले कान र तेस्रोले मुख छोपिरहेको थियाे ।

सुरेशकुमार पाण्डे :
—“देश र जनताको लागि हामीले के के गुमाएनौँ ? लामो समयसम्म भूमिगत जीवन बितायौँ, जेलनेल सह्यौँ । आफ्ना छोराछोरी समेत गुमायौँ ।”
बोल्दा बोल्दै मन्त्री गुलाब सिंह भावुक भए । बडीगाडले मन्त्रीको हातमा रुमाल थमायो । अर्को नेताले थर्मसबाट गिलासमा पानी निकालेर दियो ।
—“म आफ्नो छोराछोरीको लागि भावुक भएको होइन, देशका हजारौँ शहीदहरूको सम्झनाले गर्दा आँखा भिजेको हो ।”
मन्त्रीले सालिकमा माला अर्पण गर्दै थप्यो ।
—“त्यो कुपुत्र त जाँड घिचेर मरेको होइन र ?”
एकजनाले भन्यो ।
“चुप, चुप ! विस्तारै बोल, कसैले सुन्ला !”
अर्कोले मुखमा चोरऔँलाले इसारा गर्दै भन्यो ।
त्यही कार्यक्रममा उपस्थितहरू मध्ये केहीले आपसमा कानेखुसी गर्दै थिए,
—“जाँड घिचेर मरेका पनि शहीद रे ! यसरी त वास्तविक शहीदको अपमान भएन र ?”
उता लखन थापाको सालिक नचिनिने अवस्थामा थियो । सालिक स्थापना भएदेखि कहिल्यै स्याहारसम्भार नभएझैँ लाग्थ्यो ।
मिलन चोकको अर्को कुनाबाट गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दका सालिक ट्वाल्ल परेर हेरिरहेका थिए ।
—“यिनीहरूको सालिक पनि वेवारिसे अवस्थामा रहेछ ।”
पहिलोले इसारा गर्दै भन्यो ।
“केही नभन, केही नहेर र केही नसुन; ऊ पारि हेर त !”
चोर औँलाले देखाउँदै अर्कोले भन्यो ।
अलिक पर गान्धीका तीन बाँदरहरू आफ्नै धुनमा थिए । एउटाले आफ्नै हातले आँखा छोपेको, अर्कोले कान र तेस्रोले मुख छोपिरहेको थियाे ।
०००
घाेराही, दाङ
Subscribe
Login
0 Comments
Oldest







































