हरि खनालउपहार
सबै उपहार ताजा छन् सबैले समयानुकूल सिङ जुरो हालेकै छन् । लोडसेडिङको उपहार भने न्यास्रिएको रहेछ । टाउको उठाएर हेर्दैछ । जसले जे सुकै भनोस् हामी उपहार प्रेमी हौँ ।

हरि खनाल :
हामी उपहारप्रिय छौँ वा उपहार हामीप्रिय छ म भन्न सक्दिनँ । तर हामी उपहार निरन्तर पाइरहेका छौँ । अतीतदेखि वर्तमानसम्म कति उपहार प्राप्त भयो भयो के कुरा गरेको होला भनेर प्रश्न उठ्न सक्छ । म ताजा उपहारका कुरा मात्र गर्दैछु ।
हामी मन्त्र उपहार पाउँछौँ तन्त्र उपहार पाउँछौँ । जेथा उपहार नपाए पनि नेता उपहार हाम्रो पुरानै परम्परा हो । मन्त्रले स्वार्थका लागि फुटाउने र जुटाउने दुवै काम गर्छ । जनतालाई झण्डा र डण्डाका नाममा बण्डा गरिदिन्छ नेतागणलाई शुभलाभका लागि एकठाउँमा जम्मा गरिदिन्छ । उपहारप्रेमी भएपछि उपहारको वर्षा त हुने नै भयो । गोरु ब्याए राँगो उपहार पाइयो । राँगोले सिँगौरी खेलेर र जुधेर डाँडाकाँडा सिध्याइसके । हामी राँगाका पछिल्तिर कुदेका कुदै छौँ ।
समाजवाद आयो । गाउँगाउँमा सिंहदरवार पुग्नासाथ हजार प्रतिशत कर उपहार थापियो र निच्च हाँसियो ।सिंहदरवारको पावरसँगै गाउँगाउँमा टावर आयो । गाउँको सिँगारे बोकोले पनि टावरको फेदमा बसेर चर्न पायो । महिनौँदेखि थला परेको बुचे कुकुरले पनि टावरको फेदमा बसेर मर्न पायो ।
ढोकाले मन्त्रालय नपाएको बेलामा झ्यालझ्यालले मन्त्रालय पायो । गाउँगाउँले मन्तरी पाए यो भन्दा अमूल्य उपहार केही हुन्छ ? हुँदा हुँदा उत्तर र दक्षिणको पनि एकसाथ आलिङ्गन भयो । वर्षौँदेखि करिया र भरिया बनेका हामी खुसीले उफ्रिनसम्म उफ्रियौँ । हामी सारै उफ्रिएको देखेर होला महँगी हामीभन्दा दोब्बर उफ्रियो । पहिले तेलको मूल्य बढेको नाममा अग्लिएको महँगी तेलको मूल्य घट्दा पनि भुइँमा झर्न मानेन ।
अहिले अङ्ग्रेजी नयाँ वर्ष आउनासाथ यातायातलाई महँगीले निर्धक्क चुम्बन उपहार दिएको छ । महँगीलाई हामीसँग पटक्कै डर छैन किन थाहा छ ? उसलाई थाहा छ हामी महँगीको बाउ आए पनि झण्डा ओढेर सुतेपछि कहिल्यै बिउँझिदैनौँ भन्ने ।
सहकारीले पैसा झ्वाम उपहार दियो बेमौसमी वर्षाले सर्वनाश उपहार दियो । मन्त्र सुल्टो उल्टो हुन्छ क्यारे । खै कुनि सुल्टो उल्टो के लाग्यो मानेलाई खानेपिउने उपहार सानेजतिलाई चोट उपहार पनि यही समयले दियो । सबै उपहार ताजा छन् सबैले समयानुकूल सिङ जुरो हालेकै छन् । लोडसेडिङको उपहार भने न्यास्रिएको रहेछ । टाउको उठाएर हेर्दैछ ।
जसले जे सुकै भनोस् हामी उपहार प्रेमी हौँ । हामी भोक लागे पटुकीले पेट कस्छौँ । शोक परे एक थोपा आँसुले पखाल्छौँ । हामी उपहार लिँदैनौँ मात्रै दिन्छौँ पनि । हामीले दिने उपहार ऐश र बैँस हो । जो अर्कैलाई दिन्छौँ तर अभाव र असुरक्षा उपहारमा स्वयम् रमाउँछौँ । उपहार सम्झिँदा सम्झिँदै भूकम्प पनि आइपुगेछ । तर चिन्ता छैन किनभने अलि ठूलो आयो भने हाम्रा सिरी पाँचहरूले धेरै उपहार पाउनेछन् । सिरीहरूले पाएका उपहार हाम्रै त हो नि । वि लभ उपहार ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































